भारतका केही प्रचारमाध्यमले प्रजातान्त्रिक जनगणतन्त्र कोरिया अर्थात् उत्तर कोरियालाई तेस्रो विश्वका देशहरूले संरा अमेरिकी आक्रमणलाई विरोध गरेजस्तै, सरापेजस्तै किन गरेका होलान् भन्ने जिज्ञासा नेपाली जनमानसमा देखिंदैछ ।

प्रजग कोरियाको विरोधमा संरा अमेरिकाले दक्षिण कोरियामा प्रतिकारको निम्ति थाड(THAAD)को नाउँमा अत्याधुनिक शस्त्रको संयन्त्रको स्थापनाको विरोधमा दक्षिण कोरियाली जनताको विरोध हुँदैछ । जापानी जनता पनि अमेरिकी रक्षा प्रणालीको स्थापनाको विरोधमा छन् ।तर भारत एक तेस्रो विश्व र एसियाली मुलुक भएर अमेरिकी साम्राज्यवादले जस्तै प्रजग कोरियाको किन यत्रो विरोध गर्दैछ ?

भारत र अन्य देशका समाचारहरूको भनाइमा प्रजग कोरियाको हातहतियार वा सैनिक सम्बन्ध इराक, इरान, लिविया, सिरिया, पाकिस्तान आदि देशसँग छ । इराकमाथि पर्सियाली खाडीबाटै झण्डै २५० किलोमिटर टाढा अमेरिकी लडाकू युद्धपोतबाट हमला गरेको थियो । बग्दादमाथि निरन्तर अमेरिकी आक्रमण गर्दा मित्र राष्ट्रहरूले इराकलाई आक्रमण गर्ने अमेरिकी युद्धपोतमाथि नै प्रत्याक्रमण गर्ने सल्लाह दिएका थिए । त्यसबारे राष्ट्रपति सद्दाम हुसेनले आफ्ना माथिल्ला स्तरका सेना नायकहरूसँग सल्लाह गर्दा त्यसको परिणाम आणविक हमला हुने राय दिएको सुनियो । आफ्ना माथिल्ला सेना नायकहरू, गुप्तचर विभाग र कर्मचारीतन्त्र समेत देश र जनताप्रति बफादार नभएको र आत्मसमर्पणवादी भएको अनुमान गरी राष्ट्रपति सद्दाम हुसेनले राइफल उठाएर अमेरिकी आक्रमणको विरोधमा लड्ने प्रतिकात्मक सन्देश दिएका थिए र राष्ट्रपति भवनको भुइँमा लेखिएको पिता बुशको तस्वीर कुल्चिंदै अगाडि बढेको देखाइएको थियो ।

इराकी समाजवादी युवाहरूले २–३ वटा ब्यारेकबाट हतियार लिएर अमेरिकी आक्रमणको प्रतिकारको निम्ति सङ्घर्ष गरेका थिए । स्थिति छिट्टै नियन्त्रणमा राख्न, इराकी जनतामा सद्दाम हुसेन र बाथ पार्टीको प्रभावलाई समाप्त पार्न अमेरिकी गुप्तचर विभाग (सीआईए) को निर्देशनमा सद्दाम हुसेनका शालिकहरू ढालिए र बग्दादका सङ्ग्रहालयहरू लुटिए, सद्दाम हुसेनलाई औषधि खुवाएर बंकरमा राखी अदालतको नाटक गरी अमेरिकी साम्राज्यवादले सद्दाम हुसेनको हत्या ग¥यो । इराकको वास्तविकता यस्तो नहुँदो हो त आजसम्ममा इराकको समस्या समाधान भइसक्ने थियो । तर त्यो भएन ।

अमेरिकी हस्तक्षेप र आक्रमणको विरोध गर्ने लिवियाका राष्ट्रपति मोहम्मर गद्दाफीलाई पनि अमेरिकी गुप्तचर विभागकै निर्देशनमा विश्वासघात गरी हत्या गरिएको थियो । आज जसरी रुसले सिरियाको पक्ष लिएको छ, त्यसरी इराक र लिवियाबारे रुस मौन नबसेको भए मध्यपूर्वको यो विभत्स स्थिति विश्वले हेर्नुपर्ने थिएन भन्ने अनुमान बुद्धिजीवीहरूमाझ चर्चाको विषय छ ।

अफ्गानिस्तानको आगोबाट पोलेको हात लिएर अमेरिकी साम्राज्यवाद भारतको दक्षिणपन्थी शक्ति भाजपा र मोदीलाई साथ लिएर एसियामा नयाँ युद्धको आगो झोस्ने तरखरमा छ । संरा अमेरिकासँग भारतले खरिद गरेको हातहतियार, आणविक सम्झौता र विशाखापट्नममा अमेरिकी जलसेनाको उपस्थिति आदिले अमेरिकी साम्राज्यवाद दक्षिण एसियामा नयाँ उपद्रव गर्दैछ भन्ने सङ्केत गर्छ । प्रजग कोरियाले ६० वर्षसम्म आफूलाई नाकाबन्दी गरेको र शान्ति सम्झौता नगरी कुनै पनि बेला आक्रमण गर्ने उद्देश्यले गरेका दक्षिणसँगको अनेक युद्ध अभ्यासहरूको कारण देशको स्वतन्त्रता, सार्वभौमिकता र कोरिया प्रायःद्वीपको विना विदेशी हस्तक्षेपले पुनःएकीकरण गर्न ‘जस्तालाई तस्तैको नीति’ लिने निर्णय गरेको देखियो ।

सधैं अरुमाथि आक्रमण गर्दै रहने र आफ्नो क्षेत्र सुरक्षित राख्ने अमेरिकी साम्राज्यवादको जालसाजीको विरोधमा अमेरिकी सैनिक अखडा गुआममाथि हमला गर्ने घोषणा गरेर हिंस्रक पशुलाई उसको गुफाबाट निकाल्ने रणनीति प्रजग कोरियाले लिएको देखियो । अमेरिकी साम्राज्यवादले सद्दाम हुसेन, मोहम्मर गद्दाफी र विन लादेनलाई जस्तै प्योङयाङमाथि अचानक हमला गरी किम जोङ उनलाई हत्या गर्ने योजना बनाएको अनुमान गर्न सकिन्छ । भारतका जी न्यूज, आजतक, एबीपीजस्ता प्रचारमाध्यमले ‘तानाशाह’ को रुपमा किम जोङ उनको विरोधमा विषवमन गर्नु अमेरिकी गुप्तचर विभागकै प्रचारयन्त्रको संयन्त्रभित्र परेको अनुमान गर्न गा¥हो छैन ।

केही अमेरिकी जासुसहरू उत्तर कोरिया पु¥याएर अनेक अन्तरध्वंशको तानाबाना बुन्नु र एकप्रकारको सन्काहा, अराजक र वचनको कुनै ठेगान नभएको ट्रम्पलाई सत्तामा ल्याउनु अमेरिकी साम्राज्यवादको युद्धको तयारी लुकाउने एक छलछाम र धुँवाको पर्दा हो । प्रजग कोरियामाथि भारतीय प्रचारमाध्यमले गरेको विषवमन सम्भवतः भारतीय स्वतन्त्रता आन्दोलन र अमेरिकी साम्राज्यवादले जापानको हिरोसिमा र नागासाकीमा अणुअस्त्र बर्साउदा समेत यस्तो अमेरिकाको विरोधमा प्रचार युद्ध चलाएको थिएन होला ¤ भारतका ती प्रचारमाध्यमले हल्ला गर्दैछन् – प्रजग कोरियाको एक–चौथाइ जनता भोका छन् । त्यहाँको २० हजार सेनालाई हत्या ग¥यो, उत्तर कोरिया संसारबाट एक्लिंदै छ आदि । तर भारतको आधा जनसंख्या एक छाकमात्र खान पाउनेबारे प्रचारमाध्यम मौन छन् ।

वर्षको २६०० यात्रु रेल दुर्घटनामा मर्छन्, वर्षको १ लाख ३६ हजार भारतीय जनता गाडी दुर्घटनामा मर्छन्, भारत संसारमा सबभन्दा बढी किसानहरूले आत्महत्या गर्ने देश हो, संसारमा सबभन्दा बढी बलात्कार हुने तथा धार्मिक र अन्य साम्प्रदायिक दंगा–फसाद हुने देश हो । प्रजग कोरिया संसारमा एक्लिएको छैन । बरु संसारका सबै शोषित र पीडित देश र जनताको समर्थन प्रजग कोरियालाई छ । आणविक युद्धको तयारी प्रजग कोरियाले गरेको होइन, अमेरिकाले गर्दैछ र प्रजग कोरियाले पनि विनासूचना पहिलो हमला गर्ने घोषणा गरेर अमेरिकी साम्राज्यवादलाई हाँक दिएको छ । यसकारण आणविक खलनायक उत्तर कोरिया होइन, संरा अमेरिकी साम्राज्यवाद हो ।

आफ्नो देशको रक्षा गर्ने अधिकार सबैलाई छ । यसकारण कोरियाली प्रायःद्वीपको समस्या समाधान संरा अमेरिकाको आणविक धम्कीले होइन, बरु प्रजग कोरियासँग शान्ति सम्झौता गर्न वार्ता सुरु गर्नु आवश्यक छ । सत्य के हो भने खुकुरीले फर्सी काट्छ र खसी पनि काट्छ तर ढुंगा काटिन्न ।

बेलायती लेखक जोन्सले भनेका थिए – ‘दण्डा र तोपले अरुलाई सधैं लुट्न सक्दैन, एक दिन अरुले पनि हामीलाई (साम्राज्यवादीहरूलाई) तोपको गोला देखाएर खेद्नेछ ।’ आज संरा अमेरिका र प्रजग कोरियाको स्थिति त्यस्तै छ ।

अनलाइन मजदुरबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार