२०७१-०७२ को पत्रपत्रिका वर्गीकरणको रिजल्ट साउन १ गते हुनुपर्ने थियो तर विभिन्न कारणवस रोकिएको रिजल्ट पुस १८ गते प्रकार्शित भएको छ ।

पत्रिका वर्गीकरणमा पहुँच हुने र राजनीतिक शक्तिको आडमा आफ्ना राम्रा र स्तरिय पत्रिकालाई पछाडि पार्दै आफ्ना नजिकका पत्रिकालाई मात्र ‘क’ वर्गमा पारेको भन्दै विभिन्न पत्रपत्रिकाहरुका सम्पादकहरुको एक टोलीले आज प्रेस काउन्सिलको मुल गेटमा वर्गीकरणको रिजल्टलाई जलाएर विरोध गरेका छन् ।

विरोध कार्यक्रममा बोल्दै पत्रकारहरुले प्रेस काउन्सिलका अध्यक्ष र केही सदस्यले मोटो रकम लिएर गुणस्तरहिन पत्रिकाहरुलाई ‘क’ वर्गमा पारेको र मोटो रकमबाट काठमान्डौमा जग्गा किनेको समेत बताएका थिए ।

साे विरोध कार्यक्रममा बोल्ने अधिकांश पत्रकारहरुले घुस लिएर निकालेको वर्गीकरण रिजल्टको विरूद्ध सशक्त आन्दोलन गर्ने बताएका थिए । आन्दोलन अगाडि बढाउन सङ्घर्ष समिति बनाउने घोषणा गरेका छन् ।

डायरी एक्सप्रेस साप्ताहिकका पत्रकार नारायणका अनुसार प्रेस काउन्सिल नेपालको गलत कार्यको विरोध गर्ने कामको सुरुवात भएको छ । उनले अब निरन्तर अगाडि बढाउँदै लैजाने बताए ।

‘हुबहु ९० भन्दा बढी कपी गर्ने केही नाम मात्रका पत्रिका मालिकहरुले विरोध गर्नुको कुनै औचित्य छैन । यहाँबाट कसैलाई काखा कसैलाई पाखा गरिएको छैन ।’  काउन्सिलका सदस्य खिलबहादुर भण्डारी भन्छन्- ‘यहाँ कु्नै राजनीतिक पार्टीको आडमा कसैलाई नजिक कसैलाई टाढा गरिएको छैन ।’

गुणस्तरहिन पत्रिका र हुबहु सार्ने पत्रिकाहरुले आन्दोलन थाले तिनीहरुको गलत कार्यको भण्डाफोर गरिदिने भण्डारीले बताए । हुबहु कपी गर्ने र गुणस्तरहिन केही पत्रिकाहरुलाई ‘ख’, ‘ग’ र ‘घ’ मा झारेको उनले बताए ।

भण्डारी भन्छन् – ‘बरु तपार्इहरूले चित्त नबुझेको कुरा लिखित रूपमा बुझाएर पुनरावलोकनका लागि निवेदन दिन सक्नुहुनेछ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार