मोटरसाइकलको कान फुट्ने आवाज, डबलीभरि छरिएका तरकारी पसल, तिनकै आडमा पार्किङ गरिएका ट्याक्सी, जथाभावी अड्याइएका रिक्सा । छेवैमा चिया, म:म र नाङ्ले पसल । पानीपुरी, चटपटे र फलफूल बेच्ने स्ट्यान्ड । कहिलेकाहीँ ठूला गाडी त्यहीबीच हुइँकिन्छन् । कोही पान र गुट्खा चपाएर पिच्च थुक्दै हिँड्छन्, कोही चुरोटका ठूटा जथाभावी हुर्‍याउँछन् । थोरै बाटो नछोड्दा बाइक र ट्याक्सीवालाको उस्तै खप्की । बचेर हिँड्नै धौ–धौ ।

पाठकलाई लाग्न सक्छ, यो कुनै अस्तव्यस्त बजारको वर्णन हो । यस्तो लथालिंग हालत अन्त हुनु पनि कहाँ ? तर, ऐतिहासिक धरोहर वसन्तपुर दरबार क्षेत्रमा हरेक साँझ यस्तै दृश्य देखिन्छ, जसले मल्लकालीन सम्पदा र संस्कृतिले भरिपूर्ण यस क्षेत्रको गौरवलाई गिज्जाइरहेको छ । स्थानीय गणपतिलाल श्रेष्ठ दुखेसो पोख्छन्, “यहाँ आउँदा मेरो त मन पोल्छ र कहिले भागूँजस्तो हुन्छ भने विदेशी पर्यटक कसरी रमाउँदा हुन् ?

वसन्तपुरपछि उपत्यकाकै अर्को ऐतिहासिक दरबार क्षेत्र भक्तपुर पुग्यौँ । झन्डै चार सय वर्ष पुरानो वैभवपूर्ण ५५ झ्याले दरबारको पूर्वपट्टि खाली चोक छ, हुनुपर्ने त त्यहाँ विभिन्न धार्मिक र सांस्कृतिक महत्त्व झल्कने कार्यक्रम हो । यत्ति नभए पनि त्यहाँ पुग्ने आगन्तुक शान्त भएर वरपरका दरबार र मठमन्दिर नियाल्न मग्न हुनुपर्ने । तर, त्यो चौरलाई ‘पार्किङ जोन’ बनाइएको छ । घटीमा चार–पाँच ठूला गाडी र केही थान मोटरसाइकल हमेसा पार्किङ गरिएकै हुन्छ । जब कि, त्यहीँनजिकै सवारी साधन निषेध भनेर लेखिएको छ । दरबार क्षेत्रका स्थानीयवासी तथा इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्, “सवारीको चापले भिजुअल पोलुसन (दृश्यगत प्रदूषण) त भएकै छ, सँगै सम्पदाको पनि खिसिट्युरी गरिरहेको छ ।”

उपत्यकाकै तेस्रो दरबार क्षेत्र पाटनको हविगत पनि वसन्तपुर र भक्तपुरको भन्दा भिन्न छैन । मोटरसाइकल, ट्याक्सी र टेम्पोको दबदबालाई छिचोल्दै दरबार क्षेत्रभित्र छिर्नै कष्टप्रद छ । बिहान अलि होलो भए पनि दिउँसो र साँझ मापालबाट बगलामुखी जाने बाटोमा खपिनसक्नु जाम हुन्छ । कोही दरबार क्षेत्रको बीचबाटै मोटरसाइकल हुइँक्याउँछन् । पर्यटन व्यवसाय र सम्पदा संरक्षण अभियानमा संलग्न स्थानीय दिलेन्द्र श्रेष्ठ भन्छन्, “धूलो र धूवाँ त छँदै छ, पर्यटकलाई कतिबेला गाडी र मोटरसाइकलले ठक्कर देला भन्ने भय हुन्छ । ढुक्कले घुम्न पाउँदैनन् । दरबार क्षेत्रबाट कहिले निस्कुलाझैँ गर्छन् ।”

वसन्तपुर, पाटन र भक्तपुर तीनै दरबार क्षेत्र विश्वसम्पदा सूचीमा रहेका ऐतिहासिक सम्पत्ति हुन् । सफा, शान्त र सहज आवागमन सम्पदा क्षेत्रका अनिवार्य सर्त हुन् । तर, तिनै दरबार परिसरका सम्पदा यो विश्वव्यापी मानकभन्दा बाहिर छन् । परिणाम सामु छ, एकातिर विदेशी पर्यटक मल्लकालीन सभ्यता लिएर बाँचेका यी सहरमा एकाध घन्टा बिताउन पनि अप्ठ्यारो मान्छन् । अर्कोतिर, सम्पदाको स्वरूप र साख दिनानुदिन धमिलिँदै छ । त्यसैले त सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरी भन्छन्, “मौलिकता जोगाएर पर्यटकको धुइरो लगाउन दरबार क्षेत्रलाई कडाइका साथ संरक्षणसहितको नो भेइकल जोन बनाउनुको विकल्प छैन ।” यसो हुनासाथ काठमाडौँ पर्यटकको ‘ट्रान्जिट’मा मात्र सीमित हुँदैन । त्यसका लागि दरबार क्षेत्रबाहिर पर्याप्त पार्किङको व्यवस्था, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारीको सहज पहुँच र सामान ओसारपसारका लागि निश्चित समयमा सवारी प्रवेश खोल्ने प्रणालीको विकास गर्नुपर्ने उनी बताउँछन् । (हेर्नूस्, सवारी प्रवेश निषेधसहितको दरबार क्षेत्रका बारेमा पुरीको अवधारणा स्केचमा) ।
03102016035849kathmandu-durbar-square-by-bhaswor-ojha-13-1000x0

सम्पदाको पुरातात्विक महत्त्व मात्र हुँदैन, यसले हाम्रो सामाजिक, सांस्कृतिक र धार्मिक जीवनलाई पनि प्रतिविम्बित गर्छ । काठमाडौँमा मनाइने हरेक पर्व/जात्राको आरम्भ र ढुकढुकीको केन्द्र हुन्, यी तीन दरबार । मल्लकालमा यी दरबारबाट राज्य सञ्चालन हुन्थ्यो । इतिहासकार पुरुषोत्तमलोचनका अनुसार राजकीय वासस्थानमा थिएनन् दरबार, बरू देवीदेवता बस्ने पुण्यस्थान रहेको विश्वास पनि गरिन्छ । सम्पन्नताको मानक आधुनिकतालाई होइन, प्राचीनतालाई मान्ने जमाना आएको छ । त्यसैले संवद्र्धन गर्दा यस क्षेत्रका दरबार, मठमन्दिर, बहाल, बिहार, ढुंगेधारा मात्र होइन, प्रत्येक घर र भग्नावशेष पनि विशिष्ट सम्पदामा दरिनेमा शंकै छैन ।

जस्तो : भक्तपुरभन्दा सानो ऐतिहासिक सहर इटालीको भेनिसमा बर्सेनि ३ करोड ६० लाख पर्यटक पुग्छन् । जब कि त्यसभन्दा पुराना र सांस्कृतिक महत्त्व बोकेका यस्तै दर्जनौँ सम्पदा छन् हामीसँग । पर्यटन व्यवसायमा आबद्ध सम्पदाप्रेमी दिलेन्द्र भन्छन्, “काठमाडौँका यी तीन दरबार क्षेत्र श्रीखण्ड हुन् तर हामीले खुर्पाको बिँडका रूपमा पनि प्रयोग गर्न सकेका छैनौँ ।” पुरीजस्तै उनी पनि सवारी र फुटपाथ रोक्ने हो भने पर्यटकको चाप स्वत: बढ्ने विश्वास गर्छन् ।

सम्पदालाई जोगाउनका खातिर होस् या पर्यटकको आवागमन बढाउन र बसाइ लम्बाउन अथवा सम्पदाप्रति स्थानीयवासी र घरेलु पर्यटनको अपनत्वबोध गराउनका लागि नै किन नहोस्, उपत्यकाका तीनै दरबार क्षेत्र सवारीमुक्त बनाउनुपर्नेमा द्विविधा छैन । त्यसपछि पर्यटक तान्न विभिन्न मूर्त र अमूर्त सम्पदाको बजारीकरण गर्ने माहौल स्वत: बनिहाल्छ । फेरि यो सपनालाई साकार पार्न लगानी चाहिने पनि होइन, इच्छाशक्ति भए पुग्छ । तर, उपत्यकाको सम्पदा संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा यसको बृहत्तर प्रभाव पर्नेे सम्बन्धित विज्ञहरूको दाबी छ । इतिहासकार पुरुषोत्तमलोचन भन्छन्, “अनि, बल्ल छाती फुलाएर भन्न पाइन्छ, मल्लकाल (पास्ट) इज स्टिल अलाइभ इन भक्तपुर, पाटन एन्ड वसन्तपुर दरबार स्क्वायर ।”

वसन्तपुर : कल्चरल हब

सन् १९६० को दशकसम्म काठमाडौँमा सिमेन्ट छिरेको थिएन । जति भौतिक संरचना बन्थे, सबै माटो, इँटा र काठले बन्थे । झन् वसन्तपुर त मल्लकालमा स्थापित भएको सहर पर्‍यो । यसबाटै यो क्षेत्र कति बहुमूल्य होला, अनुमान लगाउन सकिन्छ । अर्थात् यहाँका मठमन्दिर मात्र होइन, निजी घर र चोक पनि अमूल्य निधि हुन् ।

त्यसमाथि काठमाडौँको मुटुमा अवस्थित यस क्षेत्रलाई शान्त र सफा बनाउने हो भने पर्यटक आगमनको केन्द्र बन्नेमा द्विविधै छैन । राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका ऐतिहासिक भवन र मन्दिरहरू अनि त्यतिबेलाबाटै प्रचलनमा रहेका जात्रा/पर्व वसन्तपुरलाई विशेष बनाएको छ । फागु, दसैँलगायतका हरेक पर्व र जात्राको शुभारम्भ हुन्छ । त्यसैले त वसन्तपुर ‘कल्चलर हब’ भएको पुरातत्त्व विभागका पूर्वमहानिर्देशक संस्कृतिविद् साफल्य अमात्यको मत छ । भन्छन्, “हाम्रो संस्कृति र परम्पराको केन्द्र भनेकै वसन्तपुर हो ।” मल्लकालदेखि शाहवंशका राजा पृथ्वीवीरविक्रम शाहसम्मले हनुमानढोकामा बसेर शासन चलाएका थिए ।

चर्या, पुलुकिसी (सेतो हात्ती), लाखेजस्ता परम्परागत नृत्य र न्याँखे, सनई, धिमे, नगरा, ज्यापुलगायतका वाजा वसन्तपुरका चिनारी हुन् । दसैँ, तिहार, फागुभन्दा पुरानो चाड मानिएको इन्द्रजात्रा त वसन्तपुरको ‘ट्रेडमार्क’ भइहाल्यो । सेतो मच्छिन्द्रनाथको रथ जात्रा र चाँगुनारायणको कलश यात्रा यहीँ टुंगिन्छ । यस्ता नाच र बाजाहरू निश्चित पर्व या जात्रामा मात्र देखाइन्छ । कुमारी घरको डबली, मरुटोलको डबली, महादेव–पार्वती मन्दिरअगाडिको डबलीमा सातामा एकपटक यस्ता सांस्कृतिक कार्यक्रम गर्दा ‘फेस्टिव सिजन’मा मात्र नभई सदाबहार पर्यटकको ओइरो लाग्ने सम्पदा संरक्षण समितिका सदस्य गणपतिलाल श्रेष्ठ बताउँछन् ।

बहाल वसन्तपुरको अर्को विशेषता हो । विद्यालय नभएका बेला बौद्धधर्म अध्ययन केन्द्र र भोजभतेरजस्ता सामूहिक कार्यमा बहालको प्रयोग गरिन्थ्यो । यस्ता बहाल काठमाडौँमा कुल १ सय ६८ छन्, जसमध्ये १८ वटा मुख्य हुन् भने बाँकी शाखा बहाल । धार्मिक र सामाजिक महत्त्व बोकेका यी बहाललाई पुस्तकालय र अध्ययन/अनुसन्धान केन्द्रका रूपमा रूपान्तरित गर्नुपर्ने विज्ञहरू औँल्याउँछन् । यस क्षेत्रमा विष्णुमती खोलाको छेउ, विजेश्वरी, टंकेश्वरी र शोभा भगवतीलाई पनि समेट्नुपर्ने सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको माग छ । सडकछेउका घरको बाहिरी आवरणमा नेपाली वास्तुकला झल्कने झ्याल, ढोका बनाउने घरधनीलाई महानगरपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने योजना बनाएको छ । यसले दरबार वरपर परम्परागत सौन्दर्य कायम हुने विश्वास छ ।

असनको सांस्कृतिक विविधता र ‘फ्रिक स्ट्रिट’का रूपमा ख्याति कमाएको झोछेँले पर्यटकलाई थप आकर्षित तुल्याउन सक्छ । थहिटीका अमित बज्राचार्य भन्छन्, “पर्यटकका लागि वसन्तपुर घुमाउन तीन–चार दिनको प्याकेज बनाउन सकिने आधार छ । असन र झोछेँ एरियाका पुराना शैलीका घरलाई होम स्टे बनाउने हो भने यस क्षेत्रको स्वरूप नै बदलिन्छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार