मान्छेहरु सपना देखिरहेछन्
गाउँपाखा, देउराली र
चौभङ्ज्याङहरुमा
र अक्सर सपनाहरू अनिँदा हुन्छन्
भोकका अशान्त र बेचैन भुल्काहरुमा
जब सुरु हुन्छ दुनियाँमा
संकटको भयानक मौसम
मान्छेहरु एकाएक ओछ्यान बदल्छन्
मान्छेहरु सपनाको भारी बोक्न थाल्छन्
सपनाहरू क्रान्तिमा बदलिन्छन्
तर लेण्डुपहरु- क्रान्तिमार्गमा बगेको
रगत पसिना पिउँन खोज्छन्
र बलिदानको आदर्श मूल्य
लिलाम गर्न खोज्छन्
सपनाको हाटबजारमा
कति भयानक हुन्छ है
बर्गसत्ताको श्वेत आतंक ?
जब आरनमा खलाँती फुक्नेहरुको
सपनाहरू आगोमै खरानी हुन्छन्
जब जाँतो ढिकी पिस्नेहरुको
सपनाहरू ढुङ्गामै पिसिन्छन्
जब खेतरखोरिया रोप्ने किसानका
सपनाहरु हिलोमै लुछिन्छन्
तब बुझिराख्नु-
पहाडहरु चिच्याउन थाल्छन्
नदिनालाहरु गड्गडाउन थाल्छन्
र सपनाहरू सशस्त्र हुन्छन्
मान्छेभित्र जब सपना ब्युझिन्छ
दलालका मन्जिलहरु भत्किन थाल्छ
ओ ! किसान । ओ ! ज्यामी, ओ कमरेड !
के तिमी सपना देख्न चाहन्छौ ?
सपना देख्नु भनेको आँधिको लय सुसेल्नु हो
सपना देख्नु भनेको क्रान्तिको भाका गाउनु हो ।







