भारतको गोवामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक त्रिपक्षीय छलफल भएलगत्तै चीनले भारत र नेपालसँग मिलेर अगाडि बढ्ने आकांक्षा फेरि व्यक्त गरेको छ।
सोमबार बेइजिङस्थित परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवा चुनयीङले भारत र नेपालसँग आपसी सहयोग अघि बढाउँदै तीन मुलुकबीच साझा विकास प्रवर्द्धन गर्दै जाने विषयमा चीन आशावादी रहेको बताइन्।
भारतको गोवामा सम्पन्न ब्रिक्स मुलुकको सम्मेलनका अवधिमा चीनका राष्ट्रपति सी जिनपिङले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको बताउँदै प्रवक्ता हुवाले राष्ट्रपति सीले सो भेटमा चीनले नेपालसँगको सम्बन्धलाई निकै जोड दिएको बताइन्। राष्ट्रपति सी र प्रचण्डबीचको भेटलाई जोड्दै उनले भनिन्, ‘नेपालसँग विभिन्न क्षेत्रको प्रभावकारी सहयोगलई गहन पार्दै जान चीन इच्छुक छ।’
गोवामा प्रधानमन्त्री दाहाल, चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त फोटो लिएछन्, उनीहरूबीच त्रिपक्षीय सहयोगबारे पनि छलफल भएको हो भन्ने प्रश्नमा चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता हुवाले सिधा जवाफ दिइनन्। तर उनले त्रिपक्षीय भेटतर्फ संकेत गर्दै नेपाल र भारत चीनका मैत्रीपूर्ण छिमेकी हुन् भन्दै त्रिपक्षीय सहयोग अभिवृद्धि गरिनु पर्ने बताइन।
भारत र नेपालसँग मिलेर विकासमा अघि बढेमा क्षेत्रीय स्थिरता र सामाजिक विकासमा टेवा पुग्ने चीनको विश्वास रहेको हुवाले जनाइन।
अनौपचारिक त्रिपक्षीय भेटवार्तामा भएको छलफलतर्फ इन्गित गर्दै चिनियाँ परराष्ट्र प्रवक्ता हुवाले भनिन्, ‘नेपाल, भारत र चीनबीचको त्रिपक्षीय र द्बीपक्षीय सम्बन्धको असल आदान प्रदानबाट नै सम्बन्धित देशको आर्थिक तथा सामाजिक विकास मात्र नभई क्षेत्रीय स्थिरता तथा विकासका लागि पनि सकारात्मक अर्थ रहन्छ।’
पत्रकार सम्मेलनमा भारतको गोवामा नेपालका प्रधानमन्त्रीसँग भएको द्विपक्षीय भेटवार्ताबारे सोधिएको प्रश्नको जवाफमा हुवाले भनिन्, ‘सीले चीन र नेपाल नदी र हिमालले जोडिएका छिमेकी मुलुक रहेको र अन्तर्राष्ट्रिय जगतमा जे जस्तो उथल पुथल आएपनि दौत्य सम्बन्ध स्थापनाको आधा शताब्दी पार भैसक्दा पनि नेपाल र चीनबीचको मित्रता सदैव स्वस्थ तरिकाले विकसित भैरहेकोमा सीले प्रसन्नता व्यक्त गरे।’
चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रवक्ता हुवाले चीन नेपालसँग प्रयोगात्मक ढंगले सहकार्य गर्न तत्पर रहेको बताइन। नेपाली र चिनियाँ जनताका साझा सपना साकार तुल्याउने दिशामा विविध क्षेत्रमा व्यवहारिक सहकार्यलाई गहन पार्न चीन तत्पर रहेको पनि उनले उल्लेख गरिन।
सीले भेटका अवसरमा दुवै पक्षले उच्चस्तरीय आदान प्रदानलाई बलियो पार्नुपर्ने, राजनीतिक सम्पर्क बढाउनु पर्नेमा जोड दिएको उल्लेख गर्दै हुवाले भेटघाटको सारांश बताइन, ‘साझा चासोका मुलभूत कुरामा एकले अर्कालाई सहयोग दिनुपर्छ।’
कनेक्टिभिटी, स्वतन्त्र व्यापार सम्झौता, ऊर्जा विकासका कुराहरुमा दुई पक्ष सहमतीमा पुगेको उल्लेख गर्दै उनले त्यसको कार्यान्वयनमा दृढतापूर्वक लाग्नुपर्नेमा चीनको जोड रहेको जनाइन।
चीन नेपालको पुनर्निर्माणमा निरन्तर सहयोग गर्न इच्छुक रहेको र भौतिक संरचना निर्माणसँगै जनजीविका उकास्न र साँस्कृतिक सम्पदा निर्माणमा पनि उच्च गुणस्तरको लगानी गर्न तयार रहेको हुवाले बताइन्।
दुवै पक्षले पर्यटन, शिक्षा, युवा, मिडिया आदि क्षेत्रमा वृहत् परिमाणमा साँस्कृतिक आदानप्रदानमा जोड दिनुपर्ने उनले बताइन्।
चिनियाँ राष्ट्रपति सीसँगको भेटमा नेपालका प्रधानमन्त्री दाहालले इतिहासदेखि नै नेपाल चीन सम्बन्ध अटुट रुपमा जारी रहेको बताउँदै सहअस्तित्व, आपसी सम्मान र आपसी विश्वासमा आधारित रहेको बताएको पनि प्रवक्ता हुवाले जानकारी गराइन्।
‘भेटमा नेपाली पक्षले चीन नेपालको सच्चा साझेदार भएको बताएको र चीनसँग घनिष्ठ सहकार्य गर्न इच्छुक रहेको बतायो’, हुवाले थपिन।







