नेपाली बाङमयको वर्णविन्यासमा देखापरेको अराजकता हटाउने पहलका लागि प्रा.डा. खेम कोइराला ‘बन्धु’ को संयोजकत्वमा बुधबार नयाँ समिति गठन भएको छ । ‘श्री नेपाल’ संस्थाद्वारा बुधबार आयोजित छलफल कार्यक्रममा सो समिति गठन भएको हो ।
समितिमा वरिष्ठ साहित्यकार, समालोचक, विभिन्न शिक्षालयमा नेपाली विषयका अध्यापक रहेका छन् । वर्णविन्यासमा लागू गर्न खोजिएको नयाँ मापदण्डले भाषाको मौलिकता मर्ने भएकाले त्यसलाई पूर्ववत् अवस्थामा कायम गर्न समितिले पहल गर्ने संयोजक कोइरालाले जानकारी दिए ।
नेपाली भाषाको व्याकरण बिगारिएको भन्दै डा. गाउँले बलदेव अधिकारीको संयोजकत्वमा यसअघि एक अभियान नै सञ्चालित हुँदै आएको छ । सो विषय हाल सर्वाेच्च अदालतमा विचाराधीन पनि छ ।
कोषकार चूडामणि गौतमले वर्तमानमा साविक वर्णविन्यासकै नियमबाट मात्र नेपाली लेखनको हालको समस्या सम्बोधन हुने बताए । लेखक हरिभक्त सिग्देलले नेपाली भाषामा संस्कृत बाङमयका कृति अनुवाद गरी सर्वसाधारणले बुझ्नेगरी प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए ।
संस्थाका अध्यक्ष चिरञ्जीवी अधिकारीले नेपालका बाङमय, नेपालका भाषा र नेपाली संस्कृति बचाउन सबै लाग्नुपर्ने औँल्याए । कार्यक्रममा प्रा. मोहनराज शर्माले डा. कोइराला लिखित ‘विश्वास’ उपन्यासको विमोचन गरे ।
पुस्तकबारे बोल्दै साहित्यकार तथा राजनीतिज्ञ प्रदीप ज्ञावलीले साहित्यमा विचार र सौन्दर्य पक्षलाई एकैसाथ समावेश गर्नुपर्नेमा जोड दिए । प्रा.डा. अमरराज जोशीले नेपालीमा विश्वका विशिष्ट कृतिको अनुवाद गरिनु आवश्यक भएकाे बताए







