प्रिय कमरेड प्रचण्ड
रोल्पाको एउटा गाउँमा, तालमेलको आशामा
दिन, महिना र कयौं वर्ष बिते
बेपत्ता पारिएकी बुढी आमाकी एक्ली छोरी
सधैं सपनामा सोध्छे रे आमालाई
मलाई खोज्न
कहिले, कोसँग र कसरी तालमेल हुदैछ ?
यता आमा
कांग्रेसी सुराकीमा मारिएका
श्रीमानको वियोग र छोरीको सम्झनामा
अलिकति बचेका आँसुसँग सहकार्य गर्दैर्छिन्
प्रतिक्षाको चौतारीमा अपेक्षाको पुरानो रेडियो सुन्दै ।

रामेछापको दोरम्बामा
प्रत्येक राति सहिदहरु बोल्छन् रे
मान्छेको मृत्यु त एकपटक पो हुन्छ
तर हाम्रो हत्या पटकपटक किन भइरहेको छ ?
हामीले कहिल्यै देख्न नपाएका, भेट्न नपाएका
सुप्रिमो कमरेड प्रचण्डलाई सोधिदेऊ
हाम्रो अन्तिम हत्या गर्न
कहिले, कोसँग र कसरी तालमेल हुदैछ ?

खारा आक्रमणमा
हाताका औंला गुमाएको कमरेड तुफान
नेपालभित्र अयोग्य भनिएपछि
खाडीको प्रचण्ड गर्मीमा
पसिनाले नुहाएर खुट्टाका औंलाले
कम्प्युटरको किबोर्ड सकि नसकी थिच्छ
श्रदेय अध्यक्ष कमरेड प्रचण्ड
बधाई छ तपाईंलाई
कम्तीमा आफ्नी छोरीलाई त सुरक्षित गर्नुभो
जेठ ३१ मा पनि ज्वाइँका लागि
अवश्य तालमेल गर्नुहोस्
बरु कसैले अवरोध पुर्याए
विप्लवलाई जेल हाल्दिए हुन्छ
किरणलाई नजरबन्दमा राख्दिए हुन्छ ।
आफन्तहरू प्रिय लाग्छन् भने यदि
केही पार्टीसँग बाँकी नै राख्नुहोला यसपटक
अर्कोपटक पनि त चुनावमा भाग लिनुछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार