उद्यमशीलता र नेतृत्वमा व्यावहारिक सीपसम्बन्धी पुस्तक सार्वजनिक
उद्यमशीलता, व्यवस्थापन र व्यक्तिगत विकासलाई व्यावहारिक निर्णयसँग जोड्दै इन्जिनियर तथा व्यवस्थापन पृष्ठभूमिका लेखक सैलेश आचार्यले ‘शब्दले संसार बदल्छ’ पुस्तक सार्वजनिक गरेका छन् । शिखा बुक्सद्वारा प्रकाशित पुस्तकले सीमित स्रोतसाधनबीच व्यवसाय सञ्चालन, आर्थिक दबाब व्यवस्थापन, नेतृत्व विकास र कार्यक्षमता अभिवृद्धिका विषय समेटेको छ ।
पुस्तकको मुख्य पात्रमा २८ वर्षीय समीरले सीमित आम्दानी र ठूला आकांक्षाबीच आफ्नै व्यवसाय सुरु गर्छन्। प्रारम्भिक उत्साहपछि ठूलो परियोजना गुमाउँदा आर्थिक संकट सामना गर्नुपरेको उनको अनुभवमार्फत व्यवसाय सञ्चालनमा व्यक्तिगत मेहनतसँगै योजना, सहकार्य, जिम्मेवारी बाँडफाँट र निर्णय क्षमताको महत्त्व देखाइएको छ ।
पुस्तकले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र नभई असफलताबाट सिक्ने, उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्ने र काम विस्तार हुँदै जाँदा व्यवस्थापकीय शैली परिवर्तन गर्न सक्ने क्षमता पनि भएको सन्देश दिएको छ । यसले विशेषगरी साना तथा नयाँ उद्यमीका लागि कामको चाप व्यवस्थापन, सहकर्मीमाथि विश्वास र संस्थागत निर्णय क्षमताको विकासलाई महत्त्व दिइएको छ ।
लेखकले बुद्धिमत्ता, अवलोकन, अभ्यास र अनुशासनलाई निरन्तर सिकाइसँग जोड्दै व्यावहारिक विकासको अवधारणा प्रस्तुत गरेका छन् । पुस्तकमा आत्ममूल्यांकन, कार्ययोजना निर्माण र २१ दिने अभ्याससमेत समावेश छन् । १५० पृष्ठको पेपरब्याक पुस्तकको मूल्य ४२५ रुपैयाँ रहेको छ । विद्यार्थी, युवा पेसाकर्मी, उद्यमी तथा नेतृत्व र व्यवस्थापनमा रुचि राख्ने पाठकलाई लक्षित पुस्तकले सोचमा परिवर्तनसँगै व्यवहारिक सुधार र जिम्मेवार निर्णय प्रक्रियामा जोड दिएको छ ।