प्रिय साथी ! हान तिमी
सकुन्जेल हान
घरका भित्ताहरुमा हान
भङ्ज्याङ/देउराली
पहाड र मैदानमा हान
आगोका झोक्काहरुमा हान

दुराचारले आक्रान्त बस्तीको
भोको/नाङ्गो मान्छे हुँ म
ढुङ्गाको उपहार दिएर
मैले होइन साथी
गरिरहेछौ तिमी नै युद्धको प्रचार
सडकछेउमा सुन्तला बेचिरहेकी
फुलमाया दिदीको गर्धनमा हान
बगैचामा दूध चुसाइरहेकी
आमाको ओछ्यानमा हान
र हान-गाउँमा हलो जोतिरहेको
किसानको थाप्लोमा हान
आखिर युग-युगदेखी
हान्दै त आएका छौ तिमी !
गण्डक, कोशी, टनकपुर
र, महाकालीको मुटुमा हान्यौ
लिपुलेक, अपरकर्णाली हुँदै
अरुण नदीमा हान्यौ
चुनु, इच्छुक, मैनाहुँदै
चन्दनकुमारको छातीमा हान्यौ
रगतले कोरिएको सिमानामा हान्यौ
र, राज्यको ढुकुटीमा त हानेकै छौ
हान ! प्रिय साथी
चौतारीमा भारी बिसाएर
सुस्याइरहेको भरियाको सुस्केरामा
हान
दुसाध्य अध्याँरोमा लडिरहेको जूनमा हान
उदाउँदो मिर्मिरे घाममा हान
एन्डिज र चिङ्काङ्साङको पर्वतमा हान
सल्काउ बस्तीमा हुर्हुरी आगो
र गरिबका मासु ताछेर
ठड्याउ शुष्क हाडहरुको पहाड
तिम्रो हातमा
कथित नयाँ संविधान छ
लिखित/अलिखित कानुन छ
र, छ राष्ट्रसंघको बडापत्र
बर्साउ तिम्रो प्रतिक्रान्तिका क्षेप्यास्त्र
तिमी स्वतन्त्रताको भरपुर उपयोग गर
सहिदपार्क हानेर हुन्छ कि
पुस्पलालको टाउको हानेर ?
भोको पेटमा हानेर हुन्छ कि
जनताको रातो ‘क्रान्तिपार्क’ हानेर ?
हान ! तिमी सतिसाल उभिएको
आस्थाको हृदयमा ताकी-ताकी हान
तर नबिर्सनु ! प्रिय साथी
चिसो धर्तिमा भोकले
कठङ्गृएको मजदुर/किसान हुँ म
फलाम तताएर फालि बनाउँछु
र बाँझो धर्तीमा क्रान्ति बीउ रोपिरहन्छु ।
(नोट-बुटवलस्थित पुस्पलालको शालिक, सहिदपार्क र माओवादी कार्यालय (रातोघर) माथि २०७३ मंसिर १७ गते आक्रमण भएपछि लेखिएको हाे ।)







