१२औं एड्भेन्चर्स अफ द इयर ‘वर्षको साहसी व्यक्ति’ अवार्ड जितेपछि अल्ट्रा धाविका मीरा राई फेरि एक पटक चर्चामा आएकी छिन्।

नेशनल जियोग्राफी च्यानलले हरेक बर्ष बितरण गर्ने एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा विश्वभरका साहसी खेलसँग आवद्ध १० जनामध्ये नेपालकी धाविका राई पनि परेकी थिइन्।
मीरासँगै केभ ड्राइभर क्रिजिस्तोफ स्टारवान्स्की, कायकर स्मिथ ली, माउन्टेनर कोलिन हाले, ओसियन एडभोकेट शानन स्वीट्जर स्वानसन, प्याराग्लाइडर एन्टोनी जिरार्ड, पार्क प्रोटेस्टर पिटर म्याकब्राइड र केभिन फेडार्को, वाइल्डरनेस डिफेण्डर क्रिष्टिन म्याकडिभिट तोम्प्कीन र सेलेस्टियल सर्कुमनेभिगेटर होकुले टोलीमा परेका थिए।
उनीहरुलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत् भोट दिने प्रावधान थियो। भोट आगामी डिसेम्बर १६ सम्म भोटका अाधारमा राई बिजेता बनेकी हुन्।
म्याराथनको छोटो यात्रामा उनले थुप्रै उपाधि हासील गरेकी छिन्। मीराले उनले गत वर्ष फ्रान्समा भएको ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनले १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन्। यसैगरी, उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीको ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथना समेत च्याम्पियन बनिसकेकी छिन्।
त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्वच्याम्पियन इमेलिई फोर्सवर्गलाई भेट्टाउनै खोजेकी थिइन्, मीराले। त्यो सम्भव भएन, दोस्रो भइन्। तर त्यो प्रतियोगिताले उनलाई थप उचाईमा पुर्याएको थियो। राष्ट्रियस्तरमा पनि उनले सन् २०१४ को मुस्ताङ ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छिन्।

मीरा खेल जीवन सुरु भएको छ महिनामै राष्ट्रिय च्याम्पियन बन्न सफल भएकी थिइन्। २५ वर्षीया उनलाई यतिबेला अल्ट्रा म्याराथन खेल क्षेत्रमा अन्तर्रा्ष्ट्रियस्तरकै वरिष्ट खेलाडी मान्न थालिएको छ। कराँते हुँदै उनी अल्ट्रा म्याराथनमा आइपुगेकी हुन्।
भोजपुर सानो दुम्माको सुकबहादुर र पम्फा रानीका ५ (३ छोरी, २ छोरा) सन्तानमध्येकी दोस्रो सन्तान उनी माओवादी लडाकु समायोजनका बेला अयोग्य भएपछि सानैदेखिको खेलकुदको रुची पूरा गर्न माओवादीकै पिएलएल स्पोर्टस क्लबसँग आवद्ध भइन्। पिएलएबाट सुरुका दिनमा कराँते प्रशिक्षण थालेकी उनको बालाजु कराँते एकेडेमीका अध्यक्ष ध्रुवबिक्रम मल्लसँग भेट भयो।
मल्लले खेलाडी छनोटको सिलसिलामा सिन्धुली पुग्दा अनुपमा मगर र मिरामा खेलाडी बन्ने सम्भावना देखे। मिरा कराँतेको ५०–५५ केजीमा प्रशिक्षण गर्थिन्। कुनै पनि खेलमा दौडलाई आधारभूत आवश्यकता मानिन्छ। मिरामा दौडन सक्ने प्रवल क्षमता भएका कारण मल्लले नै दौडमै लाग्ने सल्लाह दिएका थिए। त्यहि सल्लाह आज अब्वल सावित भएको छ।
मीरा खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मिएकी माओवादी पूर्वलडाकु हुन्। उनका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो। आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्थिन् उनी। सिन्धुलीबाट एसएलसी उतिर्ण गरेकी मीरा मानविकीमा प्लस टु पढ्दै छिन्।
निकै दुख, हन्डरबाट गुज्रिदै विश्व च्याम्पियन बनेकी राई दुई महिनाको उपचार पछि गत असोज तेस्रो साता नेपाल फर्किएकी छिन्। खेलका शिलसिलामा चोटग्रष्त भई इटलीको भेरोना अस्पतालमा उपचार गराइ राई नेपाल आएकी हुन्। इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन प्रयासरत छिन्।

नेपालखबरबाट ।







