नेपाल बन्द छ

 

हत्या छ हिंसा छ यहाँ
अशान्ति बेरोजगारी छ
भ्रष्टाचार, तस्करी र घुसखोरी छ
मानिसहरू शान्ति खोजिरहेका छन्
बाजहरू धेरै भए यहाँ
जनताको हराभरा शान्ति
र परेवा लिएर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

 

 

हिटलर इदी अमिन छन् यहाँ
कार्ल माक्र्स लिएर आउनू
खुश्चोभ गोर्वाचोभहरू छन् यहाँ
लेनिन लिएर आउनू
च्याकाई सेक छन् यहाँ
माओ लिएर आउनू
फुजीमोरी बढ्न थाले हजुर
गोन्जालो लिएर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू
राज्यआतङ्क दमन छ यहाँ
प्रतिरोध लिएर आउनू
क्रान्ति छ, यहाँ युद्ध छ
योद्धा बनेर आउनू
पश्चगामी सेनाका विरुद्ध
जनसेना बनेर आउनू
भोकमरीमा
सम्पन्नता बनेर आउनू
खडेरीमा
बाढी बनेर आउनू
शिशिरको जाडोले
कठाङ्ग्रिएका मनहरूलाई
वसन्त बनेर आउनू
मुहानहरू सुके भने
मूल बनेर आउनू
एक्लै असम्भव कामलाई
हुल बनेर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

पुरातनको सट्टामा
नूतन बनेर आउनू
रुढीवादीको विरुद्ध
जनवादी बनेर आउनू
यदि जेलमै जानुपरे
उमा भुजेल बनेर आउनू
अधिकार चाहिने भए
विद्रोहको आगो पिएर आउनू
लम्पसारवादका विरुद्ध हडताल छ यहाँ
नारा लिएर आउनू
एक्लै होइन हजुर
जनता सारा लिएर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

हजुर काठमाडौँमा हुनुहुन्छ भने
कृपया एकचोटि थबाङ गएर आउनू
तारेहोटलमा हुनुहुन्छ भने
एकचोटि ‘जुनी’ कम्युनको होमस्टेमा गएर आउनू
सत्ता चाहिएको भए
जनगणतन्त्र ल्याउनू
जनगणतन्त्र चाहिएको भए
जनवादी क्रान्ति गरेर आउनू
रगत बगाउने भए
देशको निम्ति बगाउनू
त्यसैले
जनयुद्ध चलकै छ यहाँ
योद्धा बनेर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

दुश्मनले साथी मा¥यो
बदला लिन आउनू
घेरा दियो दुश्मनले
प्रतिघेरा बनेर आउनू
भोकाएका पेटहरूलाई
अण्डा लिएर आउनू
गाउँमा पस्दैछ दुश्मन हजुर
डण्डा लिएर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

मुसलधारे पानी झ¥यो भने
छाता लिएर आउनू
‘बन्दी र चन्द्रागिरि’ च्यातियो भने
गाता लिएर आउनू
गाता लिएर आउने भए
राता लिएर आउनू
खाली कलमले के लेख्नु हजूर
निब लिएर आउनू
आमाको अस्मिता जोगाउने
खिब लिएर आउनू
भोक हड्ताल गर्ने भए
साहस लिएर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

लाचार कलमजीवी छन् अति यहाँ
आउने भए ‘इच्छुक’ बनेर आउनू
झन्डा लिएर आउने भए
रातो लिएर आउनू
युद्धको पीडा लेख्ने
एउटा पातो लिएर आउनू
दुखिरहेको घाउलाई
मलम लिएर आउनू
गोर्कीको जस्तै एउटा
कलम लिएर आउनू
स्वाधीनताको अभियानमा
अभियात्री बनेर आउनू
नेपाल बन्द छ यहाँ
झन्डा लिएर आउनू ।

किचेनमा पस्ने भए
बन्दा लिएर आउनू
पुनर्निर्माणको बेला
रन्दा लिएर आउनू
चाउरिने अनुहारलाई
कोमल गाला लिएर आउनू
राष्ट्रघात गर्नेहरूलाई
तिखा भाला लिएर आउनू
सिंहदरबार बन्द गर्नु छ अब
भोटेताला लिएर आउनू
नेपाल बन्द छ
झन्डा लिएर आउनु ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार