(सआदत हसन मंटो उर्दूको सबैभन्दा श्रेष्ठ कथाकारको रूपमा विश्वमा परिचित छन् । यिनले आफ्ना कथाहरूमा समाजको कटु सत्यलाई उजागर गरेका छन् र त्यसैको आधारमा आफ्नो कथाको कथावस्तु केन्द्रित गरेका छन् । मंंटोले समाजको फोहोर तथा घिनलाग्दा विषयहरूलाई आफ्नो कथाहरूका माध्यमबाट प्रहार गरे । समाज यी कथाहरूमा लुकेका सच्चाइबाट छट्पटायो । उनको कथाहरूमाथि अश्लीलताको मुद्दा लगाए र उनलाई बदनाम गर्न हरसम्भव प्रयास गरेका थिए ।

तर आज उनको कथा विश्वभरि प्रसिद्ध छन् । तीमध्ये एउटा कथा यो हो । जुन भारत( पाकिस्तानको विभाजनपछि मुसलमानहरू पाकिस्तान र हिन्दूहरू भारत प्रवेश गर्दा घटेका घटनाहरूमध्ये एउटाको प्रतिरूप हो । नेपालको पूर्वी तराईमा पनि झन्डै यस्तो त्रासदी देख्नुपर्ने अवस्था आएको थियो । जब कथित पहिलो मधेस आन्दोलनताका पहाडी मूलका नेपालीहरूलाई कथित मधेसीहरूले लखेटेको थिए ।)

अमृतसरबाट ट्रेन करिब दुई बजे हिंड्यो र आठ घन्टापछि मुगलपुरा पुग्यो । बाटोमा कैयौँ मानिसको हत्या भयो । धेरै घाइते भए र केही यता उता भागे ।

बिहान दस बजे शरणार्थी शिविरको चिसो भुइँमा जब सराजुद्दिनले आफ्नो आँखा खोले र आफ्नो चारैतिर लोग्नेमान्छे, स्वास्नी मान्छे र केटाकेटीहरूको जनसमुद्र देखेपछि उसको सोच्ने, सम्झिने शक्ति बूढो भयो । ऊ धेरै बेरसम्म तुँवालो लागेको आकासलाई एकटकले हेरिरह्यो ।

उसो त शिविरमा हल्लीखल्ली थियो तर बूढो सराजुद्दिनको कान बन्द जस्तै थियो । उसले केही पनि सुनिरहेको थिएन । कसैले उसलाई देखे यस्तो लाग्दथ्यो कि ऊ गहिरो निंद्रामा निदाई रहेको छ तर यस्तो थिएन । उसको होस ठेगानमा थिएन । उसको सारा अस्तित्व शून्यमा झुन्डिरहेको थियो ।

तुँवालो आकासतिर कुनै लक्ष्यबिना हेर्दा हेर्दै सराजुद्दिनको नजर  सूर्यसँग ठक्कर खायो । तीक्ष्ण प्रकाश उसको अस्तित्वको नसा–नसामा उत्रियो र ऊ ब्यूँझियो । माथिदेखी तलसम्म उसको मस्तिष्कमा धेरै तस्बिरहरू दौडन थाल्यो (लूटपाट, आगो, भागाभाग, स्टेसन, गोलीहरू, रात र सकीना … सराजुुद्दिन जराक जुरुक उभियो र चारैतिर उसले मानव समुद्रलाई अँगाल्न थाल्यो ।

पूरा तीन घन्टासम्म सकीना  सकीना भन्दै शिविरको चारैतिर खोज्न थाल्यो तर उसलाई आफ्नो तरुनी छोरीको कुनै ठेगान भेटिएन । चारैतिर एउटा हल्ला व्याप्त थियो ।  कसैले आफ्ना केटाकेटी खोजी रहेका थिए, कसैले आमा, कसैले स्वास्नी र कसैले छोरी ।

सराजुद्दिन थाकेर उउटा कुनामा बस्यो र मस्तिष्कमा जोड दिएर सोच्न थाल्यो सकीना ऊबाट कहिले र कहाँ छुट्टिएकी थिई तर सोच्दा सोच्दै उसको दिमाग सकीनाको आमाको लासमा गएर रोकिन्थ्यो, जसको सबै आन्द्रा भूँडी बाहिर निस्केको थियो । त्योभन्दा अगाडि ऊ केही सोच्न सकेन ।

सकीनाको आमा मरिसकेकी थिई ।  उसले सकीनाको बाउको सामु अन्तिम सास लिएकी थिई तर सकीना कहाँ छे ? जसकबारे उसकी आमाले भनेकी थिई, मलाई छोडी देऊ र सकीनालाई लिएर चाँडै यहाँबाट भागिहाल ।

सकीना ऊसँगै थिई । दुबैजना नांगो खुट्टा भागिरहेका थिए ।  सकीनाको दुपट्टा खसेको थियो ।  त्यसलाई उठाउन ऊ रुक्न चाहेकी थिई । सकीनाले कराउँदै भनेकी थिई, अब्बाजी छोड्नुस् तर उसले दुपट्टा उठाइसकेकी थिई । … यो सोच्दा सोच्दै उसले आफ्नो कोटको गोजीमा हेरयो, त्यसमा हात हालेर एउटा कपडा झिक्यो, सकीनाको त्यही दुपट्टा थियो तर सकीना कहाँ छे ।

सराजुद्दिनले आफ्नो थाकेको दिमागमा धेरै बल दियो तर ऊ कुनै निष्कर्षमा पुग्न सकेन ।  के उसले सकीनालाई आफूसँगै स्टेसनसम्म ल्याएको थियो ? के ऊ ऊसँगै गाडीमा थिई । बाटोमा जब गाडीलाई रोकिएको थियो तब हुलदंगाकारीहरू बसमा चढेका थिए, त्यसो भए के ऊ बेहोस भएकी थिई, जुन उनीहरूले सकीनालाई अगुवा गरेर लगे ।

सराजुद्दिनको दिमागमा प्रश्नै प्रश्न थिए, उत्तर केही पनि थिएन । उसलाई दुःखमा साथ दिने साथीको आवश्यकता थियो तर चारैतिर जति विपद्मा परेका मानिसहरू थिए, तिनलाई पनि दुःखमा साथ दिने साथीको खाँचो थियो । सराजुद्दिन रुन खोज्यो तर आँखाले उसलाई सहयोग गरेन । आँसु ख्वै कता हो बेपत्ता भएकोछ ।

छ दिनपछि जब उसको होस हवास ठेगानमा आयो सराजुद्दिन ती मानिसहरूलाई भेट्यो, जो उसलाई सहयोग गर्न तयार थिए ।

आठ नवयुवक थिए, जोसँग लट्ठी र बन्दुकहरू थिए । सराजुद्दिनले तिनीहरूलाई लाखौँलाख आशीर्वाद दियो र सकीनाको हुलिया बतायो, रङ गोरो छ, अति नै सुन्दर छे …. म जस्तो होइन, आफ्नो आमामा गएकी छे … उमेर सत्र वर्षको नजिक नजिक ।  आँखाहरू ठूला ठूला … कपाल कालो … दाहिने गालामा सानो तिल … मेरो एक मात्र छोरी हो । खोजेर ल्याई देऊ … खुदाले तिमीहरूको भलो गर्नेछन् ।

स्वयम्सेवक नौजवानहरूले बडो भावनात्मक रूपमा बूढो सिरजुद्दिनलाई विश्वास दिलाउँदै भने, तपाईंंको छोरी ज्यूँदो भए जहाँबाट पनि खोजेर तपाईंको सामु ल्याई दिनेछौँ ।

आठैजना नौजवानले कोसिस गरे । ज्यान हत्केलामा राखेर तिनीहरू अमृतसर गए । कैयौँ केटाकेटी र लोग्नेमान्छेहरूलाई खोजेर उनीहरूलाई सुरक्षित स्थानमा पुरयाइदिए ।  दस दिन बित्यो तर उनीहरूलाई सकीना कतै भेटिएन ।

एकदिन यही सेवाको लागि उनीहरू लरीमा बसेर अमृतसर गइरहेका थिए कि छहरराको नजिक सडकमा उनीहरूले एउटी केटी देखे ।  लरीको आवाज सुनेर ऊ बिच्किएर भाग्न थाली । स्वयम्सेवकहरूले मोटर रोके र सबैका सबै उसको पछाडि भागे । एउटा खेतमा उनीहरूले केटीलाई समातिहाले । हेरिरहे …  कति राम्री केटी । दाहिने गालामा धेरै मोटो तिल थियो । एउटा केटाले भन्यो, नडराऊ … के तिम्रो नाम सकीना हो ?

केटीको रङ झन् पहेंलो भयो ।  उसले केही उत्तर दिइन तर जब सबै केटाहरूले उसलाई नडराउन आश्वस्त पारे, अनि मात्र उले आफू सराजुद्दिनको छोरी सकीना भएको बताई ।

आठ स्वयम्सेवकहरूले हरप्रकारले सकीनालाई प्रसन्न राखे । उसलाई खाना ख्वाए, दूध ख्वाए र लरीमा बसाए ।  एकजनाले आफ्नो कोट झिकेर उसलाई दियो किनकि दुपट्टा नभएको कारण उसले धेरै नै संकोच मानिरहेकी थिई र पटक पटक आफ्नो पाखुराले छाती छोप्ने कोसिस गरिरहेकी थिई ।

कैयौँ दिन बित्यो (सराजुद्दिनलाई सकीनाको कुनै खबर आएन । ऊ दिनभरि विभिन्न शिविरहरू र कार्यालयहरूको फन्को मारिरह्यो तर कतैबाट उसले छोरीको खबर पाएन । राती ऊ धेरै समयसम्म स्वयम्सेवक केटाहरूको सफलताको कामना गरिरह्यो, जसले उसलाई विश्वास दिलाए थिए कि सकीना ज्यूँदो भए केही दिनमै खोजेर ल्याई दिनेछौँ ।

एकदिन सराजुद्दिनले शिविरमा ती स्वयम्सेवक केटाहरूलाई देख्यो । लरीमा बसिरहेका थिए । सराजुद्दिन भाग्दै भाग्दै उनीहरू छेउ पुग्यो । लरी हिंड्नै लागेको थियो, उसले सोध्यो, बाबु मेरो सकीना फेला परी ?

सबैले एकैस्वरमा भने, पर्छ … पर्छ । र लरीलाई हिंडाए । सराजुद्दिनले फेरी एकपटक ती केटाहरूको सफलताको कामना गरयो र उसको मन केही हलुङ्गो भयो ।

साँझ पर्न लागेको बेलामा जहाँ सराजुद्दिन बसेको थियो, त्यसको नजिक नै केही गडबड भयो । चारजना मान्छेले केही बोकेर ल्याइरहेका थिए । उसले खोजीनिति गरेपछि थाहा भयो कि एउटी केटी रेलवे लाइनको छेउमा बेहोस अवस्थामा थिई । मानिसहरूले उसैलाई उठाएर ल्याएका हुन् ।  सराजुद्दिन उनीहरूको पछि पछि लाग्यो । मानिसहरूले केटीलाई अस्प्तालवालाहरूको जिम्मा लगाएर हिंडे ।

केही समयपछि ऊ पनि त्यसै अस्पतालको बाहिर गाडिएको काठको खम्बासँग टाँस्सिएर उभियो । फेरि विस्तारै विस्तारै अस्पतालभित्र गयो । कोठामा कोही पनि थिएन । एउटा स्ट्रेचर थियो, जसमा एउटा लास पल्टेको थियो । सराजुद्दिन सानो सानो पैतला चाल्दै उतिर जान लाग्यो । कोठामा एक्कासी उज्यालो भयो । सराजुद्दिनले लासको पहेंलो अनुहारमा चम्किरहेको तिल देख्यो र चिच्चायो, सकीना ।

डक्टर, जसले कोठालाई उज्यालो पारेको थियो, सराजुद्दिनलाई सोध्यो, के हो ?
सराजुद्दिनको घाँटीबाट केवल यसरी निस्क्यो … हजूर … म … हजूर … म … यसको … बाउ हूँ ।

डक्टरले स्ट्रेचरमा भएको लासको नाडी छाम्यो र सराजुद्दिनलाई भन्यो, झ्याल खोलिदेऊ ।

सकीनाको मृत शरीरमा हलचल भयो । मृत हातले उसले ईजार खोली र सलवारलाई तलतिर सारी दिई । बूढा सराजुद्दिन खुसीले चिच्चायो, ज्यूँदै छ … मेरी छोरी ज्यूँदै छ … । डक्टर शिरदेखि पाउसम्म पसिनाले भिज्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार