‘ठूलाबालाई कस्तो छ हँ,’ फोनमा सोधेछु, उदय जीएमलाई ।

‘ठूलाबा त कालापार (भारत) पो जानुभएको छ त,’ उदयजीको जबाफ ।

रोजीरोटीको लागि कहिल्यै भारत जान नपरोस् भनेर ढुंगा मन्साएर जनयुद्धमा लागेका थिए, ठूलाबा । अचेल कालापारे संस्कृति तन्किएर साउदी अरब र मलेसिया पुगेको छ ।

A Maoist activist waves a party flag along the highway at Nagdhunga, outside Kathmandu November 10, 2009. Maoists activists closed the main highways connecting the capital city as part of their second phase of protest to topple the government over the army chief sacking issue. REUTERS/Shruti Shrestha (NEPAL CONFLICT POLITICS) - RTXQK6B

बूढ्यौलीले मुजा परेको ठूलाबाको अनुहारसित हजारौं निश्चल अनुहार आँखामा आए जो सपनाको याम आउनुअघि नै स्कुले झोला थन्क्याएर क्रान्तिमा लागेका थिए । ती अनुहार आए जो सुन्दर सपनाको पछि लागेका थिए, कोही बारी जोत्दाजोत्दै त कोही भारी बोक्दाबोक्दै ।

र, जिन्दगीको सिरीखुरी सुम्पेका थिए । तिनै इमान्दार माओवादी नेता र कार्यकर्ता ‘कहिल्यै फर्कन नपरोस्’ भनेर मायाँ मारेका उही जिन्दगीमा फर्कन बाध्य थिए, ठूलाबाजस्तै ।

छक्कापन्जावाल माओवादी नेता र कार्यकर्ता भने गाउँमा ‘ठालु’को स्थान र सहरमा ‘दलाल’को स्थान ओगटिसकेका थिए ।
‘ठूला बा पार्टीको कुन तहमा हुनुहुन्थ्यो र ?’

‘जिल्ला समितिमा ।’

नेपालमा माओवादी आगो दन्केको बेला दांगको खरबारीमा पसेका थिए, ठूलाबा । र, उदयजीले जानकारी गराएका थिए, ‘ठूलाबा त भूमिगत हुनुभयो ।’

कहिले पश्चिम दाङ त कहिले दाङको पहाडी गाउँतिर ठूलाबाको कार्यक्षेत्र सरेको सुनाउँथे उदयजी । जनयुद्धको जगजगीभर सकुशल रहेको समाचार सुनाएथे । जति चुनौती खेपे पनि दुनियाँ बदल्ने क्रान्तिमा बूढ्यौली जिन्दगी सुम्पेकोमा ठूलाबा सन्तुष्ट रहेको अवगत गराउँथे ।
जनयुद्ध उकालिदै गरेको यामको एउटा तिहार ।

जुन बेला सहर र सदरमुकामबाहेक सिंगै नेपाल माओवादीमय थियो । त्यै तिहारमा उदयजीसित पुगेका थियौं, ठूलाबाको घरमा । ठूलाबा कार्यक्षेत्र जाने हतारमा थिए ।

हतारमै संचोबेसंचोका दुईचार बात भएथे । घरले जा र बनले आ भन्ने उमेरमा पनि ठूलाबाको अनुहारमा फुलेको जोश देखेर अचम्मित थियौँ । ठूलाबाको अनुहारमा सामान्य छनक पनि थिएन कि जनयुद्ध यसरी दुई थान प्रधानमन्त्री र केही थान मन्त्रीसँग साटिनेछ । र, जनयुद्धको पनि यसअघिका नेपाली आन्दोलनकै हविगत हुनेछ ।

अँ, उदयजीलाई एक दिन फोनमा सोधेछु, ‘ठूला बालाई कस्तो छ ?’

शान्तिप्रक्रियापछि बलिदान गरेका र इमान्दार माओवादी नेता र कार्यकर्ता घर न घाटमा थिए । अरबका खाडीमा जानेका लाम थियो । तर, ठूलाबाको उमेरमा भने भारतमा कुल्ली काम गर्न जाने बाध्यतासमेत असामान्य थियो ।

‘उही झोला, उही लुगामा र उही अनुहारमा घर फर्कनुभएको थियो, ठूलाबा भत्किएका सपना बोकेर ।

ठूलाबाका नेता दांगका जिम्दारलाई टक्कर दिएका थिए । तर ठूलाबा झन दुब्लाउनु भएको थियो । घरमा रोजीरोटीको समस्या हिजोभन्दा झन चुलिएको थियो । कहाँ जानु, उही पुरानै ठाउँ जानुभयो,’ उदयजीको कुराले फेरि दुखी बनायो ।

१० वर्षपछि ठूलाबा भारतको पञ्जावस्थित बठिण्डा फर्किए, जहाँ उनले ढुंगा मन्साएर नेपाल फर्केका थिए जनयुद्धमा होमिन । र, ६० वर्षीय पूर्णबहादुर घर्ती मगर भएथे कमरेड हिक्मत गोठालो ।

जनयुद्धको समाप्तीपछि प्रचण्ड र बाबुराम भटराई प्रधानमन्त्री बने । कृष्णबहादुर महरासहित केही थान माओवादी नेता मन्त्री बने । माओवादी मूल नेतृत्व र नेता रुपान्तरित भए हिजोका शासकका नयाँ संस्करणमा । तर, हजारौं कार्यकर्ता र सयौं माओवादी नेताजस्तै कमरेड गोठालो भने फेरि बठिण्डा पुगे । र, कमरेड हिक्मत गोठालो फेरि पूर्णबहादुर घर्ती मगर भए ।

आँखामा तिनै अनुहार आए जो जनयुद्धमा आफ्नो जिन्दगीका सबै यौवन चढाएर बूढा भएका थिए ।

‘ठूलाबालाई के भन्यो होला जिम्दारले ? गद्देको देशमा कसरी सम्हाले होलान् आफूलाई ? भत्केको सपना बोकेर कालापार जाँदा के भन्यो होला ठूलाबाको मनले,’ कल्पेरसमेत झस्किएँ ।

बित्न नमानेका दिन उसैगरी बितिरहेका थिए । एक दिन फोनमा उदयजीले जानकारी गराए, ‘ठूलाबाको लेख छ, काठमाडौंमा छाप्दिनू ।’

अनि ?

काठमाडौंमा छाप्नेआग्रहसहित इमेलमा पठाए ।

ठूलाबाको लेख पढेँः

जनताले भन्थे– माओवादी कार्यकर्ताले हामै्र लागि दुःख उठाएका छन् । त्यसैले मुक्तिदाता मानेर आफ्नै गाँस खुवाए । आफ्नै ओछ्यानमा सुुताए । र, दुश्मनबाट जोगाए । कार्यकर्ताले भन्थे– ‘नेता त विचार र योजना हो । नेताबिना हामी त दिशाविहीन भएर सकिन्छौं ।’ नेताले भन्थे– ‘कार्यकर्ता त क्रान्तिका पेच र किला हुन् ।’

…तर अहिले ? नेताका आँखामा कार्यकर्ता घाँडो र कार्यकर्ताका आँखामा नेता धोकेबाज र बेइमान । जनताका आँखामा ढाँट । कारणः नेता जनताकोमा जाँदैनन्, स्वदेशी या विदेशी प्रभुकोमा जान्छन् । त्यसैले आकाशबेलीझैं जेलिएको छ अविश्वास ।

हजारौं कार्यकर्ता र जनता भविष्यको खोजीमा छट्पटाइरहेछन् जो हिजो नेतृत्वको निर्देशनमा मर्न तम्सिएका थिए ।

जिन्दगीका सबै खुसी चढाएका थिए । र, शरीरका अंग चढाएका थिए । भन्थ्यौं, एकपटक हतियार उठाएपछि अन्त्यसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्ष थाल्नु जनताप्रति अपराध हो । भन्थ्यौं– लडाईं आंशिक सुधारका लागि सम्झौतामा टुंग्याउने साधन बन्न दिने छैनौं । र, परिवार र नातागोताका इच्छाविपरीत कुम्लाकुम्ली बोकेर चे ग्वेभाराझैं संसार जित्ने सपथ खाएर हिंडेका थियौं– ‘हामी मारिन सक्छौ र पार्टी पूरै सहिद बन्न सक्छ । तर, विजययात्रा रोकिने छैन ।’

ओ कमरेड ! भन, क्रान्ति जारी छ कि अन्त्य भयो ? जारी छ भने हामी किन बेकम्मा बनाइएका छौं ?

अन्त्य भएको हो भने के पाए नेपाली जनताले ? जबाफ देऊ, मुक्तियुद्धमा आहुति दिने ती वीर सहिद हुन् कि मरेका मान्छे ? घाइते साँच्चै जनक्रान्तिका योद्धा हुन् कि अपाङ्ग मात्र ? यी तस्बीर बलिदानका कीर्तिमान हुन् वा खरानीको थुप्रो ? भविष्यका चिन्ताले सिन्काजस्तै फुकिढल जो संयोगले नमरेका हजारौं कार्यकर्ता जिउँदा लाश हुन् कि जनयुद्धका अमर योद्धा ?

गरिखाने वर्गप्रति इमान्दार ए कमरेड ! कहिले जाने सडकमा बेवारिसे क्रान्तिलाई बचाउन ? तयार छ कमरेड हिक्मत गोठालो, बाँकी जोवन चढाउन ।

उदयजीलाई थाहा छ, ठूलाबाको लेख काठमाडौंले छाप्दैन । आफ्नै पार्टी र आफ्नै नेताले भुलेका कार्यकर्ताको लेखेको कटु सत्य कहाँ छाप्नु काठमाडौंले । ठूलाबाको लेख न माओवादीले छाप्नेखाले छ न त काठमाडौंले ।

ठूलाबाको लेख इमेलमै थन्किएको छ ।

बेलाबेलामा इमेल खोल्छु गम्दै कि कहिले फेरिएला काठमाडौं ठूलाबाको लेख छाप्नेगरी ? अनि उदयजीलाई सोध्छु, ‘ठूलाबालाई कस्तो छ ?’
जबाफको आशमा छु, ‘ठूलाबालाई सन्चै छ । आफूले चढाएको बाँकी जोवनले जनताको अनुहार फेरिएकोमा ठूलाबा मक्ख हुनुहुन्छ ।’

बस्, जबाफको आशमा छु, जुनबेला नेपालमा समाप्त भइसकेको हुनेछ दुईचार थान प्रधानमन्त्री र केही थान मन्त्रीको लेनदेनमै टुंगिने आन्दोलनका सिलसिला ।

र, फुल्नेछ क्याप्टेन यज्ञबहादुर थापा, रत्नकुमार बान्तवा, पुर्खे सुनार, कुमारी बुढा मगर र हिक्मत गोठालोका सपना ।

 हटारू ब्लग स्पटबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार