दशैंले झ्याप्पै घेरा हाल्यो। प्रत्येक वर्ष यसैबेला काठमाडौं अत्यन्तै व्यस्त हुने गर्छ। यो याममा किनमेल निकै हुन्छ। किन्ने र बेच्नेको भीडले काठमाडौं कुनै स्वचालित मेसिन जस्तो भइदिन्छ। ‘कहाँ जाने दाइ?’ सहकर्मी सन्देश दुमरु मोटरसाइकलको कान बटार्दै भन्दै थिए। मैले भने, ‘जाऊँ भाइ बजार खिच्न।’ बजार! उनी अकमकिए। ‘हो भाइ दशैंको बजार खिच्ने।’ मैले भने।
चर्को ट्राफिक जाम छिचोल्दै हामी नयाँ सडकको गेटभित्र छिर्यौं। अलिपर पिपलबोट नजिकैको गल्लीमा मोटरसाइकल छाडिराखेर हामी लाग्यौं इन्द्रचौकतिर।
इन्द्रचोक त्यस्तै व्यस्त। किनमेल गर्ने मानिसको भीड र चर्को कोलाहल। क्यामेरामा कैद गर्न लायक केही पनि पाएनौं। फेरि सोझियौं असनतिर।
असन पनि उस्तै भीड। कसैलाई केही भन्नु छैन। केवल दिनु र लिनु छ। किन्नु छ, बेच्नु छ। बस् यस्तै–यस्तै।

दशैंको उपहार, श्रीमतीलाई रातो सारी
त्यही व्यस्त चौकबाट वरपरका व्यापारी र बटुवाको हप्की खाँदै एउटा भारी बोक्ने मजदुर हाम्रो अघि लाग्यो। बेलाबेलामा उनको मुखबाट रिक्साको जस्तो ‘हर्न’ आइरहेको थियो। ‘कस्तो जानेको।’ ‘होइन हाड मासुले बनेको मान्छे हो कि, कुनै मेसिनले? कत्रो भारी बोकेको, अनि कस्तो गाडीले जस्तै हर्न दिँदै हिँडेको।’ हठात मेरो मनमा प्रश्न उठ्यो। त्यसपछि पच्छ्याउन थाल्यौं उनैलाई।
उनी असन चौकबाट महाबौद्धको गल्लीतर्फ मोडिए। एकजना व्यापारी जस्ता देखिने मान्छे अघिअघि हिँड्दै थिए। महाबौद्धको स्तुपाभित्र लगे उनले भारी। भारी बिसाएर टोपीले पसिना पुछ्दै पैसा थापे। नाम्लोलाई बेरेर काखीमुनि च्यापे। घुँडासम्म पट्याएको मैलो जिन्सको पेन्टको गोजीमा पैसा राखे। स्तुपाको आँगन नजिकैको किराना पसलबाट एउटा चुरोट लिए। शिरको टोपी निलो ट्रयाकसुटको भित्री गोजीमा राखे। व्यस्त सडकको पेटीमा थ्याच्च बसे। गोजीबाट सलाई निकालेर चुरोट सल्काए। त्यसपछि एकसुरले तान्न थाले चुरोट।
‘दाइ नमस्ते।’ नजिकै गएर उनलाई नमस्ते गरेँ। सुरुमा उनी अकमकिए। भारी बोक्नेलाई कसले नमस्ते गर्छ? सायद उनी यही सोचेर आफूलाई नमस्ते गरेको होइन कि भनी वरपर चिहाए। आफैँलाई नमस्ते गरेको यकिन भएपछि सानो स्वरमा नमस्ते फर्काए।
के छ दाइ हालखबर? मैले कुराको मेलो सुरु गरेँ। उनले ठिकै भएको प्रतिकृया दिए। मैले उनलाई कमाइको बारेमा सोधेँ। उनले दिनको त्यस्तै ५–६ सय रुपैयाँ कमाइ हुने बताए।
उनी डल्लुमा बस्दा रहेछन्। नाम टेकबहादुर बस्नेत। घर दोलखा सुनखानी। असन, इन्द्रचौक वरपर भारी बोक्न थालेको २० वर्ष पुगनपुन भएछ। डल्लुमा ४ जना एउटै कोठा लिएर बस्दा रहेछन्। कोठाको भाडा जम्मा २५ सय। त्यसलाई चार भाग लगाएर तिनुपर्ने। खाना खाने बिहान बेलुकी होटलमा। एकछाक मासु भातको ८० रुपैयाँमात्र।
जहान–छोराछोरी चाँहि कहाँ हुनुहुन्छ नि? मैले सोधेँ। ‘दुई भाई छोरा छन्, एउटी छोरी। खेतीपाती गर्नै पर्यो। सबै गाउँतिरै छन्।’ यति भनी सकेर उनले चुरोट एक सर्को ताने। ‘अनि के किन्नु भयो त श्रीमतीलाई दशैँको उपहार?’ मैले प्रश्न गर्दा उनी अलि लजाए जस्तो गरे। ‘केही किन्या छैन। महँगो छ। एउटा सारी चाँहि किनेको छु।’ उनले थोरै लजाउँदै भने, ‘कस्तो रङको दाई?’ मैले फेरि कोट्याएँ। ‘रातो र रङको, ऊ त्याँ रत्नपार्कमा किनेको।’ उनले अर्को सर्को चुरोट तान्दै भने।
घर कहिले जाने तपाईं? मैले सोधेँ। ‘खै टिकट काटेको छैन। जानु पर्ला २२ गतेतिर।’ सडकतिर पिच्च थुक्दै उनले भने। पसले साहुजीले भिड भएको जनाउ दिए। उनी धुलो टक्टक्याउँदै उठे।
अनि भूकम्पले तपाईंको घर भत्काएको छ कि छैन? ‘जम्मै भत्कायो नि। केही बाँकी छैन। सोधिसक्दा नसक्दै उनको जवाफ आयो।
उनीसँग हामी छुट्टियौं। उनी नाम्लो काँधमा राखेर वीर अस्पतालतिर गइरहेका थिए।

दशैँको रेट १०० रुपैयाँ
त्यसपछि हामी महाबौद्ध छेउको चाइना बजारमा पुग्यौं। बजारको बाहिरपट्टि मन्दिरको पूर्वउत्तर क्षेत्रमा एकजना नाम्लो लिएर उभिरहेका थिए। टिसर्टमाथि कालो रंगको इस्टकोट लगाएका। अन्दाजी ४० काटेका जस्ता देखिने उनी मन्दिरलाई अढेस लाएर ग्राहक कुरिरहेका थिए।
उनी रहेछन् दोलखा सुन्द्रावतीका कृष्णबहादुर थामी। भारी बोक्न थालेको १५ वर्ष बितेछ। ‘यही महाबौद्ध, इन्द्रचौक, असन, न्युरोडतिर भारी बोक्दाबोक्दै १५ वर्ष बितेछ नि।’ चाइना बजारतर्फ जिउ मर्काउँदै उनले सुनाए। दशैंमा घर जाने टुंगो नभएको उनले बताए।
‘हिजो टिकट काट्न गाको। टिकट नै पाइनँ। अब भोलि जान्छु। टिकट नपाए छतमा गइन्छ होला।’ उनले भने। उनले पनि लुगाफाटो केही नकिनेको बताए। महँगो भए पनि जानेबेला छोराछोरीलाई केही लगिदिने सुरमा छन् उनी। ‘अनि दशैँका लागि कति पैसा जोहो गर्नु भो त दाइ?’ मैले उनलाई सोधेँ। ‘खै के गर्नु पैसा नै बच्दैन। त्यस्तै हुन्छ होला १० हजार जति त।’ उनले आफ्नो दशैँको बजेट सुनाए।
कुरा गर्दागर्दै एकजना ग्राहक आइपुगे। उनी भन्दा फुच्चे–फुच्चे देखिने व्यक्तिले ‘फुर्सद हो?’ भने। उनले हो भने। मोलमोलाई भयो ठाउँको ठाउँ। भारी पुर्याउनुपर्ने रहेछ न्युरोडको ताम्राकार हाउस। ग्राहकले ५०–६० रुपैयाँ दिने कुरा गरे। उनले दशैँ आएको र एक सय रुपैयाँ त चाहिने बताए। अन्तिममा उनीहरुको कुरा मिल्यो। जान्छु है भन्दै उनी ती ग्राहकको पछिपछि लागेर अलप भए।
तीन कालखण्ड भारी बोकियो
मन्दिरको पल्लोपट्टी छेउमा भेटिए दोलखा सिमावर्तीका ६३ वर्षे कर्णबहादुर बस्नेत। घरमा श्रीमती र छोरी मात्रै। उनी सबैभन्दा पाका भरिया देखिन्थे। मन्दिरको अघिल्लो पट्टी बनेको सानो मन्दिरको पेटीमा बसेर गल्लीेतिर टोलाइरहेका थिए। तल हाफ पाइन्ट र माथि निलो ट्राउजरमाथि कालो रङको इस्टकोट लगाएका थिए। हातमा घडी थियो। शिरमा नाम्लोले थेप्चिएको टोपीे। टोपीको खास काम त्यहाँ देखियो। उनीहरु त्यही टोपीले पसिना पुछ्थे। नाम्लोको डाम पनि त्यही टोपीले सहेको थियो।
‘दशैं लागेन काका?’ मैले उनलाई नमस्कार गर्दै सोधेँ। ‘हामीलाई पनि लाग्ना नि दशैं। यो देश हामी भरियाहरुको पनि त हो नि।’ उनको अप्रत्यासित कुराले म चकित परेँ। समाजले मामुली काम भनेर छाडेको भारी बोक्ने काम, त्यही पेशामा लागेका ती बृद्ध उन्मुख व्यक्तिको कुरा सुनेर मेरो कान ठाडो भयो।
अनि काका कति भो त भारी बोक्न थालेको? मैले उनलाई थप कुरा सोधेँ। ‘पञ्चाययतकालदेखि बोकेको। कति भो होला त? उल्टै उनैले प्रश्नको झटारो हाने। हामीबीच थोरै हाँसो भो। ‘अहो, भनेपछि तपाईं आज गणतन्त्र आउँदासमेत भारी नै बोकिरहनु भएको छ?’ यो प्रश्न उनका लागि विषय उठान जस्तो भइदियो। त्यसपछि सुरु भयो उनको धाराप्रवाह।
‘हेर्नुस् भाइ, मन्त्रीको मात्रै होइन यो देश। मन्त्रीलाई पनि जनताले बनाको त हो। जनताले बनाएपछि जनतालाई सुख शान्ति दिनुपर्ने हो। तर, हाम्रो देशमा त्यो छैन। उल्टै जनतालाई बेचेर नेता बन्नेहरु छन्। यस्तो नेताहरु देशमा भएपछि हामीले भारी नबोकेर कस्ले बोक्छ?’ उनी रोकिएनन्।
उनले पञ्चाययतकालदेखि बहुदल हुँदै गणतन्त्रसम्म आफूले भारी बोकेको सुनाए। पञ्च्यातकालमा २० रुपैयाँ, बहुदलमा ५० रुपैयाँ र गणतन्त्रमा एक सय रुपैयाँमा भारी बोकेको सुनाए। तर, आजको सय रुपैयाँभन्दा पञ्च्यायतकालको २० रुपैयाँले नै धेरै थोक आउने उनको अनुभव छ। ‘अहिले त एक सय रुपैयाँमा केही पनि आउँदैन,’ उनले सुनाए।
दिनको ४–५ सय कमाई हुने र अहिले बागबजारमा सामूहिक रुपमा बस्दा रहेछन् उनी। दशैंका लागि महँगीका कारण अहिलेसम्म केही किन्न नसकेको र जाने बेलामा किन्ने बताए। भूकम्पले घर भत्किएको र ५० हजार राहतले केही पनि नबन्ने उनको आक्रोश थियो।
सीप छ, पुँजी छैन
छोटो कपाल पालेका, टाटेपाङ्गे्र लुगा लगाएका एक जना युवा कतै भारी पुर्याएर टुप्लुक्क ‘जक्सन’मा आइपुगे। उनको घर रहेछ दोलखा सिँगटी। नाम सुन्दर खत्री। वर्ष २२ । अहिले श्रीमतीसहित पेप्सीकोलामा बस्दा रहेछन्। उनी भर्खरै मलेसिया तीन वर्ष बसेर आएका।
‘तीन वर्ष विदेश बसेको मान्छे। केही पैसा त कमाउनु भयो होला। यो भन्दा अरु काम गर्दा हुँदैन? मैले यसो भन्दा उनी एकछिन् चुप लागे। ‘जाँदा घर सग्लै थियो। आउँदा घर भत्कियो। कमाएर ल्याको पैसाले घर बनाउन ठिक भयो। अहिले त जस्ताको जस्तै। साफानाफा बराबर।’ उनले सुस्तरी भने। तर, वरपरका उनका साथीहरु गलल हाँस्न थाले। उनी पनि खिस्स हाँसिदिए।
विदेश जान पटक्कै मन नलागेको र मन नभई–नभई फेरि विदेश जाने तयारीमा रहेको उनले सुनाए। तीन वर्षसम्म विदेशमा बेकरीमा काम गरेको र त्यो सिप नेपालमा लागू गर्ने उनको चाहाना थियो। ‘सिप सिकेको छु नि, के गर्नु लगानी गर्ने पैसा छैन।’ उनले दुखेसो पोखे। देशमा आएको विभिन्न परिवर्तनले आफ्नो जीवनमा खासै केही असर नपरेको र वाध्यताले भारी बोक्नुपर्दा दुःख लागेको उनले सुनाए।
सुन्दरले पनि दशैंका लागि भनेर किलमेल गरेका रहेनछन्। टिकट पाएनछन्। ‘सप्तमी–अस्टमीतिर गइन्छ होला। गाउँ त जानै पर्छ, यहाँ त सुनसान के बस्नु।’ उनले सुनाए।
यसपालीको दशैं छाप्रोमा
फेरि अर्का बृद्ध अड्डामा देखा परे। कपाल आधाउधी झरिसकेको। बाँकी कपाल टोपीले छोपेका थिए। निधारमा गहिरो खत देखिन्थ्यो। आँखा भित्र भाँसिएका। कमिजमाथि लगाएको इस्टकोट च्यातिएको थियो। उनी काँधमा नाम्लो थपक्क राखेर हामी नजिकै आएर टुक्रुक्क बसे।
सुरुमा उनी कुरा गर्न हिचकिचाए। अलिअलि रिसाए पनि। नमस्ते फर्काएनन्। उनीभित्र तीव्र असन्तुष्टि मडारिरहेको हामीले देख्यौँ। कुराप्रति खासै ध्यान नदिई परपर हेरिरहन्थे। ‘के कुरा रे?’ निकैबेरपछि उनले चासो दिए।







