घर छाडेको ठ्याक्कै पच्चिस दिन पुगेको थियो । हामी दैलेखको लेकमा हरायौँ । दुईवटा स्क्वायडका १४ र एकजना रुट गाइड सहित हामी हरायौँ । हिउँको धोर । बाटो कता हो तर अन्धाधुन्ध हिँडिरह्यौँ ।

गाउंँघरसँग सम्बन्ध विच्छेद भएको पनि ४ घन्टा बितिसकेको थियो । कता पूर्व, कता पश्चिम ? बेवारिस हिँडिरहेका थियौँ ।

कम्मरसम्म हिउँ । हात–खुट्टा निलट्ठ थिए – आफ्नो हो या कसैको ? महसुस नै नहुने ।

कालीकोट कहिले पुग्छौँ या कता लाग्दैछौँ ? प्रश्नको बिस्कुन फिँजिएको थियो ।

guiila

‘सिधा अगाडि हिँड्दै गर्नूस्’ भन्दै धेरै कुरो गर्न नै चाहनुभएन क. आकासले । कमरेडहरू मुर्मुरिएको देखेर होला ।

आफुभन्दा लामा बन्दुक, ३० केजीको झोला । रातभरको अनिँदो । हिउँको यात्रा कम चुनौतीपूर्ण थिएन । थकित पाइला सर्नलाई मान्न छाडे तैपनि हिँड्नुको विकल्प थिएन । हामी धेरै कोस हिँडिसकेका थियौँ । फर्कन पनि त सम्भव थिएन ।

मध्यरात झैँ सुनसान थियो । घनघोर जङ्गल जहाँ हावा पनि निद्रामा परे जस्तो लाग्थ्यो । हिउँ नै हिउँ । हामी जति पाइला चाल्थ्यौँ उति नै सङ्कटको भासमा भासिन्थ्यौँ । यस्तो लाग्थ्यो – हामी त मृत्युको मुखमा पो हाम्फाल्दैछौँ ।

पहिलोचोटि घर छोडेर कर्णाली कार्यक्षेत्रमा जाँदै थिएँ । “एक्लो नाति, नजा हामी कसरी भन्न सक्छम् र ? भटाभट मारिर’को छ बैरीले । ज्यान जोगाएर लड्नू । बाँचिन्छ भन्ने के ठेगान नै छ र ?’ रुँदै बज्यैले बिदाइ गरेको सम्झिएँ । जीवन सङ्गिनी मोहनसरी रातभर रोएर बसेकी क्षणले निकै मर्माहित थिएँ म । मदन दाइलाई नयाँ आइडिया फुरेछ । कम्मरबाट खुकुरी झिकेर झपाझप रूख काट्न थाल्नुभयो ।

‘के हो दाइ ? नभा’कोे मासी प्राण पनि खर्चन ला’को ? ज्यान मर्ने न बाँच्ने अवस्थामा छ । तिमी र जवानी जोसमा ।’ मैले ठट्टा गरेँ ।
‘हेर्दै जाऊ न के हुन्छ ?’ उनले भने ।

नभन्दै रूख ढाल्दै तेसार्दै अघि बढ्दै जान थालेपछि हामी छक्कै प¥यौँँ ।

‘ओ हो ! यसले साँघुको काम ग¥यो है !’

यति भनेर हामीले पनि काट्न थाल्यौँ ।

‘धन्यवाद दाइ ।’

हामी खुसीले नाच्यौँं ।

त्यसपछि हिउँमा डुबेनन् हाम्रा ज्यान ।

हाम्रो यात्राले कमिलाको यात्रासँग ठ्याक्कै मेल खान्थ्यो । पाँच सय मिटर हिँड्नलाई तिन घन्टा गुजा¥यौँ ।

नहोस् पनि कसरी ? रूख ढाल्दै जानुपथ्र्यो । भोक, प्यास, थकाइ र कष्ट एकैचोटि खप्नुपर्दा आँंखाबाट आँसु बरर झथ्र्यो ।
कता जाने ? के खाने ठेगान थिएन । गन्तव्यविहीन ।

‘हिउँमा डुबेर मर्नुभन्दा दुश्मनका गोली खाए बरु आनन्द हुन्थ्यो होला ।’ मनसँग बोलेँ ।

रुट गाइड आकास कमरेडलाई शब्दका गोली अथाह छुट्न थाले । बिचरा डरले पानी पानी भएका थिए । ‘धेरै गाली नगरम् है भाग्लान् र उल्टै हरिबिजोक होला’ भन्दै कमान्डरले सम्झाए ।

मुहार कसैको पनि उज्यालो थिएन ।

‘जति ओरालो झ¥यौँ उति हाम्रो कल्याण छ ।’ स्क्वायड कमान्डर हिमाल बोल्नुभयो ।

दुईवटा स्क्वायड । एउटा रुकुमबाट, अर्को रोल्पाबाट ।

रोल्पाबाट हितमानको कमान्डमा मदन, तमिल, म, रैजल, सन्देश र रविन थियौँ । रुकुमबाट हिमालको कमान्डमा सातजना हुनुहुन्थ्यो ।

सल्लाह अनुसार सबै ओरालोतिर मोडियौँ । हिउँमाथि प्लास्टिक बिछ्याएर सरर्र ओर्लियौँ । झरीमा चिप्लेटी खेलेजसरी । हिउँमाथि चिप्लिँदै जाँदा कसैका टाउकामाथि हुन्थे भने कसैका खुट्टा ।

‘बन्दुक पड्केला । केप निकालेर राख्नूस् ।’ कमान्डरको आदेश आएपछि राखेर पेपे भन्दै, लड्दैपर्दै ओरालियौँ ।

त्यतिन्जेल घामले बिदाइको हात हल्लाइरहेको थियो । हाम्रा मन झनै खस्किन थाले । धुपीका बोट, चोयाका झाडी र बैंसका स–साना पोथ्रालाई लछार्दै ओरालो झरिरह्यौँ ज्यानको समेत माया मारेर ।

अलि तल झर्दै गर्दा हिउँ पनि पातलिँदै गयो । मान्छेको आस पलायो ।

बल्लबल्ल आधा घन्टा लत्रिएपछि हिउँलाई छोड्यौँ तैपनि मन खुसीले चौडा बन्न सकेन । न हामीसँग पानी थियो, न गाँस । बिदाइ गर्दा दिएको सातु बोकेका थियौँ । त्यही सातु २÷२ मुट्ठी खायौँ । एक थाल भात खानेलाई २ मुट्ठी सातु त हात्तीको मुखमा जिरा जस्तै भयो ।

गाउँतिर झर्दा कतै पुलिस भा’को ठाउँमा पो पुगिने हो कि ? अपरिचित ठाउँ । अनचिनारू जनता ।

सिआइडी लागेर धरापमा पारे भने पार्टीले दिएको महान् अभिभारा चौपट्टै हुन्छ । दुःख कष्ट त हाम्रो जिन्दगी हो ।

‘चिनमा लम्बे अभियानताका लालसेनाले जुत्ताको तलुवा खाएर बँचेका थिए रे ! साम्राज्यवादी जापान विरुद्ध लड्दाका ती गुरिल्लाको संस्मरण पढ्यौँ भने यी कष्ट फुच्चे हुन्छन् ।’ क. हिमाल र क. हितमानले सम्झाए हामीलाई । कस्तो दुःखद् संयोग, ती दुवैजना अहिले आन्दोलनबाट हात धोइसकेका छन् । क्रान्तिमा हुँदासम्म उनीहरूका नबिर्सने लगानी छ ।

कुनै पहरामा त ठोक्किन जाँदैछैनौँ ? आशङ्काका बादल मडारिन थाले । ‘कतै सिआइडी त होइन ?’ रुट गाइडले त सम्बन्धित ठाउँमा सरासर प¥याउनुपर्ने ।

खासमा कमरेड नै हो कि होइन ? पार्टीको मान्छेले त अनाहकमै दुःख त दिन्न नि ?

यति भनेर भैँसीदेखि जोगी डराउने, जोगीदेखि भैँसी डराउने भइयो ।

शङ्का उपशङ्का उब्जिएपछि निवारणको लागि भए पनि ज्यान र झोला तलासी गर्ने बाध्यता आइप¥यो । झोलाबाट क्षेत्रीय व्युरोको सर्कुलर र चिट्ठी फेला प¥यो ।

ती कमरेड थरथरी काँप्दै भन्दै हुनुहुन्थ्यो, – ‘कामरेड म दुश्मन होइन ? भूगोल मेरो लागि पनि अपरिचित हो । जुम्लाबाट सुर्खेत विमानस्थलमा ओर्लिएर आएको । रोल्पा रुकुम जस्तै परिपक्व कामरेड यहाँ छैनन् ।’

तुरुक्क आँसु झार्नुभयो । साथीहरू भने घाइते बघिनी झैँ आक्रामक थिए ।

‘म पनि त एउटा सिपाही हुँ । यति धेरै शङ्कालु पाराले नहेर्नुस् । चिट्ठी र सर्कुलर हेरेर पनि विश्वास लागेन ? त्यो पारि कालीकोट हो । त्यहाँ जसरी पनि पु¥याउँछु ।’ उनले यति भनेपछि हाम्रो मनले केही शान्ति पाए जस्तो भयो ।

आफैँ त जङ्गलको बास । आफ्नै तरिकाले सुत्यौँ । कोही बसेर, कोही बार बारेर, कोही स्याउला बिछ्याएर, कोही बन्दुक सिरानी राखेर । ढल्नेबित्तिकै भुसुक्क निदायौँ । दिनभर खुट्टा खुम्च्याउन नपाएर त होला ।

चराचुरुङ्गीका कल्याङ्बल्याङ् कानमा ठोक्किए । झङ्लङ्ग व्युँझिएँ । जतिखेर भोकले पेट काँपिरहेको थियो । दुःखकष्ट भएकोमा हामीलाई पश्चाताप भएन । सम्बन्धित ठाउँमा पुग्न सकिन्छ कि सकिन्न ? प्रश्न त्यतातिर मोडियोे । घर नजिकै रहेछन्, उज्यालो भएपछि थाहा भयो ।

सबैका घरका धुरीबाट धुँवा उडेर बादलसँग मिसिँदै थिए । गाउँ नजिकै रहेछ ।

‘खाने मेसो गर्नुप¥यो,’ – हितमान क. बोल्नुभयो ।

‘आकास कमरेड सम्पर्कतिर लाग्नुप¥यो ।’ –मदन दाइले कुरा राख्नुभयो ।

उतिखेर मदन दाइ स्क्वायड भिसी.हुनुहुन्थ्यो ।

‘एकदम ।’

समर्थन जनायौँ ।

पेट चाउरी परिसक्यो । आँखा गडिसक्यो । खुट्टा लाग्दै लाग्दैन ।

भोकै त को लड्न सक्छ ? बारुदबिनाको बन्दुक जस्तो ? दानापानी पाए पो लडम्ला । तिन दिनको भोकले त फुक्दा पनि ढलिएला जस्तो भयो । महिनौँ दिन बिरामी परेर थला परे जस्तो ।

‘खाजा खजुलीको जोहो गर्नुपर्छ है’ – कुरा मैले पनि राखेँ ।

गाउँ पस्नु भनेको आत्मघाती हुन्छ ।

सबैको ठम्याइ रह्यो तर भोकै बस्ने अवस्था पनि रहँदैनथ्यो, जोखिम लिएरै पनि म जान्छु भनेर हात उठाएँ । कमान्डर क. हिमाल पनि तयार हुनुभयो ।

दुबैजना गाउँतिर लाग्यौँ । ‘होसियारी है’ सबैको सल्लाह थियो ।

चाउचाउ, बिस्कुट पहिलो प्राथमिकतामा । नभए खाजा भुटेर ल्याउने कुरा भयो ।

‘तिमी को हौ ? कता जाने ? घर कहाँ हो ?’ भनेर अवश्य सोध्नेछन् गाउलेले । हामी के भन्ने त ? जानुअघि साथीहरूसित छलफल भयो ।
‘हामी व्यापारी । घर दैलेख । कालीकोट जाने । आठजना छौँ । एकजना बिरामी परे । बाँकी प्रसङ्गमा नै गरौँला ।’ हामीले यसो भन्यौँ ।
नभन्दै जनता सशङ्कित भएर सोधपुछ गरे । मकैको खाजासम्म भुटेर साथीहरू कहाँ लान सफल भयौँ ।

तिन घन्टापछि खाजा लिएर पुग्दा धेरै साथी निद«ामा थिए । कोही सेन्ट्री बसेका रहेछन् । जब खाजा लगेर त्यहाँ पुग्यौँ तब हितमान कामरेड तिन फन्को नाचेर हामीलाई ढोग समेत दिनुभयो । खाजा नखाँदै उज्यालिन थालेका अनुहार खाएपछि साँच्ची उज्याला भए । अनि त झन् खुसीको सीमै रहेन ।

उता, आकास कामरेडले पनि कालीकोट जिल्लाका कामरेडसँग भेट गरेर आउनुभयो । मनभित्रका पीडा एकाएक हराए । आकास कमरेडसँग अँगालो मा¥यौँ ।

‘अञ्जानमै केके अपशब्द भन्यौँ । गर्न मिल्छ भने माफ गरिदिनुहोला ल ।’ हामीले भन्यौँ ।

‘आकासभन्दा विशाल छाती भएको यो आकासले झिनामसिना कुरामा कमेन्ट गर्दैन ।’ कमरेडले भने ।

पेटपुजा गरेपछि कुराकानी पनि अलि बढी नै आउँदो रहेछ । जङ्गलमै गफगाफ मच्चियो ।

‘भेरी–कर्णाली पार्टीको मुखै हेर्न नपाई मरिन्छ कि भन्ने चिन्ता थियो । बाँचियो यार ।’ यति भनेर तमिल कमरेडले हँसाउनुभयो ।
‘आज रातभरि हिँड्नु छ । पुलिस चौकी पनि पार गर्नुपर्छ ।’ क. आकासले जानकारी गर्नुभयो ।

रातभर हिँड्नु, दिनभर सुत्नु हाम्रो दिनचर्या नै बनिसकेको थियो । हामी यति माया गथ्र्यौँ बन्दुकलाई कि आफ्नो जीवन सङ्गिनीभन्दा पनि धेरै । जिन्दगी नै बन्दुकमा थियो । भरुवा बन्दुकले राइफल खोस्ने अभीष्ट थियो ।

झमक्क रात प¥यो । हाम्रो यात्रा पनि आरम्भ भयो । चुपचाप पाइला चाल्यौँ । खाना खाने ठाउँ कालीकोटको डिल्लीकोटमा पुग्दा घडीले ठिक दस बजाइसकेको थियो ।

‘लाल सलाम है कामरेडहरू ! लाल सलाम लाल सलाम !’ स्थानीय कामरेडसँग जोसिला हात मिलायौँ । तिन दिनको भोको । मन खानातिरै दौडिरहेको थियो । सबैले थुक निलिरह्यौँ ।

‘हात धुनूस् है । खाना खाऊँ ।’

अनुरोध आइसकेको थियो ।

‘आकास कमरेड आज त चार थाल भात जान्छ होला । ज्यान खरासिसकेको छ ।’ हितमान कमरेडले सानो स्वरमा बोल्नुभयो । भात पस्काइ पनि बडो विचित्रको नै थियो । सगरमाथा चुलिए झैँ अग्लो ।

सपसप खायौँ । थोरै खानेले पनि दुई थाल खायौँ भने चार थाल खानेको त प्रतिस्पर्धा नै चल्यो ।

पकाउने र घरबेटीलाई पुगेन । कता कता लाज पनि लाग्यो मलाई त ।

खाँदाखाँदै झुल्न पो थाल्यौँ । एकअर्कालाई हेर्दै हाँस्न थाल्यौँ ।

‘खानामा रक्सी त मिसिएको थिएन ?’ फेरि पनि हँसाउनुभयो तमिल कमरेडले ।

त्यसरी मज्जाले हाँसेको त्यहीँ हो । ३२ वटा दाँत देखाएरै हाँस्यौँ । ‘तिम्रा बाजे भातले नि ! भातले पनि मताउछ र ?’

‘धेरै दिन खान पाएन भने मताउँछ नि ।’

‘हो त बाबू ।’

घरबेटी बाबाले पनि भन्नुभयो । हामी तिनछक प¥यौँ । एघार नाघिसक्यो । धेरै बस्नु सुरक्षाको दृष्टिले ठिक छैन । हल्लाखल्ला आइसकेको रहेछ – ‘३५-४० जना रोल्पा–रुकुमबाट बन्दुक बोकेका मान्छे दैलेख हुँदै कर्णाली छिर्दै छन् ।’

सबैजना बन्दुक, झोला बोकेर कालो कालो ढब्बाभित्र हरायौँ । औँसीको रात, एउटा लाठी र जूनकिरीको सहारा बाहेक सारा सत्रु जस्तै थियो त्यस रात ।

२०५४ फागुन २० मा घर छाडेका थियौँ । धेरै जसो रातमा हिँड्दा हिँड्दै बैशाख ५ गते मात्र हामी कालीकोटको मान्मा नजिक पुग्यौँ । त्यसपछि सुरु भयो भूमिगत जीवनशैली । ज्यादै कष्टप्रद जिन्दगी । आगोको झिल्को मात्र जस्ता थियौँ । जु्म्ला, कालीकोट, मुगु र हामी गरी जम्मा २८ जना डब्लु. टी.। बारबोर बन्दुक खोस्दै, कसैको सेबोटेज गर्दै, पुलिस चौकीका जवानलाई चौकीभित्रै थुनेर फटाहालाई कारबाही गर्दै जाँदा त सानो झिल्को डढेलोमा फेरियो । त्यसपछि ? कार्यकर्ताका बाँध फुटेर निस्केको पानी जस्तै हुलका हुल भूमिगत भए, पूर्णकालीन भए । व्यवस्थापन गर्न नै हम्मेहम्मे प¥यो ।

जाली फटाहा त्राहीत्राही भए । त्यसपछि भने दुश्मनले पनि आफ्ना हर्कत बढाउन थाल्यो । १५÷१६ जना पुलिस, ७÷८ वटा राइफल बोकेर हामीलाई खोज्न लागे ।

‘भूमिका पूरा ग¥यौँ कामरेड हो,’ मदन दाइले भन्नुभयो ।

‘ठिक हो ।’

समर्थन जनायौँ । रोल्पा, रुकुम, जाजरकोट, सिन्धुली र रामेछापलाई दमन गरेर सिध्याउने सरकारी योजनालाई पुरै निस्तेज पा¥यौँ । बिस्तारै बिस्तारै खुला हँुदै गयौँ । कार्यकर्ता तीब्र रूपमा जन्मिए ।

एक्कासी सहिद कमरेड परिवर्तनको नेतृत्वमा एउटा स्क्वायडले हामीलाई फेर्न आएपछि हामी पुनः रोल्पा फर्कियौँ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार