२०५९ असार साउनको सेरोफेरो । गाउँभरि जनयुद्धको प्रभाव थियो । राज्य र माओवादीबीचको भीषण लडाइँ उत्कर्षमा थियो ।

‘माओवादीहरु जंगलमा बस्छन्, सिङ पुच्छरसँग हुन्छन्’ आदि-इत्यादि गाउँमा कांग्रेस -एमालेले झुट्टा प्रचारहरु गरिरहेका थिए । हामी उमेरले सानै थियौं । म आत्मबोध उच्च मावि खर्जाङ गुल्मीको कक्षा ७ मा पढ्थें । गाउँमा चलेका सबै हल्लाहरुलाई म साँच्चिकै पत्याउँथे र डरले कैयौंपटक खातमुनि गुन्द्रीले बारेर लुकी बस्थें । हामी स्कूल आउँदा जाँदा बाटोमा केही ‘नछोनु’ भनेपछि बमको डरले राम्रा चीज भेटाएपनि जोगिएर हिड्थ्यौं ।
माओवादीसँगको पहिलो भेट
मलाई माओवादीको विषयमा जान्न भित्रैदेखि नै निकै उत्सुकता थियो । एकदिन हामीले पढिरहेको स्कूलमा एकाएक ९-१० जना नयाँ युवाहरु १० बजे नै आइपुगे । हामी प्रार्थनाका लागि लाइनमा उभिइरहेका थियौं । उहाँहरुले ‘हामी माओवादी हौं’ भन्दै परिचय दिएपछि सबैलाई पेटीपरेड गराए । उहाँहरु तत्कालीन १३ नं. इन्चार्ज क.अर्जुन, सेक्रेटरी क.शिखर, सुशिला, गाउँले, आकाश लगायत हुनुहुँदोरहेछ । लाइनमा पिटिपरेड सकिएपछि कक्षा ७ भन्दा माथिको पहिलो पिरियड उहाँहरुले नै लिनुभयो । हामी कक्षा ७ का विद्यार्थी थियौं । हाम्रो कक्षामा क. शिखर र सुशिलाले क्लास दिनुभयो । देशको राजनीतिक अवस्था र माओवादी आन्दोलनबारे प्रशिक्षण दिनुभयो । प्रशिक्षणबाट हामी गाउँभरि कांग्रेस एमालेले फैलाएका नकरात्मक हल्ला र भ्रमहरुबाट मुक्त भयौं । मनभित्र सल्किने डर र आशङ्काहरु सबै त्यही पखालिए । प्रशिक्षणको क्रममा ११ सदस्यीय कमिटि गठन भयो । जसको अध्यक्ष म भएँ । त्यस लगत्तै स्कूल मूल इकाई समिति गठन भयो । जसको अध्यक्ष कक्षा १० मा अध्ययनरत सन्जु सोमरे र म सचिब भयौं ।
स्कूलबाट भागेर वालपेन्टिङ
विद्यार्थी जीवनसँगै पहिलो पटक राजनीतिक जीवन सुरु भयो । हाम्रो राजनीतिक यात्राको सुरुवात अरुको जस्तो सजिलो थिएन । देशमा राज्य र माओवादीबीच भीषण लडाई चलिरहेको थियो । गाउँका सामन्त र संसदीय राज्य व्यवस्थाका जराहरु क्रमशः काटिदै थिए । स्कूल विदा भएर साँझ घरमा पुग्दा गाउँभरि ‘माओवादीमा गयो’ भनेर हाम्रोबारेमा निकै हल्ला चलेछ । हामीलाई देखेपछि छिमेकीहरुले कानेखुशी गर्थे । परिवार र सिङ्गो गाउँलेहरुको हामीलाई हेर्ने दृष्टिकोण एकाएक बदलियो । हामीलाई मान्छेजस्तो नै ठान्दैनथे । माओवादीमा लागेकै कारण हामी असाध्यै हेपिनु र अपमानित हुनुपथ्र्यो ।
हामी सांगठनिक कामसँगै देशको राज्य व्यवस्था र त्यसले समाजमा उत्पन्न गरिरहेको विसंगतिबारे राम्ररी अध्ययन गर्न थाल्यौं । हामी सामान्य किसान परिवारका थियौं । दैनिकी जीविकोपार्जन कृषिमा निर्भर थियो । सिङ्गो गाउँको वास्तविकता यही थियो । हामीले संगठन निर्माणका साथै राजनीतिक वैचारिक पक्षलाई स्थानीय तहसम्म पु¥याउन जोड ग¥यौं । क. सुशिला र शिखरसँग म भावानात्मक रुपले निकै नजिकिएको थिएँ । हामी घरायसी काम, घाँस दाउरा गर्नेदेखि लिएर सबै काम सँगसँगै गथ्र्यौं । उहाँहरुले मलाई राजनीतिक वैचारिक विषयमा नै बढि जोड दिनुहुन्थ्यो । त्यतिबेला सन्जुको घर हाम्रो मुख्य सेल्टर थियो ।
हामी विहान ९ बजे सधै ड्रेस लगाएर स्कूल जान घरबाट निस्कन्थ्यौं । हाम्रा झोलामा किताबसँगै झण्डा, ब्रस, कलर, मट्टितेल र काटेका प्लास्टिकका बोटल हुन्थे । हाम्रा झोलामा किताब बाहेक यी सामानहरु छन् भन्ने कुरा कसैले पत्तो पाउदैनथे । हामी भागेर झण्डा गाड्न र वालपेन्टिङ गर्न जान्थ्यौं । कुनै दिन त घरमा थाहा पाएर आमाबुवाले असाध्यै गाली गर्नुहुन्थ्यो र रिसाएर साँझको खान्की समेत राखिदिनु हुन्नथ्यो । यद्यपी केही फरक पर्दैन भनेर म कैयौं रात भोकै सुत्थें ।
आफन्तहरुले कुरा काटेर हैरानी

लेखक विहानी
एकदिन गाविस हेल्थपोष्टको भित्तामा म लुकेर वालपेन्टिङ गरिरहेकी थिएँ । त्यहीबेला मलाई त्यहाँका स्थानीय ठूलाबडाले देखेछन् । हामी लुकेर चाँडो–चाँडो त भाग्यौं तर मेरो चप्पल चुँडियो । उनीहरुले मलाई चिनिसकेछन् । मेरो घरमा तुरुन्तै खबर पु¥याइँदिए छन् । घरपुग्दा निकै गाली गर्नुभयो आमा-बुवाले । म चुपचाप बसें । कतिपय छिमेकीहरुले मलाई सान्त्वना दिन्थे तर मेरा आफन्तहरु प्रायः कुरा काट्थे । छिमेकीहरुले मलाई नकारात्मक दृष्टिकोणले हेर्थे । किनकी म माओवादी भइसकेकी थिएँ । छिमेकी र आफन्तहरु विभिन्न कुराहरु गरेर मेरो घर परिवारलाई आतङ्कित बनाइदिन्थे । पार्टीका जिम्मेवार कमरेडहहरु मेरो घरमा आएर परिवारलाई सम्झाई बुझाई गर्नुहुन्थ्यो ।
हामी कयौं अवरोध, अप्ठ्यारा र अपमानहरुको घुत्की पिउँदै माओवादी आन्दोलनमा लाग्यौं । कसैले हाम्रो विचारलाई रोक्न सक्ने कुरो थिएन । कार्यक्रमकै सिलसिलामा रानीबासमा क्षितिज सांस्कृतिक परिवारको कार्यक्रममा पुग्यौं । त्यहाँ पुगेपछि माओवादी सांस्कृतिक आन्दोलनबारे धेरै बुझ्ने अवसर पायौं । हजारौं जनताका बीचमा भएको सांस्कृतिक कार्यक्रममा क्षितिज सांस्कृतिक परिवारको भब्य प्रस्तुति र जनताको उत्साहजनक सहभागिताले हामीलाई थप बैचारिक उर्जा दियो । त्यसपछि तीनवटा एरियाको संयुक्त प्रशिक्षणमा भाग लिन जाने तयारी भयो ।
स्कूलमा हाजिर भएर पूर्णकालिन
म स्कूल जान भनेर ड्रेस लगाएर झोला बोकी घरबाट निस्किएँ । तर मेरो झोलामा त्यो दिन किताब कापी होइन, एकजोर फेर्ने कपडा थियो । जुन दिन म पार्टीको प्रशिक्षणमा भाग लिन पूर्णकालिन कार्यकर्ताकी रुपमा निस्कदै थिएँ । स्कूलमा हाजिर पनि भएँ । मलाई लिन १० बजे अगाडि नै अर्जुन कमरेड स्कूलको सेरोफेरोमा आएर बसिसक्नु भएको थियो । त्यतिबेला मेरी बहिनी कक्षा ४ मा पढ्दै थिइन् । हाजिर गरेर कक्षादेखि बाहिर निस्किदै गर्दा बहिनीले मलाई देखेर बेस्सरी चिच्याएरै रोइन् । म क. अर्जुनसंगै स्कूलबाट निस्किएँ । टाढासम्म स्कूलका सर र विद्यार्थीहरुले मलाई हेरिरहनु भयो । मेरी बहिनीले पनि रुदै चिच्याउँदै आँखाले देख्दासम्म एकोहोरो हेर्दै रोइरहिन् । म पनि रोइरहेकी प्यारी बहिनीलाई उसैगरि क्षितिजसम्म हेरिरहें । मेरो मन असाध्यै गह्रङ्गो भइसकेको थियो । मलाई कता–कता गल्ती नै गरेछु कि क्यारे ! जस्तो पनि लाग्यो । म असाध्यै भावुक भएँ । मेरो अगाडी क. अर्जुन हिड्दै हुनुहुन्थ्यो । म पछि–पछि भारी मन बनाएर हिडिरहेकी थिएँ । आफ्नी बहिनी र परिवार सम्झेर म भित्रभित्रै असाध्यै रोइरहेकी थिएँ । अर्कोतर्फ म खुशी पनि थिएँ । किनकी म क्रान्तिका लागि केही गर्नुपर्छ भनेर पूर्णकालिन हुँदै थिएँ । तर मैले संगै हिडिरहेका क. अर्जुनलाई आँसु देखाउन चाहन्नँ थिएँ । भावुकताको सागरमा डुबेर आँसुले बाटो छेकेपछि एक्कासी ठोक्किएँ र आफूलाई सम्हाल्न कोशिस गरें ।
हामी करिब १ घण्टा हिडेपछि कार्यक्रम स्थलमा पुग्यौं । हामी त्यहाँ पुग्दा क्रान्तिकारी कमरेडहरु जम्मा भइसक्नु भएको थियो । कार्यक्रममा विष्फोट नाम गरेका एकजना घाइते कमरेड पनि हुनुहुन्थ्यो । उहाँको खुट्टामा गोली लागेको थियो । उहाँ भर्खर खारा आक्रमणमा घाइते हुनुभएको कमरेड हुनुहुँदो रहेछ । उहाँसंगै जनमुक्ति सेनाका क. मिलन पनिसँगै हुनुहुन्थ्यो । घाइते कमरेड विस्फोटले खारा आक्रमणका अनुभूति सुनाउने क्रममा एकजना महिला कमरेडलाई जिउँदै स्तन काटेर गोली हानी हत्या गरेको प्रसँग सुन्दा पुरानो राज्य व्यवस्थाप्रति झन् घृणा जागेर बदलाको भाव पैदा भयो । कार्यक्रम चलिरहँदा मैले विद्यार्थीको तर्फबाट रिर्पोटिङ पेश गरें ।
हामी कार्यक्रम सकेर करिब ४ घण्टा हिडेपछि फेरि ग्वादी पुग्यौं । बडिघात जनसांस्कृतिक परिवारको शिविर चलिरहेको थियो । मैले पनि शिविरमा भाग लिएँ । प्रशिक्षणमा नाँच्न असाध्यै कोशिस गरेँ तर सकिन । गीत गाउन भने मैले राम्रै सिकें । उक्त शिविर १५ दिनसम्म चल्यो । शिविरमा सन्ध्या कमरेड पनि हुनुहुन्थ्यो । हामी दुईजना महिला भयौं । गाउँभरि त्यहाँका स्थानीयबासीलाई सामन्त र सुदखोरहरुले उठिबास पारेका थियो । हामीले त्यही समयमा गाउँका थुप्रै सुदखोर सामन्तहरुलाई कारबाही ग¥यौं । उनीहरुले बनाएका जाली तम्सुकहरु च्यात्यौं ।
प्रहरीसँग एउटै गाडीमा
पल्लीकोटमा अनेमसंघ (क्रान्तिकारी) को भेलामा सुसिला र म ग्वादीदेखि हिड्यौं । बलेटक्सारको छेउमा पुगेर निकैबेर गाडी कु¥यौं । तर लामो समयसम्म गाडी आउँदै आएन । ढिलो गरि एउटा नीजि भेन आइपुग्यो । हामीले हात दिएर रोकायौं । गाडीभित्र सामान्य पोशाक लगाएका ४ जना पुरुष र १ जना महिला थिए । उनीहरु सुरुमा कहाँ जाने ? भनेर सोधपुछ पनि गरेनन् । सीटमा बस्न भनेपछि हामी चुपचाप गएर बस्यौं । ४ जना पुरुषसंगै गाडीमा आएकी महिलाले “ओहो ! कति गर्मी भयो ?” भन्दै जकेट खोल्दै गर्दा मैले अचानक उसको कम्मरमा माउजर देखें । म झसङ्ग भएँ । यिनीहरु त प्रहरी पो रहेछन् भनेर म भित्रभित्रै हतोत्साहित भइसकेको थिएँ ।
हाम्रा झोलामा पार्टीका सर्कुलर र दस्तावेजहरु थिए । भित्रभित्रै ‘लौ, अब गिरफ्तार परिने भईयो’ भन्ने लाग्यो । मैले सुशिलालाई आँखाले माउजरतिर हेर्न संकेत गरेँ । उहाँले कुरा बुझिहाल्नु भयो । उहाँले मेरो हतोत्साहित अनुहार देखेर “बहिनी तिमीलाई उल्टी हुन लागेछ ! यता मेरो छेउमा आएर बस” भन्नुभयो । म जुरुक्क उठेर सुशिलाको छेउमा गएर बसें ।
हामी पिपलडाँडा पुग्नेबेला ति प्रहरीहरुले सोधिहाले–“बहिनीहरु ! तिमीहरु कहाँसम्म जाने हो ?” मलाई त्यहाँको भूगोल केही थाहा थिएन । जवाफमा सुशिलाले “हामी यही पिपलडाँडासम्म जाने हो” भनिदिनु भयो । तिमीहरु यहाँ के गर्छौ ? भन्दै प्रहरीले सोधेपछि “हामी यही पिपलडाँडामा दिदीको घरमा बसेर सिलाईकटाई सिक्छौं” भनेपछि प्रहरीहरु भन्दै थिए–“बहिनीहरु माओवादीहरु कहाँ बस्छन् ? आएभने हामीलाई खबर गर्नु है” हामीले “हुन्छ” भन्यौं । यति कुरा गर्दागर्दै पिपलडाँडा पुग्यौं र गाडीबाट उत्रियौं । ती प्रहरी कर्लेक्स पाँचैजनाले पालैपालो समातिरहेका थिए । हामी दुई घन्टा प्रहरीसँग एउटै गाडीमा हिडेर संयोगले बाँच्यौं । पल्लिकोटमा माओवादीको कार्यक्रम हुँदैछ भन्ने सूचना उनीहरुले थाहा पाइसकेको रहेछ । हामी पिपलडाँडामा झरेपछि दुश्मन आएको सूचना ग¥यौं ।
एउटै थाली ४-५ पटक माझ्यौं
ग्वादीमा पार्टीको मेस चलिरहेको थियो । मेसमा कडा अनुशासन लागु गरिन्थ्यो । मेसलाई व्यवस्थित गर्न विभागहरु हुन्थे । आफूले खाना खाएको भाँडा आफै माझ्नु पथ्र्यो । खाना खाएपछि माझेको भाँडामा जुठो देखिए विभागले फर्काइदिन्थे । कैयौं कमरेडहरु दोहो¥याएर भाँडा माझ्थे । तर यसपटकको मेसमा सबै कमरेडहरुले एउटै थाली धेरैपटक माझें । मलाई अपजस र अविश्वास गरेजस्तो लागेपछि असाध्यै नराम्रो लाग्यो । म नयाँ थिएँ । घरमा खाएको थाल छोडेर हिड्ने बानी लागेको थियो । आफूले माझेको थाली धेरै पटकसम्म जाँदै नगएर चेकजाँचमा फर्काइदिएपछि दुख लाग्यो । त्यो रात म असाध्यै रोएँ । सबैले ४-५ पटक सम्म आफूले खाना खाएको थाल माझें ।
अर्कोदिन विहानै मेसका साथीहरु हाँसिरहेका थिए । वास्तविकता के रहेछ भने विभागका साथीहरुले नै मजाक गरेका रहेछन् । थाली जाँच गर्दा जाँचकले पहिल्यै हातमा भातको शीठा लगाएर बस्दो रहेछ । थाली समात्दा शीठा थालीमा लाग्दो रहेछ र जुठो भनिदिदोरहेछ । विभागका कमरेडहरुले सबैलाई बेकुफ बनाएका रहेछन् । उनीहरुले सबैलाई झुक्याएकोमा हाँसोले उडाइरहेका थिए । म असाध्यै रिसाएँ । मैले हाँसो मजाक कम गर्थें । हाँसो मजाकको पनि हद हुन्छ नि ! सोझो मान्छेलाई एउटै थाल ४-५ पटकसम्म मझाए । म रिसाएर घर जान्छु भनिदिएँ । साँझ समिक्षा बैठक बस्यो । हाँसोमजाकलाई गम्भीर नलिने कुरा भयो ।
ग्रिनेट लुकाएर रातीमा सेन्ट्री
पाल्पाको सातमुरेमा सेनाले घेरा हालेर हाम्रा थुप्रै कमरेडहरुको हत्या ग¥यो । हाम्रो क्षेत्रमा पनि दुश्मनले घेरा हाल्ने सम्भावना भयो । हामी रातीमा दुई–दुई घन्टाको दरले पालैपालो ड्युटीमा बस्थ्यौं । मसँग ग्रिनेट थियो । समय–समयमा ड्युटीमा बसेका सबै कमरेडहरुको चेकजाँच हुन्थ्यो । म ग्रिनेटसँग असाध्यै डराउँथे । मैले कसैले नदेखेको बेला म बसेको १५-२० मिटर टाढै झाडीमा ग्रिनेट लुकाएर राखें । राती चेकजाँच भयो । कमाण्डरले खोई ग्रिनेट दिएनन् ? भनेर सोध्नुभयो । मैले डराएर पर राखेको भनें । कमाण्डरले बेस्सरी गाली गर्नुभयो । सुरक्षाका लागि दिएको ग्रिनेटसंग आफै डराएको भनेर अर्कोदिन मलाई सबै साथीहरुले खुब गिज्याए । हाँसोमा उडाइदिए । ०००







