भित्ताबाङका ७६ वर्षीय झोजबहादुर चन्दले पुस ८ गते शुक्रबार राति अबेलासम्म माला उनेर बसे।

भोलि हुने उज्यालोको प्रतिक्षामा कोल्टो फेर्दै रातभर निदाएनन्। उज्यालो हुनेवित्तिकै घरमा भएको नयाँ अनि तातो कपडा झिकेर लगाए। ७ बजे तिर लौरो टेक्दै हातमा माला बोकेर घर्तिगाँउ लागे।

‘किन आउनु भयो घर्तिगाउ ?’, सेतोपाटीको प्रश्नमा उनले पुसको जाडोमा पसिना चुहाउँदै भने, ‘सरकार (प्रचण्ड) लाई भेट्न।’

‘यो माला कसलाई लगाइदिने?’

‘नेपाली सरकार आउनु हुन्छ रे । उहाँलाई लगाइदिने।’

आफैं लगाइदिने सोचमा थिए झोजबहादुर।

‘सरकारलाई यो भन्दा पहिले देख्नु भा’छ?’

‘छैन। उहिले नि देखिनँ। ठूलो ठूलो नेताको घरमा बस्नु भो होला। आज देख्ने विचार छ।’

‘खाना खानु भो ?’

‘खै, बिहानै १ गिलास चिया खाको हो ।’

‘कसैले जानुपर्छ भन्या हो ?’

‘सहिद परिवार जानु पर्छ भन्ने खबर भो। त्यसैले आको ।’

२०५८ सालको चैतमा दाङको सतबरियामा सरकारी पक्षबाट ३० वर्षीय छोरा भीमबहादुर चन्द मारिए पछि विक्षिप्त बनेका छन् झोजबहादुर।

छोरो मारिएको युद्वका कमाण्डर (प्रचण्ड) नेपालको राजा भएको बुझेका झोजबहादुर कडा सुरक्षा पार गर्दै कार्यक्रमस्थल पुगेका थिए।

विप्लवको गाउँ इरिबाङको डाँडामाथि हेलिकप्टर देखिए पछि सुरक्षाकर्मीको चहलखेल बढ्यो। कोटधारी हेलिकप्टरको छेउमा लामबद्ध उभिए। सोभा बढाउन ल्याइएका साना स्कुले विद्यार्थी बसेको ठाउँबाट उठेर आकाश तिर नियाल्न थाले।

त्यही हुलमा माला समातेका झोजबहादुर स्वागत लाइनको पुछारमा देखिए। हतार हतार मञ्चतिर ताकेका सरकार (प्रचण्ड) लाई जसो तसो माला लगाईदिए पनि आफ्नो दुःखेसो पोख्न पाएनन्।

माओवादी लडाकु रहेका माईलो छोरा भीमबहादुर मारिए पछि पाएको किस्ताबन्दीको ५ लाख यताउती मै सकिएको बताउने उनी बाँकी ५ लाख एकै पटक छिटो दिए हुन्थ्यो भन्ने धुनमा थिए। तर कुरै नसुनेर सरकार (प्रचण्ड)  मञ्चतिर बढेपछि न्यास्रिएका थिए झोजबहादुर।

‘बुढो मान्छे कति हिड्नू। ७६ वर्ष पुगेँ। एक मुष्ट दिए पछि बुढेसकालमा काम लाग्दो हो। हाम्रो छोरो मरिगो। हामी गरिबको भाउ नै छैन,’ उनले भने। कोइलाबासबाट नाङ्गै खुट्टा नुन बोकेर युवा अवस्थामा गुजारा गरेको झोजबहादुर दम्पतिको जीवनचर्या कष्टप्रद छ अहिले ।

त्यसो त सहिद मार्ग अनुगमन गर्न भन्दै रोल्पा भित्रीएका प्रचण्डले सहिद मार्ग नै कुल्चेनन्। न गाउँ गाउँबाट बोलाइएका सहिद परिवारलाई सो विषयमा कुनै शब्द बोले ।

रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ प्रकाशले गैरिगाउँ तिरको भुगोल देखाउँदै विगत स्मरण गर्दै गर्दा उपस्थितहरुको आँखा प्रचण्डकै हाउभाउ मै केन्द्रीत देख्न्थ्यिो ।

कडा भन्दा कडा सुरक्षा। त्यो पनि रोल्पामा। अलि असुहाउँदो देखिन्थ्यो प्रचण्डका लागि। कार्यक्रम सुरु भए पछि पल्लो डाँडोमा रोल्पाली आशाका त्यान्द्रा प्रचण्डको विरोधमा नारा जुलुस स्वयम्‌ले नदेखे पनि कालो झण्डाको अनुभव सम्म गरे प्रचण्डले ।

छोटो कार्यक्रम। कर्मचारीलाई औपचारिक निर्देशन बाहेक आस्वासन समेत दिएनन् उनले घर्तिगाउँमा।

‘हिजो त बासी आटो पनि खान्थे बरा। अहिले त हवाईजहाजमा उड्ने भएछन्,’ करिब ६ मिनेटको मन्तव्य पछि दाङतिर उडेका प्रचण्डको कुरा गर्दै थिए ३ बृद्धा।

‘अलि मोटिएका पनि रहेछन् नि अहिले त’ अर्कीले थपिन्।

‘यस्तै हो काईली सन्तोष लागे पछि राम्रै हुन्छ के जीउ।’

सेतोपाटीबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार