‘हतियार भिरेर जनताको मुक्तिका लागि दुस्मनसँग लड्न सहज थियो । जोश र जागर थियो तर यो रोगसँग लड्न कठिन रहेछ हजुर ! के गर्नु रोगसँग लड्न त पैसा चाहिने रहेछ । त्यो पनि दुई-चार हजार हैन लाखमा । सायद म यत्तिकै …………।’

बोल्दा बोल्दै उनका गला अबरुद्ध भए । भापाको चकचकी गाविस वडा नम्बर ६ स्थित आफ्नै निवासमा भेटिएकी मृगौला पीडित नेत्रमाया कार्की (मुना) का अभिब्यक्ति हुन् यी । उनी पूर्व जनमुक्ति सेना पनि हुन् । वि.स. २०६१ सालबाट पूर्णकालीन भएर तत्कालीन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा होमिएकी थिइन् उनी ।
गाउँमै बसेर पार्टीको काममा सक्रिय उनी ०६१ सालबाट भने जनसेनाको रुपमा हतियार नै उठाएर हिडिन् । २०६२ सालमा मुना छैठौ डिभिजन अन्तरगत ‘बी कम्पनी’मा रहेर काम गरेकी उनले २०६३ सालमा प्रथम डिभिजनमा काम गरिन् ।
पार्टी शान्तिप्रक्रियामा आएसँगै उनले आफ्नो हातमा बोकेको हतियार बिसाएर दैनिकी क्यान्टोनमेनमा बिताउन थालिन् । अफोसोच, उनले आफ्नै शरीरमा अर्को गर्हौ भारी बोकिन् रोगको । उनलाई स्वास्थ्य समस्याले च्याप्न थाल्यो । सुरुमा त सामान्य औषधी खाईन, रोग पनि खासै केही देखिएन । तर अचानक उनलाई मृगौलामा समस्या देखियो । त्यो पनि सामान्य होइन ।
‘चेकप गरेपछि डाक्टरले रिपोर्ट देखाउदै भने तपाईका दुवै मृगौला फेल भएका छन् । मेरो स्वास्थ्यमा समस्या थियो, मैले जनसेनालाई समायोजनमा गर्ने बेला स्वेच्छिक अवकाश लिए ।’ उनले विगत र अागत सम्झदै भनिन्- ‘आज अर्को युद्ध गरिरहेकी छु आफ्नै शरीरका महत्वपूर्ण अंग काम नलाग्ने भएका छन् । त्यसका विरूद्ध जुधिरहेकी छु ।’
‘जब डाक्टरले मेरा दुबै मृगौला फेल भएको छ भनेर सुनाए । सुरुमा त पत्याउन नै कठिन भयो ।’ मुनाले मसिनो स्वरमा भनिन्- ‘त्यस्तो अन्तिम स्टेजमा (पुरै ड्यामेज) नै हुने अबस्थासम्म पुगिसकेछ तर मलाई अगाडि कुनै ठुलो लक्षण नै देखिएन ।’
मध्यम खालको परिवार । खान लगाउन त खासै दुख थिएन उनलाई । तर अहिले उपचार गराउन नै कठिन छ । दुबै मृगौलाले काम नगर्ने भएपछि हाल डाईलसिस गराएर बसेकी छिन् । उनलाई डाक्टरले मृगौला परिवर्तन गर्न सल्लाह दिए । उनकी आमाले छोरीको जीवन बचाउन आफ्नो एउटा मृगौला दिने निर्णय पनि गरिन् ।
तर डाईलसिस गराएर दैनिकि बिताउदै आएकी मुनालाई भएको पैसा डाईलसिसमा सकिएकाले गृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव खड्कियो ।
उनी हाल झापाको भ्रदपुरमा रहेको ओम साई अस्पताल पाथिभरामा उपचार गराईरहेकी छिन् ।उनलाई मृगौला प्रत्यारोपणका लागी करिब २० लाख लाग्ने डक्टरले जनाएका छन् । उनी भन्छिन्- ‘यत्रो पैसा कहाँबाट ल्याउने ? यहाँ प्रत्यारोपण नगरे विदेश जाउ पनि भन्छन् । ६ महिनादेखि निरन्तर डाईलसिल गरिरहेकी छु ।’
‘डाईलसिस नगराई नहुने भएकाले भएको पैसा नि सकियो अहिलेसम्म कसैबाट सहयोग पाएको छैन ।’ उनले भनिन् -‘अरुको सहयोग पाए भने मेरो पनि जीवन बाँच्ने थियो ।’ उनले सबैलाई आग्रह गर्दै भनिन् – ‘कृपया तपाईहरुको सानो सहयोगले मेरो जीवन बाच्न सक्छ । मलाई सहयोग गर्नुहोस् ।’
मुनालाई सहयोग गर्न चाहनेले उनकै नाममा रहेको नेपाल बैंक झापा शाखाको खाता नम्बर ०८८०१००६३६६६०७०००००१ मा सहयोग गर्न सक्नुहुनेछ । यस्तै मोवाईल ९८२३११९००४, ९८१४९३८६०० मा सम्पर्क गर्न सक्नुहुन्छ ।
‘सरकारले त डाईलसिस निशुल्क बनाएको छ नि !’ भन्ने जिज्ञासामा भनिन् – ‘बनाएर के गर्न कोटा नै हुन्न रे । भत्तपुरमा रहेको अंग प्रत्यारोपण केन्द्रमा गएको थिए । पहिलेदेखि गराएकालाई नगरी तपाईलाई गराउने कुरा भएन भने । त्यसपछि अहिले म झापामा नै उपचार गराईरही छु ।’
काठमाडाैंमा बस्न, खान र उपचार गराउन अनि फेरि कहिले निशुल्क पाउने हो त्यो पनि टुंंगो भएन । त्यसैले म पुन झापा फर्किएकी हु ।’ उनले भनिन् -‘अब सहयोग जुट्यो भने डाईलसिस् हैन मृगौला प्रत्यारोपण गर्ने सोच बनाएकी छु ।’
पूर्व लडाकु मुनालाई कसैले पनि आर्थिक सहयोग गर्न सक्नु हुनेछ । जसको सहयोगले उनको जीवनले नयाँ जीवन पाउनेछ । त्यो नै मानवीयताको उच्च धर्म हुनेछ ।
मिरमिरे अनलाइनबाट ।







