गोरखा नगरपालिका ४ पस्लाङका युक्तबहादुर राना दशैँका लागि घरेलु रक्सी पार्दै छन्। टहरोको एक कुनामा बनाइएको अगेनोमाथि ठूलो हन्डा (रक्सी पार्ने मुख्य भाडो) मा कोदो पाक्दै छ। भगभग उम्लिएको पानी फाल्दै चिसो पानी हन्डामाथि खन्याउँदै गरेका रानासंग हिजो बिहानीपख मेरो भेट भयो।
रानाको हन्डामा तयार हुँदै गरेको रक्सी ब्यबसायीक प्रयोजनका लागि होइन। आफ्नो संस्कार, संस्कृतिलाई निरन्तरता दिनका लागि रक्सी पारेको उनले बताए। भने, ‘बेच्न होइन, हाम्रो संस्कार अनुसार पूजाआजा कार्यमा रक्सी नभइ हुन्न ।’ पाहुनापाछालाई पनि रक्सी खान दिने चलन नयाँ होइन। भूकम्पपछि रक्सी खाने बढेका हुन्? उनले भने, ‘खै कसरी हिसाब गर्नु?’
अस्थायी टहरो बनाउन १५ हजार र घर बनाउन पहिलो किस्तामा पाएको ५० हजारमध्ये केही रकम रक्सी खरिदमा भूकम्पपीडितले सकेको बताइन्छ।
एक तले छाप्रो (टहरो) मा रानाको परिवार भूकम्पपछिको १७ महिना बसिसके। भूकम्पअघि ठूलो घरमा भिन्नाभिन्नै कोठामा बसोबास गर्दै आएका रानाको परिवार भूकम्पपछि एउटै टहरोमा एकैसाथ बसिरहेका छन्। घर कहिले बनाउने ? उनले भने, ‘खोइ ? सरकारले पैसो दिन्छु भन्यो अहिलेसम्म दिएन। आफै बनाऊँ भने पैसो छैन।’ गोरखाको ६० गाबिसमध्ये लाप्राकी, बुढीगण्डकी प्रभावित र गोरखा नगरपालिका क्षेत्रका केही वडाका लाभग्राहीलाई पहिलो किस्ताको रकम बितरण गर्न बाँकी छ।
साँघुरो टहरोमा अन्न भण्डारण गर्न, घर परिवारका सदस्यहरु बस्न, सुत्न, खान तथा दसैं, तिहारजस्ता ठूला चाडपर्वका बेला पाहुना सुताउन समस्या छ। यस्तै समस्या पस्लाङका ६२ बर्षिय ठगबहादुर रानाको पनि छ। दशैँका लागि आवश्यक मरमसला किन्न बजार निस्कदै गरेका रानाले मसंगको भेटमा टहरोमा बस्नुपरेको पीडाबारे यसरी बेलिबिस्तार लगाए।
‘घरमा सुंगुर छ। सबैले सुंगुरको मासु खाँदैनन्। कोहीले कुखुरा केहीले खसी खाने हो भने’ परिवारका सदस्यहरुको मागबारे उनले सुनाए, ‘सबैलाई चित्त बुझाउनुपर्यो। उनीहरुको दशैँ रमाइलो बनाइदिनैपर्या छ। बरु ऋण लागेलागोस्।’ दसैंका बेला घरीघरी झरी पर्दा राना आत्तिसके। जताततै हिलो हुँदा सुत्ने ओछ्यानमा पनि हिलो पुगिसकेको उनको गुनासो छ ।
‘पोहोर जसोतसो दशैँ मनाएझैं गरेको’ उनले भने, ‘यसपाला रमाइलो गरुँला भनेको थिएँ, घर बनाउन पाएन।’ उनले पनि अनुदान रकम पाएका छैनन्। सरकारको बाटो हेर्दा दुःख पाएको उनको भनाइ छ। उनका दुई ओटा घर भूकम्पले माटोमा मिलाइदिएको थियो। ‘कटेरोमा जमरा राख्या छौं। कटेरोमै दशैँ मान्ने हो। पाहुना राख्ने हो।’ सरकारले पाँच लाख रुपैंया दिएमा घर बनाउन सजिलो पर्ने अन्यथा बलियो घर बनाउन नसकिने रानाले बताए।

पस्लाङकै ६२ बर्षिया तुलकुमारी राना टहरोमा बसेर सालको पातहरु गाँस्दै टपरी बनाउन ब्यस्त थिइन्। पूजाको सर्दम राख्न र पाहुनालाई खानेकुरा दिन सालको टपरी बुनेको उनको भनाइ छ। ‘आफू बुढो भइहालेँ’ ठट्यौली पारामा उनले भनिन्, ‘भाडा माझ्ने कोही छैनन् । सालको टपरीमा खानेकुरा दियो, टपरी फ्याकिँदियो।’ टपरीमा मासु चिउरा खान मज्जा हुने उनले बताइन्। बाँसले बारेको एक तले टहरोमा रानाको परिवार भूकम्पपछि बस्दै आएका छन्।
टहरो छेउमा रात्तामे भएर सर्वदा फूलेपनि पस्लाङकै तिलकबहादुर रानाको अनुहारमा दसैंको कुनै रौनक झल्किएको देखिएन। ‘आँगन हिलोहिलो छ’ उनले भने, ‘गोठजस्तो साँघुरो टहरोमा बसेर दशैँ मान्नुपर्ने भो, रमाइलो हुने भएन।’ राना पनि सरकारले कहिले अनुदान रकम देला र घर बनाउन सुरु गरुँला भन्ने पर्खाइमा छन्। ‘जस्ता, त्रिपाल टाँगेस बसेका छौं । दुःखी, गरिवलाई के दशैँ’ मुख अमिलो बनाउँदै उनले भने। अनुदान रकम हात परेपछि भूकम्पप्रतिरोधी फराकिलो घर बनाउने र रमाइलोसंग बस्ने रानाको चाहना छ ।
पस्लाङकी ८३ बर्षिया दुर्गाकुमारी थापा आफ्ना बिरामी, बृद्ध श्रीमानको हेरचाहमा व्यस्त रहेछिन्। क्यामेरा बोकेर हिडेको देखेपछि थापाले भनिन्, ‘नाम छुटाइदिए हामीलाई सरकारले पैसो दिएन बाबु।’ भूकम्पले उनको घर भत्केको भएपनि गाउँ पुगेका ईञ्जिनियरले तथ्याङ्क संकलनका क्रममाः उनको नाम छुटाइदिएछन्। उनको दुखेसो छ, ‘मेरो छोरो हर्कबहादुरको पनि नाम छुटेछ।’ जस्तापाताले छाएको र त्रिपालले बेरेको टहरोमा दुर्गाकुमारीको परिवार बस्दै आएका छन्। बुढाबुढी अशक्त हुँदै गएपनि हेरचाह गर्न घरमा छोराछोरी छैनन्।
‘पोहोर पनि भत्किएको घरको गाह्रोमा दुर्गा पूजा गरेँ। अहिलेपनि नयाँ घर बनाउन सकेनौं त्यही गाह्रोमा दुर्गा पूजा गर्छु’ उनले भनिन्, ‘टहरोमा राखेको जमरा हरियै भयो। थुन्सेले छोपेर जमरा राख्नुपरेको छ।’ टहरोमा उज्यालो भएकाले मकैको जमरा हरियो भएको हो। प्रकाश नपर्ने ठाउँमा राखेको जमरा पहेलो रङको हुन्छ। सकेसम्म जौ को जमरा राख्नुपर्ने हो तर जौ अभावमा मकैको जमरा राख्ने प्रचलन चल्दै आएको छ। सरकारले घर बनाउन पैसा दियो भने छिट्टै नयाँ घर बनाउने र बसोबास गर्ने थापा परिवारको सोच छ।
भूकम्पमा कान्छी बुहारी (सुशीला थापा) गुमाएका पस्लाङका शेरबहादुर थापा मगरको आँगनमा यो बर्ष पनि दशैँको कुनै रौनक देखिएन । टहरो छेउ ढकमक्क घाँस उम्रेको छ। आँगन नजिक फूलहरु फूलेपनि शेरबहादुरको परिवारले रमाइलोसंग दशैँ मनाउन सकिरहेका छैनन्। ‘पैसो भए मीठोमसिनु खाने हो नभए कर्कलाको डाँठ खानुपर्ला’ उनले भने, ‘टहरोमा बस्या छौं, भत्किएको भगनाबशेष अझै तह लगाउन सकिएन ।’ छोराहरु दशैँ मनाउनका लागि घर फर्कनुपर्ने भएपनि अहिलेसम्म आइपुगेका छैनन्। छोराको पर्खाइमा शेरबहादुर छन्।
गोरखाको ६० गाबिस र दुई नगरपालिकामध्ये सिर्दिवास गाबिसमाथिका बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र छेकम्पारमा दशैँ मनाइदैन। यी भेगमा विशेष गरी बौद्ध धर्ममा आस्था राख्नेहरु छन्। यस्तै हिन्दु धर्म बाहेक इसाइलगायत धर्ममा विश्वास गर्दै आएका मानिसहरु पनि निधारमा रातो टीका लगाउँदैनन्। दसैंलाई उतिसाह्रो महत्व दिएको देखिँदैन। गोरखा क्षेत्र नं. १, २ र ३ का अधिकांश क्षेत्रमा दशैँको रौनक छ। तर, बिस्तारै दसैंको महत्व घट्दै गएको देखिन्छ। गाउँमा युवाहरु छैनन्। पिङ हाल्ने चलन घटेको छ। पिङप्रतिको आकर्षण घटेको कहाँ हो र? युवा विदेश पलायन भए पिङ हाल्ने जनशक्तिको अभाव खड्कियो ।

दशैँमा पनि आकासे पानी पर्ने क्रमः रोकिएको छैन। बेलुकीपख गर्जनसहित चट्याङ पर्छ। सदरमुकाम बाहेक अन्यत्र कालोपत्रे सडक छैन। ३२ ओटा मुख्य ग्रामीण सडकमा जेनतेन बस चलेका छन्। अन्य शाखा सडकहरु हिलैहिलो छ। त्यसमाथि पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी नजिक ऐनापहिरोमा झरेको पहिरो पन्छाएर दुवैतर्फी सडक खुलाउन नसक्दा दशैँ मनाउन घर हिँडेका हजारौं यात्रु अलपत्र छन्। यो समस्या यात्रुले मुग्लिनदेखि नारायणगढ सडक खण्डमा झन् सास्ती भोग्नुपरेको छ। मुख्य सडकहरु निर्माणलाई भन्दा गाउँका पहाड फोडेर घरघर कच्ची सडक पुर्याउने क्रमले निरन्तरता पाएको छ।
दशैँको मुखमा उत्तरी गोरखाका माछाखोला र सिर्दिवासस्थित फिलिम डिपोमा चामलको एक दाना छैन। नेपाल खाद्य संस्थानले चामल ढुवानी नगर्दा विगत एक महिनादेखि चामलको अभाव झेल्नुपरेको सिर्दिवासकी कुमारी गुरुङ बताउँछिन्। दशैँमा चामलको अभाव हुन नदिने भन्दै विभिन्न संघसंस्थाको सहयोगमा हेलिकोप्टरबाट चामल ढुवानी सुरु गरिएको छ। केयर नेपाल, अक्सफाम तथा सिआरएस नामक अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा नेपाल खाद्य संस्थानको चामल खाद्यकै दुर्गमस्थित डिपोमा ढुवानी सुरु गरेको गैरसरकारी संस्था महासंघका अध्यक्ष सीताराम श्रेष्ठ बताउँछन्।
दुर्गममा पुर्याएको चामल सहुलियत दरमा बिक्री गर्ने हो सित्तैमा वितरण गर्ने होइन। गोरखाका अधिकांश भुकम्पपीडितले अनुदान रकम बुझेपनि घर बनाउन सुरु गरेका छैनन्। दशैँ, तिहारपछि घर बनाउन सुरु गर्ने भूकम्पपीडित बताउँछन्।
तर, चारैतिरको पहिरोले सिंगो गाउँ जोखिममा परेपछि कहाँ घर बनाउने भन्ने चिन्ता उत्तरी गोरखाको दुर्गम गाबिस केरौंजाका जनतालाई छ। भूकम्प गएको १७ महिना बितिसक्दा पनि केरौंजा अस्तव्यस्त छ। घर बनाउने ठाउँ अभाव हुँदा केरौंजाबासी समस्यामा परेको स्थानीय नेता समेत रहेका केरौंजाका सुकबहादुर गुरुङको भनाइ छ। केरौंजामा सहयोग गर्न भन्दै पुगेका पिपुल इन निड, अक्सफामलगायत संघसंस्थाले स्थानीय भूकम्पपीडितको आवश्यकता अनुसार काम गरेका छैनन्। जनता समस्यामा छन् । गोरेटो बाटो बनाउनुपर्ने छ। दशैँका बेला चिटिक्क घरहरु सजिएका हुनुपर्नेमा भूकम्पपीडित टहरोमै छन्। दशैँ साह्रै खल्लो छ।







