म थुक्क भन्छु
आफ्नो छोराको मृत शरीरलाई चिन्न डराउने बाबुलाई
त्यस अवस्थामा पनि लाजै नमानी सहज भएर बस्ने
त्यो दाजुलाई पनि म थुक्क भन्छु
दिनदहाडैको यस्तो रगतको होलिप्रती प्रतिशोधमा नउठ्ने
ती शिक्षक, बुद्धिजिवी, कवी र कर्मचारीहरुलाई पनि
म थुक्क भन्छु ।

आठओटा मृत शरीर
चेतनाको प्रकाशपुन्ज बनेर सडकमा लडिरहेका छन्
छिनछिनमा हतप्रभ भइरहेको छु म
आठ जोडा आँखाहरु मेरो सपनामा आउँछन्
म आक्रोशित हुन्छु
म पागलझैँ हुन थाल्छु
म आफैँ आफ्नो हत्या गरौँ जस्तो हुन्छ
के गरौँ के गरौँजस्तो हुन्छु
म सुर्य, चन्द्रमा र ताराहरुलाई निलिदिन्छु
म वारीपरिका सबै चिज त्यो पुल र देखिने जती सबै चिज ध्वस्त पार्छु ।

यही नै शाही समय हो कविता लेख्ने
स्टेन्सिल गरिएका घोषणापत्रहरुद्वारा खुला भित्ताहरुमा
आफ्नै रगत, आँसु र हाडहरुको कोलाज संरचनामा
यही नै कविता लेख्ने ठीक समय हो
तीव्रतम यन्त्रणाद्वारा क्षतविक्षत अनुहार लिएर
असली आतङ्कको आमनेसामने भएर
ठीक अहिले कविताले प्रहार गर्ने समय हो
गाडीहरुका आँखै तिरमिराउने हेडलाइटको प्रकाशमा आँखालाई केन्द्रित गरेर
थ्री नट थ्री होस् अथवा हत्याराहरुसित अरु केही होस्
अहिले कविताद्वारा तिनिहरुको सामना गर्ने समय हो ।

कालकोठरिका चिसा भुइँहरुमा
अपराध अनुसन्धानका सेलहरुको पहेँले प्रकाशलाई कम्पित पार्दै
अपराधीहरुद्वारा सन्चालित न्यायलयहरु
विषवमन, घ्रिणा र झुठको पाठशाला
दुर्व्यवहार र मुटु नै हल्लाउने आतङ्ककारी राज्यसत्तामा
राज्यसत्ताको सेवा गर्ने बन्दुकधारिहरुको कठोर छातीमा
कविताको आक्रोसलाई गुन्जायमान पारौँ
लोर्काका झैँ विश्वका कविहरुले आफुलाई तमतयार पारौँ
घाँटी निचोरेर हत्या गरुन् र लास बेपत्ता पारुन्
मेसिनगनको गोलिले शरीर क्षतविक्षत पारुन्
तयार होऔँ
कविताको गाउँबाट कविताको शहरलाई घेर्नु अति जरुरी छ ।

यो मृत्यु उपत्यका होइन मेरो देश
हत्याराहरुको उल्लासमन्च होइन मेरो देश
यो सपाट मसानघाट होइन मेरो देश
यो रक्तरन्जित कसाइघर होइन मेरो देश ।

म मेरो देशलाई खोसेर फिर्ता ल्याउनेछु
म कुहिरोले छोपेका सन्ध्या-फूलहरु, राता धुलिकणहरु,
अविरल बग्ने नदीहरु सबैलाई म मेरो छातीमा टाँस्नेछु
मेरो शरीर वारीपरी झुम्मिएका जुनाकिरिको लस्कर
बर्सौँदेखि हरियालिले ढाकिएका पहाडहरु, वनजङ्गल,
अथाह हृदयका तुक्राहरु, हरियाली, फूलहरु, पारी कथाका घोडाहरु,
सबिअलाई म एकएकओटा सहिदको नाम दिन्छु
गुनगुनाउँदो हावा, तापिलो घाममुनि
माछाको चम्किलो आँखाजस्तो ताल
सबैलाई खुशीसाथ बोलाउनेछु
र प्रेम, जसलाई मैले मेरो जन्मभन्दा धेरै पहिले प्राप्त गरेँ
उसलाई पनि क्रान्तिको उत्सवको दिन नजिकै बोलाउने छु ।

हजारौँ वाटको बिजुलीको प्रकाश आँखामा झोसेर
रातदिन बयान लिने कार्य
मलाई मान्य छैन
नङमा बिजुलिको सुइ रोप्ने कार्य
मलाई मान्य छैन
बरफका टुक्राहरुमा नाङै सुताउने कार्य
मलाई मान्य छैन
नाकबाट रग्त बगुन्जेलसम्म झुन्ड्याउने कार्य
मलाई मान्य छैन
ओठमा बुटहरुको प्रहार, तातेको फलामले शरीरमा डाम्नु
मलाई मान्य छैन
रगतले क्षतविक्षत पिठ्यूँमा अल्कोहल खन्याउनु
मलाई मान्य छैन
नाग्गो शरीरमा इलेक्ट्रिक सक र योनिमा ढुङ्गा खाँदेर
प्रदर्शित कुत्सित यौन दुराचार
मलाई मान्य छैन
कुट्दाकुट्दा नपुगेर कनपतिमा बन्दुक तेर्स्याएर हत्या गर्नु
मलाई मान्य छैन ।

कविताले कुनै बाधाव्यवधान मान्दैन,
कविता सशास्त्र छ, यो स्वतन्त्र छ, यो निडर छ
मायाकोब्स्की, हिक्मत, नेरुदा, आरागोँ, एल्वार्ड
हामी जोडतोडकासाथ भन्छौँ
हामीले तिमीहरुका कवितालाई हार्न दिएका छैनौँ
सारा देश मिलेर एउटा नयाँ महाकाव्य लेख्न लागिरहेका छौं
छापामार छन्दमा ताल र लयहरु निर्मित भएका छन् ।

दमाहा र मादलहरु चारैतिर गर्जिउन्
प्रभाल, द्धिपजस्ता आदिवासी गाउँहरु
रक्तरन्जित राता-आदिवासी भुमिहरु
विसाक्त, डस्न छट्पटिएको ज्यानमारा गोमन सर्पको बिस
मुखबाट चुहाउँदै गरेको आहत तितास
टङ्कारमा सुर्यलाई कँज्याएर खिचिएको गान्डिवको प्रत्यंचा,
धारिलो तीरको तिखो टुप्पो, धनुसकाँड
चमचमाउँदा भाला, बर्छा, घुयँत्रो र बन्चरोहरु
आक्रोशपूर्ण राता काहका आदिवासी टोटेमहरु
आक्रोशकासाथ मागिरहेछन्
बन्दुक देऊ, खुकुरी देऊ र पुग्दो मात्रामा साहस
यति धेरै साहस् देऊ, डर भन्ने चिज कतै पनि नपरोस् ।

र क्रेनहरु, धारिला दाँत भएका बुल्डोजरहरु
फौजी दस्ताका जुलुसहरु
चालित डाइनामोहरु, टर्बाइन, लाथे मेसिनहरु
कोइलाखानिको धुलो मिथेन अन्धकारमा चम्किरहेको हिराजस्ता
चम्किला आँखाहरु
इस्पातलए बनेका अचम्म लाग्द हथौडाहरु
जुटमिल, गार्मेन्ट कारखानाहरुबाट उठेका हजारौँ हातहरु
अहँ, त्यहा डर भन्ने चिज छैन
डरले पहेंलिएका अनुहार कती अनौठो लाग्छ
जब कि, थाहा छ हामीलाई
मृत्यु केही पनि होइन प्रेमबाहेक
मेरो मृत्यु भए पनि
अग्निपुन्ज बनेर म चारैतिर प्रकाश छर्दै अन्धकार हटाउने छु
मलाई थाहा छ, म अविनाशी छु
हरेक बसन्तमा म हरिया रुख र पोथ्रापोथ्रिहरुमा विश्वास बनेर आउनेछु
मलाई थाहा छ, म सर्वव्यापी छु
म दु:खमा पनि रहने छु, सुखमा पनि रहने छु
हरेक नयाँ जन्मा, मृत्यु र पर्वहाँरुमा पनि म साथइ रहने छु
यो विश्व रहेसम्म म रहिरहनेछु
आह्वान गरौँ रातको ठिहिमा बलेको ज्वाला बनेर उठ्ने मृत्युलाई
आह्वान गरौँ -आह्वान गरौँ, त्यो मृत्यु, त्यो युद्ध र त्यो दिनलाई
प्रेमका सामु पराजित होस् सातौँ बेडा पनि
शङ्ख र धुत्तुरी बजाएर युद्धको घोषणा होस् ।
रगतको गन्ध बोकेर हावा जब उन्मत्त हुन्छ
कविता अपनी सम्ग्र बारुद र विस्फोटक प्अद्दर्थ झैँ पड्कियोस्
भित्ताका रङहरु, गाउँ, डुङ्गाहरु, नगर, मन्दिरहरुसङ्गै ।

जब मुलुक तराइदेखि सुन्दरवनसम्म
अती रोदन्पछी शुश्कताबाट दनदनी बलेको हुन्छ भने
जब जन्मस्थल र बधस्थलको हिलो एउटै भएको हुन्छ भने
अनि दुविधा किन ?
अनि संशय किन ?
अनि डर किन ?

आठजना युवाहरुले अन्तिम स्पर्श गरिरहेका छन्
कालो रातको अन्धकारमा तिनिहरुले हामीलाई भनिरहेछन्
अब कहाँ र कस्तो पहरा छ र
उनिहरुको बोलीमा हजारौँ तारामन्डल-छायापथ-समुन्द्र
एउटा ग्रहदेखि अर्को ग्रहसम्मको आवागमनको उत्तराधिकार
कविताका प्रज्वलनशिल मशालहरु
कविताका पेट्रोल बमहरु
कविताको भरभराउँदो अग्निशिखा
आहुती दिऔँ अग्निको यस आकाङ्क्षामा ।

अनु : डा. ॠषिराज बराल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार