आजको रुसमा फेरि कम्युनिज्म पुनर्स्थापना होला ? सन् ९० को दशकको पूवार्द्धमा विघटन हुन पुगेको सोभियत कम्युनिस्ट सत्ता जागे्र आउने संभावना होला ?

‘जहाँ प्रश्न त्यहाँ उत्तर’ भनेझै आजको रुसमा यो प्रश्नको उत्तर दिनेगरी त्यहाँको कम्युनिस्ट पार्टीले सचेत ढंगले पहल गर्न सके संभावना छ । सन् १९९० पछि सोभियत सत्ता ढल्यो । त्यो ढलेसँगै पूर्वी युरोपमा समेत समाजवादी सत्ताहरु ढले । रुसमा कम्युनिस्ट सत्ता ढलेसँगै त्यहाँ केही वर्ष कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाइयो ।
तर सन् १९९३ देखि कम्युनिस्ट पार्टीलाई नयाँ शिराबाट गठन गरेर आफ्नो गतिविधी बढायो । आज ‘कम्युनिस्ट पार्टी अफ रसियन फेडेरशन’को नाममा रहेको रुसी कम्युनिस्ट पार्टी रुसी संसदमा दोस्रो ठूलो दलको रुपमा उपस्थित छ ।
संसद र राष्ट्रपतिको दुबै निर्वाचनमा कम्युनिस्ट पार्टी अफ रसिया फेडेरेशनले आफ्नो पार्टी स्थापनाको प्रारम्भिक चरणमा निकै ठूलो जनमत प्राप्त गरेको थियो । तर पछिल्ला वर्षमा ती दुवै निर्वाचनमा कम्युनिस्ट पार्टीले जनमत घटाउने काम गरेको छ ।

कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेशनका नेता गेनेड्डी पत्रकार सम्मेलनमा
हाल १ लाख ६० हजार पार्टी सदस्य रहेको रुसी कम्युनिस्ट पार्टीले सन् २०१६ को संसदको निर्वाचनमा ७० लाख १९ हजार ७५२ मत पाएको छ । यो रुसको सत्ताधारी पार्टी युनाइटेड रसियापछि दोस्रो ठूलो दल हो । सन् २०१६ को निर्वाचनमा भ्लादिमिर पुटिनको युनाइटेड रसियाले २ करोड ८५ लाख ८२८ मत प्राप्त गरेर सत्ताको बागडोर समालेको छ ।
अर्को जो रुसमा राष्ट्रपतिको निर्वाचन चार चार वर्षमा हुने गर्दछ । त्यसमा कम्युनिस्ट पार्टी अफ रसियाले सन् १९९६ मा पार्टी उम्मेदवार गेनेड्डीले २ करोड ४२ लाख ११ हजार ६०४ मत पाएका थिए । त्यो घटेर सन् २०००पछि कम्युनिस्ट पार्टीले १ करोड २३ लाख मात्र पाएको छ । तर पुटिनको पार्टीले झन् पछि झन् पव्लिक मत पाएर सत्ताको नेतृत्व गरिरहेको छ ।

सन् १९९३ देखि हालसम्म भएको पार्लियामेन्ट निर्वाचनमा रसियन कम्युनिस्ट पार्टी बटुलेको मतसंख्या
सन् २००४ देखि अहिलेसम्म आउँदा पुटिनको पार्टी र स्वयंम पुटिनले झण्डै ५ करोड मत पाएर जनमत बटुलिरहेका छन् । १४ करोड जनसंख्या भएको रुसमा पुटिनको पार्टीले ठूलो मत पाइरहेको छ । आखिर किन पुटिनको पार्टीले रुसी जनमतलाई तानिरहेको छ ? वास्तवमा जोसँग कुनै विचार र कार्यक्रम नै छैन ।
त्यहाँ मुलतः नेतृत्वको प्रश्न निकै महत्वपूर्ण रहेको छ । पुटिन दश वर्ष लामो सत्ताको नेतृत्व गरेर अमेरिका र पश्चिमालाई चुनौती दिइरहेका छन् । तर कम्युनिस्ट पार्टीको नेतृत्वले के गरिहेको छ त ? यो प्रश्न निकै गंभीर छ ।
अहिले कम्युनिस्ट पार्टी अफ रसियन फेडेरेशनका नेता गेनेड्डी ज्युगानोभले सन् १९९३ देखि निरन्तर नेतृत्व गर्दै आएका छन् । सन् १९४४ मा जन्मेका गेनेड्डी स्कुलदेखि कलेजहुँदै कम्युनिस्ट पार्टीमा रहेर काम गरेका नेता हुन् । तर अहिले रुसमा पछिल्लो समयमा उनको नेतृत्वशैलीमा ठूलो अग्निपरीक्षा शुरु भएको छ ।

प्रेसीडेन्सी निर्वाचनमा रुसी कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनमत
सन् १९९३ मा कम्युनिस्ट पार्टीको स्थापनासँगै संसदमा समेत भाग लिन थालेको रुसी कम्युनिस्ट पार्टीले आफ्नो विचार र संगठनलाई विकसित गर्न नसकेको भन्दै रुसमा आलोचना समेत हुन थालेको चर्चा छ । सन् १९९५ को पार्लियामेन्ट निर्वाचनमा कम्युनिस्ट पार्टी अफ रसिया फेडेरेशनले १ करोड ५४ लाख ३२ हजार ९६४ मत प्राप्त गरेको थियो । त्यो घटेर अहिले जम्मा ७० लाखमा झरेको छ ।

सन् २०१५ को रुसको स्टेट डुमामा विभिन्न पार्टीले प्राप्त गरेको मतसंख्या
यो भनेको पक्कै पनि नेतृत्वको विचार, संगठन र कार्यक्रममा कही न कही कमजोरी छ भन्ने प्रष्ट देखिन्छ । माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेर कम्युनस्टि पार्टी रसियाले ‘नवीकृत समाजवाद अर्थात् २१ औं शताव्दीको समाजवाद’ नामको कार्यक्रम दिएको छ । सन् १९९५ देखि सन् २००७ सम्म पुटिनको युनाइटेड पार्टीलाई झण्डै झण्डै हराउन सक्ने पोजिशनमा रहेको रसियन कम्युनिस्ट पार्टीले अहिले पछिल्लो समयमा आएर किन कमजोर परिणाम भोग्नु परिरहेको छ ?
यो प्रश्नको हल आजको रसियन कम्युनिस्ट पार्टी र त्यसका नेता गेनेड्डीले दिनु पर्ने भएको छ । रुसी कम्युनिस्ट नेता गेनेड्डीले आजको पछिल्लो विश्व र रुसको राजनीतिक, आर्थिक, सामाजिक र विकसित टेन्डलाई अध्ययन गरेर त्यही अनुरुपको कार्यक्रम विकास गर्नुपर्ने देखिन्छ ।
२४ वर्षदेखि आफ्नो एकल नेतृत्वद्धारा पार्टी चलाइरहेका गेनेड्डीले पछिल्लो पुस्तालाई नेतृत्व सुम्पेर आफुले रचनात्मक कामको जिम्मा लिनु आवश्यक देखिन्छ । जसले कम्युनिस्ट पार्टीलाई गतिशील र सिर्जनशील बनाएर रुसलाई हाँक्न सक्ने नेतृत्व पैदा गर्न सकोस् ।
आगे फैसला कमरेड गेनेड्डीको हातमा ।







