१.
युनाइटेड फ्रुट कम्पनी
बिगुल बज्यो जब
धर्तीमा सारा बन्दोबस्त मिलाइसकिएको थियो
ईश्वरले
कोकाकोला, एनाकोन्डा
फोर्ड मोटर्स र अन्य कम्पनीलाई
बाँडिदिए यो पृथ्वी ।
युनाइटेड फ्रुट कम्पनीले
आफ्ना लागि सुरक्षित र्गयो
सबैभन्दा रसिलो
मेरो देशको केन्द्रीय तट
अमेरिकाको नाजुक कम्मर ।
यहाँको भूभागलाई
कम्पनीले दियो नयाँ नाम– ‘बनाना रिपब्लिक’
र, निद्रामा लीन मृतकहरूमाथि
उद्विग्न नायकहरूमाथि
जसले दिलाए मुक्ति र महानता
र, गाडे झन्डाहरू
उनीहरूको चिहानमाथि
उसले खडा र्गयो हास्यास्पद नाचघर ।
कम्पनीले
उन्मूलन गरिदियो स्वतन्त्र राज्यहरूलाई
तिनका सामुन्ने राखिदियो सिजरका मुकुटहरू
म्यानबाट निकाल्यो ईष्र्या
र, लोभ्यायो झिङ्गाहरूको अधिनायकत्वलाई
अनेक अनेक झिङ्गाहरू
त्रुहियो जस्ता झिङ्गा, त्याचोजस्ता झिङ्गा,
कारियासजस्ता झिङ्गा, मार्तिनेसजस्ता झिङ्गा,
उबिकोजस्ता झिङ्गा
र, विनीत रगत र सुन्तलाको रसले भरिएका
ओसिला झिङ्गाहरू,
साधारण जनका चिहानमाथि
भुनभुन गर्ने मदहोश झिङ्गाहरू,
अनि, सर्कसका झिङ्गाहरू,
तानाशाहीमा उत्तम प्रशिक्षित बुद्धिमान झिङ्गाहरू ।
रक्तपिपासु झिङ्गाहरूको माझमा
कम्पनीले उर्तायो आफ्ना जहाजहरू
लुटेर लग्यो कफी र फलफूल
हाम्रो जलमग्न भूखण्डका खजाना
थालमा पोखिएसरी पोखिए उसका जहाजमा ।
यतिखेर, ठीक यतिखेर
इन्डियन आदिवासीहरू
बन्दरगाहका गुलिया भड्खालामा खसिरहेछन्
बिहानको कुहिरोमा
अन्त्येष्टिका निम्ति वेष्टित छन् उनीहरू ।
गुल्टिन्छ एउटा शरीर, एउटा वस्तु
जसको कुनै नाम छैन, कुनै पराजित मामुली मान्छे
फोहोरको खाल्डोमा फालिएको
मृत फलफूलको एउटा थुप्रो ।

२.
प्रश्न
बताऊ मलाई, गुलाब नाङ्गो हुन्छ
या, नग्नता उसको एकमात्र पहिरन हो ?
रूखहरू किन लुकाउँछन्
जराको कान्ति ?
कसले सुन्छ होला
चोरीको गाडीका पछुतोहरू ?
झरीमा उभिएको रेलभन्दा उदास
अर्काे के होला यो दुनियाँमा ?

३.
जलपरी र जँड्याहाहरूको दन्त्यकथा
पूर्णतः नग्न
उनी त्यहाँ आइपुग्दा
तिनीहरू त्यहीँ भित्रै थिए
रक्सी खाइरहेका उनीहरू तब थुक्न थाले
भर्खरै नदीबाट आएकी उनी
बुझ्दिन थिइन् केही पनि
बाटो भुलेकी मत्स्यकन्या थिइन् उनी
उनको चम्किलो देहमाथि बग्न थाले अपमानहरू
अश्लीलताभित्र डुबे उनका सुनौला स्तन
आँशुबारे अञ्जान उनी
रोइनन् आँशु झारेर
लुगाबारे अनभिज्ञ उनी
थिइन् निर्वस्त्र
जँड्याहाहरूले गोल र चुरोटका ठुटाले
बनाइदिए कालाम्य उनलाई
र, भट्टीको भुइँमा हाँस्दै–रमाउँदै लडीबुडी खेले
जलपरी केही बोलिनन्
किनभने उनीसँग थिएनन् शब्द
सुदूर प्रेमको रङ थिए उनका आँखा
श्वेत पुष्पराजले बनेका थिए उनका पाखुरा
सिपी प्रकाशमा चले उनका ओठ, मौन
र, अकस्मात्
भट्टीको ढोकाबाट निक्लिइन् जलपरी
नदीमा पसिन् र सुकिली भइन्,
झरीमा टल्कने सेतो पत्थरसमान
चहकिली भइन्
र, पछाडि नफर्की पौडिइन् पुनः
पौडिइन् शून्यतिर, मृत्युतिर ।

४.
तिम्रा खुट्टा
जब हेर्न सक्दिनँ म तिम्रो अनुहार
हेर्छु तिम्रा खुट्टा ।
गुम्बजाकार हाडका खुट्टा
कडा र साना खुट्टा ।
मलाई थाहा छ
तिमीलाई बोक्छन् तिनले
तिम्रो सुन्दर भार उभिएको छ तिनमाथि ।
तिम्रो कम्मर र तिम्रा स्तन,
र स्तनका बैजनी मुन्टा,
तिम्रा आँखाका खोपिल्टा
जो बगेका छन् भर्खर,
तिम्रो चौडा रसिलो मुख,
तिम्रो रातो चुल्ठो
मेरी सानी स्तम्भ !
तर, म माया गर्छु तिम्रा खुट्टालाई
मात्र, किनभने
मलाई नभेटुन्जेल
ती हिँडे
यस धर्तीमा
हावामा
र, नदीमा ।
अनुवादक – विनोदविक्रम केसी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार