नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द (विप्लव सी)ले आजको कम्युनिस्ट आन्दोलनको आवश्यकता संघर्ष र रुपान्तरण रहेका बताएका छन् ।

पोखरामा आफ्नो पार्टीको गण्डक प्रदेशको राजनीतिक प्रशिक्षणलाई संवोधन गर्दै महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरुबीच एकता आवश्यक हो तर पूरानैं गल्ती र सोच बोकेर गरिने एकताको कुनैं अर्थ नरहेको जिकिर गरे ।

महासचिव विप्लवले विगतमा पनि केपी ओली र प्रचण्डले एकता गरेपनि त्यो एकताको जग नैं गलत भएको र अहिले पनि यी दुई नेताको एकता हतारमा गरिन थालेको बताए ।

आजको सन्दर्भमा कम्युनिस्ट पार्टीका मुख्य नेताहरुले जनतालाई दिएको धोका र कमजोरीबारे गंभीर समीक्षा र गल्तीपछिको रुपान्तरणसहित गरिने एकताले मात्र कम्युनिस्ट एकता दिगो हुने महासचिव विप्लवको भनाई छ ।

विगतमा प्रचण्ड र माधव नेपालसँग कम्युनिस्ट एकताबारे निकैं लामो कुराकानी भएपनि प्रचण्ड नैं एकताको प्रस्तावबाट भागेको विप्लव सीको आरोप छ ।

‘प्रचण्डजीसँग निकैं लामो कुराकानी भयो र अन्तमा प्रचण्डजी एकताको प्रस्तावबाट भाग्नु भयो । हामीले एकताका लागि तीनवटा कुरा गरेका थियौं ।’  विप्लवले भने- ‘पहिलो नेपाली क्रान्ति कसरी हुन्छ भनेर हामीले जनतालाई भन्न जरुरी छ । नेपाली जनताको दुश्मन को ? त्यो भन्नु पर्यो नि । प्रचण्डजीले भन्नु पर्यो । आजको दिनमा नेपाली जनताको प्रधान दुश्मन दलाल पुँजीवाद हो । साम्राज्यवाद हो । यो प्रचण्डले भन्नु पर्यो र लेख्नुपर्यो ।’

आजको दिनमा कम्युनिस्टहरु एकता हुने हो भने पूराना ठूला कम्युनिस्ट भन्नेहरुमा ठूलो गल्तीको महसुशसहित संघर्ष, रुपान्तरण र एकता हुनुपर्ने विप्लवको दाबी छ । एकता र फेरि फुट विगतमा देखिएकोले अब रुपान्तरण र एकता हुनुपर्ने उनको जोड छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार