खै कहाँबाट सुरु गरुँ ? सहृदयी तारा मान्छेहरुका बारे केही लेख्ने जमर्को गरेको धेरै दिन भयो । लेख्न थाल्छु, कलमले एक अक्षर लेख्न नभ्याउँदै मनेवेग यति तीव्र रफ्त्तारमा हुइँकिन थाल्छ कि मस्तिष्कमा ओझेल परेका विगतहरु उधिन्दै घटनाक्रमहरु साक्षात भई सामुन्ने उभिन आईपुग्छन् ।

ती क्षण, ती चिरपरिचित अनुहारहरु, ती अनुपम कार्यहरु र अन्तरघुलन, बलिदानी भावना र समर्पण, क्षति र उपलब्धिका गौरवमय विगत र अत्यासपुर्ण वर्तमान । सबै सबै एकैपटक एकआपसमा उछिनपनछिन गर्दै आफैलाई घेर्न आईपुग्छन् । कलम रोकिन्छ अनि सुरु हुन्छ ।
तिनै गुमाएका अनमोल पात्रहरुसँगको मानसिक भलाकुसारी र संवाद । र, फेरि बढ्न थाल्छ मुटुको धड्कन र बढ्न थाल्छ छटपटी, आवेग, पीडा र आक्रोश, अनि सगसँगै पुणर्ताजगी हुन्छ । ती महान् मान्छेहरुप्रतिको प्रगाढ सम्मान र आफ्नो कर्तव्यबोध । कलम चल्दैन र चलिरहन्छ यही क्रम धेरै पटक दोहारियो । कति अफ्ठ्यारो हुँदोरहेछ मस्तिष्कमा अंकित प्रतिबिम्बहरुलाई अक्षरमा परिणत गर्न ?

हो बरु सरल हुन्थ्यो होला कुनै काल्पनिक भावनाहरुलाई व्यक्त गर्न तर जटिल हुदोरहेछ शिलालेख सरह कुदिएका यथार्थलाई भावानुवाद गर्न ।
नेपाली समाजमा विद्यमान सबै किसिमका अन्याय, अत्याचार, शोषण, दमन र असमानता विरुद्ध नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा महान् जनयुद्धको थालनी भएको थियो । समृद्ध र समतामुलक राज्यव्यवस्थाको स्थापना, सामाजिक रुपान्तरणको महाअभियानमा सिंगो देशभरिबाटै निस्वार्थ भावले प्राणोत्सर्ग गर्न तम्तयार भई लामबन्दी चलिरहेको थियो ।

एक दिन रुपन्देही बाँसगढीका पुराना कम्युनिस्ट उमापति पाण्डेले मलाई “सालझन्डी घर भई कपिलवस्तु पढ्ने एकजना विधार्थी साथीलाई भेट्नुस् न” भन्नुभयो । सल्लाहअनुसार हामी साइकलबाटै कपिलवस्तु पुग्यौँ ।

अग्लो, गोरो र हँसिलो अनुहार, भर्खर उम्रिदै गरेको दाह्री जुँघा र काँधसम्म फैलिएको लामा कपाल । मैले पहिलोपटक देखेको त्यो व्यक्तित्व यही थियो । सामान्य परिचयसहित राजनीतिक कुराकानी सुरु भयो । उहाँको फरासिलो प्रस्तुति र राजनीतिक चेतना राम्रो थियो । साथै, क्रान्तिकारी गतिविधिमा लाग्न तीव्र इच्छाशक्ति पनि ।

पहिलो भेटमै उहाँसँग सामीप्यता अपनत्वको अनुभूति भयो तर कताकता त्यो लामो कपालले भने मेरो मनमा चसक्क घोच्यो । सायद त्यसबेला क्रान्तिप्रतिको हाम्रो आदर्शवादी सोचेका कारण पैदा भएको मेरो सङ्कीर्णता पनि थियो होला ।

“तर क्रान्तिमा लाग्ने विषय, कुरा गरे जस्तो सजिलो होइन ।” मैले उहाँका कुरा सुनेपछि केही आशङ्का मिश्रित ढङ्गले भनेँ– ‘त्यो त मेरो व्यवहारैले सावित गर्छ, हेर्नु होला नि ।’ सहज मुस्कानसहितको जवाफ थियो उहाँको । यही जबाफ आजसम्म पनि मेरो मन मस्तिष्कमा गुञ्जिरहन्छ । यसरी आरम्भ भएको थियो कमरेड नारायण घिमिरेसँगको सहकार्य । उहाँ विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) मा आबद्घ भई अध्ययन कार्य रुपन्देही सार्नुभयो र विद्यार्थी आन्दोलनको नेतृत्व गर्न थाल्नु भयो । उहाँसँगको घनिष्टतासँगै हाम्रो एक अर्काको घरमा आवत जावत बढ्दै गयो ।

उहाँका दाजुहरु शिव, रामप्रसाद, वीरेन्द्र कामका सिलसिलामा अन्यत्रै र हरि दाई घरपरिवारको व्यवस्थापन गर्नुहुन्थ्यो भने दाजु माधव घिमिरे दाङ जिल्लामा विद्यार्थी राजनीतिसहित पार्टीको जिम्मेवार कार्यकर्ता हुनुहुँदो रहेछ । दाजुहरु कामको क्रममा जहाँ भए पनि राजनीतिक रुपले चेतनशील विभिन्न रुपले आन्दोलनमा जोडिनुभएको रहेछ । घरमा हजुरबुबा, आमा र भाउजुहरु सहयोगी । एक मात्र बहिनी सुमित्रा पनि विद्यार्थी राजनीतिमा सक्रिय हुनुभयो । माधव घिमिरेसँग उहाँ घरमा आएको बेला भेटघाट र छलफल हुन्थ्यो ।

उहाँका विनयी र शालीन प्रस्तुति वास्तवमा निकै प्रभावशाली थियो । वर्गसङ्घर्षको घनीभूत क्षेत्र रोल्पासँग जोडिएको भएर पनि होला उहाँमा क्रान्तिकारी उर्जा र राजनीतिक परिपक्वताको अनुभूति हुन्थ्यो । परिवारमा पार्टीको योजना जानकारी गराउने तथा भाई नारायण र बहिनी सुमित्रालाई राजनीतिक रुपले प्रशिक्षित र प्रेरित गर्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो भने दाजुहरुले आनदोलनमा रहभागी भाइ–बहिनीहरु सबैलाई दिनुभएको निरन्तर प्रेरणा उल्लेखनीय छ ।

कमरेड नारायण घिमिरेले विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै रुपन्देही जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । प्रतिकुल परिवेशसँगै आफ्नो चौतर्फी कला र क्षमताका कारण छिट्टै नै विधार्थीहरुमाझ लोकप्रिय हुनुभयो । यसैबीच उहाँ आम विद्यार्थी युवा, पार्टी पङ्क्ति र जनसमुदायबीच एक सशक्त युवा नेताका रुपमा स्थापित हुनुभएको थियो । भने विरोध र प्रशासनको निशाना पनि । त्यसैले उहाँ पटक पटक गिरफ्तार हुनुभयो । हिरासत र जेल भोग्नुभयो । त्यसक्रममा २०५४ सालमा अभियानकै सिलसिलामा गुल्मीबाट पनि गिरफ्तार हुनुभयो ।

जनयुद्घको विकास र विस्तारसँगै युवाहरुलाई फौंजीकृत गर्ने र सैन्य संरचना निर्माण गर्ने पार्टी योजनाअनुसार उहाँ रुपन्देही नवलपरासीको पहिलो जिल्लास्तरीय सैन्य टुकडी स्क्वायडको सहकमान्डरको जिम्मेवारी सम्हाल्नुभयो र तत्कालीन सम्पूर्ण फौंजी कारवाहीको भूमिका पूरा गनूभयो । जनयुद्घको तीव्रतम विकाससँगै पार्टीले वर्गसङ्घर्षको मुख्य केन्द्रविन्दु आधार इलाका निर्माण गर्ने निर्णय ग¥यो र त्यसवरपरका भूगोललाई छापामार इलाकामा बदल्ने साथै उक्त भूगोलमा प्रतिभाशाली युवा शक्ति केन्द्रित गर्ने योजना मुताविक २०५५ सालमा उहाँ अर्घाखाँची–गुल्मी जिल्लामा स्थानान्तरण हुनुभयो । उहाँ त्यहाँको क्रान्तिकारी आन्दोलनमा सम्पूर्णरुपले समाहित हुनुभयो ।

आफ्नो नाम गुल्मीको स्थापित पहाडको नाममा रेसुङ्गा राख्नुभयो र त्यहाँका गाउँवस्ती, जनसमुदाय, वनपाखा, छल्दी, पनाहा र निस्ती खोला खाल्साहरुमा वर्गीय साइनो गाँस्दै क्रान्तिको विकास मा अविष्मरणीय योगदान पु¥याउनुभयो । नारायण घिमिरेले पार्टी योजना क्रान्तिको कार्यभार पूरा गर्ने क्रममा पार्टीभित्र र जनसमुदायबीच आफ्नो विशिष्ट पचिान कायम गर्नुभयो । दृढ विचार र सरल व्यवहारको परिचय बन्नुभयो । कतिपयमा देखिने रुपमा असाध्यै चर्को क्रान्तिकारी र व्यवहारमा त्यसको ठीक विपरित चरित्र हुन्छ तर उहाँ आजीवन क्रान्तिकारी विचारमा प्रष्ट र दृढ हुनुहुन्थ्यो भने व्यवहारमा अत्यन्तै सरल ।

सबैसँग घुलमिल र मिलनसार उहाँ सबैका लागि प्रिय हुनुहुन्थ्यो । पार्टी वाहिर पनि उहाँप्रति सम्मान र सद्भाव थियो । आँखामा राखे पनि नबिझाउने उक्ति उहाँमा लागू हुन्थ्यो । संकटमा खतरा मोल्ने उहाँको अर्को गुण हो । पार्टीमा जब सङ्कट पथ्र्यो, समस्या पथ्र्यो त्यसबेला सम्झने एउटा अनिवार्य पात्र उहाँ हुनुहुन्थ्यो । चाहे साङ्ठनिक समस्या, चाहे प्राविधिक वा व्यवस्थापकीय समस्या होस् । सङ्कटमा खतरा मोल्ने सन्दर्भका थुप्रै प्रसङ्ग छन् । एउटा घटनाको स्मरण हुन्छ ।

त्यो बेला घाइते कमरेडहरुको उपचार चुनौतीपुर्ण रह्यो । २३–२४ जना कमरेडहरु उपचार अभावमा जीवन र मराईको दोसाँधमा छट्पटाइरहनुभएको थियो । त्यहाँ उपचारको कुनै सम्भावना र विकल्प बाँकी रहेन । त्यो स्थितिमा ती कमरेडहरुलाई त्यतिकै मर्न दिने वा अर्को एकजना पनि बलिदान गर्न तयार हुने र उपचारको चुनौती मोल्ने ? कि त घाइते सबै साथी जीवित बाच्ने, कि त थप एकजना पनि मृत्यु अँगाल्ने ।
यस्तो विषय परिस्थितिमा उक्त चुनौतीको सामना गर्न तयार हुनु भयो नारायणजी । अनि मृत्युलाई ललकार्दै कमरेडहरुको जीवन रक्षा गर्न आफ्नो जीवनलाई बलीवेदमा सुम्पनु भयो । सम्भावनाका दृष्टिले त्यो करिव असम्भव प्राय ः थियो । अरुलाई त गुमाउने नै हो, अर्को सकुशल कमरेड पनि गुमाउने करिब निश्चित थियो तर आखिर मृत्यु हा¥यो र उहाँले जित्नुभयो ।

गुल्मी जुहाङ खैरेनीबाट घाइते बोकेको गाडी लिएर मुख्य सडकबाटै रिडी तानसेन बुटवल हुँदै सकुशल गन्तव्यमा पु¥याउनुभयो र उपचार सम्भव भयो, सबैको जीवन बचाउनुभयो । कस्तो उच्च आदर्श, कस्तो समर्पण भाव ? सलाम छ, अरुको जीवनका लागि आफ्नो मृत्यु रोज्ने महान् योद्धालाई ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार