नेपाली राजनीतिमा ७६ वर्षअघि स्थापित दल नेपाली कांग्रेस पुस अन्तिम सातादेखि नयाँ नेतृत्व सहित चुनावी अभियानमा होमिएको छ। गत पुस २७ र २८ गते काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनले ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नयाँ र आकर्षक नारा अगाडि सारेको छ।

महाधिवेशनमा तत्कालीन महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्तावमा अब कांग्रेसको नेतृत्व र कार्यशैली दुवै बदलिएको दाबी गरिएको छ। तर, ‘बदलिएको कांग्रेस’ ले सात दशकदेखि अपनाउँदै आएको आफ्नो प्रमुख वैचारिक जग प्रजातान्त्रिक समाजवादी नीतिलाई वास्ता गरेको देखिंदैन। दस्ताबेजबाट प्रजातान्त्रिक समाजवाद गायब छ। के त्यसो भए कांग्रेसले प्रजातान्त्रिक समाजवादी नीति छाडेको हो?

राजनीतिक प्रस्तावको १७ वटा उपशीर्षक र बुँदाहरूमा विभिन्न कार्ययोजना प्रस्तुत गरिए पनि कांग्रेसको मूल मन्त्र प्रजातान्त्रिक समाजवादलाई कुनै पनि बुँदामा स्पष्ट रूपमा नराख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यो हतारमा दस्ताबेज तयार पार्दा छुटेको प्राविधिक भुल हो वा नयाँ कांग्रेसको वैचारिक विचलन? त्यसो त बदलिएको कांग्रेसले आफ्नो वैचारिक नेता बीपी कोइरालालाई नै मानेको छ।

विशेष महाधिवेशनमा पनि उनको तस्वीर प्राथमिकताका साथ प्रदर्शन गरिएको थियो। तर बीपीले २०१२ सालको छैटौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रस्ताव प्रजातान्त्रिक समाजवाद चाहिं दस्ताबेजमा कसरी छुट्न गयो?

प्रजातान्त्रिक समाजवादलाई आफ्नो मूल सिद्धान्तका रूपमा अंगीकार गरेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले स्पष्ट रूपमा भनेका थिए, प्रजातन्त्र र समाजवाद एक-अर्काका परिपूरक हुन्।

बीपीले समाजवाद र साम्यवादको भिन्नताबारे भनेका छन्, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र हटाइदियो भने साम्यवाद हुन्छ।’ उनको मान्यता थियो यदि समाजवादबाट प्रजातन्त्र झिकिदिने हो भने त्यो अधिनायकवादी शासनमा परिणत हुन सक्छ। आजको विश्व राजनीतिमा दक्षिणपन्थी धार बलियो हुँदै गइरहेको सन्दर्भमा, कांग्रेसले आफ्नो यो वैचारिक स्तम्भलाई ओझेलमा पार्नुले बीपीको पदचापबाट पार्टी विमुख हुन खोजेको संकेत गर्छ।

समाजवादी आन्दोलन

नेपाली कांग्रेस ‘सोसलिस्ट इन्टरन्याशनल’ को सक्रिय सदस्य हो र यसका शीर्ष नेताहरू बीपी कोइराला र शेरबहादुर देउवा यस संगठनको उपाध्यक्ष समेत भइसकेका छन्। ऐतिहासिक रूपमा भारतीय समाजवादी नेता राममनोहर लोहिया र जयप्रकाश नारायणको सामीप्यमा काम गरेका कांग्रेसका संस्थापक नेताहरू अब पार्टीमा बाँकी छैनन्। भारतमा समाजवादी धार कमजोर भइरहेको पृष्ठभूमिमा त्यसको प्रभाव नेपालमा पनि पर्न खोजेको त होइन? विचारणीय छ। अहिले छिमेकी भारतमा साम्प्रदायिक संगठन आरएसएसको ब्याकअपमा नरेन्द्र मोदीको नेतृत्वमा बढ्दो दक्षिणपन्थी राजनीति हुर्किरहेको छ, जसले त्यहाँको

बहुसांस्कृतिक समाजलाई ध्रुवीकरण गर्दो छ। खासमा अहिले विश्व राजनीति नै दक्षिणपन्थी धारतिर लहसिरहेको देखिन्छ। के कांग्रेसले पनि त्यही धार समात्न खोजेको हो? प्रश्न वान्छनीय छ। यद्यपि, कांग्रेसको लामो अन्तर्राष्ट्रिय सम्बन्ध र एशियाली समाजवादीहरूसँगको सम्पर्कका कारण उसले सजिलै यो मार्ग परिवर्तन गर्न सक्ने अवस्था छैन।

दस्ताबेजमा उल्लेख गरिने शब्दहरूले कति गहिरो अर्थ राख्छन् भन्ने कुराको उदाहरण नेपाली कांग्रेसको २०६२ भदौमा काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनको दस्ताबेजबाट हटाइएको दुई शब्दबाट प्रस्ट हुन्छ। त्यसवेला सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी विधानबाट ‘संवैधानिक राजतन्त्र’ हटाउने प्रस्ताव राखेपछि अधिवेशनले त्यसलाई हटाएको थियो। त्यो निर्णयको साढे दुई वर्षमै मुलुक गणतन्त्रमा प्रवेश गऱ्यो।

अहिलेको राजनीतिक प्रस्तावबाट ‘प्रजातान्त्रिक समाजवाद’ जस्तो गम्भीर शब्द हराउनुलाई केवल संयोग मात्र मान्न सकिंदैन। यसबारे अहिलेसम्म नेपाली कांग्रेसका तर्फबाट सोसलिस्ट इन्टरन्याशनलको उपाध्यक्ष खगेन्द्र जिसीको कुनै प्रतिक्रिया आएको छैन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार