मोहन वैद्य किरणलाई नजिकबाट बुझ्नेहरु भन्छन्, उनी राजनीतिक रुपमा सधै मध्यपन्थी ।

तर यसपाली उनको क्रान्तिकारी माओवादी नामको पार्टीले स्थानीय निर्वाचनमा जाने एजेण्डाको प्रमुख योजनाकार वैद्य आफै रहे । हुन न मध्यपन्थको बाटो सधै दक्षिणपन्थी नै हुन्छ । तर यसपटक दक्षिणपन्थी चुनावी लाइनको खुलेर प्रस्तावक र बहस गर्ने काम वैद्यले गरे ।

यसपटक उनीहरुको केन्द्रीय भेलामा सहभागी भएका ९० प्रतिशत मान्छेहरुको समर्थन लिएर वैद्यले चुनावी लाइन पारित गरे । अल्पमतमा रहेकाहरुले मसिनो स्वरमा स्थानीय निर्वाचनमा जानु हुँदैन भन्ने गरेको प्रस्तावलाई वैद्यले त्यसको ठाडो प्रतिरोध गर्दै निर्वाचनमा जाने कुरा राखे ।

अचम्म त यो भेलामा जनयुद्ध लडेर आएकाहरुको ठूलो पंक्ति स्थानीय निर्वाचनमा जाने पक्षमा रह्यो । बरु एकता प्रक्रियामा आएकाहरुले चुनावमा जाँदा पार्टीले कस्तो परिणाम भोग्ला ? कुनै सिटमा पनि नजिते पार्टीको भविष्य के होला भन्दै प्रश्नहरु राखे । यीलगायत थुप्रै प्रश्नको जबाफ वैद्यले निकै जोडबल लगाएर निर्वाचनमा जाने तर्कहरु पेश गरे ।

सैद्धान्तिक रुपमा माक्र्स, लेनिन र माओको क्रान्तिकारी रटान लगाउन वैद्य निकै सिपालु छन् तर त्यसलाई जब राजनीतिक, कार्यक्रमिक र कार्यान्वयनमा लैजाने कुरा आउँछ त्यो बेला उनी सधै दक्षिणपन्थी देखिन्छन् । इतिहासले सधै यस्तै देखाएको छ वैद्यको बारेमा ।

०४० मा मशालको पाँचौं महाधिवेशनमा होस् या जनयुद्धपूर्व जनयुद्धमा जाने कार्यक्रममा होस्, वैद्य सधै मध्यपन्थी रोलमा थिए भन्ने कुरा उनीसँग निकट रहेका नेताहरुको भनाई छ । बरु खुला र स्पष्ट दक्षिणपन्थी लाइन लिएर विचलनको बाटो समाएका मोहन विक्रम सिंह र पुष्पकमल दाहाल प्रचण्ड तुलनात्मक रुपमा इमान्दार देखिए ।

आफ्नो ४० वर्षको कम्युनिस्ट राजनीतिक इतिहासमा यसपटक वैद्यले खुलेर संसदीय व्यवस्थालाई बलियो बनाउने स्थानीय निर्वाचनको पक्षमा जाने योजना लिए ।

दश वर्षे जनयुद्धले प्राप्त गरेका सारा उपलव्धिलाई ध्वस्त पारेर खडा गरिएको संसदीय व्यवस्था र बँचेखुँचेको क्रान्तिकारी उपलव्धिलाई यही निर्वाचनबाट अझ सुदृढ गर्न ल्याएको बाटोलाई वैद्यले वैधानिकता दिनु योभन्दा ठुलो वैचारिक विचलन र पतनको बाटो के हुन सक्छ !

बरु माओवादी केन्द्रसँग मिलेर संसदमा जानुपर्छ भन्दै एकतामा गएका रामबहादुर थापा बादलहरु वैद्यभन्दा स्पष्ट देखिए । तर वैद्यले मध्यपन्थी बाटोको सहारा लिएर दक्षिणपन्थी बाटोको खुलेआम वकालत गरे । भन्न त वैद्यले यो कार्यनीतिक प्रश्न हो भनेर कार्यकर्तालाई थामथुम पार्ने काम गर्नेछन् ।

माओले भनेकै छन् नि, वैचारिक रुपमा अस्पष्ट भएकाहरुको बाटो संशोधनवादी हुन्छ भनेर । वैद्य अहिले त्यही संशोधनवादी बाटो समाएर पूरानो संसदीय व्यवस्थालाई टिकाउने एउटा पात्र बन्न पुगेका छन् ।

संसदवादीहरुले संसदीय व्यवस्थालाई बलियो बनाउन खडा गरेको कथित निर्वाचनलाई क्रान्तिकारीहरुले आफ्नो शक्तिमार्फत् प्रतिरोध गर्नुपर्छ भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन खारेज अभियान ठोस गरिसकेको छ । यो अभियानमा वैद्यले विप्लवलाई साथ दिनेछन् भनेर धेरैले सोचेका थिए । तर उनी अन्ततः प्रचण्डको बाटोमा पुगे ।

सारमा हेर्दा वैद्यले मोहन विक्रमको बाटो समाएर प्रचण्डको यात्रा तय गरेका छन् । यो दक्षिणपन्थी यात्राको निकै कुरुप र भद्धा यात्रा हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार