नेपाल–भारत सीमा क्षेत्रका डेढ दर्जन ठाउँका नेपाली भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादती खेप्न बाध्य हुँदै आएका छन् । ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा अतिक्रमणको चपेटामा छ ।

त्यसमध्ये पूर्वको ताप्लेजुङबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म जोडिएको सीमा क्षेत्रका १७ स्थानमा नेपाली सधैं एसएसबीको त्रास र ज्यादती खेप्न बाध्य देखिएका छन् । सीमा क्षेत्रका नेपालीको खेती नष्ट गरिदिने, घरटहरा भत्काइदिने, पक्राउ तथा दुर्व्यवहारजस्ता गतिविधि एसएसबीबाट बारम्बार दोहोरिरहने गरेको पीडितको गुनासो छ ।

कञ्चनपुरको पुनर्वासमा बिहीबार नेपाली भूमि प्रवेश गरी एसएसबीले चलाएको गोली लागी गोविन्द गौतमको ज्यान गयो । त्यसपछि सीमा क्षेत्रका नेपालीमा झन् एसएसबीको त्रास र भयको स्थिति पैदा भएको देखिएको छ ।

केही महिनाअघि मात्रै सुस्ताको त्रिवेणी नदीमा पुल निर्माण गर्न एसएसबीले अवरोध पु-याएको थियो । गत वर्ष सप्तरीको तिलाठी र लालापट्टी क्षेत्रमा भारतीयले अवैध रूपमा निर्माण गरेको बाँधको विषयमा नेपाली नागरिक एसएसबीबाट कुटिएका थिए ।

नेपाल–भारत सीमा क्षेत्रका हरेक दिनजसो यसै गरी भारतीयको ज्यादती बढ्दै गएको स्थानीयको गुनासो छ । नेपाल–भारततर्फको १ हजार ८ सय ८० वर्ग किलोमिटर सीमारेखामा करिब १ हजार १ सय जंगे पिलर गायव छन् ।

अन्तर्राष्ट्रिय सन्धि÷सम्झौताविपरीत नदीको बहाव रोक्नेदेखि अनधिकृत पूर्वाधार निर्माण कार्यसम्ममा भरतीयको संलग्नता बढ्दो देखिएको छ । कञ्चनपुरको प्याराताल, कैलालीको लालबोल्झी, बर्दियाको गुलरिया, सप्तरीको तिलाठी,  बाराको झिटकैया, मोरङको बरडंगालगायत क्षेत्रमा एसएसबीले दुव्र्यवहार गर्ने गरेको स्थानीयको गुनासो छ ।

भारतीय पक्षको मिचाहा प्रवृत्तिका कारण दसगजा क्षेत्र झन अव्यवस्थित रहेको सीमाविद बुद्धिनारायण श्रेष्ठ बताउँछन् । सीमा क्षेत्रको सुरक्षा र दसगजा भूभागलाई व्यवस्थित गर्न नसके एसएसबीको ज्यादती झन बढ्न सक्ने उनको भनाइ छ ।

नेपाल–भारत सीमा विवादसहित सन् १९५० को सन्धि पुनरावलोकन गर्न बनेको प्रवुद्ध समूहसमेत कञ्चनपुरमा एसएसबीको ज्यादतीप्रति मौन बस्नुलाई श्रेष्ठले ‘कूटनीतिक लाचारी’को संज्ञा दिए ।

नापी विभागका अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६६२ हेक्टर सीमा अतिक्रमण भएको छ, जसको सुरक्षामा भारतले ५० हजार अर्धसैनिक बल एसएसबी खटाउँदै आएको छ ।

तर, नेपालको सशस्त्र प्रहरी बलका करिब ५ हजार मात्रै सीमा सुरक्षामा तैनाथ छन् । प्रत्येक १ किलोमिटर दूरीमा एसएसबीका २० देखि २५ जना फौज तैनाथ छन् । तर, नेपालको सशस्त्र प्रहरी बल दसगजाबाट ३ किलोमिटरभित्र प्रत्येक १ किलोमिटर दूरीमा ४ देखि ६ जनासम्म परिचालित हुँदै आएका छन् ।

श्रेष्ठका अनुसार सबैभन्दा बढी दार्चुलास्थित साविकको व्यास गाविसको कालापानी–लिम्पियाधुराको ३६ हजार हेक्टर भारतीय पक्षबाट मिचिएको छ । नवलपरासीको सुस्तामा १४ हजार ५ सय हेक्टर अतिक्रमण भएको छ । बाँकी अन्य जिल्लामा स्तम्भ गायव हुँदा करिब ९ हजार हेक्टर नेपाली भू–भाग मिचिएको छ ।

“भारतीय पक्षले नेपाल सीमाका करिब डेढ दर्जन क्षेत्रमा सधैँजसो नेपालीमाथि ज्यादती र दुव्र्यवहार गर्दै आएको छ”, उनी भन्छन्, “कञ्चनपुरको गोलीकाण्ड त्यसैको निरन्तरता मात्रै हो ।”

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार