
गणतन्त्र आयो भन्छन्
ठूलै चहलपहलका साथमा
गणतन्त्र दिवस मनाउँछन् पनि
गणतन्त्रको ठूलो हर्ष बडाइं गर्छन् पनि
यताको केही बर्षदेखि
उनीहरूले
केही मान्छेहरूले
विशिष्ट व्यक्तिहरूले
विशिष्ट शक्तिहरूले
यो मुलुकमा
आयो होला गणतन्त्र
उनको लागि
उनको एउटा बर्गको लागि
हृुँदा खानेको लागि होइन
हुने खानेको लागि
सुकुम्बासीका बस्तीमा खोई गणतन्त्र आएको
गरीब दुखीका झोपडीमा खोई गणतन्त्र आएको
खातेहरूको खातमा खोई गणतन्त्र आएको
दुर दराजमा
अन्कन्टारमा
खोई गणतन्त्र आएको
महल महलमा गणतन्त्र आएर के भो
गगनचुम्बी भवन भवनमा गणतन्त्र आएर के भो
शीतल निवासमा गणतन्त्र आएर के भो
सिंहदरबारमा गणतन्त्र आएर के भो
बालुवाटारमा गणतन्त्र आएर के भो
महाराजगंजमा गणतन्त्र आएर के भो
बल्खु दरबारमा गणतन्त्र आएर के भो
पेरिस डाँडामा गणतन्त्र आएर के भो
विदेशी प्रभुका साम्राज्यहरूका गणतन्त्र आएर के भो
आउन पर्ने ठाउँमा गणतन्त्र आएकै छैन
पुग्न पर्ने ठाउँमा गणतन्त्र पुगेकै छै्रन
लाहुर जानेहरूको संख्या कत्ति घटेको छैन
बरु बढेको छ दिन दुना रात चौगुना
हिजो बरु एउटा दुईबटा देशमा लाहुरा जान्छे मान्छेहरू
अहिले लाहुर नजाने देशै छैन
देशै विदेशिन थाले जस्तो देखिन्छ
गणतन्त्रको झण्डा बोकेर
गणतन्त्र नहुँदा बरु एउटा राजा थिए यो मुलुकमा
अहिले धेरै राजा भएका छन् यो मुलुकमा
यो देशका मान्छेहरू राजा भए पनि केही थिएन बरु
विदेशकै मान्छेहरू पनि राजा हुन थालेका छन् यो मुलुकमा
राजै राजाहरूको देश हुन थालेको छ गणतन्त्र
साँचा कुरा गर्ने हो भने
स्वदेशी मान्छेहरूको भन्दा पनि
विदेशी मान्छेहरूको गणतन्त्र हुन थालेको छ
यो देशका गणतन्त्र त
भष्मासुर हुन थालेको छ
यो देशको गणतन्त्र त ।
१५–२–०७४







