बेत्रावती नदी किनारमा सयौं वर्षदेखि

इतिहासका पानाहरू च्यापेर

म गजधम्म बसिरहेथें

अचानक मेरै गल्छेडोबाट

उर्लिएको हिमाली सुनामीले

मेरो जरा उखेल्यो,

मलाई क्षत–विक्षत बनायो,

म लड्खडाउँदै निस्कें नदीबाट

र

फ्याँकिएँ अनकन्टार गर्तमा

पहिचान लुकाएर ।

खासमा म पत्थर थिएँ कि शिला रु

सीमास्तम्भ थिएँ कि इतिहास रु

बर्बरिक एक्लैले देखेथ्यो महाभारत

मैले पनि एक्लै हेरिरहेथें

उर्लेको बेत्रावतीको ज्वालामुखीलाई,

बौलाएको भोटेकोशीको ताण्डवलाई

हेर्दाहेर्दै एकै निमेषमा

विशाल बस्तीहरू खण्डहर बने

बस्ती बस्तीमा किचिएका

पहिरो र बाढीमा बगेका,

सुरुंगभित्र थुनिएका

हजारौं बाल, वृद्ध र बनिताका चीत्कारहरू,

आर्तनादहरू

जिजीविषाका रोदनहरू सुनिरहें

तर, मैले के नै गर्न सक्थें र रु

आफैं ढलेपछि,

आफैं उखेलिएपछि

कसले देख्ला र सुनामीको कथा

कसले लेख्ला र ती आँसुका कथा रु

मेरै रोहवरमा

मलाई नै साक्षी राखी

झण्डै दुई शतक अघि

दुई देशले सीमा कोरेर

भूगोल छुट्याएर भने

तल नेपाल, माथि तिब्बत ।

हो, त्यसैदिन हो मेरो हृदय चिरिएको ।

भन्न त मानिसहरू भन्छन् नि ‘पत्थरको हृदय हुन्न’

तर होइन

म त्यसै दिन रोएको थिएँ

किनकि

मैले नै देश छुट्याएँ

तल र माथि गरेर

मैले नै मानिस–मानिस छुट्याएँ,

मैले नै भाषा–भाषा छुट्याएँ,

मैले नै पहिरन छुट्याएँ

त्यसैबेलादेखि मलाई पश्चात्ताप भइरहेथ्यो

त्यही पश्चात्तापको ज्वालाले

अन्ततस् कैलाश पर्वतको जलस्नान गरी

म मुक्त भएँ र विलुप्त भएँ

यस धरामा

मलाई पश्चात्तापको पाप पखाल्न दिनुस्

मलाई इतिहासको गर्तभित्रै लुक्न दिनुस्

मलाई कसैले नखोज्नु

त्यो ‘सन्धिढुंगो’ कहाँ गयो भनेर रु

– नर्थ क्यारोलाइना

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार