मर्नलाई काल आउनुपर्छ भन्थे साँच्चै हो रैछ’ वैदेशिक रोजगारीको प्रसङ्ग कोट्याउने वित्तिकै बर्मलाल लुईटेलले पीडा सुनाउन थाल्नुभयो ।  उहाँका कुरा सुन्दा लाग्थ्यो वैदेशिक रोजगारीले उहाँलाई पीडा बाहेक अरु केही दिएन ।

१६ वर्ष अघि विदेश जाने बेलामा खोटाङको निर्मलीडाँडा–५ बर्मलाल २५ वर्षको हुनुहुन्थ्यो । उहाँका सपना मलेसिया र खाडीका देश जाने अरु नेपालीका भन्दा फरक थिएनन् । कमाएर परिवारलाई खुशी र सुशी राख्ने । बर्मलालको पहिलो विदेश यात्रा थियो कतारको ।

पानी ट्याङ्की बनाउने काम पाएका बर्मलालको कमाई राम्रो थियो । त्यसैले ३ पुग्दा पनि सम्झौता थपेर केही वर्ष अझै बस्ने योजना बनाउनुभएको थियो उहाँले । तर श्रीमतीले ३ वर्षकी छोरीलाई छोडेर दोस्रो विहे गरेको खबर पुगेपछि घर फर्किनुभयो । छोडेर गएकी श्रीमतीले बर्मलालले त्यतिञ्जेल पठाएको पैसा पनि सँगै लिएर गइन् ।

केही समय एक्लै बसेका बर्मलाललाई गाउँले अब बिहे गरेन भने छोरीको बिजोक हुन्छ भनेपछि उहाँले दोस्रो विहे गर्नुभयो । परिवार पहिलेको जस्तै भयो । परिवार चलाउने कमाउने माध्यम थिएन् । त्यसैले छोरीलाई कान्छी आमासँग छोडेर बर्मलाल दोस्रो पटक कामका लागि दुवई जानुभयो ।

उहाँ दुवई पुगेको केही महिनामा दोस्री श्रीमतीबाट पनि छोरी जन्मिइन् । ‘त्यतिबेला मलाई अब त मेरो परिवार राम्रो हुन्छ भन्ने आशा थियो ।’ त्यसैले छोरीहरुको हेरविचार गर्नु भन्दै पैसा पठाउनुहुन्थ्यो ।‘तर सोचे जस्तो कहाँ हुन्थ्यो र’ बर्मलालका कुराले उहाँको परिवारमा फेरि समस्या आयो भन्ने अड्कल काट्न मुस्किल थिएन ।

बर्मलाललाई दोस्रो श्रीमतीले पनि साथ दिइनन् । दुवईमा हुँदै श्रीमतीका बारेमा गाइँगुइँ हल्ला त सुन्नुभएकै थियो तर श्रीमान विदेश गएका श्रीमतीहरुलाई लगाइने यस्ता आरोप उहाँलाई झुठा हुन्छन भन्ने लाग्थ्यो । त्यसैले एक कानबाट सुनेर अर्को कानबाट उडाइदिनुहुन्थ्यो । तर दुई वर्षपछि दुवईबाट फर्किएका बर्मलालको विश्वास झुठो भयो । अनि उहाँले झुठो भन्नुभएको हल्ला चाहिँ साँचो ।

किनकी उहाँ फर्किंदा दोस्री श्रीमती पनि १८ महिनाकी छोरी छोडेर  अर्कैसँग हिँडिसकेकी थिइन् । त्यसपछि त उहाँ वैवाहिक जीवनबाट विरत्तिनु पनि भयो । त्यसैले केही समय मात्रै बसेर उहाँ मलेसिया जानुभयो । ‘घरमा बसौं कुनै कमाइ छैन त्यो भन्दा अघि कमाएको पैसा त्यस्तै भएर सक्किहाल्यो’ तेस्रो पटक पनि विदेश नै रोज्नुको कारण सुनाउनुभयो ।

‘मेरो काल आको रैनछ’

कतार र दुवईको बसाई परिवार विखण्डन हुँदा पीडादायक भयो तर मलेसियामा भने उहाँले पाउनु दुुःख पाउनुभयो । मलेसियामा उहाँले टिभीको पाटपूर्जा बनाउने प्लाष्टिक कम्पनीमा काम गर्नुहुन्थ्यो । तर भनेको जस्तो कमाई भएन् । त्यसैले गएको ३ वर्षपछि अवैधानिक भएर काम गर्न थाल्नुभयो । त्यही क्रममा उहाँ जेल पर्नुभयो ।

जेल बस्दा पेटभरी खान नपाउनु र खाली सिमेन्टमा सुत्नु नै उहाँका लागि सबैभन्दा ठुलो सजाय भयो । ‘जेलमा हुञ्जेल कहिल्यै पेटभरी खाइएन । बिहान चिनी बिनाको चियासँग दुई गाँस पाउरोटी दिन्थ्यो । अनि खाना पनि नापेर त्यसैले भोकै नमर्ने’ जेलमा बिताएका नौ महिना सम्झिँदा केही भावुक भएका बर्मलालले भन्नुुभयो ‘ सुत्नका लागि खाली सिमेन्टमा एउटा कम्बल दिन्थ्यो त्यो ओड्नु कि ओछ्याउनु ।’

त्यतिबेला उहाँले आफू बाँचेर घर फर्किने आश पनि मार्नु भएको थियो । ‘तर मेरो काल आको रैनछ’ बर्मलाल भन्नुहुन्छ । ६ महिनापछि अब जेलबाट निस्किन पाइन्छ भन्ने खबर सुनेका बर्मलालले इमिग्रेसनको टिकटका लागि ३ महिना कुर्नु पर्यो ।

नौ महिनापछि जेलबाट निस्किएर घर फर्किने निधो त गर्नुभयो तर कमाएको पैसा घरमा पठाइसकेकाले उहाँसँगै पैसा थिएन । नेपाल पठाइदिने भन्दै दलालले ४५ हजार रुपैयाँ माग्यो तर उहाँसँग आफूले लगाएको लुगा बाहेक अरु केही थिएन् । त्यसैले उहाँले मलेसियामा भएका साथीहरुसँग ऋण लिएर नेपाल फर्किनुभयो ।

मलेसियाबाट फर्किएपछि वैदेशिक रोजगारीबाट दिक्दार भएका बर्मलाल खेती गर्नतिर लाग्नुभयो । तर एक्लै खेती गर्नु भन्दा पनि आफन्त र गाउँलेका अनेक थरीका कुरा सुन्न धेरै समस्या थियो उहाँलाई । त्यसैले तेस्रो विहे गर्नुभयो ।

उहाँ मलेसियाबाट फर्किएको डेढ वर्ष मात्रै भयो । अहिले उहाँ गाईगोरु किनबेचको काम सँगै खेतीपाती गर्दै हुनुहुन्छ । दुवई र मलेसियाबाट पठाएको पैसाले श्रीमतीले ऋण पनि नतिरिदिएपछि खेतीपाती र व्यापारबाट कमाएर तिर्नुभएको छ । अब यही कामलाई व्यावसायिक बनाउने योजनामा हुनुहुन्छ ।

अन्जु राई/खोटाङ, उज्यालोबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार