सुरुआत
नेपालमा दश वर्ष जनयुद्ध भयो । जनयुद्ध उक्त अवधिभर वैचारिक, राजनीतिक र सामरिक तीनवटै मोर्चामा विजयी बन्दै गएको थियो । तर, व्यवहारतः शान्ति प्रक्रियामा प्रवेशसँगै जनयुद्धका मुख्य अभियन्ताहरूमा आएको वैचारिक स्खलनका कारण जनक्रान्ति ओरालो लाग्न थाल्यो । यसले गर्दा जनयुद्धले लिएका सबै अभीष्ट पूरा त भएनन् तर पनि वर्तमान लोकतान्त्रिक गणतन्त्र जनयुद्धकै प्रतिफल हो । जनयुद्धले केवल लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने लक्ष्य लिएको थिएन । नेपालको एकात्मक अर्धसामन्ती र अर्धऔपनिवेशिक राज्यसत्ता जसले एकातिर वर्गीय, राष्ट्रियता, क्षेत्रीय, लैङ्गिक र समुदायको आधारमा जनतामाथि शोषण, दमन र उत्पीडन गर्दै आएको थियो । अर्कोतिर नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि वैदेशिक हस्तक्षेप मूल रूपमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले गरेको थियो, त्यसबाट मुक्त गर्ने लक्ष्य लिएको थियो ।

तत्कालको राज्यसत्ता सञ्चालक र उनीहरूका पृष्ठपोषक देशीय सामन्तवादी, वैदेशिक विस्तारवादी र साम्राज्यवादीहरूले जुन स्तर र हर्कतमा जनयुद्धका विरुद्ध फौजी आक्रमण तीव्र पारेका थिए, साहित्यिक क्षेत्रबाट प्रत्यक्ष आक्रमण गरेका थिएनन् । बरु उनीहरूले सांस्कृतिक अतिक्रमण गरेका थिए । राजनीतिक र फौजी रूपमा नै नामेट पार्ने दिवास्वप्न बुन्दाबुन्दै उनीहरूले एकपछि अर्को हार व्यहोर्नुपरेको थियो । त्यसपछि मात्र उनीहरूद्वारा योजनावद्ध रूपमा जनयुद्धविरुद्ध साहित्यिक अभियान चलाइएको थियो । यसका लागि उनीहरूले सबैभन्दा पहिला पृष्ठभूमि तयार पारेका थिए । सशक्त साहित्य सिर्जना गर्न सक्ने पात्रको खोजी गरेका थिए । लगानी, पृष्ठभूमि, उपयुक्त सर्जकको तयारीपश्चात उनीहरूले नै आलेखन बुन्ने गरेका थिए । कथावस्तु र आलेखनको पूर्ण तयारीसहित सजिलैसँग आफ्नो क्षमतालाई बिक्रय गर्ने दक्ष सर्जकलाई कथावस्तु र आलेखन हस्तान्तरण गर्ने गरेका थिए । यो प्रक्रिया अहिले पनि निरन्तरतामा छ । जनयुद्धकालमा नै बृहत् योजना बमोजिम साहित्यिक क्षेत्रबाट आख्यानहरू तयार पारिएका थिए । त्यसरी तयार पारिएका आख्यानहरूका उत्कर्षमा नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ र महेशविक्रम शाहको कथा सङ्ग्रह ‘छापामारको छोरो’ रहेका छन् । यी दुईटा कृतिले २०६२ र २०६३ को मदन पुरस्कार पनि प्राप्त गरेका छन् ।

पश्चगमनकारी धार
नारायण वाग्ले स्थापित पत्रकार हुन् । उनले जनयुद्धलाई विषयवस्तु बनाएर ‘पल्पसा क्याफे’ २०६१ सालमा तयार पारेका थिए । त्यस समयमा जनयुद्ध रणनीतिक सन्तुलनको चरणबाट रणनीतिक प्रत्याक्रमणमा प्रवेश गरेको थियो । साथै, जनयुद्धले नयाँ–नयाँ साहित्यको सिर्जना गरेको थियो । युद्धमैदानमा बन्दुकको गोलाबारी, बम–बारुद्धको धमाका, धरापका धक्काहरूको सेरोफेरोमा कविता, संस्मरण, कथाहरूको व्यौछार नै भएको थियो । जनयुद्धमा साहित्यिक छाल उठेका थिए । ती छालहरूमा पुराना साहित्यहरू तैरिन पुगेका थिए । नेपाली समाजमा तिनीहरू डुब्न छाडिसकेका थिए । यसैक्रममा ‘पल्पसा क्याफे’ र ‘छापामारको छोरो’ लाई प्रक्षेपण गरिएको थियो ।

‘पल्पसा क्याफे’ मा नारायण वाग्लेले तत्कालीन राज्यसत्ता र जनयुद्धप्रति हेर्ने समान दृष्टिकोण राखेको जस्तो देखाउने कोसिस गरेका छन् तर लेखकले दृष्टिकोण, नियतवश नै जनयुद्धप्रति जतिसक्दो विभ्रम सिर्जना गर्न माथापच्चिसी गरेको सहजै बुझ्न सकिन्छ ।

निरङ्कुश सामन्तवादी राजतन्त्रविरुद्धको सङ्घर्षका क्रममा भएका पुरानोको ध्वंस र नयाँको निर्माण अभियानलाई नारायण वाग्लेले विनिर्माणका रूपमा प्रस्तुत गरेका छन् । यहाँसम्म कि जनयुद्धमा देश र जनताका मुक्ति लागि सचेततापूर्वक त्याग, बलिदान र समर्पणको बाटोमा लागेको सिद्धार्थलाई उनले गवाँर, मूर्ख, अचेतका रूपमा उभ्याएका छन् । नारायण वाग्लेको ‘पल्पसा क्याफे’ पढ्दै जाँदा पूरा उपन्यासभरि जनयुद्ध वा तत्कालीन निरङ्कुश सत्ताका विरुद्धको उनको आफ्नो छुट्टै धारणा टिप्न लायक कतै पाइँदैन । उनले जनयुद्धका घटनाक्रमलाई टिप्पणीका रूपमा पुरानो सत्ताभन्दा अझ क्रूरतामा प्रस्तुत गरेका छन् । उनको यो उपन्यासको कथावस्तु जनयुद्धप्रति जासुसी गर्दा प्राप्त गरेको रिपोर्ट जस्तो लाग्छ । वास्तवमा उपन्यासको त कुरै नगरौँ, यो कुनै साहित्यिक आख्यान नै होइन ।

महेशविक्रम शाह विद्यालय पढ्दादेखि नै कथा लेख्ने गर्दथे । कलेज तहमा सामान्य वामपन्थी राजनीति नजिक पुगेका शाहले थारु जातिको जीवनशैलीका कथा लेखेका छन् । उनी माझिएका कथाकार पनि हुन् । शाह नेपाल प्रहरीमा निरीक्षकबाट प्रवेश गरेका हुन् । यहीक्रममा शाहको सरुवा रोल्पामा हुन्छ । रोल्पामा जनयुद्धले तीब्रता लिएको थियो । त्यस समयमा त्यहाँका जनतामाथिको भीषण दमन भएको थियो । महिला, पुरुष, बालक, बूढाबूढी जसलाई भेट्टायो, उसैलाई गिरफ्तार गर्ने क्रममा छापामार ‘रक्तबीज’ की जीवनसङ्गिनी र उसको अबोध बालक छोरालाई पनि पुलिसले समातेर रोल्पाको लिबाङमा ल्याएर बन्दी बनाएको कथा ‘छापामारको छोरा’ मा छ ।

त्यो बच्चा जिल्ला प्रहरी कार्यालयको पर्खालबाहिर निस्कन नपाएपछि हिरासतको सानो आँगनमा सैन्यतालिमका कलाहरू आफ्नै धुनमा खेलिरहेको दृश्यलाई जिल्ला प्रहरीको मुख्य कमान्डरले हेरेर बनेको मनोविज्ञानलाई कथामा शाहले उतारेका छन् । यो कथाको मुख्य केन्द्रलाई कथाकारले–“उसको छापामार बाबुले दिएको मानसिक पीडाबाट सिर्जित क्रूरता । उसको बालशरीरमा म आफ्ना दृष्टिहरू रोप्न थाल्छु, यो सोच्तै कि यसको बाबुले मलाई निहत्था फेला पारयो भने ब्वाँसोले मृगलाई छोप्दै, टोक्दै, लुच्दै अन्त्यमा खेलाईखेलाई मारेर आफ्नो सिकार बनाएजस्तै बनाउन रत्तीभर आफ्नो मन डगमग पार्नेछैन । यो उसको छोरो पनि भोलि ठूलो भयो भने आफ्नो बाबुको पदचिन्ह पछ्याउँदै हाम्रा टाउकाहरू उछिट्याउनमा किञ्चित पनि अबेर गर्नेछैन ।”

महेशविक्रम शाहको कथा यिनै विषयवस्तुको वरिपरि घुमेको छ । शाहले यहाँ प्रस्तुत गरेको जस्तो मनोदशा जनयुद्धकालमा कहिल्यै भएको थिएन । माओवादी नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनतालाई आम–नरसंहारको अभियान नै तत्कालीन सत्ताका सुरक्षा निकायले चलाएको थियो । सेना परिचालन, सङ्कटकालको घोषणापछि सेना पुलिसको कब्जामा परेका कुनै पनि मान्छे सग्लो मुक्त हुन सकेको थिएन । उनीहरूको कब्जामा परेका प्रायः सबै महिलाहरूले बलात्कारको सिकार हुनुपरेको थियो । पुरुषहरू कम्तिमा अङ्गभङ्ग व्यहोर्नुपर्दथ्यो । कैयौँको ज्यान लिएका छन्, आततायी सत्ताका रक्षकहरूले । यी घटनाप्रति शाहको कुनै संवेदना छैन । उनको कथासङ्ग्रह छापामारको छोरोमा भएका १८ वटा कथाहरूमा केही शान्तिप्रक्रियामा आएपछि लेखिएका हुन् । जनयुद्धले सामन्ती राजतन्त्रको अन्त्य गरेको थियो । त्यत्ति मात्र होइन कि ज्ञानेन्द्रको शासनकालमा संसदीय पार्टीका मुख्य सबै नेताहरूलाई बन्दी वा गृहबन्दी बनाएको थियो, उनीहरूलाई मुक्त गरेर पुनः राजनीति गर्न सक्ने जनयुद्धले बनाएको हो ।

शाहलाई जानकारी हुनुपर्दछ कि जनमुक्ति सेनाले कब्जा गरेका प्रत्येक सदरमुकाम, ब्यारेक वा पुरानो सत्ताका सुरक्षा क्याम्पमा जिउँदै समातिएका सेना, पुलिसलाई बाटो खर्चसहित छाडिदिएको छ । उनीहरूका कुनै पनि परिवारलाई गएर धम्काएको थिएन । एउटा छापामारकी श्रीमती भएका कारण गिरफ्तार गरेको त शाह स्वयम्ले कथा नै बनाएका छन् । एउटा अबोध–बालकले उनले कमान्ड गरेको जिल्ला प्रहरी कार्यालयमा खेल्दा पनि उनीमाथि मनोवैज्ञानिक त्रास पैदा भएको छ । शाहले प्रस्तुत गरेको कथावस्तुबाट पनि थाहा हुन्छ कि उनी जनयुद्धलाई कसरी ग्रहण गरेका थिए भनेर !
राधा पौडेल एकजना अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामा काम गर्ने परिचारिका हुन् । जनयुद्धको विकाससँगै उत्पीडित वर्ग,

जाति, क्षेत्र र समुदायको जनताको लामबन्दी रफ्तारमा थियो । केन्द्रीय राज्यले क्षेत्रीय रूपमा भेरी, कर्णाली, सेती, महाकाली क्षेत्रमाथि शोषण, दमन र उत्पीडन थोपरेको थियो । अहिले पनि छ । जनयुद्ध शोषित, दमित र उत्पीडित ती क्षेत्रहरूमा दस्तक दिएको थियो । छालसरि फैलिएको जनयुद्धलाई अवरोध गर्नका लागि नेपालमा संयुक्त रूपमा अमेरिकी साम्राज्यवाद, युरोपियन युनियन योजनाबद्ध गैर–सरकारी संस्थाहरूलाई प्रवेश गराएका थिए । तिनै योजना बमोजिम कर्णालीका जिल्लाहरूमा पनि अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूले प्रवेश पाएका थिए । राधाको जुम्ला प्रवेश यही प्रक्रियामा ‘एक्सन वक्र्स नेपाल’ को ‘मितेरी गाउँ सँगसँगै बाँचौँ’ कार्यक्रमद्वारा भएको थियो । जुम्लामा पुग्दै गर्दा नै राधाले दैनिक घटनाहरूलाई टिप्न थालिन् ।

यो उनलाई काम गर्ने संस्थाले दिएको एउटा जिम्मेवारी पनि थियो । उपचारका साथसाथै उनको काम रिपोर्ट तयार गर्नु पनि थियो । उनको दैनिकी ‘खलङ्गामा हमाला’ पढ्दै गयो भने २०५९ कात्तिक २८ गते राती पनि आयो । उनले उक्त रातका सबै घटनाहरूलाई उतारिन् । “सरकारी जागिर छाडेर विकासे काम सुरु गरेपछि गरिबी, सामाजिक विभेद र द्वन्द्वले आक्रान्त कर्णालीबासीसँग मेरो साक्षात्कार भयो । सानैदेखि गरिबी भोगेकीले म उनीहरूको दुःख आत्मसात गर्न सक्थेँ । यसबीच द्वन्द्वको त्रास नजिकबाट देखेँ । माओवादी र सुरक्षा निकायको अचानो बनेर काम गर्नुपर्दाको पीडा भोगेँ । सबभन्दा ठूलो कुरा, कर्णालीबासीको मनोदशा बुझेँ, जसले उज्ज्वल भविष्यको सपना देख्ने हैसियतसम्म राख्दैनन् । मलाई लाग्यो, यो अनुभव सङ्ग्रह गरिनुपर्छ ।” राधाले ‘दुई शब्द’ मा अभिव्यक्त गरेकी छिन् ।

राधा जुम्ला प्रवेश गर्दैगर्दा कर्णालीका जनताले ‘हातेमालो अभियान’ सञ्चालन गरिसकेका थिए । २०५५ सालतिर जनयुद्धमा सामेल भएका एकजना शिक्षक हर्षबहादुर शाहीले रचना गरेको डेउढा गीत ‘उठ्दैछ कर्णाली प्रदेश’ जुम्लाका सामान्य जनताले पनि गाउने गर्दथे । त्यो गीत लोकजिब्रोमा बसिसकेको थियो । नेपालको सबैभन्दा उत्पीडित क्षेत्र र त्यहाँका जनता हजारौँको सङ्ख्यामा जनयुद्धमा छोटो समयमा लामबद्ध भएका थिए । राजतन्त्रात्मक केन्द्रीय सामन्ती सत्ताले अञ्चल सदरमुकाम मात्र नबनाएर उक्त क्षेत्रमा उत्पीडनको केन्द्र बनाएको थियो । राजा, महाराजाहरू मोजमस्ती गर्न मुगुको रारा जान्थे । चङ्कीको लेकमा सिकार खेल्ने, शुरा र सुन्दरीमाथि भोग गर्ने गर्दथे । मवीवी शाहको कविता ‘राराकी अप्सरा’ केवल रारा तालको सौन्दर्यको वर्णन मात्र नभएर त्यहाँका महिलाको वर्णन पनि थियो ।

तर, त्यहाँका जनताले कर्णाली क्षेत्रका प्राकृतिक साधन स्रोत, सुन्दरताको उपभोग कहिल्यै गर्न पाएका थिएनन् । प्राकृतिक साधन स्रोत, जनशक्तिले प्रचुर धनी भए तापनि त्यहाँका जनता गास, बास, कपास, स्वास्थ्य र शिक्षाबाट असाध्यै पीडित थिए र अहिले पनि छन् । उनीहरू केन्द्रीय सामन्ती राजतन्त्रका आसेपासे स्थानीय राजा–रजौटाहरूको दोहनबाट मुक्ति हुन चाहन्थे । त्यहीक्रममा जनयुद्धको उद्घोष भएको थियो । तसर्थ, कर्णाली क्षेत्रमा जनयुद्धको विकास तीब्र भएको थियो । जनयुद्धमा त्यहाँका जनताको लामबन्दीलाई रोक्न योजनाबद्ध तरिकाले सहरमा रहेका क्षमता भएका, पढेलेखेका मान्छेहरूलाई आईएनजीओको कार्यक्रममार्फत विकासे योजनाहरूको कर्णाली क्षेत्रमा व्यौछार नै गरिएको थियो । त्यहीक्रममा राधा पौडेल पुगेकी थिइन् ।

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’, महेशविक्रम शाहको कथासङ्ग्रह ‘छापामारको छोरो’ र राधा पौडेलको एउटी नर्सको डायरी ‘खलङ्गामा हमला’ जनयुद्धलाई मात्रै आधार बनाएर रचिएका कृतिहरू हुन् ।

तीन कृति ‘पुरस्कृत’
फरक फरक विधाका यी तीनवटा कृति जो विशुद्ध माओवादी जनयुद्धका विरुद्ध लेखिएका छन्, यिनैले नेपालको नोवेल पुरस्कार भनेर चिनिने मदन पुरस्कार प्राप्त गरेका छन् । यीमध्ये साहित्यमा स्थापित महेशविक्रम शाह हुन् । उनी साहित्यिक रचना संरचना गर्न सक्छन् । शैलीशिल्पीका हिसाबले नारायण वाग्ले र राधा पौडेलको मदन पुरस्कार पाउने हैसियत हैन । जुन कुरा उनीहरूको लेखनबाट पनि स्पष्ट हुन्छ । यी दुईजनालाई लेख्न कतैबाट प्रेरित गरिएको हो भन्न सकिन्छ ।

राधाको डायरीलाई त नेपा लयले पूरै सम्पादन गरिदिएको कुरा बाहिर पनि आएको थियो । महेशविक्रम एकजना पुलिस अधिकृत हुन् । उनी आफैँ माओवादी जनयुद्धलाई दमन गर्न खटिएका थिए । उनको कमान्डले कतिजना निर्दोष जनतालाई मा¥यो होला ! कति बेपत्ता भए होलान् ! अङ्गभङ्ग भए होलान् ! कैयौँ महिला बलात्कृत भए होलान् ! प्रतिक्रियावादी पुरानो सत्ताको नूनपानी खाने तर नयाँ सत्ताको गुणगान गाउने कुरा उनको हिम्मत र हैसियतभन्दा बाहिरको कुरा थियो । त्यसैले महेशविक्रम शाहले जनयुद्धलाई विद्रूपीकरण गर्नु उनको कर्तव्य नै थियो तर आफू निष्पक्ष पत्रकार र जनताको स्वास्थ्य सेवा गर्ने भन्न रुचाउने नारायाण वाग्ले र राधा पौडेलले विद्रूपीकरण गर्नुका पछाडि कुनै कारण अवश्य रहेको अवश्य छ । यिनै साहित्यहरूले अहिले मदन पुरस्कार पाउन थालेका छन् ।

मदन पुरस्कार दिने संस्था जसको पकडमा छ, उनीहरू निगम पुँजीवादका नेपाली प्रतिनिधि मात्र नभएर संस्थापक पनि हुन् । साहित्यमा कुनै योगदान नभएका राणा परिवारका सम्भ्रान्त सन्तानहरूको नामबाट गुठी सञ्चालन गरिएको मदन पुरस्कारको स्थापनाकालदेखि नै तत्कालीन सत्ताको भजनकीर्तन गर्नेहरूलाई उक्त पुरस्कारले सुशोभित गरिन्थ्यो । विगत ६१ वर्षदेखि अ–साहित्यबाहेक सबै साहित्यिक रचनाहरूले समकालीनको राजनीतिक संरचनाको पक्षपोषणका थिए ।

उदाहरणका लागि २०४५ सालमा पञ्चायतविरुद्ध भीषण आन्दोलन भइराखेको परिवेशमा पञ्चायती व्यवस्थाका विरोधी काङ्ग्रेस र कम्युनिस्टहरूका विरुद्धमा राजेश्वर देवकोटाद्वारा लेखिएको उपन्यास ‘उत्सर्ग’ लाई यो पुरस्कार दिइएको थियो । प्रगतिशील सशक्त महिला हस्ताक्षर पारिजातलाई नै मन नपरेको र च्यातिदिनू भनिएको विशुद्ध यौन–मनोविज्ञानमा आधारित उपन्यास ‘शिरिषको फूल’ लाई २०२२ सालमा मदन पुरस्कार दिइएको थियो । यसरी मदन पुरस्कार गुठीले पञ्चायतकालमा पञ्चायती व्यवस्थाको, संसदीय व्यवस्थाको स्थापनापश्चात उक्त व्यवस्था र पछिल्लो दलाल पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने साहित्य, खोज, अनुसन्धानलाई पुरस्कृत गर्दै आएको छ ।

२०६२ सालेदखि अहिलेसम्म २०६८ सालमा झमककुमारीको ‘जीवन काँडा कि फूल’ लाई छाडेर जति पनि मदन पुरस्कार पाएका छन्, ती सबै रचना खोज–अनुसन्धानका नाममा राजा–महाराजाका इतिहास, पुरुषार्थ, विकृत संसदीय व्यवस्थामा सामेल पार्टी वा सङ्गठनका इतिहास, आदर्शवादी दर्शनको प्रचारप्रसार र गुणगान गाएका कृतिहरू पुरस्कृत भएका छन् । त्यसैले अहिलेसम्मको परिघटनालाई नियाल्ने हो भने मदन पुरस्कार पाएका उत्कृष्टमा दरिनुको साटो प्रतिगमन र यथास्थितिवादको दलाली, गुलामी गर्नेहरूमा बदनाम हुन पुगेका छन् । त्यसैले २०६२ देखि २०७३ सम्मका जनयुद्धकाल र शान्तिप्रक्रियाको अवधिमा हिजोकै विरासतलाई निरन्तरता दिँदै जनयुद्धविरुद्ध सबैभन्दा बढी विषवमन गर्न सक्ने प्रतिगामी लेखनपद्धतिका ‘पल्पसा क्याफे’, ‘छापामारको छोरो’, जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’, युवराज नयाँ घरेको ‘एक हातको ताली’, राजन मुकारुङको ‘दमिनी भीर’, राधा पौडेलको ‘खलङ्गामा हमला’, विजयकुमारको ‘खुशी’ र रामलाल जोशीको ‘ऐना’ मदन पुरस्कारद्वारा सुशोभित भएका छन् ।

यीमध्ये राजन मुकारुङ वामपन्थी विचार राख्छन्, बाँकी सबै सामन्ती राजतन्त्रका पक्षपाती हुन् । मदन पुस्कार पाएका बाहेक पनि अन्य थुपै कृतिहरू छन्, जो जनयुद्धका विरुद्धमा लेखिएका छन् । जनगदीश घिमिरेको ‘सकस’, नारायण वाग्लेका ‘मयुर टाइम्स’, शारदा शर्माको ‘ताप’, बुद्धिसागर न्यौपानेको ‘कर्णाली ब्लुज’, महेशविक्रम शाहको ‘सिपाहीकी स्वास्नी’ गोविन्द वर्तमानको ‘सोरह साँझ’ जनयुद्धविरुद्ध प्रायोजनसहित आलेखनको पूर्व तयारीमा सिर्जित साहित्यिक कृति हुन् ।

यथास्थितिवादी
जनयुद्ध वामे सर्दै थियो । प्रगतिशील क्षेत्रमा कमल चलाउँदै आएका, वामपन्थी विचारधारा स्वीकारेका साहित्यकार खगेन्द्र सङ्ग्रौलाले ‘जूनकिरीको सङ्गीत’ उपन्यास लेखेका थिए । सल्लाहमा नै कम्युनिस्ट आन्दोलन परित्याग गरेर अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थामा जागिर खान पुगेका दुई युवाहरूको कथा उक्त उपन्यासमा छ । उनीहरूले दलित बस्तीमा गएर जागरणका कार्यक्रम गर्दछन् । त्यहीक्रममा उक्त ठाउँमा पनि जनयुद्धको प्रभाव बढ्दै जान्छ । माओवादीले मशाल जुलुस गर्छ । खगेन्द्र सङ्ग्रौलाले मशाल जुलुसलाई ‘राँके भूत’ भन्न पुगेका छन् ।

त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी समिति सदस्य प्रदीप नेपालले ‘आकास गङ्गाको तीरैतीर’ उपन्यास २०५७ सालमा लेखेका थिए । त्यस समयमा जनयुद्धको छाल देशैभरि फैलिसकेको थियो । प्रगतिशील साहित्यमा राम्रै स्थान बनाएका सञ्जय थापा साहित्यिक नामले चिनिने नेपालले उक्त उपन्यासमा एनजीओले पस्किएको हरियो डलर ज्युनार गरेर दुर्गन्धित डकारसहित वमन गरेका छन् । भीषण वर्गसङ्घर्षको बीचमा जनताको त्याग, बलिदान र समर्पणको जगमा खडा भएका आधारइलाका र जनसत्तामा एनजीओमार्फत साम्राज्यवाद र पुरानो सत्ताका लागि रिपोर्ट तयार पार्न गएको पत्रकाररूपी एकजना जासुसलाई गरिएको कार्वाहीलाई कथावस्तु बनाएर उनले उक्त उपन्यास लेखेका छन् । सङ्ग्रौला र नेपालका यी दुईवटा उपन्यासमा सुन्दर रातो फूलरूपी जनयुद्धलाई कालो अङ्गेरीका रूपमा प्रस्तुत गरेका छन् ।
प्रकाश विज्ञानमा रङसम्बन्धी एउटा प्रमाणित प्रयोग छ । यदि हरियो चश्माले रातो रङको वस्तुलाई हेरयो भने त्यो कालो देखिन्छ ।

क्रान्तिकारी झापा विद्रोहलाई विकृतीकरण गरेर क्रान्तिकारी मालेलाई संशोधनवादी हुँदै घोर प्रतिक्रियावादमा स्थानान्तरण गराउन उत्प्रेरकको भूमिका खेल्ने साम्राज्यवादी एनजीओ भित्र्याउने प्रदीप नेपालको हरियो डलरको चश्मा लगाएका आँखाले रक्तिम सुन्दर फूललाई कालो देख्नुलाई अन्यथा मान्न सकिँदैन । यही तहमा त हैन तर जनयुद्ध सुरु हुँदै गर्दा कम्युनिस्ट आन्दोलनबाट देशका श्रमजीवी जनताको मुक्ति हुन सक्दैन । एनजीओ र आईएनजीओका विकासे कार्यक्रमले मुक्ति दिन सकिन्छ भन्ने विषाक्त भ्रम ‘जूनकिरीको सङ्गीत’ को कथावस्तु भएकाले हरियो डलरको डकार यसमा भेट्न सकिन्छ । जनयुद्धका विरुद्ध तयार पारिएका यी प्रवृत्तिका साहित्यहरू पनि प्रायोजित र तयारी आलेखन हुन् ।

‘नयाँ यथार्थ’ को नाममा पुरातनकै सेवा
जनयुद्धको पूर्वसन्ध्यादेखि नै नेपाली साहित्य क्षेत्रमा एउटा प्रवृत्ति देखापरेको थियो तर जनयुद्धलाई मन पराउने, जनयुद्धमा लागेर त्याग, बलिदान, समर्पण गर्ने तर नेता÷कार्यकर्ता मन नपराउने । जनयुद्धले विकास गरेको विचार राजनीति सही छ भनेर पक्षपोषण गर्ने तर जुन भूगोलमा जनयुद्ध लडिएको छ, त्यो भूगोललाई घृणा गर्ने । सौन्दर्यशास्त्रमा उत्तरआधुनिकतावादको घोर विरोध गर्ने तर उनीहरूको सिर्जनामा त्यसैको पक्षपोषण गर्ने साहित्यिक प्रवृत्ति नेपालमा देखापरयो ।

नब्बेको दशकमा जब सोभियत सङ्घको विघटनसँगै देखापरेको उत्तरआधुनिकतावादले नेपाली साहित्यमा पनि प्रभाव पार्दै थियो । जनयुद्धको तयारीसँगै साहित्यिक क्षेत्रबाट उत्तरआधुनिकतावादका विरुद्धको वैचारिक युद्ध तीब्र पारिएको थियो । माक्र्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने र साहित्यमा नयाँ यथार्थ खोज्ने केही सौन्दर्यशास्त्रीहरूले उत्तरआधुनिकतावादको कलमका माध्यमबाट सशक्त प्रतिवाद गरेका थिए ।

उनीहरूको यो कदमले विचारलाई तिखार्न ठूलो भूमिका पनि खेलेको पनि थियो । यी निरङ्कुश पञ्चायती व्यवस्थाकालमा नै पनि कथाका माध्यमबाट नेपालको माक्र्सवादी साहित्य (प्रगतिशील) को भण्डार भरेका थिए । भाष्करको कथा सङ्ग्रह ‘पिचासको कसौडी’, खगेन्द्र सङ्ग्रौलाको ‘फाटेको लगौँटी टालेको दिमाग’ ले निरङ्कुश पञ्चायतका विरुद्ध आगो ओकलेका थिए । संसदीय व्यवस्थाको पुनस्थापनालगत्तै ऋषिराज बरालको ‘कमरेड हुतराज राजधानी प्रस्थान’ उपन्यास उत्कृष्ट रह्यो ।

त्यसको दोस्रो खण्ड पनि आउने भन्ने थियो तर दुःखको कुरा आएन । जनयुद्धको कार्यदिशाप्रति विमति राखेर माओवादी आन्दोलनबाट अलग्गिएका आहुतिको ‘नयाँ घर’ उपन्यासले जनयुद्धको वैचारिक तयारीका लागि सहयोग पुरयाएको थियो । त्यसैले बरालको ‘कमरेड हुतराज राजधानी प्रस्थान’ र आहुतिको ‘नयाँ घर’ को नेपाली प्रगतिशील साहित्यिक क्षेत्रको औपन्यासिक फाँटमा विशिष्ट स्थान छ ।

जनयुद्धको उद्घोषभन्दा ठीक केही समयअगाडि भाष्करको उपन्यास ‘अमरवस्ती’ बजारमा आएको थियो । विचार र राजनीतिमा भाष्कर जनयुद्धका पक्षपाती हुन् तर उनको त्यो उपन्यास विचार, राजनीति र नेतृत्व न्यूनीकरण गरेर उत्तरआधुनिकतावादी वैचारिक धरातलमा उभिएको छ । उक्त उन्यासलाई लिएर नयाँ यथार्थवादी साहित्यिक खेमामा दुई ध्रुव नै खडा भएको थियो । २०५८ सालमा भाष्करले पश्चात्ताप गरेर लेखे पनि । त्यसपछि उनका कुनै आख्यानहरू आएका छैनन् ।

लेखक

माओवादी आन्दोलनमा ऋषिराज बराल सौन्दर्यशास्त्री, सशक्त आख्यानकर्ता, कथाकार र संस्मरण–लेखनका हस्ती नै मानिन्छन् । जनयुद्धकालभरि उनका कैयौँ संस्मरण, दैनिकी, कथाहरू प्रकाशित भए । उनको लेखन सशक्त पनि छ । विषयको छनौट, आलेखन, प्रस्तुति र शैली उम्दा छ । ऋषिराज बरालका कथाहरूमा गाउँको कथा भन्छु है त (२०४२), भग्नावशेष (२०४४), बयान (२०५२), वन मान्छेको कथा (२०६३), सैन्य उपहार (२०५८), पैंयु फुल्न थालेपछि (२०६३) अहिलेसम्म प्रकाशित कृतिहरू हुन् । उपन्यासमा भावना (२०३४), कामरेड हुतराज राजधानी प्रस्थान (२०४८), समरगाथा (२०६४) हुन् । शब्दचित्रहरूमा फेरि लालभञ्ज्याङमा उभिएर (२०६३), सलाम रोल्पा (२०६९), माक्र्सवाद र सबाल्र्टन अध्ययन (२०७३) रहेका छन् । त्यसैगरी समालोचनाहरूमा प्रगतिवादी नेपाली उपन्यास (२०४०), प्रगतिवाद (२०४९), माक्र्सवाद र उत्तरआधुनिकवाद (२०५२), उपन्यासको सौन्दर्यशास्त्र (२०५६), सङ्गीत र सौन्दर्य (२०६३), उत्तरआधुनिकवाद र समसामयिक यथार्थ (२०६३), सूचना भूमण्डलीकरण र सांस्कृतिक साम्राज्यवाद (२०६३), साहित्य र समाज (२०६४), सत्ता र संस्कृति (२०६६) रहेका छन् । यसरी माओवादी साहित्यिक र सांस्कृतिक दृष्टिकोणबाट सबैभन्दा बढी विधा र सङ्ख्यामा बराल नै अग्रपङ्क्तिमा रहेका छन् । बरालले राजधानीमा बसेर युद्धमोर्चामा डटेका योद्धाहरूलाई चिट्ठीका माध्यमबाट लेख्नका लागि प्रोत्साहित पनि गरेका थिए ।

जनयुद्धको ‘अन्त्य’ सँगै पार्टीको योजना बमोजिम नै बराललाई एउटा उपन्यास लेख्न जिम्मा दिइएको थियो । उनले मिहिनेत गरेर ‘समरगाथा’ तयार पारेका थिए तर उनको ‘समरगाथा’ ले जनयुद्धको वास्तविक प्रतिनिधित्व गर्न सकेन । प्रस्तुति र शैली तारिफ गर्न लायक भए पनि कथावस्तु र आलेखन असाध्यै कमजोर रह्यो । विशुद्ध साहित्यकार मात्र नभएर जनयुद्धको एकजना अभियात्रीसमेत रहेका बरालको जनयुद्धकालमा नै केही लेखन विवादित पनि भएका थिए । मूलरूपमा उनका कथा र संस्मरणमा उनले नयाँ यथार्थका नाममा रूपीय यथार्थलाई एकदमै व्यक्तिकेन्द्रित भएर उजागर गर्ने गरेका थिए । त्यसैको उत्कर्ष उनका शब्दचित्रहरूमा ‘फेरि लालभञ्ज्याङमा उभिएर (२०६३)’, ‘सलाम रोल्पा (२०६९)’ मा देखापरेको छ । उनले यी दुईवटा शब्दचित्रमा जनयुद्धलाई साहित्यिक समृद्धीकरण गर्नुको साटो बढी विद्रूपीकरण गरिदिएका छन् । जनयुद्धकालमा नै प्रकाशित उनको ‘फेरि लालभञ्ज्याङमा उभिएर’ उनैको भनाइमा जलाइएको थियो ।

बरालले आधारइलाकाहरूको भूगोल, त्यहाँ कार्यरत नेता÷कार्यकर्ता, जनतालाई विचार र राजनीति नजानेका, खान लगाउन नजानेका, सभ्यता नभएका, मूर्ख, मुढेबली भन्न भ्याएका छन् । उनको ‘सलाम रोल्पा’ लाई लिन सकिन्छ; त्यसमा उनले रोल्पा, रुकुमका सबैजसो नेता कार्यकर्ताप्रति राम्रो टिप्पणी गरेका छैनन् । उनका नजरमा प्रचण्डसँगै नेपालको दलाल पुँजीवाद, भारतीय विस्तारवादका सामु आत्मसमर्पण गर्ने, बाबुरामसँगै विसर्जन र पलायन हुनेहरूको सरावरीमा पुनः क्रान्तिका लागि लागिपर्नेहरूलाई समदूरीमा राखेका छन् । त्यत्ति मात्र होइन; त्याग, बलिदान र समर्पणको उच्च कीर्तिमान राखेका क्रान्तिकारी योद्धाहरू पनि उनलाई पनि उनले निशाना साँधेका छन् । मूलरूपमा उनको ‘सलाम रोल्पा’ लाई मेरी टेयलरको ‘भारतीय जेलमा मेरा वर्षहरू’ भन्दा उत्कृष्ट होस् भन्ने अपेक्षा राखेका थिए तर उनका शब्दचित्रहरू ‘फेरि लालभञ्ज्याङमा उभिएर’ र ‘सलाम रोल्पा’ हरू त राधा पौडेलको ‘खलङ्गामा हमला’ जत्ति पनि दरिएन ।

तारा राईको नाममा एउटा डायरी निस्किएको थियो, ‘पूर्व छापामारको डायरी’ । तारा राई माओवादी आन्दोलनमा सहभागी भएर काम गर्नेक्रममा सेनाको कब्जामा परेर अमानवीय यातना भोग्न बाध्य भएकी थिइन् । माओवादी जनयुद्धकालका उनका दिनचर्या कसैले पायो र उनका नाममा डायरी तयार पारेर माओवादी जनयुद्धलाई बद्नाम गर्ने उद्देश्यसहित लेखन, सम्पादन गरेर तारा राईको नाममा प्रकाशित गरिदियो । जसले जनयुद्धलाई असाध्यै कुरूप बनाइदिएको छ । तारा राईको उक्त किताबलाई नियतवश नै चर्चामा ल्याएको थियो ।

गङ्गा लामा जनयुद्धका एक होनाहार योद्धा हुन् । उनले युद्धकालमा नै घाइते हुँदा आफ्नो खुट्टा गुमाउन पुगेका थिए । घाइते भई चितवनमा उपचार गर्दैगर्दा उनी ट्रक चढेर काठमाडौँ पुगेर जनयुद्धबाट विचलित भएका थिए । जनयुद्धमा सामेल भएदेखि घाइते, उपचार हुँदै पलायनसम्मको घटनाक्रमलाई समावेश गरेर लामाले ‘दस बर्से जनयुद्ध : स्मृतिका डोबहरू ’ संस्मरणात्मक पुस्तक तयार पारेका थिए । त्यो पुस्तकले प्रगतिशील विरोधीवृत्तमा खुबै चर्चा पायो । गोविन्द भट्टराई, जगदीश घिमिरेजस्ता जनयुद्धका कट्टर विरोधीहरूले प्रशंसा नै गरेर टिप्पणी लेखेका थिए । यसरी माओवादी विचारसँग सहमत भएका र स्वयम् जनयुद्धका अभियात्री बनेकाहरूले रचना गरेका साहित्यहरू भाष्करको ‘अमर बस्ती’, ऋषिराज बरालको ‘फेरि लालभञ्ज्याङमा उभिएर’, गङ्गा लामाको ‘दस बर्से जनयुद्ध : स्मृतिका डोबहरू’ र तारा राईको ‘पूर्व छापामारको डायरी’ जनयुद्ध विरोधी मात्र होइनन् कि यिनले जनयुद्धलाई विभ्रमितसमेत पारेका छन् ।

प्रचण्ड–बाबुरामले विचार, राजनीति, वर्ग र राष्ट्रप्रति घात गर्दै आत्मसमर्पण र पलायन हुँदै गर्दा तारा राई र गङ्गा लामाहरूले उनीहरूका विरुद्ध कुनै प्रतिवाद गरेनन् बरु उनीहरूका गद्दारीपूर्ण क्रियाकलापलाई स्वीकार र समर्थन गरेका थिए । तर, ऋषिराज बरालले प्रचण्ड–बाबुरामका रवैयाको कडा प्रतिवाद गरेका थिए । त्यसैले होला, बरालको शब्दचित्रहरू ‘फेरि लालभञ्ज्याङमा उभिएर’, ‘सलाम रोल्पा’ हरूलाई पुरातनवादी साहित्यकारहरूले सामान्य चर्चा पनि गरेनन् । यो मानेमा बराल राई र लामाभन्दा पृथक छन् ।

जेहोस्, आफैँ जनयुद्धको अभियात्री रहेर त्यही जनयुद्धलाई विद्रूपीकरण गर्ने साहित्यकार ऋषिराज बराल, गङ्गा लामा र तारा राई हुन् भन्दा अत्योक्ति नहोला । यी तीनजनालाई समदूरीमा राख्नु अन्याय हुन्छ । कसैलाई ऋषिराजप्रतिको हदसम्मको पूर्वाग्रह भयो भन्ने लाग्न सक्छ । उनका शब्दचित्रहरू ‘फेरि लालभञ्ज्याङमा उभिएर’ र ‘सलाम रोल्पा’ लाई माओवादीविरुद्धको सामग्रीका रूपमा जो कोहीले पनि सजिलै ग्रहण गर्न सक्छन्, प्रयोग गर्न सक्छन् ।

नयाँ यथार्थमा रचित कृतिहरूको अवस्था
जनयुद्धकालमा युद्ध मैदानमा सयौँ क्रान्तिकारी साहित्य जन्मिएका थिए । युद्ध संस्करण, दैनिकी, चिट्ठी त्यसकालका सशक्त साहित्य हुन् । वास्तवमा संस्मरण, दैनिकी र चिट्ठी पनि साहित्य हुँदो रहेछ भनी स्थापित गर्ने नै जनयुद्ध हो । युद्धमैदानमा गोलीका पर्रा, बारुदको धुँवा, माइनका धक्कामा पनि उत्कृष्ट साहित्य जन्मिएका थिए । त्यसैले पुरानो सत्ताले साहित्यकार, कलाकारहरूलाई खोजीखोजी हत्या गर्ने, बेपत्ता बनाउने, यातना दिने गर्दथ्यो । कृष्ण सेन ‘इच्छुक’ को हत्या त्यही कारण गरिएको थियो ।

साहित्यिक क्षेत्रबाट उच्च बलिदान इच्छुकबाट भएको छ । उनको कविता, संस्मरण र चिट्ठीहरूले पुरानो सत्ता, पुरानो संस्कृतिमाथि धावा बोलेको थियो । नयाँ साहित्य र संस्कृतिको निर्माण गरिरहेको थियो । शारदा श्रेष्ठ, चुनु गुरुङ, अञ्जन विरही, चोपबहादुर डाँगी, हर्षबहादुर शाही, हरिश्चन्द्र श्रेष्ठ, शिव श्रेष्ठ, डी. कौडिन्य, डीबी थापाहरूका गीत, कविता, चिट्ठी, संस्मरण युद्धमैदानमा नै जन्मिएका थिए । जनयुद्धले जन्माएको वास्तविक साहित्यका हकदार यिनीहरू नै हुन् तर यिनीहरूबाट आख्यानहरू जन्मिन सकेन । यी राता ताराहरूको जनयुद्धकालमा नै भौतिकरूपमा अस्त भएको थियो ।

शान्तिप्रक्रियामा प्रवेशसँगै राजनीतिक वैचारिक पुस्तक प्रकाशनको लहर चलेजस्तै साहित्य क्षेत्रमा पनि लहर नै चल्यो । मूलरूपमा संस्मरण, कथा र उपन्यासहरू खुबै छापिए । हिजो सैन्य कमान्ड गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ को ‘कारावासभित्रका दिनचर्याहरू’, नन्दबहादुर पुन ‘पासाङ’ को ‘इतिहासको रक्तिम पाइला’, उमा भुजेलको जेलब्रेक स्मरणमा आधारित ‘बन्दपर्खालेदखि खुला आकाशसम्म’, अनिल शर्मा विरहीको ‘सम्झनामा भारतीय जेल’, सरला रेग्मीका कथासङ्ग्रहरू ‘चुँडाल्दै बन्धनहरू’, र ‘लालविधुवा’, उपन्यास ‘प्रवाह;, शोभा कट्टेलको ‘समरका स्मृतिहरू’, उदय चलाउनेको कथासङ्ग्रह ‘समर यात्रा’, संस्मरण ‘लालमोर्चाका किल्लाहरू’ र कवितासङ्ग्रह ‘युद्धमोर्चाका पदचापहरू’, झकबहादुर मल्लको ‘जेलब्रेक’, अजयशक्तिको ‘आँधीसँग खेल्दा’ प्रकाशनहरूले जनयुद्धलाई जस्ताको त्यस्तै बिम्बित गरेका छन् । संस्मरणमा शोभा कट्टेलको ‘समरका स्मृतिहरू’ उत्कृष्ट मानिन्छ तर कट्टेल अहिले आन्दोलनबाट विलोपित भएकी छिन् ।

जनयुद्धकालमा नै सशक्त कविता लेख्दै आएकी निभा शाहको कविता सङ्ग्रह ‘मनसरा’ उत्कृष्ट कवितासङ्ग्रह हो । यसमा जनयुद्धका परिवेशभन्दा पनि शान्ति प्रक्रियासँगै देखापरेका वैचारिक, राजनीतिक र व्यावहारिक विकृतिलाई उजागर गरेको छ । कवितामा शोभा दुलाल पनि सशक्त हस्ताक्षर हो । कथावस्तु र विषयवस्तु जिउँदोजाग्दो र सशक्त हुँदाहुदै पनि आलेखन, शिल्पशैली र प्रस्तुति सशक्त हुन सकेन । यति हुँदाहुँदै पनि यी लेखक र रचनाकारले जनयुद्धलाई सुन्दर बनाएका छन् । खेम थपलियाका ‘प्रगतिवादी एकाङ्की नाटक’ र ‘उनी मरेका छैनन्’ आदि महत्वपूर्ण आख्यानात्मक कृति प्रकाशित छन् भने तथा अशोक सुवेदीलगायत लेखकहरूले पनि लेखिरहेका छन् । यिनीहरूको नियत सफा छ । विचार, वर्गीय पक्षधरता बुलन्द छ तर यहाँ जनयुद्धका बारेमा तयार पारिएका आख्यानहरूका बारेमा मात्र छलफल गर्न खोजिएकाले कविता विधा र फुटकर लेखनका बारेमा समावेश गरिएन ।

जनयुद्धप्रति सहानुभूति राख्ने, जनयुद्धका पक्षमा कविता लेखिराख्ने दीपक पाठक (साहित्यिक नाम युग पाठक) ले एउटा तामाङ महिला मेन्दोलाई मुख्य पात्र बनाएर ‘उर्गेनको घोडा’ उपन्यास लेखेका छन् । यो उपन्यास जनयुद्धको कथावस्तुलाई लिएर लेखिएको उत्कृष्ट रचना हो । कथावस्तु, आलेखन, प्रस्तुती, शिल्पशैली आदि दृष्टिले यो उपन्यास राम्रो छ । यसले जनयुद्धलाई न्याय गरेको छ ।

तामाङहरूको राज्यलाई राज्यविस्तारका नाममा षड्यन्त्रमूलक तरिकाले हत्याएको यथार्थलाई मिथक पात्र र परिघटनालाई जोडेर दश वर्षको जनयुद्धसम्मलाई समावेश गरिएको छ यो उपन्यासमा । जनयुद्धले वर्गीय मुक्तिसँगै जातीय मुक्ति पनि गर्छ भन्ने सन्देश दिएको छ उर्गेनको घोडा । यसले काठमाडौँ उपत्यका वरिपरि जनयुद्धलाई पस्किएको छ । यो उपन्यास राम्रो हुँदाहुँदै पनि अलि बढी जातीय गन्ध आएको र अनावश्यक अलौकिकताको प्रयोग गरिएको आरोप युग पाठकलाई लगाइएको छ ।

जनयुद्धको विषयवस्तु र कथावस्तुका हिसाबले असाध्यै थोरै भए पनि आहुतिको ‘स्खलन’ उपन्यास पनि ठीक छ । यस उपन्यासमा संसदीय कम्युनिस्ट पार्टीका नेतामा आएको राजनीतिक, वैचारिक दिवालीयपन, व्यवहारमा देखिएको विकृतीकरणलाई उजागर गरेको छ । साथै, पुरानो सत्ताको शोषण, दमन र उत्पीडनमा परेको एकजना दलित युवाले आफ्नै पार्टीको नेताको भण्डाफोर गर्दै जनयुद्धमा लामबद्ध भएको देखाइएको छ । सानो आकार र जनयुद्धको कथावस्तु थोरै भए पनि सुन्दर र सशक्त रूपमा प्रस्तुत गरिएको छ ‘स्खलन’ ।

जनयुद्धलाई लिएर साहित्यिक क्षेत्रमा देखिएको चारवटा प्रवृत्तिलाई यहाँ सामान्य चर्चा मात्र गरिएको हो । पहिलो उनीहरू राजतन्त्रात्मक संसदीय व्यवस्थाका हिमायती हुन् । त्यसैले जनयुद्धको विरोध गर्नु, जनयुद्धलाई कुरूपता बुझ्नु उनीहरूको वैचारिक धर्म हो । दोस्रो नारायाण वाग्ले कर्पोटेरेट हाउसद्वारा सञ्चालित मिडिया हाउसका कामदार हुन् । नेपालको पत्रकारितामा एउटा पदावली जनबोली जस्तै भएको छ – साहुकारिता । पत्रकारितामा साहुकारिताको भूमिका रहन्छ भनिन्छ । जसको साहुकारिता कुशल र बढी भयो उसैको चमकदमक धेरै ।

यसका लागि शैक्षिक योग्यता, खोज, अनुसन्धान, अन्वेषणका विशेष दखल चाहिँदैन । यहाँ “साहु रिझाऊ, जीवन थमाऊ” को सिद्धान्त लागू हुन्छ । त्यसैगरी, गैरसरकारी संस्थाको जागिर पनि साहुकारिताबाट नै चलेको हुन्छ । डलर, पाउन्ड निकासी गर्ने मुग्लानीहरूको उद्देश्य र योजना बमोजिम रिपोर्ट बनाउने र बुझाउने सबैभन्दा सक्षम विकासे कार्यकर्ता हुन्छ । राधा पौडेल र नारायण वाग्ले दुईजना पात्रको साहित्य लेखन साहुकारिताको कोपभाजनमा परेको छ । तेस्रो कुरा, विश्व पुँजीवादी व्यवस्थाले आफूलाई दीगो र दीर्घजीवी बनाउनका लागि साम्राज्यवादी पुँजीवादमा केही नयाँ विशेषताहरू थपेको छ । जसरी राजनीतिलाई स्यामुअल हटिङ्टनको “शक्ति प्रकाशमा ल्याउनुहुँदैन, वाष्पीकरण हुन्छ ।” भन्ने विचारले मार्गनिर्देशन गरेको छ । र, यो निगम पुँजीवादी विचार हो ।

नेपालमा सामन्ती राजतन्त्रको अन्त्यपछि उक्त स्थानमा निगम पुँजीवादको प्रतिनिधित्व गर्दै दलाल पुँजीवाद सत्तासीन हुन पुगेको छ । ठीक त्यसैगरी, साहित्यमा पनि ‘सही तथ्य बाहिर ल्याउनुहुँदैन, यसले जनतामा प्रभाव पार्छ’ भन्ने विचारद्वारा निर्देशन गरिएको छ । जनयुद्धको उत्तराद्र्धमा एक्काइसौँ शताब्दीको सुरुमा नै यो विचार नेपालको साहित्यिक क्षेत्रमा प्रवेश ग¥यो । बीसौँ शताब्दीको मध्यतिरका उत्तरआधुनिकतावाद, भूमण्डीकरणहरूको स्थान अहिले यो विचारले लिएको छ । साहित्यमा निगम पुँजीवादले जमेर प्रभाव पार्न थालेको छ । निगम पुँजीवादले साहित्यिक क्षेत्रमा दक्ष र अति–दक्षहरूलाई पहिला सुविधा उपलब्ध गराउँछ । उनीहरूलाई उपलब्ध गराएको सुविधाका आधारमा आफैँले कथावस्तुको छनौट गरेर आलेखन तयार पारिदिन्छ । अनि अति–दक्ष लेखकलाई केवल प्रस्तुति, कला, शैली भर्न मात्र लगाउँछ । जसले गर्दा यस्ता साहित्यहरू उत्तरआधुनिकतावादी साहित्यभन्दा पनि कुरूप हुन्छन् तर पनि यिनै साहित्यहरू चर्चामा आउँछन्, पुरस्कृत हुन्छन् । पल्पसा क्याफे, छापामारको छोरो र खलङ्गामा हमला यी तीनवटा कृतिहरूले निगम पुँजीवादी साहित्यको उत्कर्ष प्रतिनिधित्व गर्छन् ।

जनयुद्धको सुरुआतसँगै यसलाई साहित्यिक क्षेत्रबाट कुरूप बनाई प्रस्तुत गर्न अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाको लगानीबाट वामपन्थी, प्रगतिशील भनी चिनिएका लेखकहरूलाई प्रयोग गरिएको थियो । त्यसपछि गैरवामपन्थी, गैरप्रगतिशीलहरूले जनयुद्धका विरुद्ध अभियान नै सञ्चालन गरेका थिए । यो प्रक्रिया जनयुद्धकालमा यो सुस्त, उदारतामा देखापरयो भने शान्तिप्रक्रियामा प्रवेशसँगै यो द्रूत र आक्रामक हुन थाल्यो । विगतका दश वर्षमा जनयुद्धविरुद्ध तयार पारिएका साहित्यिक रचनाले शतक गरेका छन् ।

उक्त दौडमा नेपालका इनेगिनेका पत्रकार, लेखक, सहचारी, आफूलाई वामपन्थी, प्रगतिशील भन्न रुचाउने मात्र होइन कि नयाँ यथार्थको वकालत गर्नेहरू पनि सामेल हुन आइपुगेका छन् । नेपालको साहित्यिक क्षेत्रमा देखापरेको यो परिघटना उदेक लाग्यो छ । तर, यथार्थ सामुन्ने नै छ । महान् जनयुद्धका विरुद्ध नयाँ यथार्थलाई स्वीकार नगर्नेहरूले विषवमन गर्नु कुनै आश्चर्य होइन । छद्म प्रगतिशील, मिहिन सुधारवादी वामपन्थीहरूले यथार्थको नाममा छलाङमय रूपान्तरणलाई आत्मसात नगर्नु पनि ठूलो कुरा होइन । यहाँ त आफूलाई खाँटी माओवादी भन्ने जनयुद्धमय अभियानको अभियात्री पनि हुनेबाट नै कुरूप बनाउनुलाई के भन्ने ? यसरी जनयुद्धको वैचारिक पक्ष, व्यवहारका क्रममा सिर्जित नयाँ संस्कार र संस्कृतिका विरुद्ध ३ पक्षबाट सोचविचारसहित आक्रमण भएको पाइन्छ । जुन अहिले पनि जारी छ ।

सन्दर्भ सामग्री
१. पल्पसा क्याफे, नारायण वाग्ले  २. छापामारको छोरो, महेशविक्रम शाह  ३. दुई शब्द, राधा पौडेल, खलंगामा हमला ४. अमेरिका राजनीति, साम्युअल हन्टिङटिन

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार