
बडा बा
मलाई लालपुर्जा खेलाउने हात होइन,
मलाई ब्रह्माण्ड छुने हातहरु जन्माउनु छ ।
हो बडा बा !
यो दुनियाँ
लालपुर्जै लालपुर्जाले कोलाहल छ
सत्ता लालपुर्जा चाहन्छ
लालपुर्जा वैवाहिक संस्था चाहन्छ
वंश युद्ध चाहन्छ
हामी शान्ति चाहन्छौँ ।
हो, बडा बा !
यहाँ शान्ति कहाँ छ ?
हामी गर्भभरि युद्धका बीउ बोकेर
शान्ति चाहन्छौँ ।
यहाँ शान्ति कहाँ छ ?
न राम जन्माउने कौशल्यामा शान्ति छ ?
न कृष्ण जन्माउने देवकीमा शान्ति छ ?
न जिसस जन्माउने मेरीमा शान्ति छ ?
न मोहम्मद जन्माउने अमिनामा शान्ति छ ?
न बद्ध जन्माउने मायादेवीमा शान्ति छ ?
न बुधवा जन्माउने बुधनीमा शान्ति छ ?
यहाँ शान्ति कहाँ छ बडा बा ?
यहाँ मैनबत्तीभरि
युद्धका बीउ छन् ।
यहाँ मैनबत्ती बालेर शान्ति हुँदैन
यहाँ मैनबत्तीभरि अँध्याराका बेर्ना छन् ।
यहाँ मैनबत्ती बालेर उज्यालो हुँदैन ।
यहाँ शान्ति कहाँ छ बडा बा
यहाँ सत्ताभरि
बुद्धले छोडेका लालपुर्जाहरु छन्
यहाँ बुद्धले अशोक जन्माउँदैमा
शान्ति हुदैन ।
यहाँ कुर्सीभरि बाजहरु छन्
बाजहरुले परेवा उडाउँदैमा
शान्ति हुँदैन
यहाँ बाजहरुले
बुद्धम् शरणम् गच्छामी भन्दैमा
शान्ति हुादैन ।
यहाँ शान्ति कहाँ छ बडा बा
शान्ति त प्रेम हो ।
उज्यालो हो ।
यो उज्यालो कहाँ छ बडा बा ?
के आदमले हावालाई साधे–
हावा, तिमीभित्र पनि कहीँ उज्यालो छकि भनेर ?
यो शुद्धोधनले मायालेवीलाई सोधे–
मायादेवी, तिमीभित्र पनि कहीँ प्रेम छ कि भनेर ?
के बुद्धले यशोदालाई सोधे–
यशोदा, तिमीभित्र पनि कहीँ आकाश छ कि भनेर ?
बुद्धले यो कहिल्यै सोधेनन्–
यशोदा, तिमीभित्र पनि कहीँ मान्छे छ कि भनेर ।
यहाँ प्रश्नहरु कहाँ छन् बडा बा ?
यहाँ प्रश्नहरु कहाँ छन् ?
के साँझपख
दियो बाल्दै गरेकी
आमालाई कसैले सोध्यो–
आमा, तिमीभित्र रात छ कि दिन छ भनेर ?
यहाँ प्रश्नहरु कहाँ छन् ?







