नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले क्रान्तिकारी बाटोबाट पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

रुपन्देहीको भैरहवामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्था र वैदेशिक हस्तक्षेपविरुद्ध आफ्नो पार्टी निरन्तर लडिरहने बताएका हुन्।

कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसदीय राजनीतिले देश र जनताका वास्तविक समस्या समाधान गर्न नसकेको दाबी गरे। वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई स्वाधीन बनाउनुको साटो झन्-झन् परनिर्भर र संकटग्रस्त बनाएको उनको तर्क थियो।
कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा उनले भने:
“संसदवादी हुनु भन्दा एक्लै भएपनि देश र जनताको पक्षमा लड्दा-लडदै बलिदान गरिन्छ, तर संसदवाद र साम्राज्यवादसँग आत्मसमर्पण गरिँदैन।”

विप्लवले क्रान्ति र परिवर्तनको यात्रामा उतारचढाव आए पनि सिद्धान्त र निष्ठा छाडेर संसदीय दलदलमा नफस्ने स्पष्ट पारे। देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारका लागि सम्झौताहीन संघर्ष नै आफ्नो पार्टीको मुख्य कार्यदिशा रहेको उनले दोहोर्‍याए।

नेपालको वर्तमान आर्थिक तथा राजनीतिक संकटको मुख्य कारण दलाल पूँजीवाद र वैदेशिक हस्तक्षेप भएको उल्लेख गर्दै उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकतामा जोड दिए।

भैरहवामा भएको सो भेटघाट कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय वस्तुस्थिति र भावी राजनीतिक कार्ययोजनाबारे समेत छलफल भएको जनाइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार