वैदेशिक रोजगारलाई मुख्य विषयवस्तु बनाएर लेखिएका अधिकांश गीत–संगीत वा अरु सिर्जनाका माध्यमहरुमा पीडाजन्य पक्षहरुलाई पस्किन खोजिन्छन् । स्वाभाविकै हो, नेपालका कुनै पनि ग्रामीण भेगका युवाहरु अचेल वैदेशिक रोजगारतिरै आकर्षित भइरहेका छन् र विगत केही दशकमा आफू अनुकुलका रोजगारका अवसरहरु प्राप्त नहँुदा विदेशितिर नजर डुलाउने क्रम बढ्नुलाई अन्यथा मान्न सकिदैन ।

वैदेशिक रोजगारमा तानिएका देशका अधिकांस युवा–युवतीको मनोविज्ञानलाई छाम्दै, उनीहरका दुःख, कष्ट, पीडा र सकारात्मक पाटोहरुलाई उधिन्दंै त्यसलाई सिर्जनाको फाँटमा सजाउने कार्य पनि भइरहेका छन्, निरन्तर । रोजगारीका निम्ति आफ्ना सदस्यहरु विदेश जाने कुरा कुनै पनि परिवारका निम्ति सायदै खुशीको विषय हुन सक्ला । वैदेशिक रोजगारीका अनेक पक्ष र आयामहरु छन् र त्यसले खुसी र पीडा दुवैको प्रतिनिधित्व गर्दछन् ।
अचेल एउटा संगीतले निकै नै झ्याली पिटेको छ । त्यो हो– ‘सुन साइँली, परदेशबाट फर्की आउँला, चालीस कटेसी रमाउँला ।’ यो गीत सुन्दा नितान्त दूरदराजका ग्रामीण भेगको झल्को दिन्छ । किनकि, अनेक साइँला–साइँलीहरु सहर–बजारतिर भेटिँदैनन् । सहर–बजारका नयाँ पुस्तामा आर्थिक टेकोलाई ध्यानमा राखेर बढीमा दुइटा मात्र सन्तान जन्माउने लहर नै चलिरहेको छ । धेरै भए, दुईवटा सन्तान हुन्छन् । लालन–पालन, शिक्षा–दिक्षालगायत अरु पक्षहरुका कारणले गर्दा धेरै सन्तान जन्माउने कुरा बढीमा दुईटा मात्र सन्तान जन्माउने लहर नै चलिरहेको छ । धेरै भए, दुईवटा सन्तान हुन्छन् ।
लालनपालन, शिक्षादीक्षालगायत अरु पक्षहरुका कारणले गर्दा धेरै सन्तान जन्माउने कुरा बाजे–बराजुको जमानाको कुरा भइसकेको छ अचेल । ‘सुन साइँली ……’ निकै नै कर्णप्रिय संगीत हो । अचेलको नेपाली मनोविज्ञानलाई नजिकैबाट स्पर्श गर्ने क्षमता उक्त गीतले बोकेको छ । किनकि, हरेक गाउँबस्तीले वैदेशिक रोजगारका निम्ति युवा जनशक्तिलाई विदेशतिर धकेलेको छ र विदेशको कमाइप्रति हरेक युवाहरु आकर्षित पनि भएका छन् । वैदेशिक रोजगारिका निम्ति विदेशतिर पाइला तन्काउनेहरुको आफ्नो घर–परिवारप्रति चासो राख्नु कुनै अचम्मको कुरा पनि होइन । यो आम नेपालीको समस्या पनि हो ।
तर, सुन साइँली….. ले जति चर्चा पायो, यो वैदेशिक रोजगारिमा जानेहरुका सिंगो पीडालाई प्रतिनिधित्व गर्ने गीत भने बन्न सकेको देखिदैन । वैदेशिक रोजगारीमा जानेहरुका पीडा, दुःख, हर्ष, खसीहरुलाई समेटेर लेखिएका, संगीतबद्ध गरिएका अरु गीतहरुका तुलनामा यो गीत धेरै नै फितलो, हल्का र मात्र प्रचारबाजीका हेतुले लेखिएको प्रस्टै हुन्छ । अझ, यो गीतमा कर्ममा भन्दा पनि भाग्यमा विश्वास गर्ने जमानतहरुलाई प्रश्रय दिन ओजिएको छ । नभए, ‘भावीको खेलमा परियो’ भन्ने शब्द उल्लेख गर्नुको के अर्थ हुन्छ ?
‘सुन साइँली …’ ले थुप्रै अस्पष्टताहरु पनि छरेका छन् । अचेल वैदेशिक रोजगारिमा जानेहरु प्रायः युवाहरु नै हुन्छन् । सोह्र पर्ष उमेर नपुग्दै राहदानी बनाएर विदेशमा कठोर श्रम गर्न जानेहरु नै हाम्रो समाजको तात्कालीन वास्तविकता हो । करिब दुई दशकदेखि हामीले यो वास्तविकतालाई नजिकबाटै नियालिरहेका छौं । तर, चालीस कटेसी भन्ने कुरा वास्तविकताको नजिक देखिँदैन । वैदेशिक रोजगारमा जानेहरुका पीडालाई प्रतिनिधित्व गर्ने अरु थुप्रै गीतहरु नभएका होइनन् । तर, ती गीतहरुले हल्का फुल्का रुपमा चिनिने ‘सुन साइली’ सँग सिँगौरी खल्न सकेनन् भन्नुपर्छ ।
नभए, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्र विक्रम चन्दले क्रान्तिका कुरा गर्दागर्दै एउटा राम्रो गीत लेखेका थिए– ‘कसले बनायो दाजै उडी जाने बस, हाम्रो देशै उडायो, हाम्रो साखै उडायो……।’ ‘सुन साइँली’ भन्दा नेत्रविक्रम कमरेडले लेखेको गीत धेरै माथिल्लो तहको छ, जसले वैदेशिक रोजगारमा जानेहरुका जीवन व्यथालाई निकै कै मार्मिक रुपले उजागर गरेको छ । आखिर, गीत–संगीतमा वर्गीय पक्षधरताको कुरा पहिलादेखि नै उठ्दै आएको हो । तर, गीत–संगीतलाई मनोरञ्जनको माध्याम मात्रै ठान्ने प्रवृति मौलाउदै आयो, हामीकहाँ । यो पञ्चायती शासकहरुले मित्र्याएको प्रवृति थियो । सबैले त्यसैलाई पछ्याए ।
सुन साइँलीले चालीस कटेपछि रमाउने सपना देख्छ । तर नेत्र विक्रम चन्दको शव्दले भन्छ– ‘नबनाई कहाँ हुन्छ आफ्नै देशलाई ।’ दुवै गीतको सन्दर्भ एउटै छ, पीडा एउटै छ, वेदना पनि एउटै छ र तर, सन्देश नितान्त फरक । ‘सुन साइँली’मा जसरी विदेशी भूमिमा रमाउनेहरुका सौन्दर्य पोखिएको छ, त्यो भन्दा धेरै र उच्च कल्पनाशीलताले भरिएको सुन्दरता पोखिएको छ– ‘कसले बनायो दाँजै उडिजाने बसमा ।’
वस्तीले बुधवारमा नियमित साहित्यीक स्तम्भ लेख्ने गर्छन् ।







