
कविता र वैचारिक लेखनमा जमेका विवशकुमार सेजुवालले गिती एल्वब सार्वजनिक गरेका छन् ।
यात्रा नामक एल्वममा विवशले आफ्नो जीवन यात्रालाई विम्वहरुमा उतारेका छन् । विवशले कोरेका शब्दहरुमा जनकलाकार सुशिल सिंह ठकुरीले संगीत भरेका छन् भने निर्मला घिसिङले स्वर दिएकी छन् । गीतमा विवशले आफ्नो जीवनको कठोर यात्राको सम्झना गर्दै आफूले देखेका सपनाहरुलाई विम्वमा उतारेका छन् ।
विवश १० वर्षे जनयुद्धमा सहभागी भएका एक योद्धा हुन् । जनमुक्ति सेनाको कमाण्डर भएर थुप्रै युद्धमोर्चाहरुमा लडेका विवश मूलत जनकलाकार हुन् । जनयुद्धको लामो समय उनी जनसांस्कृतिक संगठनमा आवद्ध भएर भूमिका निर्वाह गरे । नृत्यको समेत उत्कृष्ट प्रतिभा भएका विवश बाद्यवादन र गीत गाउन पनि उत्तिकै क्षमतावान थिए ।
जनताका गीत गाउँदै वस्ती वस्तीमा हिड्ने विवशले समसामयिक राजनीति, आफ्नो जीवन यात्रा र विचारसँग सम्बन्धित लेखहरु गीत, कविता तथा सस्मरण पनि लेख्ने गर्दथे । उनले लेखेका कविताहरुको संग्रह अमर दिप (२०६५) र संस्मरणहरुको संग्रह म रोएको त्यो दिन (२०६८) पुस्तकमा रुपमा प्रकाशित छन् । साथै थुप्र्रै पत्रपत्रिका र अनलाईमा उनका लेख रचनाहरु प्रकाशित हुँदै आएका छन् ।
तिनै विवशले पछिल्लो समय यात्रा नामक एल्वम सार्वजनिक गरेका हुन् । नआइदिए हुन्थ्यो यादहरु बोलको गीतमा उनले आफ्ना विगतको यात्रालाई सम्झेका छन् । महान उद्देश्य बोकेको जनयुद्ध र त्यसका नेताहरु अहिले बाटो बिराएर फेरि उही संसदीय बाटोमै हिडेको देखेर आक्रोशित भएका विवशले त्यसलाई साहित्यिक विम्वहरुमा उल्लेख गरेका छन् ।
उनले आफूले देखेको सपना साँच्चिकै पूरा होस भन्ने कामना गरेका छन् र त्यो सपना नक्कली सपना नभई साँच्चिकै वास्तविक सपना थियो भन्ने भाव गीतमा पोखेका छन् ।
साथै उनले आफ्नो त्यो यात्राको लक्ष्य पूरै भेटिएको जीवनको खोजी गरेका छन् ।







