नेपालको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण गर्ने अनि जनमुक्ति सेना र नेपाली सेनाको सम्मानजनक समामायोजन गर्ने मुख्य उद्देश्यसहित तत्कालीन संसदवादी र माओवादीबीच शान्ति सम्झौता भएको थियो ।
शान्ति सम्झौता भएको आज ठीक १० वर्ष भएको छ । ०६३ मंसिर ५ गते आजको दिन तत्कालीन संसदवादी र सरकारको पक्षबाट पूर्व प्रधानमन्त्री एव दिवगंत नेता गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

शान्ति सम्झौतामा हस्ताक्षर गर्दै गिरिजा प्रसाद कोइराला र प्रचण्ड
शान्ति सम्झौता भएसँगै माओवादीका जनसेनाहरु क्यान्टोनमेन्टमा हुलिए । दश वर्ष जनयुद्धमा माओवादीले स्थापना गरेका आधार इलाका, स्थानीय जनसत्ता र जनकम्युनहरु विघटन हुन थाले । यही सम्झौतासँगै माओवादी पार्टीको विघटनको प्रक्रिया शुरु हुन पुग्यो ।
शान्ति सम्झौताको मुख्य सार नेपाली समाजको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणको सिंगो कामलाई अलपत्र पारेर संसदवादीहरुले माओवादी जनयुद्धको मुख्य शक्ति र आधार रहेको जनमुक्ति सेना विघटनको मुद्धालाई पहिलो प्राथमिकतामा राखे । अनि तत्कालनी विद्रोही शक्तिको नेतृत्व गरेका प्रचण्डको आत्मसमर्पणकारी कदमका कारण शान्ति प्रक्रिया सही निश्कर्षमा पुग्न सकेन ।
शान्ति सम्झौताको १० वर्षमा संसदवादीहरु विजयी भए । दश वर्ष जनयुद्ध जितेर आएका माओवादीहरुले पराजय भोगे । शान्ति प्रक्रियाको मुख्य भाग जनमुक्ति सेनाको सम्मानजक समायोजन गर्ने काम एकाएक अपमानजनक विघटनको प्रक्रियामा गयो । त्यही विन्दुबाट शान्ति प्रक्रिया भंग हुन पुग्यो ।
०६३ मंसिर ५ को दिन माओवादी जनयुद्ध विघटनको आरम्भ विन्दु थियो भने ०६९ चैत्र २८ गते माओवादी जनयुद्धका सारा उपलव्धि विधिवत रुपमा समाप्त भएको दिन थियो । किनभने ०६८ चैत्र २८ को राति माओवादी सेनाको शिविरलाई प्रचण्ड र बाबुरामको निर्देशनमा नेपाली सेना लगाएर रेड गरिएसँगै एउटा अध्यायको अन्त्य हुन पुग्यो ।
त्यसपछि दिनमा पहिलो संविधानसभाको विघटन हुन पुग्यो । देशमा झन् अस्थिर र अराजक राजनीति बन्न पुग्यो । विदेशी शक्तिहरु फेरि हावी हुन थाले । पछि ०७१ मा भएको दोस्रो कथित संविधानसभाको निर्वाचनबाट एक थान संविधान घोषणा त भयो तर त्यसले केही पनि दिएन । बरु योसँगै झन् शान्ति सम्झौताका अरु बाँकी सबै प्रक्रिया अन्त्य हुन पुग्यो ।
यो दश वर्षमा न नेपालको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरण भयो न त जनमुक्ति सेनाको सम्मानजनक समायोजन भयो । बरु दश वर्ष लडेका जनमुक्ति सेनाहरु अपमानजनक व्यवहार खेपेर घर फर्किए । हजारौं लडाकुहरु आज अरब र मलेशियामा पसिना बगाउन जान बाध्य छन् । अनि कसरी देशमा शान्ति प्रक्रिया सफल भएको मान्न सकिन्छ ?

यिनै जनसेनाका बलबाट राजतन्त्र गयो र गणतन्त्रको स्थापना भयो ।
घटनाक्रमले यो देखायो कि शान्ति सम्झौताका १० वर्षमा परिवर्तनकारी नेपाली जनताले हारे र यथास्थितिवादी अनि विदेशी शक्तिहरु विजयी हुन पुगे । किनभने नेपाल झन् झन् अस्तव्यस्त बन्न पुग्यो ।
यसरी शान्ति सम्झौताका समग्र दश वर्ष अन्योलता र असफलतामा बित्यो । परिवर्तनकारीहरुको आँखाबाट भन्ने हो भने शान्ति प्रक्रिया भंग हुन पुगेको छ र देश मुठभेडतिर गएको छ । संसदवादी कांग्रेस र एमालेसँगै तत्कालीन विद्रोही माओवादी सुप्रिमो प्रचण्डको गंभीर गल्ती र कमजोरीले नेपाल फेरि द्धन्द्ध र मुठभेडतिर गएको छ ।
शान्ति सम्झौताको दश वर्षमा महाभारतको युद्धको झल्को आउँछ । कौरवहरुले शकुनीको षडयन्त्रमा पाँच पाण्डवहरुलाई बनवास पाठाएजस्तै आज नेपालका संसदवादीहरुले शान्ति सम्झौतामा झेल गरेर क्रान्तिकारी माओवादीहरुलाई जंगल पठाउने षडयन्त्र गरेका छन् ।
निकट भविष्यमा नेपाल महाभारतको युद्धमा जाने निश्चित जस्तै देखिएको छ । किनभने परिवर्तनको नेतृत्व गरेका माओवादीहरुलाई भएको यति धेरै अपमानले नेपाली समाज उही द्धन्द्ध र विद्रोहतिर जान विवश देखिन्छ ।
यसकारण पनि शान्ति सम्झौताका दश वर्ष पूर्ण रुपले शुन्यतामा फर्किसकेको तथ्यलाई सबैले आत्मसात गर्नैपर्छ ।







