चीन–नेपाल सीमावर्ती क्षेत्रमा हालै भएको एक भूगर्भीय विपद्ले फेरि एकपटक हिमनदीहरूप्रति विश्वको ध्यान केन्द्रित गरेको छ।

हिमनदीहरूलाई प्रायः विश्वव्यापी तापक्रम वृद्धिका “पीडित” का रूपमा हेरिन्छ। तर हिमनदीहरू पछाडि हट्नु, पर्माफ्रस्ट क्षय हुनु तथा हिमतालहरूको विस्तार हुनु, चरम मौसम र जटिल भूगर्भीय अवस्थासँग मिलेर हिउँ–चट्टान हिमपहिरो, हिमताल विस्फोट, पहिरो तथा गेग्रान बहावजस्ता विपद्को जोखिम पनि बढाउन सक्छ।

चरम मौसम तथा जलवायुजन्य घटनाको अनुगमन र पूर्वचेतावनी प्रविधि निरन्तर विकसित भइरहेका बेला एउटा महत्वपूर्ण प्रश्न उठेको छ—के दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेका हिमनदीहरूको प्रभावकारी रूपमा अनुगमन गरी विपद् आउनुअघि नै चेतावनी जारी गर्न सकिन्छ?

हिमनदीजन्य विपद्, जलवायु परिवर्तन, अनुगमन तथा पूर्वचेतावनीका विषयमा CGTN ले दुई विशेषज्ञसँग कुराकानी गरेको छ। ती हुन्—चिनियाँ मौसम विज्ञान प्रतिष्ठानअन्तर्गतको ग्लोबल चेन्ज एन्ड पोलार मेटियोरोलोजी संस्थानका अनुसन्धान वैज्ञानिक झाङ डोङ्छी र राष्ट्रिय जलवायु केन्द्रको जलवायु परिवर्तन अनुगमन तथा प्रक्षेपण विभागकी अनुसन्धान वैज्ञानिक मा लिचुआन।

हिमनदी अब जलवायु परिवर्तनका पीडित मात्र होइनन्, जोखिमको स्रोत पनि

CGTN : हामी प्राय, हिमनदीलाई जलवायु परिवर्तनका ‘पीडित’ का रूपमा हेर्छौं। के अहिले हामी हिमनदीहरू आफैं पनि जोखिमको स्रोत बन्दै गएको देखिरहेका छौं? के हिउँ–चट्टान हिमपहिरो र अन्य हिमनदीसम्बन्धी जोखिमहरू अझ धेरै वा अझ गम्भीर बन्दै गएका छन्?

झाङ डोङ्छीः हिमनदीसम्बन्धी विपद्हरू सधैंदेखि नै हुँदै आएका छन्। स्थिर जलवायुको अवधिमा यस्ता घटनाहरू कम हुने भएकाले तिनले कम ध्यान आकर्षित गर्थे। तर विश्वव्यापी तापक्रम वृद्धिको पृष्ठभूमिमा हिमनदीजन्य विपद्हरू अझ बढी भइरहेका छन्, जसले ठूलो क्षति पु¥याइरहेका छन् र बढ्दो ध्यान आकर्षित गरिरहेका छन्।

विगतका केही दशक, वा पछिल्ला १० देखि २० वर्षको विश्लेषणले हिउँ–चट्टान हिमपहिरो तथा अन्य हिमनदीसम्बन्धी विपद्हरूको आवृत्ति वास्तवमै बढिरहेको देखाउँछ, र तिनको गम्भीरता पनि बढ्दै गएको छ। यी दुवै पक्ष सक्रिय छन्। विश्वव्यापी तापक्रम वृद्धिले पछिल्ला दशकहरूमा क्रायोस्फियर अर्थात् हिममण्डलसम्बन्धी विपद्हरूको घटनामा वृद्धि गराएको छ।

मानवीय गतिविधिको विस्तार, उपग्रह रिमोट सेन्सिङ तथा अन्य अनुगमन विधिहरूमा भएको प्रगतिले दुर्गम क्षेत्रमा हुने अझ धेरै विपद्हरू पत्ता लगाउन पनि सम्भव बनाएको छ। यसमा विगतमा मानवीय क्षति नगरे पनि स्पष्ट निशान छोड्ने केही घटनाहरू पनि समावेश छन्।

तापक्रम वृद्धिसँगै बढ्दै हिमनदीको अस्थिरता

मा लिचुआनः तापक्रम बढ्दै गएको जलवायुको पृष्ठभूमिमा, छिङहाई–सिजाङ पठारलाई केन्द्रिय क्षेत्र मानेर उच्च पर्वतीय एसियाका हिमनदीहरू पछाडि हटिरहेका छन् र तिनको द्रव्यमान घटिरहेको छ। साथै पर्माफ्रस्ट क्षय भइरहेको छ र हिउँको आवरण घट्दै गएको छ। यी प्रवृत्तिहरू सन् १९९० को दशकदेखि झन् तीव्र भएका छन्। यसले हिमनदीहरूको अस्थिरता बढाएको छ र हिमतालहरूको संख्या तथा क्षेत्रफलमा वृद्धि भएको छ।

हिउँ र बरफका हिमपहिरो, हिमताल विस्फोट, हिमनदीसम्बन्धी गेग्रान बहाव तथा हिउँ पग्लँदा हुने बाढीजस्ता हिममण्डलसम्बन्धी विपद्हरू अझ धेरै भइरहेका छन्। अध्ययनहरूले कम्तीमा सन् १९५० यता हिमनदी ध्वस्त हुने घटनाहरू बढेको देखाउँछन् भने सन् १९७० को दशकदेखि थर्मोकास्र्ट पोखरीहरूको संख्या तथा पर्माफ्रस्ट पग्लँदा हुने क्रमिक भू–धसावटका घटनाहरू बढेका छन्। सन् २०१५ यता उच्च पर्वतीय एसियाका विशाल क्षेत्रमा अचानक हुने हिममण्डलसम्बन्धी घटनाहरू निरन्तर अवलोकन गरिएका छन्।

६० वर्षमा हिमनदीको क्षेत्रफल ५१ हजारबाट ३९ हजार वर्ग किलोमिटरमा

चीनले हिमनदीसम्बन्धी तीनवटा सूची तयार गरिसकेको छ। पहिलोले सन् १९७८ देखि २००२ सम्मको अवधि, दोस्रोले सन् २००८ देखि २०१५ सम्मको अवधि र तेस्रोले सन् २०२३ देखि २०२६ सम्मको अवधि समेट्छ। एक व्यापक मूल्याङ्कनअनुसार छिङहाई–सिजाङ पठारमा रहेका हिमनदीहरूको क्षेत्रफल पछिल्ला ६० वर्षमा ५१ हजार वर्ग किलोमिटरबाट घटेर ४४ हजार वर्ग किलोमिटर र त्यसपछि ३९ हजार वर्ग किलोमिटरमा झरेको छ। छिङहाई–सिजाङ पठारमा गरिएको दोस्रो व्यापक वैज्ञानिक अभियानअनुसार सन् १९९० देखि २०२० सम्म पठारमा रहेका हिमतालहरूको संख्या र क्षेत्रफल दुवै २० प्रतिशतभन्दा बढीले बढेका छन्।

जलवायु परिवर्तनले कसरी बढाउँछ हिमनदी ध्वस्त हुने जोखिम?

CGTN : तापक्रम बढ्दै गएको जलवायुले हिमनदी र पर्वतीय ढलानलाई स्थिर राख्ने भौतिक अवस्थालाई कसरी परिवर्तन गर्छ? कुनै विशेष घटनाको प्रत्यक्ष कारण जलवायु परिवर्तन नै हो भनेर भन्न नसके पनि, के जलवायु परिवर्तनले हिमनदी ध्वस्त हुने जोखिम बढाउँछ भनेर भन्न सकिन्छ?

माः तापक्रम, वर्षा र भू–आकृति हिमनदी निर्माण तथा विकासका लागि आवश्यक तीन प्रमुख अवस्था हुन्। सन् १९६० को दशकदेखि छिङहाई–सिजाङ पठार र आसपासका क्षेत्रहरूमा उल्लेखनीय रूपमा तापक्रम बढेको छ, र त्यहाँको तापक्रम वृद्धिदर सोही अवधिको विश्वव्यापी औसतभन्दा स्पष्ट रूपमा बढी रहेको छ।

उच्च तापक्रमका घटनाहरू अझ धेरै भइरहेका छन् भने वार्षिक वर्षामा पनि उतारचढावसहित वृद्धि भएको छ र चरम अवस्था बढेको छ। जलवायु तापक्रम वृद्धिले हिमनदीको द्रव्यमान क्षति तीव्र बनाएको छ, हिमनदीको गति बढाएको छ र तिनको आन्तरिक संरचनाको स्थिरता घटाएको छ, जसले हिमनदीको आकस्मिक तीव्र गति र हिउँ हिमपहिरोका लागि आवश्यक गतिशील अवस्था सिर्जना गरेको छ।

हिमनदी पग्लिँदा बढ्दैछन् हिमताल र विस्फोटको जोखिम

यसैबीच, हिमनदी पग्लँदा बनेको पानीले हिमतालहरूको संख्या बढाएको छ र तिनको क्षेत्रफल तीव्र रूपमा विस्तार गरेको छ। चरम तापक्रम, चरम वर्षा र कमजोर भूगर्भीय अवस्थासँग मिलेर यसले हिमताल विस्फोटसम्बन्धी विपद्हरूको बढ्दो आवृत्तिमा योगदान पु¥याएको छ।

हालसम्मको अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा, अगस्ट २६ मा भएको उक्त घटना सुरुमा हिउँ–चट्टान हिमपहिरोबाट उत्पन्न भएको थियो। घटनास्थल मध्य हिमालयको दक्षिणी ढलानमा रहेका समुद्री प्रभावयुक्त हिमनदीहरूको क्षेत्रमा अवस्थित छ। लामो समयदेखि जारी जलवायु तापक्रम वृद्धिको प्रभावमा हिमनदीको बरफको तापक्रम बढेको छ र हिमनदीको प्रवाह तीव्र भएको छ। यससँगै हिमनदीको आन्तरिक संरचना क्रमशः कम स्थिर बन्दै गएको छ भने पर्वतीय ढलानहरू पनि झन् चिरा परेका र कमजोर भएका छन्।

जलवायु परिवर्तन हिमनदी पग्लिने प्रक्रियाको एउटा महत्वपूर्ण दीर्घकालीन जोखिम कारक हो। यस घटनाको प्रत्यक्ष कारण भने हिमनदीको अस्थिरताबाट उत्पन्न भूगर्भीय वातावरणमा आएको परिवर्तन थियो।

हिमनदी कहिले ध्वस्त हुन्छ भन्ने ठ्याक्कै भविष्यवाणी गर्न सकिन्छ?

CGTN : के कुनै हिमनदी वा बरफको ठूलो भाग कहिले ध्वस्त हुन सक्छ भनेर अनुमान गर्न सकिन्छ? ठूलो ध्वस्त हुनुअघि वैज्ञानिकहरूले कस्ता संकेतहरू खोज्नुपर्छ?

झाङः यदि पर्याप्त अनुगमन उपकरणहरू जडान गरिएका छन् र प्राप्त तथ्यांकलाई समयमै विश्लेषण गर्न सकिन्छ भने, कुनै हिमनदी ध्वस्त हुने सम्भावना छ वा छैन भन्ने कुरा मूलतः अनुमान गर्न सकिन्छ। तर हिमनदी ठ्याक्कै कुन समयमा ध्वस्त हुन्छ भन्ने भविष्यवाणी गर्नु अत्यन्त कठिन छ। हाल अधिकांश हिमनदीहरू दुर्गम र उच्च हिमाली क्षेत्रमा अवस्थित छन्, जहाँ पर्याप्त अनुगमन छैन। त्यसैले हिउँ हिमपहिरोको भविष्यवाणी गर्नु अत्यन्त कठिन छ।

भूगर्भीय र मौसमसम्बन्धी विभिन्न पक्षका संकेतहरू अनुगमन गर्न आवश्यक हुन्छ। उदाहरणका लागि, हिमनदी रहेको क्षेत्रमा भूकम्प गएको छ वा छैन, हालै लामो समयसम्म वा अचानक तापक्रम बढेको छ वा छैन, तथा लामो समयसम्म वा चरम वर्षा भएको छ वा छैन भन्ने कुरा हेर्नुपर्छ। साथै, जहाँ अनुगमनको सुविधा उपलब्ध छ, त्यहाँ हिमनदीभित्रको तनाव र विकृतिजस्ता संकेतहरूमा विशेष ध्यान दिनुपर्छ।

दुर्गम हिमाली क्षेत्रमा अनुगमन अझै ठूलो चुनौती

माः पर्वतीय हिमनदीहरू चिसो र उच्च हिमाली क्षेत्रमा फैलिएका हुन्छन्, जहाँ नियमित रूपमा व्यवस्थित स्थलगत अवलोकन गर्न कठिन हुन्छ। फलस्वरूप प्रत्यक्ष अवलोकनबाट प्राप्त तथ्यांक तुलनात्मक रूपमा सीमित छन्। उन्नत अवलोकन प्रविधिको निरन्तर विकासले नियमित अनुगमनका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको छ।

तर व्यापक पूर्वचेतावनी प्रणाली स्थापना गर्नु अझै दीर्घकालीन चुनौती बनेको छ। छिङहाई–सिजाङ पठारको जटिल भू–आकृति र विशिष्ट हिमनदीजन्य विपद्हरूको विशेषतालाई ध्यानमा राख्दै समन्वित पृथ्वी प्रणाली अवलोकन सञ्जाल निर्माण गर्न आवश्यक छ। विशेष गरी उच्च जोखिममा रहेका हिमनदी र हिमताल क्षेत्रहरूको गतिशील अनुगमनलाई सुदृढ बनाउनुपर्छ।

विपद्का धेरै कारक जोडिएर बन्न सक्छ ठूलो श्रृंखलाबद्ध संकट

यससँगै विशिष्ट हिमनदीजन्य विपद्हरूका विपद् उत्पन्न गर्ने प्रक्रियासम्बन्धी अनुसन्धानलाई अझ गहिरो बनाउनुपर्छ, एक व्यापक पूर्वचेतावनी सूचक प्रणाली स्थापना गर्नुपर्छ र भविष्यका प्रवृत्तिहरूको मूल्याङ्कन तथा पूर्वानुमान गर्नुपर्छ। यसरी उच्च हिमाली क्षेत्रका हिमनदीमा भइरहेको परिवर्तनबाट उत्पन्न प्रभाव र विपद् जोखिमलाई वैज्ञानिक ढंगले रोकथाम तथा सक्रिय रूपमा सामना गर्न सकिन्छ।

हालैका विपद् घटनाहरूले हिमनदीजन्य विपद्हरू प्रायः भूकम्पले पर्वतीय ढलान कमजोर बनाउने, हिमनदी पछाडि हट्ने, पर्माफ्रस्ट पग्लिने, चिरा परेको कमजोर भूगर्भीय अवस्था, लामो समयसम्मको गर्मी वा वर्षा तथा चरम मौसम र जलवायु अवस्थाजस्ता परस्पर क्रियाशील जटिल कारकहरूको श्रृंखलाबाट उत्पन्न हुने देखाएका छन्। यी कारकहरू लामो समयसम्म एक–अर्कासँग जोडिन सक्छन् र ठूलो स्तरका श्रृंखलाबद्ध विपद्हरू निम्त्याउन सक्छन्। प्रभावकारी अनुगमन र पूर्वचेतावनी प्रणालीका लागि यी सबै कारकलाई नियमित अनुगमनमा समावेश गर्नुपर्छ।

उपग्रहबाट कति पहिले थाहा पाउन सकिन्छ सम्भावित विपद्?

CGTN : उपग्रह र अन्य अनुगमन प्रविधिहरूले अस्थिर हिमनदी वा पर्वतीय ढलानबारे हामीलाई के जानकारी दिन सक्छन्? प्रभावकारी अनुगमन प्रणालीले वास्तविक रूपमा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायलाई कति समयअघि चेतावनी दिन सक्छ?

झाङः विपद् आउनुअघि रिमोट सेन्सिङ र स्थलगत अनुगमनजस्ता प्रविधिहरूले कुनै हिमनदी सम्भावित रूपमा अस्थिर छ वा छैन र त्यसले कति स्तरको जोखिम उत्पन्न गर्छ भन्ने जानकारी दिन सक्छन्। विपद् भएपछि यिनै प्रविधिहरूले घटनाको स्थान, फैलावट र प्रभावबारे जानकारी दिन सक्छन्। विभिन्न प्रकारका विपद्का लागि चेतावनी समय निकै फरक हुन्छ।

हिमताल विस्फोटमा दिनको चेतावनी, हिमपहिरोमा मिनेट मात्र

जब अनुगमन प्रणाली पूर्ण रूपमा कार्यशील र प्रभावकारी ढंगले सञ्चालन भइरहेको हुन्छ, हिमताल विस्फोटको पूर्वचेतावनी समय दिनका हिसाबले मापन गर्न सकिन्छ। तर हिउँ हिमपहिरो र हिम हिमपहिरोका लागि पूर्वचेतावनी दिन अत्यन्त कठिन हुन्छ र चेतावनी समय निकै छोटो, सम्भवतः मिनेटको स्तरमा मात्र हुन सक्छ।

पूर्वचेतावनी प्रणालीको सबैभन्दा ठूलो कमजोरी ः अपर्याप्त अनुगमन

CGTN : हाम्रो वर्तमान पूर्वचेतावनी प्रणालीका सबैभन्दा ठूला कमजोरीहरू के हुन्?

झाङः अपर्याप्त अनुगमन नै अहिले हिमनदीजन्य विपद्को पूर्वचेतावनी प्रणालीको सबैभन्दा ठूलो कमजोरी हो। यसमा उच्च जोखिममा रहेका सबै हिमनदीलाई समेट्न नसक्ने सीमित अनुगमन क्षेत्र तथा मुख्यतः उपग्रह रिमोट सेन्सिङ तथ्यांकमा निर्भर रहने तर स्थलगत अनुगमन तथ्यांकको कमी हुने अवस्था समावेश छ।

‘हावा–अन्तरिक्ष–भूमि’ त्रिआयामिक अनुगमन प्रणालीको आवश्यकता

विपद्को तीव्र पहिचान र सटीक निर्धारण सुधार गर्न तथा पूर्वचेतावनीका लागि बलियो आधार प्रदान गर्न बहु–तहयुक्त ‘हावा–अन्तरिक्ष–भूमि’ त्रिआयामिक अवलोकन तथा संवेदन प्रणाली विकास गर्न सिफारिस गरिएको छ।

हिमनदीजन्य जोखिमका लागि एकीकृत पूर्वचेतावनी प्रणाली आवश्यक

माः संयुक्त राष्ट्रसंघको “Early Warnings for All” पहलले पूर्वचेतावनी प्रणालीका चार प्रमुख तत्व पहिचान गरेको छ—विपद् जोखिमसम्बन्धी ज्ञान, अनुगमन तथा पूर्वानुमान, चेतावनीको प्रसार र सञ्चार, तथा तयारी र प्रतिक्रिया। हिमनदीसम्बन्धी जोखिमका सन्दर्भमा यी चारै क्षेत्र अझै पर्याप्त रूपमा विकसित भएका छैनन् र एकीकृत अनुगमन तथा पूर्वानुमान प्रणाली स्थापना गर्नु अत्यन्त आवश्यक छ।

चीनको सरकारी मिडिया सीजीटीएनबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार