उनीहरू र हामीमा एउटा फरक छ –
उनीहरू आपसमा मिल्छन
र हामीमाथि आक्रमण गर्छन
हामी आपसमै फुट्छौ र मारामार गर्छौं

उनीहरू र हामीमा अर्को पनि फरक छ –
उनीहरू आफ्नो भन्ने चिने पछि
नमागे पनि मद्दत गर्छन
हामी सहयोग माग्नेको पनि खुट्टा तान्छौं
उनीहरू र हामीमा फरक छ !
उनीहरू मेटिएको ठाउँमा अक्षर थप्छन
र एउटा कविता बनाउँछन
हामी लेखिएको ठाउँमा केरमेट गर्छौं
र एउटा गाली पुराण तयार गर्छौं
अनीहरू खुइलिएको ठाउँमा रङ्ग थप्छन
र एउटा चित्र तयार पार्छन
हामी भएको चित्रमा चुच्चे टोपी थप्छौ
र ताली पिटेर रमाउँछौं

हो उनीहरू र हामीहरूमा फरक छ !
उनीहरू जन्मजात वुर्जुवा
हामी स्वघोषित कम्युनिष्ट

उनीहरू हरेक गोलीको हिसाव गर्छन
र हाम्रो छात्तीमा गनीगनी जतनले हान्छन
हामी हाम्रा सवै गोली हामीलाई नै हान्छौ
र खाली बन्दूक उनीहरूतिर देखाउँछौं
उनीहरू हाम्रो हालत देखेर फिस्स हाँस्छन
हामी हौसिएर फेरि गोली भर्न थाल्छौं
हामी फेरि हौसिएर गाली गर्न थाल्छौं

भरे फेरि कुनै कमरेडलाई गद्दार घोषणा गर्नु छ

उसलाई ठहरै पार्ने गरी हान्नु छ
र क्रान्तिकारीतामा एउटा इट्टा थप्नु छ

उनीहरू सिधा फायर गर्नमा अव्वल छन
हामी क्रस फायर गर्न महारथी छौं
उनीहरू र हामीहरू बीचमा फरकै फरक छ
उनीहरू फुट्न नजान्ने
हामी जुट्न नजान्ने !
उनीहरू आफूलाई गाली गर्न नजान्ने
हामी अरूलाई गाली गर्न नजान्ने
भन्न लाज लागेर पनि भन्नै पर्ने
सुन्न दिक्क लागेर पनि सुन्नै पर्ने

उनीहरू र हामीहरू बीच किन उल्टो फरक छ ?
कसले सुटुक्क सिकाइदियो हामीलाई –
“बर्ग संघर्ष भनेको त आफैभित्र लड्नु पो हो त लाटा हो !”
र हामीले निरिह टाउको हल्लायौं स्विकृतिको
अनि लड्न थाल्यौं आपसमै
ए है कमरेड !
कतै तिमी हामीले खाएको खान्की जुठो त परेन  ?

2073/02/13
संवाद डवली , काठमाण्डौ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार