
‘केही गद्धारहरु सिसमहल छिरे पनि सपनाहरु मरेका छैनन्, जीवितैं छन् ।’
खोमा तरामुमगर क्रान्तिकारी साहित्यमा एक उदीयमान युवा साहित्यकारको रुपमा चिनिन्छन् । उनको हालसालैं ‘सपनाको भन्ज्याङ’ बजारमा आएको छ । तरामुद्धारा लिखित निवन्धसंग्रह ‘सपनाको भन्ज्याङ’ले क्रान्तिकारी आन्दोलनमा क्रान्तिकारी सपना र उत्साह भर्ने काम गरेको छ ।
माओवादी जनयुद्धका नायक भनेर चिनिने पुष्पकमल दाहाल प्रचण्डले दश वर्षे लामो क्रान्तिकारी आन्दोलनलाई बीच बाटोमा लगेर अलपत्र पारेपछि नेत्र विक्रम चन्द विप्लवले नयाँ क्रान्तिकारी आन्दोलनलाई नेतृत्व प्रदान गरेका छन् । त्यो आन्दोलनको बाटो अहिले एकीकृत जनक्रान्ति बन्न पुगेको छ ।
प्रचण्डद्धारा क्रान्तिकारी सपनालाई बीच बाटोमा अलपत्र पारेर उनीसहित एउटा ठूलो डप्फा सिसमहल छिरेको भनेर साहित्यकार तरामुले आफ्नो निवन्धसंग्रहमा तीव्र आलोचना गरेका छन् । आलोचनामात्र होइन उनले क्रान्तिकारी सपना जिउँदैं रहेको र त्यो सपना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पूरा गर्न खोजिरहेकोले आफु त्यही अभियानको यात्री रहेको कुरा प्रष्ट्याएका छन् ।
क्रान्तिकारी साहित्यकार तरामुमगरले विप्लव नेतृत्वको नेकपाले नयाँ क्रान्तिकारी आन्दोलनको अभियान संचालन गरेपछिको दौरानमा विभिन्न यात्रा अनि जनतासँगको भेटघाटलगायतका क्रममा जम्मा गरिएको विचार अनुभूतिहरुको संगालो ‘सपनाको भन्ज्याङ’ तयार हुन पुगेको छ । यो निवन्धसंग्रह कुनैं लेखकको आफ्नो गन्थन-मनन् होइन, बरु यसले अहिलेको क्रान्तिकारी आन्दोलनले जनतामा दिएको सन्देश अनि जनताले नेकपाप्रति गरेको आशालाई जीवन्तरुपमा पुस्तकको रुपमा उनिएको छ ।
यो निवन्धसंग्रहमा ३१ वटा लेखहरु रहेका छन् । ‘सहिदभूमिमा उभिएर’देखि शुरु गरेका उनले ‘हिउँको बर्षात् सम्झेर’ भन्ने शीर्षकमा पुगेर निवन्धसंग्रह अन्त्य गरेका छन् । वरिष्ठ प्रगतिशील साहित्यकार दिल साहानी र क्रान्तिकारी गीतकार माइला लामाले भूमिका लेखेका छन् भने यो निवन्धसंग्रह अखिल नेपाल लेखक संघ, केन्द्रीय समितिले प्रकाशन गरेको हो ।
सानो तर चिटिक्क आकारमा तयार भएको यो पुस्तकको मूल्य २०० राखिएको छ । आजको दिनमा क्रान्तिकारी सपना देख्नेहरुले यो निवन्धसंग्रह पढ्नैंपर्ने देखिन्छ ।







