२०५७ साल वैशाख १० गते । त्यो दिन बिहानै मनुजी (श्रीमती मनु हुमागाईं) दुईवटी केटीका साथमा मेरो घरमा आइपुगिन् ।
तीनैजनाले जुत्ता फुकाली मलाई बडो शिष्टतापूर्वक नमस्कार गरे । सारै अप्ठ्यारो र असजिलो मानी मेरो कोठाभित्र बसे । ती केटीहरूलाई मनुले भनिन्, ‘यता बस ।’
दुवै केटीहरू सोफामा नबसी तल कार्पेटमाथि सारै नै खुम्चेर बसे । तिनीहरूको अनुहार एकदमै अँध्यारो थियो । पहिरन पनि अत्यन्त साधारण पुरानो सलवार, कुर्ता र ओढ्नी ओढेका थिए । आधा अनुहार त ओढ्नीभित्रै थियो । मेरो मनमा कुरा खेलिहाल्यो । ती केटीहरूलाई काममा लगाइदिन भन्न आएकी होलिन् मनु । मैले के काममा लगाइदिन सकुँला ? मेरो मन कोठामा नअटाई बाहिर पुग्न थाल्यो— सम्भावित कामको खोजीमा । मैले चिनेजानेका आफन्तहरूको मन छाम्न पुगेँ ।
‘दिदी ! मैले बारम्बार यी नानीहरूका बारेमा तपाईंलाई जानकारी दिएकी थिएँ । आज साक्षात्कार गर्न ल्याएँ । यी नानीहरू सामूहिक बलात्कारका सिकार हुन्।’

लेखक शान्ता श्रेष्ठ
म स्तब्ध भएँ । एकाएक मेरो कोठा अँध्यारो भयो । पूर्वमा उदाएको सूर्य पूर्वमै अस्ताएको देख्न थालेँ । मैले ती नानीहरूको अनुहार हेर्न सकिनँ । कठै ! किशोरी अवस्थामा उकालिँदै गरेका कर्कलोको पातमाथिको शीतको थोपाजत्तिकै चम्किलो, ओठ निचोरे दूध निस्किएलाजस्ता नानीहरू सामूहिक बलात्कारका सिकार ?! मनमा अनेकौँ कुरा खेलाउँदै बिस्तारै तिनीहरूको अनुहार हेरेँ । दुवैजनाको अनुहार खुट्टामाथि घोप्टिएका थिए । मानौँ अन्धकार भविष्यको फाँटमा टेक्दै मेरो कोठासम्म आइपुगेका खुट्टासित प्रश्न गरिरहेका थिए— अब यहाँबाट कहाँ पुग्नुपर्ने हो ?
खुट्टाका औँलाहरूलाई मायाले सुम्सुम्याइरहेका थिए कलिला हातका औँलाहरूले । नाक रसाइरहेकाले बारम्बार रुमालले नाक पुछिरहेका थिए । विरह, व्यथा र अन्योलपूर्ण भविष्यले मलीन अनुहार, अत्यन्त सुस्त शरीर, आँसु चुहिरहेका दुई जोडी आँखा, खुट्टामाथि घोप्टिएको अन्योल अवस्थाले मेरो मुटु छामेको आभासले म चिसो छट्पटीमा थिएँ । कोठा चुपचाप र स्तब्ध थियो । मानौँ मानवशून्य झ्यालखाना । कोठाको मौनता भङ्ग गर्दै मैले भनेँ, ‘मनुजी ! पहिले हामी केही खाऊँ । अनि कुरा गरौँला हुन्न ?’
‘चिया त खाएरै आएका हौँ दिदी, दुःख नगर्नुस् ।’
‘मलाई केको दुःख ? यो त मेरो सौभाग्य हो यी नानीहरूसित बसी चिया खान पाउनु । तपाईंहरू यी पत्रिकाहरू हेर्दै गर्नुस्, म ५ मिनेटमै आउनेछु ।’
मनुजी दुःख नगर्नुस् भनी कराउँदै थिइन्, म माथि बुइँगलमा पुगिहालेँ । चिया, फुल र बिस्कुट लिई तल कोठामा आएँ । तीनैजनालाई चिया खान आग्रह र अनुरोध गरेँ । ती नानीहरूले मनुजीलाई पुलुक्क हेरे । उनले भनिन्, ‘खाऊ । अप्ठ्यारो मान्नु पर्दैन । दिदी ! तपाईं पनि खानुस् न ।’
‘म चिया मात्र खान्छु ।’
नानीहरूका अनुहार घोप्टेका घोप्टेकै थिए । हातका औँलाहरू बिस्कुटमा खेल्न थाले । नाक बढी रसाएकाले रुमालले पुछ्दापुछ्दा नाकको टुप्पा रातो भइसकेको थियो । मैले नरोऊ पनि भन्न सकिनँ ।
‘चिया सेलाउँछ । खाइहाल न’, मनुले भनिन् ।
कठै ! आमाबाबुको छत्रछायामा खेल्दै लेखपढ गरी भविष्य सपार्ने स्वर्णिम समयमा घृणित, अत्याचारी, राक्षस प्रहरीहरूबाट गरिएको सामूहिक बलात्कारले अर्धजीवित अवस्थामा कहिलै निको नहुने घाउ लिएर बाँच्न बाध्य छन् यी नानीहरू !
‘दिदी ! यी नानीहरूको विहङ्गम व्यथाका बारेमा मैले तपाईंलाई केही त जानकारी गराइसकेकी थिएँ । अब यिनीहरूकै मुखबाट सुन्नुस् जल्लाद प्रहरीहरूको सामूहिक बलात्कारको सिकार कसरी भएका थिए । यिनी सुश्री दिव्यज्योति थापा, वर्ष सत्रकी । यिनी कुमारी निर्मला पुन वर्ष तेह्रकी ।’
दिव्यज्योति थापा— नामअनुसारको रूप र रङ । गोरो अनुहारमा नाक, मुख, आँखा, शरीर सबै मिलेको थियो । त्यसमाथि उनको शिलस्वभाव आदिबाट उनी कुलीन, खातेपिते, घरानिया, शिष्ट परिवारकी छोरी भएकी उनकै आकृतिले औँल्याएको थियो ।
त्यस्तै निर्मला पुन— ताम्र वर्णकी थिइन् । उनको अनुहारमा पनि नाक, मुख, आँखा आदि मिलेकै थियो । यसो हेर्दा यिनको अवस्था दिव्यज्योतिको भन्दा केही कमजोरजस्तो देखिन्थ्यो । तर राम्रो संस्कारमा हुर्केकी हुन् भन्ने उनको बसाइ र आकृतिबाट स्पष्ट थाहा पाउन सकिन्थ्यो ।
‘दिव्यज्योति ! तिमीबाटै सुरु गरौँ । तिमीपछि निर्मलाको कुरा सुनौँ ।’
अचानक दिव्यज्योतिको अनुहार रातो भयो । त्यसमा गुलाबी काँढा तिखारिन थाले । आँखा रातो भई अग्नि बर्सिन मात्र बाँकी थियो । उनलाई मुख खोल्न अत्यन्त गाह्रो भैराखेको थियो । रुमालले नाक पुछिरहेकी थिइन् ।
कसरी भन्न सक्छे ? दिउँसै रात पारी आफ्नै आमाको अगाडि आफ्नै आमासँगै बारम्बार बलात्कार गरेका ? त्यति बेला त्यस अवर्णीय बलात्कारको कालो भूकम्प ममाथि नै खनिएको काल्पनिक दृश्यले मेरो मुटु निमोठ्न थालेको थियो । किशोरी जीवनमा योजतिको भयानक र अमानवीय अत्याचार अरू के हुन सक्छ ?
अझै दिव्यज्योतिको मुखबाट शब्दहरू बाहिरिन सकेका थिएनन् । उनका ओठ कामिरहेका थिए । आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेको थियो । उनले अनुहार घोप्ट्याएरै बिस्तारै भनिन्, ‘त्यो दिन २०५७ साल मङ्सिर २७ गते थियो । बिहानै प्रहरीहरूले अचानक हाम्रो घरमा हमला गर्न आउँदा म, मेरी आमा र ३ वर्षको भाइ मात्र थियौँ । आमा र मलाई लछारपछार पार्दै भुइँमा लडाए । हातखुट्टा बाँधेर चरम यातना दिए ।
त्यसपछि खुट्टाको डोरी मात्र फुकाली पशुलाई जस्तै घिसार्दै प्रहरी चौकीतिर लैजाँदै थिए । मेरो ३ वर्षको भाइ चिच्याइचिच्याइ रुँदै थियो । एक घन्टामा पुगिने चौकीमा ४ घन्टाको बाटोबाट घुमाउँदै पु¥याए । आमा र मलाई अलगअलग स्थानमा राखे । बेहोस नभएसम्म यातना दिए सइ रामसिं थापा र राजेन्द्र अधिकारीले । ती दुवै स्याङ्जा निवासी थिए । आमा र मेरो खुट्टामा एउटै साङ्लोले बाँधी बारम्बार ब…।’
त्यसपछि उनी बोल्न सकिनन् । खास्टोले मुख छोपी खुब रोइन् । मनु र म लाचार बन्दै शिर झुकाई किंकर्तव्यविमूढ हुन थाल्यौँ । गहिरोगहिरो उच्छ्वास छोड्नुबाहेक अरू केही भन्न वा गर्न सकेनौँ । हामी दुवैजना आँखामा भरिएको आँसु चूपचाप पिउँदै थियौँ । बिचरी निर्मला पुन डाँको छोडी रुन मात्र बाँकी थिइन् । उनको कलिलो अनुहार निलो हुँदै थियो । हिकहिक गर्दै दिव्यज्योति भन्न थालिन्, ‘एउटै साङ्लोले आमाको दायाँ खुट्टा र मेरो बायाँ खुट्टामा बाँधी बारम्बार बलात्कार गरे । मेरो योनीमा लट्ठी घोचे । म कुन बेला बेहोस भएँ ? चालै पाइनँ ।
बिहानदेखि पेटमा पानीसमेत परेको थिएन । मरणासन्न हुने गरी यातना, त्यसमाथि सामूहिक बलात्कार । योनीमा लट्ठीले घोचेर घुमाएको पीडा…। त्यति बेला हामी आमाछोरीले भोगेको शारीरिक यातना र अत्याचार मैले कसरी, कुन मुटु लिएर भनूँ ? त्यति बेला मर्न पाएको भए कति जाती हुन्थ्यो ! हामीलाई कालले पनि देखेन । मेरो ३ वर्षको भाइ रुँदै थियो । के भयो उसलाई ? मनमा ठूलो पिर थियो ।’
दिव्यज्योति फेरि रोइन् । यो संसारमा के रहेछ त ? गर्न हुने, गर्न नहुने, पाप र पुण्य ? ती जल्लादहरू जन्मेको पनि त आमाकै कोखबाट न हो । आज कोखको त्यत्रो अपमान ? त्यत्रो अत्याचार ?? त्यत्रो अमानवीय र घृणित कार्य ??? त्यति बेला आकाश किन खस्न सकेन ? पृथ्वी किन फाट्न सकेन ? यही हो मानवीय धर्म ? त्यस कुकृत्यको भत्र्सना कुन शब्दले गर्ने हो ? मेरो शब्दकोषमा शब्दहरू नै रित्तिएका थिए ।
दिव्यज्योति अरू बोल्न सकिनन् । निरन्तर दुवै आँखा बगिरहेका थिए । गहिरो सास फेर्दै मनुले मलाई हेरिन् । मैले मनुलाई हेरेँ । हाम्रो हेराइमा जेलभित्रको कैदीको अवस्थाको लाचारी र आक्रोश थियो । एकाएक मैले भने, ‘दिव्यज्योति, भैगो । मलाई अरू सुन्नु छैन । योभन्दा बढी सुन्नसक्ने मेरो क्षमता छैन ।’
अब आत्मकथा सुनाउने पालो थियो निर्मला पुनको । उनको प्रायः निलो हुँदै आएको कलिलो अनुहार पसिनाले पोतिन थाल्यो । अघिदेखि आँखा त रसाइरहेकै थिए । आफूले भोग्नुपरेको पाशविक घटना भन्न नपरेको भए कति जाती हुन्थ्यो भन्ने भाव उनको आँखाले बताइरहेको थियो ।
‘निर्मला, डराउनु पर्दैन । तिमीमाथि जे बितेको थियो, छोट्करीमा भन । त्यसरी भन्दा तिम्रो मन हलुका हुनेछ । भन बा…बिस्तारै भन…’, मनुले सम्झाउँदै भनिन् । निर्मला पुन टोलाउन थालिन् । उनका दायाँ हातका औँलाहरू भने खुट्टाका औँलाहरूमाथि नै थिए । उनले अचानक भनिन्, ‘म हाम्रो घरको अलि पर पुगेपछि ७-८ जना प्रहरीले मलाई समाते । ‘माओवादीलाई भात ख्वाउने, पानी पिलाउने तँै होइनस् ?’ भन्दै मलाई कुट्दै र लात्तीले हान्दै लछारपछार पारे । मलाई उत्तानो पारी ३-४ जनाले समाते अनि पालैपालो मलाई बलात्कार गरे ती पापी–अपराधीहरूले …।’
निर्मला पुन भक्कानो छोडेर रोइन् । हामी तीनैजनाका आँखाले आँसु थाम्न सकेनन् । एकाएक कोठा स्तब्ध भयो । मसानघाटमा परिणत भयो । कोठाभित्र चियाइरहेको सुनौलो घाम पनि ध्वाँसे रङमा परिणत भयो । चुपचापको छाती चिर्दै निर्मलाको हिक्कहिक्क थर्किरहेको थियो । हामीले उनलाई नरोऊ भनी भन्न सकेनौँ । हाम्रो घाँटी पनि आन्तरिक रुवाइले समातिराखेको थियो ।
म जुरुक्क उठी माथि बुइँगलमा गएँ र चिया बनाएर ल्याएँ । निर्मलाका आँखाबाट आँसु बगिरहेकै थियो । दिव्यज्योति आफ्नो पूरा अनुहार खास्टोभित्र लुकाई रुवाइ थाम्ने प्रयत्नमा थिइन् ।
‘निर्मला ! चिया खाऊ । यसरी रुनु हुँदैन । ती जल्लादहरूले तिम्रो मुटुमा अपूरणीय घाउ पारे । त्यसमा साहस र बदलाको धारको मलम लगाई ठीक पार्नुछ । यसबाट तिमीले अवर्णनीय शक्ति र बाँच्नुको अर्थ थाहा पाउनेछ्यौ । खाऊ चिया, नरोऊ । रोयो भने मान्छे कमजोर हुन्छ । कमजोर मान्छेले जीवनमा केही पनि गर्न सक्दैन । तिमीले यो देशमा धेरै काम गर्नुछ’, मैले भनेँ ।
गोरी दिव्यज्योतिको अनुहार रातो भई बाक्लो देखिएको थियो । त्यसमाथि आँसुले भिजेको थियो । ताम्रवर्णकी निर्मलाको अनुहार भने प्रायः निलो थियो । आँखामा आँसु ओभाएको थिएन । दुवैले बिस्तारै चिया खान थाले । एकैछिन सुस्ताएपछि निर्मला भन्न थालिन्, ‘त्यतिबेला अलि माथि खारामा अग्निकाण्ड भएको थियो । त्यहाँ भएका जति सबै घरहरूमा प्रहरीहरूले आगो लगाइदिएका थिए । एकातिर गाउँ ह्वारह्वारती बलिरहेकाले गाउँलेहरू आतङ्कित थिए भने अर्कोतिर मलाई बलात्कार गरिरहेको देखेर मेरी आमा रुँदैकराउँदै र चिच्याउँदै ‘मेरी छोरीलाई बचाऊ’ भनी गुहार मागिरहनुभएको थियो । तिनीहरूले आमालाई समाती कुट्दै र लछारपछार गर्दै थिए । त्यसपछि के भयो ? मलाई थाहा भएन । म बेहोस थिएँ ।
निर्मलाका आँखाबाट फेरि आँसु बग्न थाल्यो । बालसुलभ बोलीले अड्कीअड्की आफुमाथि खनिएको अन्धकारको अत्याचार, प्रहरीहरूबाट भएको सामूहिक बलात्कारको अमानवीय, सुन्नै नसकिने व्यथा, विरह, चिच्याहट भन्न थालिन् उनी । तर मैले सुन्न सकिनँ र भनेँ, ‘भैगो बा । योभन्दा बढी मलाई सुन्नु छैन ।’
सुन्नै नसकिने, प्रहरीहरूको अश्लील बोली, गालीगलौज र तिनले गरेको सामूहिक बलात्कारले प्रहरीप्रति भयानक अनास्था मात्र होइन, चरम घृणा उब्जियो । यसको प्रमाण दुई पात्र दिव्यज्योति र निर्मला मेरो अगाडि रहेको मलाई सपनाजत्तिकै लागिरहेको थियो । त्यस्तो घोर निन्दनीय, निम्नकोटीको अमानवीय र अति नै घृणित र पशुवत् कार्यले छट्पटाइरहेका दुई किशोरीलाई कसरी र कुन तरिकाले न्याय दिलाउन सकिन्छ ? यो प्रश्नले मेरो मुटु नै समातेको थियो ।
समाधानको बाटो चारैतिर बन्द रहेको यथार्थले म आहत भएकी थिएँ । जता हे¥यो त्यता अन्धकार र अत्याचारबाहेक केही थिएन । दिनहुँ मुठभेडमा मारिएका भनी दर्जनौँ निःशस्त्र सर्वसाधारण जनताको लास टेलिभिजनमा देखाउँदै आइरहेको थियो सरकारले ।
शान्ता श्रेष्ठद्धारा लिखित प्रकाशोन्मुख ‘मान्छेभित्रको मान्छे’ संस्मरण सङ्ग्रहकाे सम्पादित अंश ।







