अहो ! जमान कति सजिलो । वर्षौं पुराना सम्बन्धहरु विद्युतीय तरङ्गद्वारा स्थापित हुने । अझै विस्थापित भएका सम्बन्धहरु पुनः सम्पर्कमा आउँदा ति मनहरुमा स्वभाविक हलचल पैदा हुने नै भयो ।

आज विनोदको मोवाइलमा नयाँ नम्बरबाट मिसकल आयो । गरिब देशमा विदेशी मोबाइलहरु छ्यापछ्याप्ती छन् । विलहरु भर्न नसक्दा मनभरी गफ् गर्न नसक्नेको सूचिमा विनोद पनि पर्छ । भर्खरै हो विनोदले मोबाइल प्रयोग गरेको । शुरुका दिनहरुमा त मिसकल भेटाउनै नहुने तुरुन्तै फर्काउँथ्यो । अब त मोबाइलको युद्धमा विनोद पराजित सेना झैं लाग्छ ।
एउटा म्यासेज आइपुग्यो मोबाइलमा । रुचिपूर्वक म्यासेज हेर्न थाल्यो विनोद । अघिकै मिसकलवाला नम्बर रहेछ । रुचि झनै बढेर गयो ।

“विनोद जी ! नमस्कार । धेरै ढिलोगरी नम्बर पाएँ, सन्चै हुनुहुन्छ ? कृपया, कलब्याक गर्नुहोस् न ।” – शिला
‘शिला … !?’ लामो निस्वास फे¥यो विनोदले । ऊ हिन्दी सिरियल हेर्दै थियो, टिभिको बटन बन्द गरयो । टिभि बन्द हुने गतिमै उसका आँखाका चारवटै परेलीहरु झ्याप्प अङ्गालोमा बाँधिए, के भएछ भन्ने सोच्यो । हिन्दी भाषी भएरै भन्यो ‘आधा खुशी आधा गम’ आवाज फुत्किएछ । छेवैको नरेशले भन्यो – “के भयो ?” विनोद मुस्कुरायो, केही पनि भएको छैन । नरेशले रिमोट समात्यो । समय साँझको गोधुली थियो । विनोदले आफ्नो पाइला अगाडी बढायो र घरको छततर्फ लाग्यो । युद्ध, कलेज लाइफ् र शिला । यि तीन चिजको त्रिवेणीको रुपमा विनोदको जीवनमा प्रवेश गरेको थियो । अहिले विनोदसँग केवल रुप बदलिएको युद्ध छ, नत कलेज लाइफ छ, नत शिला नै ।

यो त्रिवेणीको संगम १४ वर्ष पहिले विनोदको जीवनमा भएको थियो । गएका आठ वर्षपछि शिलासँग आज पर्यन्त उसको भेट भएको छैन । विनोद र शिलाको चिनजान जनयुद्धको शुरु हुने वर्षभन्दा एकवर्ष अगाडी नै भएको थियो । अखिल (क्रान्तिकारी) का दुबै सक्रिय सदस्य थिए । २०५१ तिर रोल्पा, रुकुमतिर प्रहरी दमन तीव्र थियो । गीत गुन्गुनाउन सौखिन थिई शिला । त्यसबेलाको चर्चित गीत ‘हाम्रो रोल्पामा पुलिसहरु पसेर झिटी झाम्टा गरिबका लुटे लगेर’  शिलाले गुन्गुनाएको विनोद एकमनले सुन्थ्यो । रोमीयो अप्रेशनका विरुद्ध मशाल जुलुशमा कहिल्यै छुट्दैनथे । यिन दुबैको सँगसँगै रहनु अन्य सहकर्मीहरुका चियागफमा हटकेक बनेर आउन थालिसकेको थियो । एकदिन त नरेशले विनोदलाई भन्यो – “तँलाई शिलाको रुप अनि सार पनि मनपर्छ हो ?”

अबदेखि विनोद अलि संयमित र गम्भीर भएर प्रस्तुत हुनथाल्यो, विशेषतः शिलाको प्रसङ्गमा । शिलाले दाई भनेर बोलाएको विनोदलाई भित्रभित्रै त्यति राम्रो नलाग्ने भईसकेको थियो । हुनतः शिला पढाई, उमेर र राजनीतिमा पछाडी नै थिई । कलेजबाट फर्किंदा क्रान्तिकारी समूहका विद्यार्थीहरु एउटा झुण्डमा हुन्थे । ‘ऊ क्रान्तिकारी’ एकदिन फरक आश्था राख्ने ठिटोले शिलातर्फ इंगित गर्दै भन्यो । महिलाहरु माओवादीमा प्रवेश गर्नु, त्यो पनि सिमान्त शहर धनगढीमा, मजैको बहस स्वभावैले पैदा गथ्र्यो त्यो बेला । शिलाहरुलाई धेरैको ध्यान तान्न सकेकोमा बेग्लै मजा लाग्दै थियो ।

बाटोमा हिंड्दै गर्दा थोरै टिनएज र थोरै उपभोक्तावादको असर विनोदले बाटोका घरहरुको अनेकथरी नामाङ्कनमा अब आफ्नो र शिलाको नाम जोडेर काल्पनिक घरको नामाङ्करण गर्दै जान्थ्यो । कुनै जोडी मोटरसाइकलमा सवार हुँदा कल्पनाको यात्रामा ऊ र उनी सवार भएको मजाको तरङ्ग विनोदको मनोविज्ञानमा तैरिंदै जान्थ्यो ।

त्यसबेला विनोदलाई पार्टी र जनवर्गीय संगठनबारे अनि संरचनाबारे त्यति थाहा थिएन । ऊ मुलतः नैतिक समर्थनको लागि जनयुद्धमा समाहित थियो । २०५२ फागुन १ को पर्चा पोष्टर पनि त उसले जनयुद्ध शुरुवात हुँदैछ भनेर जानकारी नपाउँदै टाँसेको थियो ।

जनयुद्ध भयो, रगतका भेलहरु बग्न शुरु भयो । त्यसबेला लडाईंका खबर पत्रपत्रिकामा टाढाटाढाका हुन्थे । गुरिल्ला युद्धप्रतिको मोह झण्डैझण्डै एमालेले हटाउन खोजेको थियो विनोेदबाट । ‘बन्दुक उठाउनु उपद्रोपन हो ।’ भनेर एमालेबाट शिक्षा पाएको विनोद २०४७ मा घर बिदामा जाँदा गाउँकै सामन्तको घरमा एमालेको भण्डा देख्यो । बस त्यो सामन्त, त्यो रातो झण्डा र ति घरवार विहीन गाउँलेहरुको जीवतस्तर देख्यो र विनोदको एकाएक भ्रम साफ भयो । समयान्तरमा गुरिल्ला युद्ध नेपालमा पनि जन्म्यो, हुक्र्यो र सामन्तवाद थर्कमान हुने स्थितिमा पुग्यो ।

विनोदको जीवनमै पनि छापामार युद्धको फूल ढकमक्क फुलेकै छ । जनयुद्धको शुरुवात युद्धरत पार्टीले सीमा बाहिर ठुलो भेला र बैठक सम्पन्न गर्नुपथ्र्यो । सीमापारीको एउटा बैठकमा शिला र विनोदले भाग लिने मौका पाएका थिए । केन्द्रीय सिमितिको भावोत्तेजक छलफलको छाप पर्ने विषय थियो – “युद्धमा वर्गसङ्घर्ष र अन्तरसङ्घर्ष भन्दा पनि आत्मसङ्घर्ष प्रधान हुन्छ ।

यो आदर्श वाक्य जसमा आफ्नै भित्रको सङ्घर्षमा सफल रहे हजारौं लडाई जितिन्छ भन्ने भाव छ, मा विनोद त आज पर्यन्त पछ्याईरहेछ, शिला भने आत्मसङ्घर्षमा कच्चा भइछे, लामो समयसम्म युद्धमा टिक्न सकिन । युद्धमोर्चामा अनेक रङ्ग हुँदारहेछन् । विनोद अप्रत्याशित ढंगले पक्राउ परयो । राजबन्दी हिरासतबाट कारागार पुरयाइनु ठुलो संयोग ठहथ्र्यो त्यो बेला । विनोदको जीवनमा पनि त्यस्तै भयो । केही सहयोद्धाहरुको कम्मरमा एउटा खुकुरी समेत नभएकाहरु मारिइदा पनि भरुवा बन्दुक बरामद, … … आतंककारीको मृत्यु, भन्न बानी परेको सरकारले थुप्रै विष्फोटक पदार्थ सहित पक्राउ परेर सरासर माओवादी हुँ हिम्मत भए गोली हान् भन्ने चुनौति दिंदा समेत कारागार पठाइनु विनोदको जीवनको एउटा अद्भुत संयोग हो ।

जेल जीवनको आधा वर्ष पछि विनोदको जीवनमा अर्को संयोग देखापरयो । पक्राउ खाँदाको अघिल्लो दिन खल्लो विदाईमा प्रशस्त रोएकी शिलाबारे खासै सूचना विनोदसँग थिएन । कसैले भूमिगत भई भन्थे त कसैले नेपालगञ्ज पढ्न गई भन्थे । एक साँझ नयाँ मान्छे ल्याउँदा भित्र गेटमा कैदीहरु झुम्म पर्ने भीडमा विनोद मिसिएको थियो । “एउटा केटी पनि आइछ” – एकजना लामो कपाल पालेको कैदी करायो । “माओवादी हो यार” अर्को कैदी जो चौकिदार थियो, जसले जेल सूचना पाएकोमा गर्वसाथ भन्यो ।

‘माओवादी केटी …’ विनोदलाई थोरै संशय पैदा गरयो । नजिकबाट हेरयो । शिला … … । चिच्याउन सकेन । तर जीवनको दुर्लभ संयोगको रुपमा लियो । विस्तारै कुराकानीको साटासाट हुन थाल्यो । संगठनका सबैलाई थाहा थियो । पछि जेल प्रशासनलाई पनि थाहा भयो । शिला जेल पुगेको ६ महिना भइसकेछ । शान्ति सुरक्षा ऐनमा रहेकी शिलालाई कि त रिहा पछि पक्राउ गरी पुनः कैद गर्न पथ्र्यो या त वास्तविक रिहाई । प्रशासनले दोस्रो विकल्प रोज्यो ।

स्वतन्त्रता रुचाउने जीवनको सबैभन्दा नजिकको मान्छे ठान्ने विनोदले आज शिला खुला आकाशमा प्रवेश गर्ने मौका पाउँदा पुरा आकारको खुशी अनुभूति गर्न सकेको छैन । प्रहरी दमनका बीचमा राज्यसत्तासँग पौंठेजोरी खेल्ने जोदाहा जहिले पनि मृत्युको मुखमा पुग्नसक्थ्यो । मनमा जेसुकै भएपनि पिंजडाभित्र कैद भएकाहरुले सोचेको पुग्ने कुरै थिएन ।

“शिलाले त खुला आकाश चुम्ने भई” – साँझको गन्ती गरेर प्रहरी फर्केपछि ठुलो हुलको निर्धारित साँघुरो ठाउँमा पल्टिदै विनोद मनमनै सोच्न थाल्यो । घरमा पुगेदेखि संगठनमा शिलाको सक्रियता कम भएको कुरा सुनेको धेरै पछि विनोद पत्याउन वाध्य भयो ।

नत संगठनको जिम्मेवारी नत व्यक्तिगत रुपमा नै उसको जीवन उर्वर हुने संभावना । जेलको उराठलाग्दो वातावरणको कुण्ठाग्रस्त सोचबाट र शिला स्वयंको जीवनलाई मात्र भएपनि आफ्नो इच्छाको मलामी जान कम्मर कसेर विनोदले एउटा चिट्ठी लेख्यो, जसको अन्तिम वाक्य थियो – यात घरको कुरा सुन, यात संगठनको, याद गर शिला संगठन रोज्नुको मतलब मलाई रोज्नु हो ।

यसरी वर्षौं पुरानो विच्छेद भएको सम्बन्ध ज्यादै नौलो परिवेशमा नयाँ ढंगले पुनः सम्पर्कमा आयो । जीवनको परिभाषा आ–आफ्नै रुपमा अर्र्थ लगाउन थालेका यि दुईमा आदर्श पनि आ–आफ्नै खालका छन् । मिसकल र म्यासेज पछि विनोदले फोन गर्ने नै निश्चय गरयो ।

हेलो !
उही पुरानै स्वर । आधा स्वर भित्र मनमा साँचेर राखी बाँकी हाँसो मिश्रित उही शिला ।

सन्चो विसन्चो सोधे लगत्तै शिलाले मोबाइल खसाली वा नियतबस अरु कसैलाई दिई, विनोदलाई थाहा छैन । तर तोते बोली सिकाउँदै गरेको शिलाको स्वर भने विनोदलाई नराम्ररी बिझ्यो । “बाबु हेलो भन … नमस्कार गर ।” भन्दै शिला प्रष्ट सिकाउँदै थिई । केहीबेर बच्चा अर्थात शिलाको छोराले मोबाइल चलाउँदै अवोध आवाज निकाल्दै रह्यो । विनोदले बेग्लै अनुभूति सहित सुनिरह्यो । केहीबेर पछि जब शिलाले – “हेलो !” भनि । अनि पो विनोद यथार्थ दुनियाँमा आयो । लामो स्वास फेरयो … … ।

विनोद केही बोलेन । विनोद नाम मात्र थिएन जीवनमा सँधै हाँसो मजाक गरिरहने फरासिलो मान्छे मध्यको नमूना मान्छे हो विनोद । शिलासँगको यो वार्तालापमा ऊ झण्डै विक्षिप्त प्रतित हुन्थ्यो ।

आफ्नो पुरानो कथावृत्ति र वर्तमानको यथार्थ बीचमा शिलाले रुकी रुकी विनोद झण्डै स्वरावरुद्धताको स्थिति बुझी । पहल फेरी पनि विनोदले लिईछाड्यो । ल … म पछि फोन गर्छु है । शिलालाई पनि सहज भयो । “हुन्छ, बाई … …” शिलाले मधुरो स्वरमा बोली ।

लगत्तै विनोदको मोबाइलमा म्यासेज आयो – “विनोद माफ गर है, नरिसाउ । अनुकूल मिले भोली विहान फोन गर्छु ।”
“तिमीसँग राम्रो परिवार छ र छोरा पनि, किन रिसाउनु । मसँग तिमीजस्ता मित्रहरुको यादबाहेक अरु के नै छर ?” विनोदले जवाफ पठायो ।

“विनोद ! पुरानो कुरा बिर्सेर नयाँ जीवनको शुरुवात गर है, प्लीज ।” फेरी जवाफ आयो ।
अब त कसको जवाफी म्यासेज हो, छुट्टयाउनै गाह्रो ।

“सबै साथी यसै भन्छन्, तिम्रो आग्रहलाई गंभीरतापूर्वक लिनेछु, विश्वास गर ।”
कमसेकम शिलाको मनलाई खुशी पार्न आफ्नै मनलाई निर्दयतापूर्वक कुल्चँदै विनोदले म्यासेज पठायो र मोबाइलको स्वीच बन्द गरयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार