नेपाल र क्युवाबिचको दौत्यसम्बन्ध सन् १९७५ मार्च २५ मा स्थापना भएको हो । दुई देशबिचको सम्बन्ध पाँच दशकको संघारमा पुग्दा निश्चय पनि समीक्षा तथा आगामी दिनका लागि थप तयारी आवश्यक भएको महसुस हुनु अस्वाभाविक होइन । दुई देशबिच सुमधुर सम्बन्धको विकासले जनताहरू समेत लाभान्वित हुनेछन् । ‘नेपाल–क्युवा सम्बन्ध र क्युवाको वर्तमान स्थिति’ विषयमा नेमकिपा विदेश सम्बन्ध विभागद्वारा वैशाख ११ गते आयोजित विचार गोष्ठीमा बोल्दै नेमकिपाका अध्यक्ष कामरेड रोहितले व्यक्त गर्नुभएको विचार स्मरणीय छः ‘नेपाली जनता र क्युवाली जनताबिचको प्रत्यक्ष सम्बन्धको स्थापना दौत्यसम्बन्ध स्थापनापश्चात् २०७२ सालको भूकम्पपछि क्युवाली चिकित्सा टोली नेपाल आएपश्चात् भयो ।’ उहाँले उल्लेख गर्नुभयो– ‘समाजवादी देश क्युवा ल्याटिन अमेरिकामा हिजोसम्म एक्लो देखिन्थ्यो तर अब परिस्थितिमा परिवर्तन आइसकेको छ† क्युवा एक्लो छैन ।’ अध्यक्ष कामरेड रोहितका यी शब्दले गहिरो सन्देश दिन्छ । नेपाल–क्युवा सम्बन्ध र क्युवाको वर्तमान स्थितिबारे छर्लङ्ग पार्छ ।

राजदूत सिमानकासले थप्नुभयो– ‘ब्राजिलमा लुला नेतृत्वको वामपन्थी सरकार फेरि उदाइसकेको छ । भेनेजुयलासँग हाम्रो सम्बन्ध थप बलियो बनेको छ । मेक्सिको र कोलम्बियासँग हाम्रो सम्बन्ध इतिहासमै सुधार भएको छ । रुस र क्युवाबीच बलियो ऐतिहासिक सम्बन्ध त छँदै छ ।’

केही एसियाली मुलुकहरूसँग क्युवाको सम्बन्ध

आजसम्म पनि नेपाल र क्युवाबिच व्यापारिक सम्बन्ध विकास नहुनु निश्चय पनि एउटा अँध्यारो पाटो हो । त्यसो हुनुमा भौगोलिक दूरी मुख्य कारण हो कि भन्ने जिज्ञासामा राजदूत सिमानकास भन्नुहुन्छ– ‘दूरी मुख्य कारण हो भनूँ भने एसियाली मुुलुक भियतनाम, चीन, भारतसँग लामो समयदेखि हाम्रो राम्रै व्यापारिक सम्बन्ध तथा आदानप्रदान छ । भारतबाट विशेष गरी चामल आयात गर्छ क्युवाले । क्युवामा धान, चामलको उत्पादन कम हुन्छ । धान, चामलको उपभोग बढ्ता हुन्छ क्युवामा । उत्पादन कम हुनुमा मौसम अनुकूल नहुनु मुख्य कारण हो ।’ उहाँले भन्नुभयो, “भारतसँगको व्यापार निकट भविष्यमै अझ तीव्र गतिमा अगाडि बढाउन छलफल चल्दै छ । कोभिडको समयमा क्युवाले भियतनामसम्म क्युवामा उत्पादन भएको खोप उपलब्ध गरायो । क्युवा र भियतनामबिचको आदानप्रदान तथा आपसी सहयोग हरेक क्षेत्रमा वृद्धि हुँदै छ । चीनबाट पछिल्लो चरणमा क्युवाले राम्रै सहयोग पाइरहेको छ । तसर्थ, निकै टाढाका देशसँग निकै राम्रो सम्बन्ध स्थापना गर्न समय लाग्छ तर असम्भव होइन ¤”

दक्षिण एसियाकै अर्को मुलुक श्रीलङ्का र क्युवाको सम्बन्ध प्रगाढ भएको जगजाहेर छ । अझ ती दुई देशको जनस्तरको सुमधुर सम्बन्ध अत्यन्त लोभलाग्दो मानिन्छ । व्यापारिक तथा सांस्कृतिक आदानप्रदान पनि सघनरूपमा चलिरहेकै छ । उता अर्को दक्षिण एसियाली मुलुक पाकिस्तान र क्युवाबिचको सम्बन्ध पनि क्रमशः प्रगाढ बन्दै छ । आपसी साथ तथा ऐक्यबद्धता, निःस्वार्थ अन्तर्राष्ट्रवादी भावना र साम्राज्यवादविरोधी जगमा क्युवा र पाकिस्तानको सम्बन्ध विकास भइरहेको दुई देशले सार्वजनिक रूपमा अभिव्यक्ति दिएका छन् । सन् २००५ मा पाकिस्तानमा गएको विनाशकारी भूकम्पको दौरान पाकिस्तानी उद्धार टोली पुग्न नसकेका अत्यन्त विकट गाउँमा क्युवाली उद्धार टोली तथा चिकित्सा टोली पुगेर असल तथा भरपर्दो मित्रको परिचय दिएको भनी आजसम्म चर्चा गरिन्छ । २०० भन्दा बढी क्युवाली चिकित्सकहरू पाकिस्तान पुगेर आवश्यक सहयोग गरेका थिए । त्यो नै सबैभन्दा ठुलो विदेशी चिकित्सा टोली थियो ।

आज उल्लेख्य सङ्ख्यामा पाकिस्तानी विद्यार्थी क्युवामा चिकित्सा विज्ञान तथा अन्य क्षेत्रमा अध्ययन गर्न बर्सेनि क्युवा पुग्छन् । भारत, श्रीलङ्का, बङ्गलादेशका विद्यार्थीहरू पनि अध्ययनका लागि क्युवा जान्छन् । यही प्रसङ्गमा राजदूत सिमानकाससँग गत सोमवार भएकोे भेटमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाली विद्यार्थीहरूलाई पनि त्यस्तो अवसर दिलाउन दुई देशका सरकारले आवश्यक पहल शीघ्र थाल्नुपर्ने सल्लाह दिनुभएको थियो ।

नेपाल र क्युवाबीच केही समानता

दुई देश भौगोलिक दूरीको हिसाबले टाढा भए तापनि केही समानताहरू पाइन्छन् । दुबै देश भौगोलिक तथा जनसाङ्ख्यिक दृष्टिले साना छन् । आर्थिक रूपमा कठिन परिस्थितिबाट अगाडि बढ्दै छन् । प्राकृतिक सम्पदामा धनी हुँदाहुँदै प्राकृतिक विपत्तिको जोखिमबाट मुक्त छैनन् । दुबै देशका जनता बहादुरी तथा कडा परिश्रमका लागि प्रख्यात छन् । जनताबिचको भावनात्मक सम्बन्ध विकास हुँदै छ । एकले अर्कोबाट सिक्न या अनुसरण गर्न लायक विषय प्रशस्त छन् । क्युवा क्यारिवियाली टापु देश भए तापनि विगत ६० वर्षदेखि संरा. अमेरिकी अमानवीय नाकाबन्दी झेल्दै छ । यता नेपाल भूपरिवेष्टित मुलुक भएकोले परिस्थिति केही हदसम्म मिल्दोजुल्दो छ । नेपालले दक्षिणको छिमेकीबाट बरोबर आर्थिक नाकाबन्दी सामना गर्दै छ । कठिनाइको मात्रा घटीबढी होला, तर पीडा लगभग उस्तै छ । क्युवा अमेरिकी साम्राज्यवादको अन्याय–अत्याचार सामना गर्दै छ भने नेपाल भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादको थिचोमिचोमा परिरहेको छ । यस्तो परिस्थितिमा नेपाली र क्युवाली जनताको प्रगाढ सम्बन्धको विकासले विश्वशान्तिका लागि थप बल प्रदान गर्नेछ ।

क्युवाली राजदूत सिमानकासले क्युवाविरुद्ध संरा अमेरिकी नाकाबन्दीविरुद्ध नेपाली जनताले दिँदै आएको साथप्रति आभार प्रकट गर्न छुटाउनु भएन । नेमकिपाको सद्भाव तथा समर्थनको सराहना गर्नुभयो । उहाँले भन्नुभयो – “अमेरिकी नाकाबन्दी झन् कठोर बनाइँदै छ । क्युवाली अर्थतन्त्रमा अत्यन्त नकारात्मक असर पर्दै छ । नाकाबन्दीकै कारण क्युवाले गत वर्ष ५ हजार मिलियन डलर बराबरको आर्थिक क्षति भोग्यो । विगतका वर्षमा बर्सेनि ४ हजार मिलियन डलर बराबरको क्षति नाकाबन्दीकै कारण क्युवाले बेहोर्दै आयो ।” “नाकाबन्दीविरुद्ध लड्न क्युवाले कृषि उत्पादनमा वृद्धि गर्ने उपायहरू अपनाउँदै छ । कोभिडपछि सुस्ताएको पर्यटन जगाउन सत्प्रयास गर्दै छ । स्वास्थ्यसामग्री तथा उपकरणको निर्यात एउटा प्रमुख आर्थिक स्रोत हो । निकलको निर्यात अर्को महत्वपूर्ण स्रोत हो । सुर्ती र सिगार निर्यातको योगदान पनि अर्थतन्त्रमा उल्लेखनीय छ ।”

राजदूत सिमानकासले मनको कुरा खोल्नुभयो– ‘क्युवा र क्युवाली जनताको दुई वटा सपना छन्ः समाजवादलाई अन्तिम विजयसम्म पु¥याएर दिगो बनाउँदै एउटा समृद्ध समाज निर्माण गर्ने र अमेरिकी नाकाबन्दीलाई पूर्ण रूपमा परास्त गरेर सुखी क्युवाली समाज बनाउने ।’

‘हामी सङ्कटका साथी’

अन्त्यमा, नेमकिपा विदेश सम्बन्ध विभागद्वारा भक्तपुरमा आयोजित विचार गोष्ठीमा नेपालका लागि क्युवाका महामहिम राजदूत अलेजान्ड्रो सिमानकास मरिनद्वारा व्यक्त विचारबाट यो सङ्क्षिप्त लेख टुङ्ग्याउनु समीचीन होला ¤ ‘यो वर्ष नेपाल–क्युवा मैत्री सम्बन्ध स्थापनाको ४८ औँ वर्ष हो । तपाईँहरूसँग बसेर वार्षिकोत्सव मनाउन पाउँदा यो अझ बढी सार्थक भएको अनुभव भयो । भक्तपुरमा आएर मनाउन पाउनु झन् ठुलो खुसीको विषय हो । अत्यन्त राम्रो तरिकाले मनाएँ भन्ने अनुभव हुँदै छ ।’ उहाँले जोड दिँदै भन्नुभयो, “हामी विभिन्न सङ्कटको घडी र कठिन परिस्थितिमा उत्तीर्ण भइसकेका मित्रहरू हौँ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार