
हेर ! थबाङमा बलिरहेको
क्रान्तिका झिल्का,
होइनन् मात्रै यी झिल्काहरु
यी हुन्- भविष्य खोज्दै चम्किरहेका
मान्छेको जीवन
सिस्ने हिमाल र जलजलाको काखबाट
आकाशमा उडिरहेका चराहरु हेर !
होइनन् मात्रै यी चराहरु,
यी हुन्- मुक्तजीवन खोज्दै उडिरहेका मान्छे
निर्वाध /निर्बन्ध उडिरहेका यी चराहरु
पखेटा होइन,
गरिरहेछन् सिङ्गै क्रान्तिको उडान
शहरका माथि- माथि आकाशमा
उडिरहेका ती क्रान्तिका विमानहरु
थाहा छैन ! कतिखेर, कुन दूतावासको
धुरीमा ठोक्किने हुन् ?
र कतिखेर खस्ने हुन्
सिङ्हदरबारको मुल गेटमा ?

लेखक/ कवि
जलजलाका पाखाभित्तातिर हेर !
फुलिरहेका ती राता लाली गुराँसहरु
होइनन् मात्रै ती गुँरासहरु !
ती हुन्- क्रान्ति यात्रामा निस्किएका
एकीकृत जनक्रान्तिका छापामार
जब उर्लिन्छ शान्तिको चिहानहरुमा
आक्रोशको सुनामी
र बाँकी रहन्छ स्पात जसरी
आगोले नगलेका मान्छेभित्रको विचार
तबसम्म खोजिरहन्छ थबाङ
युद्धभित्र मुक्तिको मुस्कान
अब भन ! काठमाडौ
के तिमी रोक्न सक्छौ
विज्ञानको गतिशीलता ?
के तिमी छेक्न सक्छौ
सिस्ने, जलजला हुँदै
थबाङको मस्तिष्कहरुमा
सल्किरहेको निरन्तर
क्रान्तिकारी यात्रा ?







