फागुन ५ देखि १० सम्म तय गरिएको नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपा (माओवादी) को थवाङ महाधिवेशनले  एक नयाँ युगको ढोका खोल्नुपर्छ ।

थवाङमा केही वर्षअघि माओवादीद्धारा फागुन १ गते जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रम

मालेमाको जगमा उभिएर विकसित र परष्कृत विश्व दृष्टिकोण संसार सामु पस्कनुपर्ने चुनौतीपूर्ण दायित्व क्रान्तिकारी नेता र कार्यकर्ताहरुको साझा दायित्व हो । यदि संसार जित्नु छ भने खुला हुनुपर्छ ।

व्यक्ति केन्द्रीत स्वार्थका लक्ष्मण रेखाहरु क्रस हुनुपर्छ । बहस गति र अग्रगतिमा केन्द्रित गरिनु पर्छ । संगठनलाई अर्डर टु अर्डरमा मात्र चल्ने कर्मचारीतन्त्र र नेतृत्वलाई प्रशासक मात्रै बनाइयो भने बेठिक हुन्छ ।

त्यो टेक्निटालिटीमा जान्छ टेक्निटालिटीले विद्यमान समस्याहरुको सुक्ष्म अध्ययन, विश्लेषण,निचोड र निष्कर्षमा वस्तुवादी नतिजा निकाल्न नसकेर मनोगत चित्र प्रस्तुत गरिदिने खतरा हुन्छ । तथापि मुल नेतृत्वलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, सुचना-प्रविधि, विज्ञान र चेतनापरक बहसहरुमा अधिकतम सहभागी गराइनुपर्छ ।

भौतिक परिवेश, त्यसले सृजना गर्ने चेतना र मनोविज्ञानको सन्तुलन नै सही अर्थमा सामाजिक सन्तुलन हो । सामाजिक सन्तुलन कायम गर्ने व्यवस्था नै आजको सर्वोत्तम व्यवस्था हो त्यो भनेको वैज्ञानिक समाजवाद हो ।

संसारका सबै चिजहरु गतिशील छन् र माक्र्सवाद आफैमा गतिशील विज्ञान हो । त्यसकारण वैज्ञानिक समाजवादको न्युनतम फ्रेम राजनीतिक प्रणाली, अर्थ प्रणाली, सामाजिक संरचना, आचरण व्यवहार आदि आज पनि निकै ठूला ठेलीका रुपमा बजारमा छन् ।

लाइव्रेरीबाट वैज्ञानिक समाजवाद जीवन व्यवहारमा फर्किएको छैन । कारण सम्पत्ति र विकासमा वैज्ञानिक समाजवादको कुनै केमेष्ट्रीको अभाव छ अब यसलाई पत्ता लगाउन जरुरी छ । रुस र चीनको समाजवादी सत्ता ढल्नुमा पनि सम्पति र विकासमा जोडिएको कुनै केमेष्ट्रीको अभाव रह्यो ।

त्यस अभावलाई पुरा गर्दै थवाङबाट माओवादीले चाल्ने कदममा आम मानिसहरुलाई गोलबन्दको कोशिस गर्नुपर्छ । रुस र चीनको व्यवस्थालाई संशोधनवादी भन्दै गाली गर्ने मुर्खता भन्दा पुँजीवादको विकल्पका रुपमा उभिएका ती देशहरुको आत्मनिर्भर, निजी क्षेत्रको सहभागितासहित उत्तरदायित्वपूर्ण राज्य नियन्त्रित व्यवस्था र आविष्कारका नयाँ आयामहरुलाई स्वागत गरिनुपर्छ ।

त्यो भन्दा अझ राम्रो गरे आलोचनाको अर्थ रहन्छ नत्र दरिद्रताको चिहानबाट उभिएर उत्साहपूर्ण जीवन बाँचिरहेकोलाई गाली गर्नु र भिखारीहरुको भीडमा घिस्रदै समृद्धिको म्याराथुनमा दौडिरहेकाहरुलाई धारे हात लगाउनुजस्तै हो । यस्तै आजको अर्को महत्वपूर्ण कुरा के हो भने एउटा तलाउमा आफ्नै सहयात्रीसँग रमाउने परम्परालाई अन्त्य गर्दै आम मानिसहरुलाई आफ्नो नीतिमा लपेट्नु मुख्य कुरा हो ।

पार्टी महासचिव विप्लवले एउटा घतलाग्दो तर्क बारम्वार दोहोर्याउने गर्छन्- समाजवादलाई पुँजीवाद भन्दा अझ लोकप्रिय किन बनाउन सकिदैन ? किन नबनाउने ? समाजवाद नै लोकप्रिय भए मानिसहरु किन पुँजीवादमा फर्किन्छ ? यसको उत्तर खोज्ने उनको प्रयासले कम्युनिष्ट आन्दोलनको एउटा दम्भ, अहंकार, जड, यन्त्रिकता र रेडिमेट फ्रेमलाई भत्काउने परिकल्पना गरेको अनुमान गर्न सकिन्छ ।

तर त्यो माक्र्सवादका पंडितहरुलाई सहजै पच्ने छैन र उनीहरुलाई अपाच्य हुँदा हुँदै पनि समाजवाद पुँजीवाद भन्दा लोकप्रिय हुन नसकेको रहस्य पत्ता लगाएर गाँठो फुकाउने हो भने ती पंडितहरुलाई माक्र्सवादको रेडिमेट फ्रेमहरु व्यापार गर्ने दिनहरु पनि धेरै बाँकी रहने छैनन् ।

थवाङ महाधिवेशन यस दिशामा केन्द्रित हुनुपर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार