प्रिय सहिद

तिम्रो रगतलार्इ

सिंहदरबारले आज

रातो कार्पेट बनाएर बिच्छ्याइरहेको छ

र, त्यसैमाथि

सयर गर्दैछन् कालो बुट बजार्दै

तिम्रो भूतपूर्व सुप्रिमाे !

 

hari-44

रोल्पाका सहिदहरु

तिम्रो सपनाहरूलाई

सिंहदरबारले आज

बाटोमा खिएर हुँइकिरहनु पर्ने

झण्डावाल गाडीको टायर बनाइरहेको छ

जहाँ सपनाहरूलाई कुल्चिदै

कुँदिरहेका छन् आज

तिम्रो प्रिय भूतपूर्व नायक

र तिम्रो सपनाहरू खिइरहेछन्

क्रुर शहरको पक्की बाटाहरुमा !!

 

ए मेरो आदरणीय सहिद

हामी पनि छौ यतै कतै

तिम्रा सपनाहरूलाई सिंहदरबारमा लगेर

लिलाम गर्नेहरुको सहरभित्रै,

लिलाम गरिएका सपनाहरू खोज्दै

अनवरत पसिनाहरु बगाउदै !!!

 

प्रिय सहिद

तिम्रो आँसु र रगतको हिसाब खोज्दै

हिँडिरहेका छन् मालचरीहरु आज

तिम्रो सपनाहरूलाई बिक्री गर्ने सहरभित्र

आगोका ज्वालाहरु पहिरिएर

लिलाम गरिएका सपनाहरू फिर्ता माग्दै !!!

 

ए मेरो देशका सहिद

तिमीलाई कैदी बनाइएको

त्यो क्रूर सिंहदरबार भित्रबाट

नियाली हेर बाहिरतिर

जहाँ तिम्रा सपनाहरू खिँइरहेछन् बाटाहरुमा

ठिक त्यहीनेर देख्नेछौ

हामीलार्इ सतिसाल झै

किनकी

हामी हाम्रा लिलाम गरिएका सपनाहरू

लिलाममा बिक्री गर्न दिनेछैनौ !!!

 

प्रिय सहिद

तिमी हामीलाई सपनाहरू देखाइराख

हामी सहिद हुन मन्जुर छौ

तर,

सिंहदरबार फेरिनु पर्दछ

जहाँ सहिदका सपनाहरू

लिलामी हुने गर्दछ

त्यसलार्इ बदल्नु पर्दछ र

जरुर बदल्ने छौ

प्रिय सहिद

तिमी तिम्रा सपनाहरू नभुल !!

hhhh

कवि हरि बस्नेत

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार