यूसुफ अल फाखरी सांसारिक बन्धनबाट विदा लिएर उत्तरी लेबनानको कदेसा घाटीको आसपासमा बस्न थालेको थियो, एक एकान्त आश्रममा । त्यति बेला उसको उमेर तीस वर्षको थियो । आसपासका ग्रामिण भेगमा उसका बारेमा नाना भाँतीका किम्वदन्ति प्रचलित थिए । केहीले के भन्थे भने उ एक धनीमानी परिवारको हो । उ कुनै महिलालाई प्रेम गर्दथ्यो । ती महिलाले उसलाई विश्वासघात गरिन् । यसर्थ उ विरक्तिएर एकान्तवास बस्न पुगेको हो ।
अन्य केही मानिसको विचार अलिक भिन्नै थियो । उनीहरुको विचारमा उ एक कवि थियो । उ शहरको कोलाहलपूर्ण वातावरणबाट आजित भएर यस एकान्त ठाउँमा आफ्ना विचारलाई सङ्गठित गर्न र ईस्वरीय प्रेरणालाई छन्दोबद्ध गर्न सकियोस भनेर बस्न आएको थियो । तर अन्य केहीको भने झन् अर्कै धारणा थियो । उनीहरुको नजरमा उ एक रहस्यमयी व्यक्ति थियो । उसलाई आध्यात्ममा नै सन्तोष मिल्दथ्यो । अधिकांश मानिसहरु भने उसलाई पागल मान्दथे ।
जहाँ सम्म मेरो कुरा छ, म यस मानिसको बारेमा कुनै निश्चित टुङ्गोमा पुगिसकेको थिईन । मलाई यस्तो लाग्थ्यो यस मानिसको भित्र दिलमा कुनै गहिरो रहस्य लुकेको छ, त्यसलाई कल्पनाको भरमा मात्रै थाहा पाउन सकिदैन । एक किसिमले म यस अजीव मानिससंग भेट्ने वारे सोंच्न थाले । उसको वास्तविकता जान्न सकौं र उसलाई उसको जीवनको ध्येय के हो भनेर सोध्दै उसको कहानी थाहा पाउन सकौं भनेर मैले उसँग मित्रता स्थापित गर्ने अनेक कोशिस गरें । तर मेरा सबै प्रयत्न विफल रहे । म उसलाई प्रथम पटक भेट्न भनेर जाँदा उ लेबानानको एक पवित्र देवदारको जंगल भित्र पस्दै थियो । मैले उसलाई शिष्टतम भाषामा अभिवादन गरें । तर जवाफमा उसले मुन्टो सम्म हल्लाएन र लमक लमक गर्दै आफ्नो बाटो ततायो ।
दोश्रो पटक मैले उसलाई उसको आश्रमको बगलमा एउटा सानो अंगुरको बगैंचामा देखेको हुँ । उसको समिपमा गएर अभिवादन गर्दै मैले उसलाई भनेँ, ‘गाउँका मानिसहरु के भन्ने गर्छन् भने यो आश्रम चौधौं शताब्दीमा एक सिरियाली सम्प्रदायले निर्माण गरेको हो, के तपाईलाई यसको इतिहासको बारेमा केही जानकारी छ ?’
उसले उदासी भावमा उत्तर दियो, ‘यो कसले बनायो त्यो त मलाई थाहा भएन, न त मलाई त्यसको बारेमा कुन पर्वाह नै छ’ उसले मलाई बेवास्ता गर्दै भन्यो, ‘तँ आफ्नै बाबु बाजेसँग किन सोध्दैनस ?! उनिहरु म भन्दा जेठा पाका छन्, उनीहरु यी घाटीको बारेमा बढ्ता जानकार छन् ।’
आफ्नो प्रयास बिल्कुलै व्यर्थ भएको ठानेर म फर्किएँ, त्यस पछि दुई वर्ष बिते, त्यस अजीव मानिसको हक्की जीवनले ममा यति घर गर्न थाल्यो कि सपनामा समेत उ आएर मलाई बिथोल्थ्यो ।
शरद ऋतुको एक दिनको कुरा हो, म यूसुफ अल फाखरीको आश्रमको बगलका घाटी र पहाडमा घुमफिर गर्दै थिएँ, अचानक आएको हावा हुण्डरी र मुसलधारे वर्षाले मलाई यसरी लपेट्यो, म घरि यता घरि उता गर्दै भड्किन थाले । मलाई त्यस आँधीले यसरी लछार पछार पार्यो, मानौं, जहाजको पतवार टुटेको छ र त्यसको मस्तुल समुद्रको हावा हुण्डरीले छिन्न भिन्न भएको छ । असिन पसिन हुँदै बल्ल बल्ल मैले यूसुफको आश्रम तर्फ कदम बढाउन सकें । मनमनै मैले सोचें, ‘धेरै दिनको प्रतीक्षा पछि मलाई यो अवसर प्राप्त भएको छ, मलाई यहाँ घुस्न आँधी एक बहाना बनेको छ । निथ्रुक्क भिजेकोले म यहाँ निकै समय रहन सकुँला ।’
आश्रममा पुग्ने बित्तिकै मेरो हाल बेहाल भयो । मैले आश्रमको ढोका के ढकढक्याएको मात्रै थिएँ, म त जिल्ला परें । म जसलाई खोज्दै थिएँ उहीं मानिस पो ढोका उघारी रहेको छ । उसले एउटा मरणासन्न पक्षीलाई हातमा लिएको छ । त्यसको शिरमा चोट र पखेटा काटिएको छ । मैले उसलाई अनुनय विनय गर्दै भनें, ‘कृपया, बिना आज्ञा म यसरी प्रवेश गरेको र तपाईलाई दुःख दिनु परेकोमा क्षमा प्रार्थी छु । आफ्नो घर भन्दा यति टाढा म आँधीमा न राम्ररी फस्न पुगें ।’
कटके नजर लाउदै उसले भन्यो, ‘यस निर्जन वनमा थुप्रै गुफा छन् । त्यहाँ तिमि शरण लिन सक्थ्यौ’ तर जे सुकै सोचेर होस् उसले ढोका भने बन्द गरेन । मेरो ढुकढुकी बढ्न थाल्यो । अव भने मेरो चीरप्रतिक्षित चाहना पुरा हुने वाला थियो । उसले त्यस पक्षीको शिर बहुत जतनका साथ सुमसुम्याउन थाल्यो । उसको त्यस्तो गुण देखेर म भित्रभित्रै बेहद खुशी थिएँ । करुणा र निष्ठुरता जस्ता दुई विपरित गुण यस मानिसमा एकै साथ देखेर म चकित थिएँ । हामी झल्यास भयौं, हामी गहिरो निस्ताब्धाताको बीच खडा छौं । म त्यहाँ ठिङ्ग उभिएको देखेर उ क्रुद्ध थियो । म चाहीं त्यहाँ आश्रय लिन चाहन्थें ।
यस्तो लाग्थ्यो, उसले मेरो मनसाय बुझ्यो किनभने उसले माथि आकाश तिर हेर्दै भन्यो, ‘आँधी साम्य भ’को छ । मलाई खराव मानिसको मासु खानु छैन । तँ यसबाट किन उम्किन चाहन्छस् ?’
थोरै व्यंगात्मक शैलीमा मैले भने, ‘हुन सक्छ, आँधीलाई टर्रो र नुनिलो आहारमा अरुचि होस्, तर हरेक चिजलाई त्यो ठण्डा र शक्तिहीन बनाउन कम्मर धसेर लागेको छ, त्यसले मलाई फेरि फेला पार्न सक्यो भने ज्यान गए छोड्ने वाला छैन ।’
एक्कासी उसको चेहराको भाव कठोर भयो । उ भन्दै थियो, ‘आँधीले तँलाई निलेको भए त्यो तेरो निम्ति ठुलो सौभाग्य हुन्थ्यो । त्यस्तो सौभाग्यको निम्ति तँ लायक पनि थिईनस् ।’
मैले सही थप्दै भनें, ‘हो हजुर, जुन कुरोको निम्ति म लायक छैन त्यो सम्मान मलाई प्राप्त नहोस भनेर नै मैले सुईकुच्चा ठोकेको हुँ ।’
उसको चेहरामा देखा परेको मुस्कान मैले नदेखोस भनेर उसले आफ्नो मुन्टो बटार्यो । तब भने उ अगेना नजिकैको पिरा तिर लम्कियो र मलाई भन्यो, ‘तँ पनि विश्राम गर र भिजेका आफ्ना लुगा सुका’ म भित्रभित्रै खुशीले गदगद भएँ ।
उसप्रति कृतज्ञता प्रकट गर्दै म एक छेउमा गएर बसें । उ पनि मेरै अघिल्तिरको पिरामा आएर थचक्क बस्यो । त्यो पिरा ढुङ्गामा कुँदेर बनाईएको थियो । माटाको भाँडोमा राखेको तेलमा आफ्नो औलो चोब्दै वहुत जतनका साथ उ उक्त पक्षीको शिर र पखेटामा मालिस गर्न थाल्यो ।
मुन्टो ठाडो नपारी उसले भन्यो, ‘यो हावा हुण्डरीले यस बिचरा पंक्षीलाई जीवन मरणको दोसाँधमा पुग्ने गरी पत्थरमा पछारेको थियो ।’
तुलना जस्तो गरेर मैले भने, ‘र त्यस भयानक आँधीले मेरो टाउको फुटाउनु र हात खुट्टा भाँचेर चकनाचुर बनाउनु अघि नै संयोगवस मलाई तपाईको ढोका अघिल्तिर ल्याएर छोडी दियो ।’
मलाई ट्वाल्ल घुर्दै उसले भन्यो, ‘मेरो त कामना छ, मानिसले चराचुरुङ्गीको स्वभाव अनुशरण गरुन् र आँधीले तिनका खुट्टा भाँचोस् । मानिसको झुकाव भय र कायरतातर्फ छ र जब तिनलाई आँधी जागेको थाहा हुन्छ अनि भने असिनपसिन हुँदै गुफामा, खाल्डोमा लुक्न पुग्छन् ।’
मेरो उद्देश्य थियो, उसको यस स्वनिर्वासित एकान्तवासको कहानी जान्न सकौं । त्यसैले मैले उसलाई उक्साउदै भनें, ‘हो त, चराचुरुङ्गीमा सम्मान र साहस भन्ने जुन कुरा हुन्छ त्यो मानिसमा हुँदैन । मानिस विधान र सामाजिक आचारको छायाँमा वास बस्दछ र त्यो पनि आफैले बनाउँदछ । परन्तु चराचुरुङ्गी भने आफ्नो वास स्वतन्त्र र शाश्वत विधानका अधिनमा बनाउँछन् । यसै विधानको अनुशरण गरेर त पृथ्वी सूर्यको वरिपरि चक्कर लगाउँदछ ।’ उसको अनुहार र नेत्र बल्न थाले । यस्तो लाग्थ्यो, उसले मलाई एक समझदार शिष्यको रुपमा पाएको छ । उसले भन्यो, ‘अति सुन्दर ! यदि तँलाई आपÞm्ना शब्दप्रति विश्वास छ भने तैंले सभ्यता र त्यसको दुषित विधान तथा सडेगलेका प्राचीन परम्परालाई तुरुन्तातुरुन्तै छोड्न सक्नु पर्दछ र चराचुरुङ्गी जस्तै सुनसान स्थानमा बस्नु पर्दछ ।त्यहाँ आकाश र पृथ्वीको महान विधानका अतिरिक्त अरु कुनै कुरो हुनु हुँदैन ।’
विश्वास राख्नु आफैमा राम्रो कुरा हो, परन्तु त्यसलाई व्यवहारमा उतार्नु भनेको साहसको काम हो । धेरै जसो मानिस समुद्रको गर्जनभन्दा पनि ठुलो स्वरले चिच्याउँछन् तर तिनको जीवन गएगुज्रेको दलदल जस्तै हुन्छ, खोक्रो र निस्सार । अर्का खाले आफ्नो शिरलाई सागरमाथाभन्दा पनि अग्लो ठानेर हिड्छन् तर तिनको आत्मा भने कुना कन्दराको अन्धकारमा लम्पसार परेको हुन्छ ।’
उ काँप्दै उठ्यो र त्यस पक्षीलाई झ्यालको नजिकैको एउटा खोपामा लगेर राख्यो । अनि भने उसले सुकेका दाउरा अगेनामा हाल्दै भन्यो, ‘जुत्ता खोल र आफ्ना खुट्टा सेकाउ । भिजी रहनु भनेको स्वास्थ्यमा हानि नोक्सानी पुर्याइनु हो । तँ आफ्नो लुगा राम्रो संग सुका र आराम सित बस् ।’
यूसुफको यस आथित्यले ममा आशाको किरण जाग्यो । म अगेनाको नजिकै सरेर बसें । भिजेको कमिजबाट बाफ निस्कन थाल्यो । उ पर ढोका बाहिर धमिलो आकाश नियाल्दै थियो, मेरो दिल दिमाग भने उसको आन्तरिक रहस्यको खोजमा व्यग्र थियो । अन्जान जस्तो भएर मैले उसलाई सोधें, ‘के तपाई यहाँ बसेको धेरै भयो ?’
म तिर हेर्दै न हेरी उसले मलिनो स्वरमा भन्यो, ‘म यहाँ आउँदा यो ठाउँ निराकार र सुनसान थियो । यस भित्रका रहस्यलाई अँध्यारोले ढाकेको थियो । ईश्वरको आत्मा पानीको सतहमा तर लागे झैँ देखिन्थ्यो ।’
यो सुनेर मेरो त बोली नै बन्द भयो । ज्ञानको भोक मार्न र असरल्ल ज्ञान समेट्न संघर्ष गर्दै मैले मनमनै भनें, ‘कस्तो अजीब मानिस हो यो ?! यसको जीवनको वास्तविकता थाहा पाउन कति गाह्रो छ ?! तथापि मैले यसले आफ्नो रहस्योद्घाटन नगरुन्जेल सावधानीपूर्वक, सुस्तरी र धैर्यतापुर्वक यसलाई चिमोटी रहनु पर्दछ ।’
आसपासका घाटीमा रात आफ्नो अन्धकारको दोसल्ला ओडाउदै थियो । मदमस्त आँधी गर्जी रहेको थियो, संगसंगै मुसलधारे पानी पर्दै थियो । म सोच्न थालें बाइबलमा उल्लेख भए जस्तो उन्मादी चैतन्यको अन्त्य गर्न र मानिसको फोहर मैला सफा गर्न धर्तीमा ईश्वरको पुनरागमन हुँदैछ ।
वैचारिक क्रान्तिले मानिसको स्वभावमा प्रायशः असर गर्छ र त्यसले उसलाई एकान्तमा रमाउने बनाउँछ । मलाई लाग्यो, यूसुफमा ठुलो वैचारिक क्रान्ति आए हुनुपर्दछ । उसले दुईटा मम बत्ति बाल्यो र एक घैंटो मदिरा, अलिकति मह, रोटी र सुख्खा फलफूल मेरो अघिल्तिर राखिदियो । अनि भने मेरा छेउमा बसेर उसले अल्पाहारको निम्ति क्षमा माग्दै खाना खान अनुरोध गर्यो । तर त्यो क्षमायाचन मामुली खानाको निम्ति भने थिएन ।
हामी दुवै त्यो सुनसान निस्तब्तामा हावाको अलाप विलाप र वर्षाको चित्कार सुन्दै खाना खान थाल्यौं । म घरिघरि उसको चेहरा हेर्थें र उसको हृदयमा लुकेको रहस्यलाई निचोरी निचोरी उधिन्ने प्रयास गर्थें । उसको असाधारण अस्तित्वको कारण के होला, त्यस बारे पनि म सोच्दै थिएँ । खाना खाई सकेपछि उसले अगेनामा राखेको एउटा पित्तलको कित्ली उठायो, त्यसको तातो पानी मिसाएर दुई गिलास सुगन्धित कफि तैयार गर्यो । त्यस पछि एउटा कन्तुरबाट चुरोट निकालेर ‘लु भाई ! खा’ भन्दै दियो । कफी खाँदै मैले चुरोट पनि सल्काएं । तर मेरो नजरले जे चीज देख्दै थियो त्यसमा मलाई नै विश्वास भई रहेको थिएन । उसले मुस्कुराउदै मतिर हेर्यो र चुरोटको लामो सर्को तान्दै र एक घुड्की कफी पिउँदै भन्यो, ‘तँ सोच्दो होस्,यहाँ मदिरा, कफी र चुरोट पाईदो रहेछ । यो मानिस पनि अरु मानिस जस्तै खानपिन र ऐस आराम गर्दो रहेछ । सन्यास धारण गरेपछि यस्तो त न हुनु पर्ने हो, त्यस्ता सुख भोगबाट टाढा रहनु पर्ने हो, यो सब देखेर तँ अवश्य चकित भएको होलास् ।’
मैले समर्थनमा तुरुन्त आफ्नो टाउको हल्लाएँ, ‘हो, ज्ञानीहरु भन्छन्, ईश्वरको आराधना गर्न भनेर सन्यास लिनेहरुले जीवनका समस्त सुख र आनन्दलाई त्यागेर आउँछन् र केवल ईश्वरद्वारा निर्मित वस्तुमा सन्तोष गर्दछन् । पानी, फलफूल र कन्दमुलामा नै जीवन गुजारा गर्दछन् ।’
एकछिन रोकिएर गहन विचारमा घोत्लिदै उसले भन्यो, ‘ईश्वरको भक्ति त म समाजमा रहेर पनि गर्न सक्थें, किनभने ईश्वरलाई मैले आफ्ना माता पिताको घरमा देखेको छु । मेरो र अन्य मानिसको स्वभावमा आनका तान फरक परेकाले नै मैले उनीहरुसंगको पिण्ड छुटाएको हुँ । तिनको कल्पना र मेरो कल्पना मिल्दै मिल्दैनथ्यो । मैले देखें, ती मेरो आत्माको पाङ्ग्रामा यतै टकराउँछन् उतै टकराउँछन् । मैले मानव सभ्यतालाई छोडी दिएँ, किनभने मैले देखें कि यो यस्तो रुख रहेछ जो जीर्ण र भ्रष्ट भई सकेको छ । परन्तु त्यो त्यतिकै शक्तिशाली र भयानक पनि छ । त्यसका जरा धर्तिको अन्धकारमा घुसेका छन्, त्यसका हाँगा बादलमा कुहिराका काग बनेका छन् । त्यसका फूल लोभ, लालच, अधर्म र पापले बनेका छन् । त्यसरी नै त्यसका फल दुःख, सन्तोष र भयले बनेका छन् । मानिसको यो स्वभाव बदल्छौँ भनेर धार्मिक मानिसले त्यो बिडो उठाकै हुन् । परन्तु उनीहरु पनि सफल हुन सकेनन् । ती पनि अन्ततः निरास र दुखी हुँदै मरे, गए ।’
यूसुफ अलिकति अगेना तिर सर्यो, मानौं उ मेरो प्रतिक्रिया सुन्न आतुर थियो । मैले सोचें, श्रोता बन्नु नै श्रेयस्कर हो । उ भन्न थाल्यो, ‘म एकान्तवास बसेको सन्यासी जस्तो जीवन बिताउँ भनेर हुँदै होईन । सन्यासीहरु त सोच्छन्, अलाप विलाप गर्दै ईश्वरको प्रार्थाना गर्यो भने त्यो अवश्य ईश्वरको कानमा पुग्दछ । बैरागीको जीवन बिताउनु भनेको शरीर र आत्मालाई कष्ट दिनु हो, आफ्ना ईच्छाको गला रेट्नु हो । त्यस्तो जीवनको म नितान्त विपक्षमा छु । किनभने ईश्वरले नै शरीरलाई आत्माको मन्दिरको रुपमा निर्माण गरेका हुन् । यसर्थ हाम्रो कर्तव्य भनेको भगवानले प्रदान गरेको त्यस विश्वासलाई कुशलतापूर्वक जिउँदो राख्नु हो ।
‘सत्ते, मेरो भाई, मैले परमार्थको निम्ति एकान्तवास बसेको हुँदै होईन । बसेको हुँ त केवल यत्तिका निम्ति कि म मानिस र तिनको विधानबाट, तिनका विचार र शिकायतबाट र तिनका दुःख र अलापविलापबाट दुर रहन सकौं ।’
‘मैले एकान्तवास यस कारणले रोजे कि मैले आफुलाई लिलाममा राखेका मानिसको चेहरा हेर्नु नपरोस् । ती मानिस त्यसरी प्राप्त भएको पैसाले आध्यात्मिक तथा भौतिक दुवै हिसावले अझ निकम्मा वस्तु खरिद गर्दछन् ।’
‘मैले एकान्तवास यस कारणले रोजें कि मैले आफ्नो ओंठमा नाना भाँतीका लिपपोत गरेर मस्किदै हिड्ने महिलाहरुसँग हिमचिम बढाउने परिस्थित नै न आवोस् । तिनको अन्तर मनमा एउटै कुरा छुपेको हुन्छ ।’
‘मैले एकान्तवास यस कारणले रोजेको हुँ कि आफ्नो सपनामा ज्ञानको छिपछिपे झलक पाएकै भरमा आफुले लक्ष हाशिल गरेको भन्ठानेर आत्म सन्तुष्ट हुने व्यक्तिहरुबाट म बच्न सकौं ।’
‘म समाजबाट यस कारणले भागें कि आफु जागेको बेला सत्यको सामान्य झझल्को पाउदा मात्रै पनि सम्पुर्ण सत्य थाहा पाएको पÞmुटानी लाउनेहरुबाट म दुर रहन सकौं ।’
‘मैले सन्यास ग्रहण गरेर एकान्तवास यस कारणले बस्न थालें कि नम्रतालाई एक प्रकारको कमजोरी, दयालाई एक प्रकारको कायरता तथा क्रुरतालाई एक प्रकारको शक्ति ठान्ने मानिसहरु प्रति शिष्टता प्रदर्शन गर्दा गर्दा म थाकी सकेको थिएँ ।’
‘मैले एकान्तवास यस कारणले रोजें कि मेरो आत्मा केही मानिसहरुसँगको हिमचिमबाट दिग्दार भएको थियो । ती ठान्थे, घाम, जून र तारा तिनकै खजनाबाट उदय हुन्छन् र ती तिनकै बगैंचामा अस्ताउँछन् ।’
‘म ती पदलोलुपहरुबाट भागें जसले आम मानिसको आँखामा रंगीन छारो हालेर र तिनको कानमा अर्थहीन आवाज भरेर तिनको लौकिक जिन्दगी बर्बाद पारेका थिए ।’
‘मैले एकान्तवास यस कारणले रोजें कि मलाई कसैको दया माया प्राप्त भएन । कथं पाई हालें भने त्यसको निम्ति मैले पूराका पुरा मूल्य चुकाएको छु ।’
‘म ती धर्म गुरुबाट पन्छिएँ जो धर्मोपदेशसंग संगति राख्ने गरी आफै जीवन बिताउदैनथे तर अरुबाट भने त्यस्तो आचरणको कामना गर्दथे जो आफै भने कहिल्यै अनुशरण गर्दैनथे ।’
’मैले एकान्तवास यस कारणले रोजें कि म सभ्यता भनिने त्यस महान तथा विराट संस्थाबाट विमुख थिएँ जो मानव जातिको अविछिन्न दुर्गतिको कारण बनेर एक सग्लो दानवको रुपमा धम्मर्धुस्स बसेको थियो ।’
‘म एकान्तवासी यस कारणले बनें कि यसैमा मेरो आत्माको निम्ति, मेरो हृदयको निम्ति र मेरो शरीरको निम्ति पूर्ण जीवन छ । मेरो यस एकान्तवासमा मैले त्यो मनोहर देश पत्ता लगाएको छु जहाँ सूर्यको प्रकाश विश्राम लिन्छ, जहाँ फूल आफ्नो सुगन्ध आफ्नै मुक्त श्वासद्वारा शून्यमा विसर्जन गर्दछ र जहाँ सरिता गीत गाउदै गाउदै सागरमा विलिन हुन्छिन् । मैले यस्तो पहाड पत्ता लगाएको छु जहाँ मैले स्वच्छ वसन्त जाग्दै गरेको देखेको छु । त्यति मात्र होईन, गृष्मको रंगीन अभिलाषा, शरदको वैभवपूर्ण संगीत र शीत ऋतुको सुन्दर रहस्य पत्ता लगाएको छु । म ईश्वरको राज्यभन्दा यति दुर्गम ठाउँमा आएको छु । म पनि त विश्वको रहस्यलाई बुझ्न र ईश्वरको सिंहासनको नजिक पुग्न आतुर छु ।’
तब भने यूसुफले कुनै गहरुङ्गो भारी बिसाए झैं गरेर लामो सास फेर्यो । उसका आँखा अनौठो पाराले तिलष्मी किरण झै बल्न थाले । उसको उज्ज्वल चेहरामा गर्व, संकल्प र सन्तोषको भाव प्रष्टै देखिन्थ्यो ।
केही क्षण यसरी नै बिते । मैले उसलाई गौर गरेर हेर्दै रहें । जुन कुरो मलाई त्यति बेरसम्म अज्ञात थियो, त्यसको पर्दा हट्दै थियो । मैले उसलाई भनें, ‘निसन्देह, तपाईले जे कुरा भन्नु भयो धेरै जसो सही छन् । लक्षणलाई हेरेर सामाजिक रोगको अनुमान लगाउने तपाईको तरिका देखेर भन्न सकिन्छ, तपाई एक अब्बल दर्जाको चिकित्सक हुनुहुन्छ तर रोगी समाजको निम्ति एक यस्तो चिकित्सकको खाँचो छ जो त्यस रोगलाई कि त निको पारोस् नत्र मर्न देओस् । यो पीडित दुनियाँ सबैबाट दयाको भीख चाहन्छ । त्यस पीडित रोगीलाई यसै अलपत्र पारेर जानु र उपचारबाट बन्चित राख्नु दया र न्यायको हिसावले कत्तिको वान्छित हुन्छ ?’
उ एकै छिन विचारमग्न भयो । अनि मलाई पुलुक्क हेर्दै निरास भएर भन्यो, ‘चिकित्सकहरु सृष्टिको आरम्भदेखि नै मानिसलाई उसका रोगबाट मुक्त गर्ने चेष्टा गर्दै आएका छन् । केही चिकित्सकले चिरफारको विधि अपनाए, अरुले औषधिको । त्यति हुँदा हुँदै पनि महामारी फैलिदै गयो । मेरो त यही विचार छ कि यदि रोगी उहीं थाङ्ग्ने ओछ्यान मै लम्पसार हुन चाहन्छ र आफ्नो जीर्ण रोगको खाली मनन मात्रै गर्छ भने त्यस्तालाई उपकार गरेर हुन्छ के ? जो व्यक्ति रोगीलाई उपचार गर्न भनेर आउँछ उल्टै रोगी चाहीं सुटुक्क हात निकालेर उसैको घाँटी निमोठ्न पुग्दछ र बिचरा उ परमधाम जान्छ । हाय, यो कस्तो अभाग्य हो ! दुष्ट रोगी आफ्नै चिकित्सकको प्राण लिन्छ । लाज पचाउदै उ नै भन्छ, ‘उ एक महान चिकित्सक थियो । गमी हेर त भाई, त्यस्तो मनुष्यतामाथि कसले के लछार पछार लगाउन सक्दछ ?! बीज रोप्ने वाला जति सुकै प्रवीण र बुद्धिमान किन नहोस् हिउँदमा त्यसलाई उमार्न सक्दैन ।’
तर मैले उसलाई जुक्ति सिकाएँ, ‘मानिसको शीत ऋतु कहीं न कहीं त अन्त्य होला नै, फेरि सुन्दर वसन्त आउँला अनि भने बारीमा फूल फुल्लान् र घाटीमा झरना देखा पर्लान् ।’
उसले आँखा तन्काउँदै कर्कश स्वरमा भन्यो, ‘मानिसको जीवन भनेको आफैमा परिपूर्ण वृत्ति हो । काँश, ईश्वरले त्यसलाई वर्ष भरिका ऋतु जस्तै बाँडी दिएका हुँदा हुन् ! के ईश्वरको सत्य र उनको आत्मामा विश्वास गर्ने मानिसको कुनै पनि जीवित समुह यस भूमण्डलमा पुनर्जन्म लिन चाहन्छ होला ? के कुनै यस्तो समय आउला जब मानिस ‘उदये सविता रक्तो रक्तस्श्चास्तमये तथा’ हुँदै स्थिर भएर दिव्य चेतनाका साथ टिकी रहन सक्ला ? के मेरो यो सपना कुनै बेला पुरा होला ? या, यो सपना के धर्तीमा मानिसको लासमाथि लासको थुप्रो लागे पछि मात्रै पूर्ण होला ?’
यूसुफ तब भने जुरुक्क उठ्यो र कुनै अर्को संसारलाई इसारा गरे जस्तो गरेर हात फैल्याउदै भन्न थाल्यो, ’त्यस्तो कदापि हुने वाला छैन । यस संसारमा त्यो फगत सपना मात्रै हो । परन्तु म आफ्नो लागि भने त्यसको खोज गरी रहने छु । त्यहीं कुरो मेरो हृदयको कुना कुनामा, यी घाटीमा र यी पहाडमा जताततै व्याप्त छ ।’ आफ्नो उत्तेजित स्वरलाई झन् चर्को बनाउँदै उसले भन्यो, ’वास्तवमा मलाई थाहा पनि छ, यो त मेरो अन्तस्करणको चीत्कार हो । म यहाँ रहन त रहेको छु तर मेरो अस्तित्वको गहराईमा भोक र तृष्णा व्याप्त छ । मैले स्वयं बनाएको र सजाएको थाल बटुकामा जीवनको मदिरा र रोटी खाँदामा मलाई सन्तोष मिल्छ र यसै कारण म यहाँ आएको हुँ र जीवन पर्यन्त यहीं रहन्छु ।’
उ त्यस कोठामा ब्याकुल हुँदै घरि यता घरि उता गर्न थाल्यो । म भने उसको विचार माथि सोच्दै समाजको गहिरो घाउ बारेको व्याख्या अध्ययन गर्न थालें ।
मैले यसो भन्दै उसलाई एक पटक फेरि प्रहार गरें, ‘म तपाईको विचार र ईच्छाको पूर्णतः आदर गर्दछु र तपाईको यस एकान्तवासको म श्रद्धा पनि गर्दछु र ईष्र्या पनि । तर तपाईले यसरी आफुलाई अलग्याएर त्यस अभागी राष्ट्रलाई ठुलो नोक्सान पनि पुर्याउनु भएको छ । त्यस राष्ट्रलाई एक यस्तो सुधारकको आवश्यकता छ जसले उसको कठिनाईमा मदत गर्न सकोस र उसको सुसुप्त चेतनालाई जगाउन सकोस् ।’
उसले सुस्तरी आफ्नो टाउको हल्लाउदै भन्यो, ‘यो राष्ट्र पनि अरु राष्ट्र जस्तै छ । यहाँका मानिसहरु पनि शेष मानव बनेकै रसायनबाट बनेका छन् । अन्तर छ त फगत वाह्य आकृतिको । वाह्य आकृतिको खासै अर्थ हुँदैन । हाम्रा पूर्वीय राष्ट्रको वेदना सिङ्गै संसारको वेदना हो । तैंले भन्ने गरेको पाश्चात्य सभ्यता अरु केहि नभएर अनेक दुखान्त र भ्रामक आभासको एक अर्को रुप मात्रै हो ।
‘पाखण्ड त सदा सर्वदा पाखण्ड नै हुन्छ, चाहे त्यसमा जतिसुकै लिपापोती किन न होस् । कपट कहिल्यै बदलिन्न, चाहे त्यसको स्पर्श जति सुकै कोमल र मधुर किन नहोस् । असत्यलाई कदापि सत्यमा बदल्न सकिदैन, चाहे त्यसलाई रेशमी कपडामा सजाएर महलमा नै किन न राखियोस् । लालसा मरेकाट्टे सन्तोष बन्न सक्दैन । रह्यो अनन्त गुलामी, चाहे त्यो सिद्धान्तको होस्, रीति रिवाजको या इतिहासको होस् त्यो सदैव गुलामी नै रहन्छ । त्यसले आफ्नो अनुहारको जतिसुकै रंग फेरोस् र आफ्नो आवाज जतिसुकै बदलोस्, गुलामी डरलाग्दो गुलामी नै हुन्छ ।’
‘सत्ते मेरो भाई, पश्चिम पुर्वभन्दा न किञ्चित उँचो छ न त होचो नै । दुवैमा जो अन्तर छ त्यो सानो र ठुलो बाघमा जे अन्तर छ, त्यति मात्रै हो । समाजको वाह्य रुप भन्दा पर्तिर मैले एक सर्वोचित र सम्पूर्ण विधान खोज गरेको छु । त्यसले सुखदुःख र अज्ञान सवैलाई एक छत्र बनाई दिन्छ । यस विधानले न एक जातिलाई अर्को भन्दा ठुलो मान्छ न त एउटालाई उकास्न अर्कोलाई भसाउने कोशिस नै गर्छ ।’
मैले विस्मयका साथ भने, मानिसको अभिमान झूठो हो । त्यसमा जे छ त्यो सब निस्सार हो ।’
उसले ओठे जवाफ फर्कायो, ‘ठीकै भनिस्, मानवता एक मिथ्या अभिमान हो । त्यसमा जे चीज छ, त्यो पनि मिथ्या छ । आविष्कार र खोज त मानिस हायल कायल भएर आफ्नो जमानाको मनोरंजन र सुखको लागि मात्रै गर्दछ । जमिन हडप्नु र समुन्द्रमाथि विजय प्राप्त गर्नु भनेको यस्तो नश्वर फल हो जसले न त आत्मालाई सन्तुष्टी प्रदान गर्दछ न हृदयको पोषण र विकास नै । किन भने त्यस्तो विजय भनेको नितान्त अप्राकृतिक हुन्छ । जुन रचना र सिद्धान्तलाई मानिस ज्ञान भनेर पुकार्छ, ती बन्धनका कडी र सुनौला साङ्ग्ला बाहेक केही होईनन् । मानिस तिनैमा घसेटिदै जान्छ र तिनको झर्झराउदो प्रतिविम्व र छन्छन् आवाजमा लट्ठ हुन्छ । वास्तवमा ती मजबुत पिंजडा मानिसले शताब्दियौं पहिले बनाउन आरम्भ गरेका हुन् । परन्तु त्यति बेला उसलाई यो थाहा थिएन कि अन्ततः यसैको पासोमा उ सदा सर्वदाको निम्ति फस्ने छ । जरुर, मानिसको कर्म निष्फल हो । उसका उद्धेश्य निरर्थक हुन् । यस धरामा जे जति चीज छन् ती सब निस्सार हुन् ।’
उ एक छिन रोकियो अनि सुस्तरी भन्दै गयो, ‘यी सारा निस्सारतामा जीवन मात्रै एक यस्तो चीज हो जसलाई आत्मा प्रेम गर्दछ । जीवनले त्यो चाहन्छ पनि । यो एक अर्को विरालाकोटीको देदीप्यमान वस्तु !’
मैले कम्पित स्वरमा सोधें, ‘त्यो के ?’ उसले एक छिन मलाई ट्वाल्ल हेर्यो र आँखा मिच्न थाल्यो । आफ्नो हात छातीमा राख्यो, उसको अनुहार उज्यालो भयो । उसले पूर्ण विश्वासका साथ गम्भीर भएर भन्न थाल्यो, ‘त्यो हो आत्माको जागृति । त्यो हो हृदयको आन्तरिक गहराईको उद्बोधन । त्यो सबैमा व्याप्त हुने एक बलवान शक्ति हो । त्यो शक्ति कुनै पनि बेला मानवीय चेतानामा प्रबुद्ध भएर आउँछ र तिनको आँखा उघार्छ । तब भने अनन्त प्रकाशमा लपेटिएको महान संगीतको उज्ज्वल धाराबीच जीवन देखा पर्दछ । त्यसमा सम्मोहित मानिस झलमल्ल बलेको स्तम्भ जस्तै भएर आकाश र पृथ्वी बीच खडा हुन पुग्दछ ।’
‘त्यो यस्तो ज्वाला हो, जो आत्मामा अचानक सल्किन पुग्दछ । त्यसले हृदयलाई प्रज्ज्वलित गरेर चोखो बनाउँछ । त्यो घरि पृथ्वीमा अवतरण गर्दछ त घरि अनन्त आकाशमा चक्कर लगाउन पुग्दछ ।’
‘उ एक करुणा हो जो मानिसको हृदयमा आएर बास बस्दछ । करुणा मानिसको हृदयमा आएर बस्नुको अभिप्राय खालि यत्ति हो कि उसको प्रेरणाबाट मानिस आफ्ना विरोधि र यसको विराट अर्थ नबुझ्ने नासमझहरुलाई समेत अवाक बनाएर निष्प्रभावी बनाउन सकोस् । करुणा आफैमा यस्तो शक्ति हो जसले मानिसमा विद्रोह पैदा गर्दछ ।’
‘उ एक रहस्यमयी हात हो । जुन बेला म समाजको सदस्य भएर आफ्नो परिवार, नाता कुटुम्ब, साथिभाई र हितैषीहरुको बीचमा थिएँ त्यसले मेरो आँखा उघारी दियो ।’
‘कति पटक त म विस्मित पनि भएँ र मन मन भन्थें, ‘यो सृष्टि’ नै हो के ? मलाई देख्ने मानिसहरु भन्दा म चाहीं किन नि भिन्न ? म उनीहरुलाई कसरी चिन्दछु ? मैले उनीहरुसँग कसरी चिनापर्ची गरें ? म किन उनीहरुकै बीच बसेंको छु ? के म उनीहरुकै बीच बिरानो छु ? अथवा, के उनीहरु मानिस दिव्य चेतनाबाट निर्मित भएको हो भन्ने कुरामा बेजान छन् ? मलाई भने त्यसमा पूर्ण विश्वास छ ।’
अचानक उ चुप लाग्यो, मानौं कुनै भुलेको कुरा स्मरण गर्दै छ तर उ त्यसाई प्रकट गर्न चाहदैन । अनि भने उसले आफ्ना हात फैलायो र भुतभुताउन थाल्यो, ‘आज भन्दा चार वर्ष पहिले मैले सन्यास लिंदा मलाई यहीं कुरा लागेको थियो । यस निर्जन स्थानमा म यस कारणले आएँ कि ममा जागृत चेतना आउन सकोस र म सम्यक चिन्तन र यहाँको सौम्य नीरवताले दिने आनन्द भोग गर्न सकौं ।’
निस्पट अँध्यारो तर्फ लम्किदै उ ढोका तिर लाग्यो । मानौं उ आँधीलाई केही कुरा सुनाउन गई रहेको छ । परन्तु उ कामेको स्वरमा बडबडाउन थाल्यो, ‘यो अन्तर आत्माको जागृति हो । यो कुरो यसलाई थाहा त हुँदो हो तर यो शब्दमा व्यक्त गर्न सक्दैन । यसलाई थाहा छैन कि यो आफै भने जीवनको अस्तित्वलाई विवश पार्ने सुन्दर रहस्यका बारेमा कदापि सोच्न सक्दैन ।’
एक घण्टा बित्यो, यूसुफ अल फाखरी कोठामा घरि यता घरि उता ओहोर दोहोर गर्न थाल्यो । उ यदाकदा रोकिएर धुर्मैलो आकाशमा टोलिन्थ्यो । म चुपचाप हेर्दै रहें । म उसको एकान्तवासी जीवनको सुखदुःखको चाकाचुली सोच्दै रहें ्र केही बेर पछि, रात निकै ढल्केको थियो, उ मेरो छेउमा आयो र निकै बेरसम्म मलाई ट्वाल्ल हेरी रह्यो, मानौं उ आफुले आफ्नो जीवनका सारा गूढ रहस्यको बेलिबिस्तार लगाएको मानिसको चित्र आफ्नो मानस पटमा उतार्दै छ । विचारको व्याकुलताले मेरो मन भारी भएको थियो ्र आँधीले ल्याएको धुँवा धुलोले गर्दा मेरा आँखा बोझिला भएका थिए ।
तब उसले मलिन हुँदै भन्यो, ’अब म रातभर आँधीमा हेलिन जाँदै छु । जसले गर्दा म प्रकृतिको भाव अभिव्यंजनको निकटता बारेमा लेखाजोखा गर्न सकौं । यो मेरो बानी नै हो, यसको आनन्द लिने काम धेरैजसो शरद र शीत ऋतुमा लिने गर्दछु । लु लेऊ ! यो थोरै मदिरा र चुरोट । कृपया, आज रात भरलाई मेरो घर आफ्नै ठाने हुन्छ । उसले कम्मल ओढ्यो र मुस्कुराउदै भन्यो, ‘तर ख्याल गर नि, विना आज्ञा प्रवेश गर्न चाहनेहरुका निम्ति मेरो ढोका बन्द छ । भोलि दिन भरि नै मेरो यहाँको पवित्र देवदारको जंगलमा विहार गर्ने कार्यक्रम छ । त्यसैले विहान निस्केर जाने बेलामा ढोका चाहीं लगाई दिनु नि ।’ यति भनेर उ ढोका तिर हानियो र एउटा लौरो समातेर उसले मलाई भन्यो, ‘यदि आँधीले तँलाई अरु कुनै बेला यस ठाउँको अगल बगलमा यसरी नै सतायो भने मेरो आश्रममा आउन न हिच्किचाए हुन्छ । मलाई आशा छ, तँ अब आँधीलाई प्रेम गर्न सिक्नेछस् । भयभित न हो, सलाम, मेरो भाई !’
उसले ढोका उघार्यो र अँध्यारोमा शिर ठाडो पार्दै बाहिर निस्कियो । बाटामा अरु को को जाँदा रहेछन् भनेर मैले एक छिन चियोचर्चो गरें पनि । हेर्दा हेर्दै उ मेरो आँखाबाट ओझेल पर्यो । केही बेर सम्म त मैले त्यस घाटीका रोडा, पत्थर माथिको उसको पदचाप सुन्दै रहें ।
गहन विचार विमर्श भएको त्यस रात पछि जब प्रभात सुरु भयो,
त्यति खेर आँधी शान्त भई सकेको थियो र आकाश निमल थियो । सूर्यको न्यानो किरण घाटी र तल समथर मैदानमा ढाकिदै थियो । शहर फर्कदै गर्दा म आत्म जागृतिको बारेमा मनमा कुरा खेलाउदै थिएँ जसका बारेमा यूसुफ अल फाखरीले त्यति धेरै कुरा भनेको थियो । त्यो जागृति मेरो रौँ रौँ सम्म संचार भएको थियो । मैले सोचें, यो स्मरण अवश्य सार्वजनिक हुनु पर्दछ । जब म अलिक शान्त भएँ, मैले के देखे भने म त पूर्णता र सुन्दताले पो घेरिको रहेछु ।
जब म कोलाहलमा व्यस्त शहरवासी माझ पुगें, तब मैले उनको आवाज सुनें र उनको कर्म देखें । म टक्क रोकिएँ र मैले आफ्नो अन्तस्करणलाई भने, ‘हो, आत्मबोध मानिसको जीवनको निम्ति अति जरुरी छ र यो नै मानव जीवनको एक मात्र उद्देश्य हो । के स्वयं सभ्यता आफ्नो समस्त दुखदायी कायाको परिप्रेक्षमा आत्मिक जागृतिको निम्ति एक महान ध्येय होईन र ? तब हामी कसरी एक यस्तो चीजलाई अस्वीकार गर्न सक्छौं जसको अस्तित्व नै अभीसप्त योग्यताको समानता भन्ने कुराको पक्का प्रमाण हो । वर्तमान सभ्यताले विनासकारी प्रयोजन बोकेको नै भए पनि प्राकृतिक विधानले त्यस प्रयोजनमा एक यस्तो सीढी हालेको छ जसले अन्ततः स्वतन्त्र अस्तित्वकै दिशामा डोर्याएर लाने छ ।
मैले तदोप्रांत यूसुफ अल फाखरीलाई कहिल्यै देख्न पाईन । किन भने सभ्यताका खराविहरु दुर गर्ने मेरा अनेक प्रयत्नका विपरित त्यही शरद ऋतुको अन्त्यमा मलाई उत्तरी लेबाननबाट देश निकाला गरियो र मैले एक यस्तो दुर देशमा प्रवासी जीवन बिताउनु पर्यो जहाँको आँधी अत्यन्त मन्द छ । त्यहाँ आश्रमवासीको जस्तो जीवन बिताउनु भनेको काटिकुटी पागलपन हो, किन भने त्यहाँको समाज पनि बिरामी छ । भावानुवादः टंक कार्की







