रोल्पा भन्छ-
‘काठमाडौंलाई रोल्पा बनाउन गएको तँ,
तँ आफैं काठमाडौं भइस्,
काठमाडौं पसेर जात फेरिस् ।’

कहिलीकसो यसो गम्छु,
‘राजा र राणाका जीवनशैलीसित
मेरो जीवनशैलीले नि यसो मेल खायो भन्दैमा
जात फेरेको भन्नु मनासिब हो र ?’
nabin

 

रोल्पा भन्छ-
‘एक कल फोन त के
मिसकलसमेत गर्दैनस्
गरेको फोन पनि उठाउँदैनस् ।’

कहिलीकसो यसो गम्छु-
‘परिवारका सदस्य नातागोता र केही कमरेडका
न्यानो मायामा
तीन त्रिलोक र चौध भुवन देख्ने गरी ‘मस्तराम’ भएपछि
रोल्पालाई सम्झनैपर्ने कुन आइतबार छ र ?’

रोल्पा भन्छ-
‘पुर्खे सुनार र सुनसरा बुढा मगरलाई भुलिस्
सीता आचार्य र झन्कार मगरका गीत पनि पोली खाइस् ।’

कहिलीकसो यसो गम्छु-
‘माइकल ज्याक्सनको गीतमा छमछमी नाच्न छाडी
रोल्पाली सहिद र रोल्पाली गीत
सम्झनामा आउने कुन ‘माक्स्रवाद’ छ र ?’

रोल्पाको गुनासोले ‘हुक्क’ छु म
पटकपटक सोध्छु-
‘मूला रोल्पा !
तैले रेडियो नि कहिल्यै सुन्दैनस् कि क्या हो ?
टिभी नि हेर्दैनस् कि क्या हो ?’
पत्रिका नि पढ्दैनस् कि क्या हो ?’
मेरा ‘दुई शव्द’मा
‘रोल्पा’ उच्चारण गर्न कहाँ छाडेको छु र ?’

रोल्पा
तँ
जात्तिबित्ति ‘सोझो जडसूत्रवादी’ भइस्
एकपालि यसो मलाई नियाल् त,
जनयुद्धमा न मेरो छोरो गुमेको छ न मेरी छोरी
न मेरो विपना लुटिएको छ न मेरो सपना
न मेरो घर भत्केको न मेरो रहर
न मेरी भान्जी बलात्कृत भएकी छ न मेरी बुहारी
नौलो जनवाद आएपिछ
‘हुनुपर्ने’ र ‘पुगिने ठाउँ’
पुगिसकेँ म
अब तँ आफैंै भन् त रोल्पा,
के म पटमुर्ख छु र,
‘काठमाडौंलाई रोल्पा’ बनाउने जोखिम मोल्छु ?’

जब ऐना हेर्छु-
आफ्नै अनुहारले सोध्छ,
‘तँलाई अझै पनि काठमाडौं’ले ‘रोल्पाली’ भन्छ
रोल्पालीले ‘काठमाडौं’ भइस् भन्छ
ऐ नवीन विभास,
तँ आफै भन् त
तँ कस्तो डायस्पोरा भइस् हँ ?’

मेरो सिलुक सुनिरहेका
ए मेरो कमरेड,
नढाँटी भन्नु त-
‘के म रोल्पाले भनेजस्तो देखिन्छु र ?
]’माक्स्रको पूँजी’ कसम,
साफसाफ भन्नु त,
ऐनाले देखाएजस्तो देखिन्छु र म ?’

नविन विभासको आफ्नै ‘हटारु ब्लगस्पट’बाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार