‘ए साला आतंककारी, तल ओर्ले !’ मलाई गाडीबाट झर्न सैनिकहरुले आदेश गरे । कुटाइले लथ्रक परेकोले म आफै झर्न सकिन । ‘रन्डीको छोरा ! साला आतंककारी, हाम्रा मान्छे मार्ने !’ भनी गाली गर्दै आफैले तल झारे । झारेको के भन्नु र ! माथिबाटै फाले म भुइँमा पछारिए ।
यातानाका कारण मुख, घाँटी सुकेर सपक्क भएको थियो । तुल्सीपुर भन्ठानेको थिएँ तर घोराही ब्यारेक रहेछ । जुन ब्यारेक ०५८ मंसिर ८ गते जनसेनाले आक्रमण गरी सबै हतियार कव्जा गरेका थिए र त्यँहीबाट शाही सेनासँगको लडाइँ सुरु भएको थियो । कता कता मोटर गाडीको आवाज, वनमा झँै चरा कराइरहेका, पानी धाराको आवाज आइरहेको अर्कै दुनियाँ । कानले सुनिरहेको थिए, तर आँखाले देखिरहेको थिएन ।

किनकि आँखा–मुख पुरै ढाकिनेगरी कालो कपडाले छोपेर घाँटीनेर डोरीले कसिदिएका थिए । कच्याङकुचुङ आवाजमा चराहरु स्वतन्त्र ढंगले कराइरहेका ठाउँमा म मान्छे मात्रै मान्छेद्धारा बन्धक थिए । एक तमासको कल्पना आउँदोरहेछ । चार जना वर्दीधारी सैनिकले मलाई घिसार्दै कपडाले बेरिएको सानो कोठामा लगे । राणाकालमा अपराधीलाई गोर्खे लौरी ठोकेर कारवाही गर्थे रे । तिनीहरुले पनि मलाई अपराधी ठानेर त्यस्तै गर्न लागेका हुन कि झैँ लाग्यो । यद्दपी म जनताको तर्फबाट अपराधी थिएन, विद्रोही थिएँ । मालिकले दासलाई झैं तँत र मम बनाए ।
असाध्यै क्रुर ती सैनिक हाकिमले मेरो बयान लिन सुरु गरे । बयानको क्रममा हत्कडी र मुहारको कपडा विस्तारै खोलिदिए । अपर्भmट जस्तै लाग्ने त्यस घटनाका बीचमा सानो कोठामा बलढ्याङरे आँखा र कालो अनुहार गरेका सैनिक जम्दार इन्द्र खड्का देखा परे । सही हो या गलत उनले आफ्नो परिचय दिए ।
पोल खोलाउन हुनसक्छ, उनी मसँग नरम भावमा पेश भए । बयान दिँदा आइपर्ने समस्याप्रति म सचेत थिए । अपराधीहरुको कठघरामा निर्दोषले बयान दिँदा निर्धक्क हुँदोरहेछ । किनकि मान्छेलाई डर त मृत्यु टाढा हुँदा पो लाग्दोरहेछ । मृत्यु आफ्नै वरिपरि घुमिरहँदा जे भएपनि सहनु पर्ने भएकाले ढुक्कता पैदा हुँदोरहेछ । कुटिएर थिलोथिलो भएको मेरो शरीर देखेर उनले केही दया देखाएजस्तो गरे । त्यो मलाई पोल खुलाउने चालबाजी पनि हुनसक्थ्यो ।
म सचेत थिएँ । बयानका क्रममा जम्दार इन्द्रले मलाई धेरै प्रश्नहरु गरे । बयानहरु सुरु गर्न थाल्छ उसले, ‘छापामार हो ?’ मेरो साबिती, ‘होइन कलाकार ।’ उसले सोध्छ, ‘कति भो माओवादीमा लागेको ?’ मेरो जवाफ, ‘एक वर्ष भो ।’ अर्को प्रश्न, ‘घोराही ब्यारेक लुट्न आइस ?’ मैले जबाफ फर्काए, ‘आइन ।’ प्रश्नै प्रश्न, ‘मंसिर ८ गते कहाँ थिइस ?’ मेरो रेडिमेड जबाफ, ‘कलाकार टीमसित गाउमै थिएँ ।’ उसले निरन्तर प्रश्न गर्छ, ‘ब्यारेक लुट्ने कुरा थाहा थियो कि थिएन ?’ मेरो उत्तर, ‘थाहा थिएन ।’ जम्दारले अन्तिम प्रश्न ग¥यो, ‘यहाँबाट लगेको हतियार र पैसा कँहा राखेका छन् ?’ मैले पनि त्यस्तै जबाफ फर्काए, ‘मलाई केही पनि थाहा छैन ।’ यस्ता थिए प्रश्न र उत्तरहरु । नाम, ठेगाना, शिक्षा र घरपरिवारका बारेमा भने सोझै उत्तर दिएँ । कलाकार भएको बयान दिएको हुनाले गीत गाउन पठाए । मैले चार–पाँचवटा क्रान्तिकारी गीत गाइदिएँ । कि मृत्युको प्रमाण, कि छुट्ने आधार सोचेर निर्धक्कसित पेश भएँ ः
व्यूँझी उठ नेपाली हो, सीमाना पारीबाट
हाम्रो भूमि लुटिएको एक नजर फर्की हेरन मुग्लानी भएर ज्याला मजदुरी गरेर कति बस्छौ प्रवासी भइ जीवन खेर फालेर’
आफ्नो देशमा विदेशीले हैकम जमायो नदीनाला कलकारखाना अर्कैले खायो
फर्केर हेर न लौ तिम्रा दाइभाइ गोली लागेका
जनता र देशको निम्ति अमर सहिद भएका…..
लालझुपडीका मान्छेहरु
महासमरका यात्रीहरु
एउटा सुन्दर सपना बोकी तुफानसँग कुँद्दैछन
हर चुनौतीका सामना गर्दै झन् उचाइमा पुग्दैछन ।
सिस्नेको चुचुरोमा रातो झण्डा फरफराउँदैछ
पूर्वको क्षितिजमा बिहानी लाली छाउँदैछ
व्यूँझी उठ शोसितहरु छातिभरी सहास बोकेर
हातेमालो गर्दै बढ्दैछन होस्टेमा हैंसे गरेर ……..
केन्द्रीय आधारइलाकामा खट्ने प्रतिरोध साँस्कृतिक परिवारका कलाकारहरुको सुमधुर स्वरमा सजिएका यी गीत र अरु थुप्रै गीतहरु गाएर मैले सैनिक जम्दार इन्द्रलाई सुनाएँ । उनले मलाई ‘गीत गाउने कलाकार भएपनि तँ माओवादी आतंककारी नै होस’ भने । जब मैले उनलाई कैयांै कुरा ढाँटेर जवाफ दिन्थे तब उनी रिसले आगो हँुदै झम्टन्थे । उनले जे कुरामा मलाई फसाउन चाहन्थे त्यही प्रश्नको जवाफ म ढाँटेर अर्कै दिन्थे । उनी ‘सालाहरु बहुत कट्टर हुन्छन यार !’ भन्दै रिसले मुर्मुरिदै कराउँथे ।
बयानको अन्त्यतिर रिसाउँदै मेरो आँखामा पट्टी बाँध्न जवानलाई आदेश गरे । जवानहरुले मेरो आँखा मुख छोपिने गरी कालोपट्टी बाँधे । सायद मैले हतियार देखेको, माओवादी नेता, सेनालाई देखाउन सक्छु भनेको भए खुशी हुन्थेहोला । मैले त्यसो भन्ने कुरै थिएन । त्यसकारण उनी मलाई विस्तारै गलाउने रणनीतिमा लागे ।
वातावरण अति अत्यास लाग्दो थियो । उनीहरु मलाई मानसिक यातना दिने तयारीमा थिए तर मैले दिएका जवाफबाट तिनलाई कुनै फाइदा थिएन । मैले दिएको बयान तिनले फाइलिङ गरिसकेका थिए । बयान सकिएपछि जम्दारले मलाई छुट्टै कोठामा राख्न लगाए । जुन कोठा सुङगुरको खोर जस्तै साँघुरो र ह्वास्ह्वास्ती गन्ध आउने थियो । सो कोठामा नयाँ ल्याइने बन्दीलाई पहिलो चरणमा त्यँंही राखिने गरिँदो रहेछ । बयानका क्रममा कसुर अनुसार त्यहीबाट बेपत्ता पार्न सकियोस वा अन्य बन्दीसँग मिसाउन सकियोस् । चरम भौतिक तथा मानसिक यातनाका साथ तिनले मलाई सो कोठामा १५ दिन राखे । डयूटीमा खटेका सैनिकले भाग्न खोजे गोली ठोक्ने धम्की दिन्थे । ‘केटा हो, कहाँ राख्यौ त्यो आतंककारीलाई ?’ भन्दै जम्दार पटक पटक म भएको ठाउँमा आइरहन्थ्यो ।
३–४ दिनपछि मात्रै जवानहरुले मलाई बिछ्याउने प्लास्टिकको बोरी दिए । टीनको छानामुनि म बिना ओढ्ने–ओछ्याउने सुत्ने गर्थें । भोलिपल्ट बिहानमात्र तिनीहरुले मलाई खाना ल्याइदिए । ‘लखा साला आतंककारी !’ भन्दै कुकुरलाई झैं टाढैबाट मतिर हुत्याइदिए । हत्कडी र पट्टी लगाइएकोले मैले भात खान सकिन । भात खान नसक्दा मंगोलियन जस्तै अनुहार लाग्ने ती सैनिकले मलाई तथानाम गाली गर्दै ‘भात खान नसक्ने पनि माओवादीमा लाग्ने’ भन्दै आमा धरेर गाली गरे । ‘ओहो ! कति अपमानित जिन्दगी !’ आक्रोश र बदलाभाव मनमा उर्लेर आउँथ्यो ।
भोलिपल्ट जम्दार इन्द्रले पछाडि बाँधेको मेरो हात अगाडि बाँध्न निर्देशन गरे । कडा निगरानीका साथ जवानले मेरो हात अगाडितिर बाँधिदिए । मेरो जीवनको परिभाषा फेरिएको थियो । उनीहरु मलाई कहिले ‘आतंककारी’ त कहिले ‘कैदी’ भनेर बोलाउँथे । कैदी भन्दा मलाई आनन्द आउँथ्यो । कस्तो अचम्म ! मान्छेले मान्छेलाई पशु झैं बाँधेर राख्ने । कस्तो अचम्मको प्रजातन्त्र, कस्तो अचमको सुशासन । भाग्ला भनेर मलाई कडा निगरानी गर्थे । भागेमा गोली ठोकीदिने भन्दै स्वचालित हतियार खच्याकखुचुक पार्थे । ०५७ सालमा गोर्खा जेलब्रेक गर्ने उमा भुजेल, मीना मरहठ्ठा, रिता विक, कमला नहर्की, सन्जु अर्याल र एन्जिलाहरु र संकटकालमा सुर्खेत जेलब्रेक गर्ने सहासी कमाण्डर झकबहादुर मल्ल ‘सुदीप’ देविराम देवकोटा ‘असिम’ र लोकजङ शाही, कृष्ण बडुवाल, उज्वल खड्का, रामबहादुर रसाइली, विन्दमान बिस्ट, दलबहादुर पुनमगर (सहिद), पुष्पराज चौधरी (सहिद) विष्णु चौधरी, र गणेश भण्डारीहरु जस्ता योद्धाहरुलाई सम्झें ।
सायद जेलब्रेकका यस्तै घटनाबाट पाठ सिकेर होला सैनिकहरुले मलाई कडा निगरानी गर्थे । बढी यातनाका कारण होला सुरुका दुई तीनदिन खाना पटक्कै मीठो भएन । खानापनि कक्रक्क सुकेको र बासी दिन्थे । आँखामा पट्टी लगाइएकोले धाराको आवाज सुनेर मात्रै हात र थाल सफा गर्थें । बन्दीहरुको जीवन उनीहरुकैै हातमा थियो । भाग्न खोजेको आरोप लगाइ हत्या गर्न वा बेपत्ता पार्न पनि सक्थे । भोलिपल्ट बिहान केही पर कोही बोलिरहेको कल्याङबल्याङ आवाज आइरहेको सुने । ‘सर पिसाब लाग्यो ! सर दिसा लाग्यो ! सर पानी खान्छु !’ भनेको सुन्छु । को होला, को होला ? गम्छु आफै ! सोंच्छु ती पनि म जस्तै बन्दी हुन कि ! मेरो अनुमान सही थियो । दुश्मनको कब्जामा कोही आफु जस्तै साथी भेटिदा ढाडस लाग्दो रहेछ । मलाई ती प्राणी को होलान ! किन ल्याइएका होलान झंै लाथ्यो ।
लगभग दुई हप्तापछि मात्र थाहा भयो । तिनीहरु पनि म जस्तै बन्दी रहेछन । दास युगमा मालिकहरुले दासहरुलाई जंजीरले बाँधेर राखेजस्तै सैनिकहरुले तिनलाई अपमान गरेको सुन्थें । उनीहरुको पञ्जामा परेपछि गलाउने र थकाउने अनेक प्रयास गर्दा रहेछन । राणा शासनविरुद्ध आन्दोलन गर्दा गङ्गालाल र दसरथ चन्दहरुलाई राणाहरुले फाँसी दिए । पञ्चायत विरुद्ध लड्दा गणेशमान र बीपी कोइरालाहरु जेलमा सडाइए भने रामनाथ दाहाल र ऋषि देवकोटा ‘आजाद’ हरु निर्ममतापूर्वक मारिए । क्रुर राजतन्त्रात्मक संसदीय व्यवस्थाविरुद्ध जनयुद्ध लड्दा हजारौले सहादत प्राप्त गरे । हामी पनि त्यस्तै कुुनै पात्र बनाइने सम्भावना नकार्न सकिने अवस्था थिएन ।
इतिहासका यस्तै स्मरणहरु आउने क्रममा आफुपनि इतिहासको सकारात्मक शिक्षामूलक पात्र बन्न सकिन्छ कि सकिन्न चुनौती हँुदोरहेछ । मानसिक र भौतिक यातनासाथै अनेक तर्क वितर्कसहित तिनीहरुले मलाई त्यो साघुँरो कोठामा १५ दिनसम्म राखे ।







