प्रिय अनामिका,
लामो समयपछि सार्वजनिक रूपमा तिम्रो नाममा लेख्दैछु । हाम्रो देश गलत नीति निर्माताको चङ्गुलमा परिरह्यो । हामी भाग्यमानी यस अर्थमा पनि रहेछौँ कि अक्षरमार्फत् हामी भावना साटासाट गर्न सक्छौँ । पछाडि फर्केर हेरौँ त अनामिका, दूरदराजका लाखौं बालबालिका स्कुलको मुख देख्नसम्म पाउँदैनन् ।

अनामिका तिमी युनिभर्सिटीमा अध्ययनरत । सहरले हाम्रा बालसुलभता अनि मैले सन्तुलनको एउटा पाटोबाट चियाएको मेरो आफनै संसार शायद मबाट टाढा लग्दै छ क्यार । म अलि पहिले बुर्जुवा डिग्रीलाई तिलाञ्जली दिई मुक्तियात्राको कठीन बामे सर्न थालेँ । म हिंडेको काँडे उवडखावड भएको बाटो अहिले निर्माणाधिन राजमार्ग भइसकेको छ । यही बाटो हुँदै भावी नेपालका सन्ततीहरू स्वाभिमान आरामदायी यात्रा गर्न पाउने कुरामा दुनियाँ ढुक्क छ ।

सहरको रमझमभन्दा गाउँले परिवेश प्रिय लाग्थ्यो र तिम्रो सहरले हिजो हाम्रो गाउँलाई जङ्गल उपनाम दियो । खुबै सास्ती पाइयो अनामिका । तिमी पनि झण्डै हाम्रो सहयात्रामा सरिक भइसकेकी थियौँ । दराे मनले देशको कर्तव्यलाई बिर्सेर बुबा–आमाको आदेश शिरोपर गरेर मात्रै हामी यति टाढा भयौँ । अहिले हामी र हाम्रो ४० औँ हजारको जनमुक्ति सेना सहरमै छ । म खुब खोज्छु कतै तिमी भेट हुँदैनौँ । मैले भर्खरै थाहा पाएँ सहरमा इमेल पुराना भई जिमेलको चलन लोकप्रिय भइसकेछ तर पनि … ।

अनुशासनहीन विल गेट्सलाई स्कुलबाट पढ्न बञ्चित गरिएको विद्यार्थीलाई माइक्रोसफ्टको विश्व नं.एक धनी बनाएपछि पुँजीवादले नेपाली ग्रामीण भू–भाग र हामी पढेका स्कुलमा विन्डो भनेपछि कम्प्युटरको छेकछन्द नै पाउँदैनन् र प्रश्न दोहोरयाएमा पाँच मिनेटपछि पाँच कक्षा पढ्ने विद्यार्थीले ‘विन्डो माने झ्याल’ भनेर जवाफ दिन्छ । यसपालीको प्रवेशिका परीक्षामा अङ्ग्रेजी धेरै ग्रामीण परीक्षार्थीको बिग्रेछ । कारण एउटै के हो भने गाउँघरका सरकारी स्कुलमा चार कक्षामा अङ्ग्रेजी पढाइ सुरु हुन्छ ।

पढाइ पढ्न पनि सहरको जस्तो सूचना प्रविधिबाट विद्यार्थीलाई गाउँमा आकर्षित गरिन्न । गैरसरकारीले संस्था खुब दयावान बनेर डलर लिएर गाउँमा डेरा जमाएका छन् । एउटा गैससले महिला साक्षरता बढाउन २५० वार्षिक भत्ता दिन्छन् । खुब हौसिएका छन् अनामिका गाउँका गरिब आमा–छोरीहरू पढाउन । आमाहरूका सपना छोरी डाक्टर बनाउने छँदैछैन किनभने तिनका बैङ्क खातामा २० लाख छैन । के कारणले छोरी पढाउन पठाउँछन् भने त्यही २५० को वार्षिक बजेटले आमाका लाजहरू छोप्न एकथान पेटीकोट किनिनेछ ।

अनामिका यो कस्तो विडम्बना हाम्रै पुर्खाको हड्डी र हाम्रै रगत पसिनाले खडा भएको नारायणहिटीका नारीका कोमलाङ्ग छोप्न तीनलाखका दरले एउटै खेपमा पोहरसाल १८ थान सारी भित्रिए । दरबारका ठाटबाँठ मिलाइदिने राजनीतिक पार्टीहरूका ऐसआरामका फेहरिस्त यहाँ उल्लेख गर्न असमर्थ छु । कुनै प्रसङ्गमा फेरि लेखौँला तर एउटा कुरा लेखिहालौँ । भोलि हामी रहौँला वा नरहौंला । देश यस्तै अबश्य रहनेछैन । समृद्धशाली देश बनेमा अहिलेका शब्दचित्र जस्ताको तस्तै अर्को पिढींलाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो ।

अबका दिनमा पनि पुरानै राजनीतिक फेहरिस्त खेल हुन्छ र माओवादीहरूले कार्तिक २२ को समझदारी र मङ्सिर पाँचको बृहत् शान्तिसम्झौतालाई कमजोरीको अर्थमा लिएमा देश भयानक रसातलमा जानेछ । अबको जिम्मा सहरमा बस्ने अनामिका र अनामिकाहरूको अरू बढेर गएको छ ।

लेखक

हामो महाअभियानले गाउँघरको समूल परिवर्तन त गरेको छैन तर सदियौँदेखिका दासताका साङ्ग्ला चुँडालिएका छन् । हाम्रै पल्लो गाउँको कालेकामी अहिले जनमुक्ति सेनाको कमान्डर भएको छ । थाहा छ अनामिका एक दिन धारो छोएको नाममा साहु बाजेले कालेलाई रामधुलाई गरेको । समय बलवान हुँदो रहेछ । कालेकामी कमरेड भनेर सम्बोधन हुन्छ । साहु बाजे आजभोलि उक्त कमरेडको तलुवामा पनि सुहाउँदैनन् । यस्ता कुरामा तिम्रो उहीले पनि चासो रहेन अहिले पनि गन्थन लाग्न सक्छ तर मैले आशा मारेको पटक्क छैन अनामिका । तिमीभित्र जाज्वल्यमान प्रकाश छ र म खै किन त्यस प्रकाशले संसारको एउटा कुना प्रदीप्त बनाउ“छ भनेर अझै पर्खेर बसेको छु ।

तिम्रो विद्रोह तिमीसँगै पढ्ने तिम्री सङ्गिनीलाई बालक उमेरमै जबर्जस्ती विहा गराइदिने बेला उजागर भएको थियो । तिमी झिनो स्वरले बोल्यौ मात्र, दृढतापूर्वक लागेनौ । तिमी सहर जाने धुनमा थियौ । तिम्री सङ्गिनीको जबर्जस्ती विहा भयो तर सुहागरातकै दिन उनले घर छोडिन् आत्महत्या गर्न । संयोगले माओवादी छापामार भेटिए । अहिले उनी अस्मिता नामले चिनिन्छिन् । ठूलै कमान्डर छिन् ।

थाहा छ अनामिका, उनको नाम अस्मिता किन रहन गयो ? युद्धमैदानबाटै गिरफ्तार पर्छ आठजना बैरीहरूले उनको अस्मिता लुटे । यसरी उनी अस्मिता भइन् । थुप्रै लडाइँमा उनले गोली निलिन् । अझै राती चिसोमा चिच्याउँछिन् । पेटमा गोली जिउँदै छिन् । सायद फलामका च्यूरा खाने जात भनेको क्रान्तिकारी नै हो अनामिका । कृपया दुःख नमान्नु तिम्रा गेलाइहरूको प्रस्ट नाप दिने कसिएका सलवारभन्दा मलाई कम्ब्याटधारी अस्मिताहरू नै मन पर्छन् । हो तिमीले सूचनाप्रविधिबारे केही थाहा पाउ“दैनन् तर यो संसार बदल्ने आँट र हिम्मत बोकेका छन् ।

अनामिका यस बेला मात्र शान्तिको कुरा गरेर फुर्सद साथ बस्न हुँदैन । शान्तिको परेवा मै हुँ भन्ने जर्ज बुस हेर्दा हेर्दै पाँचलाखभन्दा बढी इराकी भुटिसक्यो । मोरियार्टीका शब्दवाण अझै खतरामुक्त छैनन् । हो राजनीतिक निकास एक हदसम्म भएको छ । ढुक्क बस्न हुँदैन । नेपाली आकासमा बाजहरू उडेकै छन् । ती मौका परे हाम्रै आ“गनमा अबतरण भै जे पनि गर्न सक्छन् । यो सामान्य देश हुँदै हैन ।

यसो हेरौँ त, सगरमाथा र लुम्बिनी हाम्रैमा । फेरि भर्खर मात्र यस युगको शान्ति सन्देश फेरि पनि हामीले नै दियौँ । यसलाई सार्थक परिणतिमा पुरयाऔँ ।

अनामिका खै किन तिम्रो प्रतीक्षामा सधैँ बसिरहुँझैँ लाग्छ । मनको कुनकुनामा कसरी बसिछौ थाहै पाएन । नयाँ नेपाल निर्माणको यस पूर्वसन्ध्यामा हामी हातेमालो गरी पहिले देशलाई पूर्ण मुक्त गरौँ । सहरको मोर्चामा तिम्रो असाध्य ठूलो महत्व रहनेछ । हाम्रो सामिप्यताको सन्दर्भमा तिमीले तिम्री सङ्गिनी अस्मिताको रक्तरञ्जित कम्ब्याट पोशाकलाई भने मन पराउनु नै पर्छ । के गर्ने ? नचाहँदा नचाहँदै अनामिका तिमीलाई यो सर्त राखेँ है । माफ गर । युद्धको भिन्दै मोर्चामा बाँचेछु भने फेरि लेख्ने वाचा गर्दै लाल सलाम !

२०६३, मङसिर १०

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार