एउटा रुसी उपन्यासमा कहिलेकाही पीडा सहनुपनि खुशीको थालनी हो भनेर लेखिएको थियो । आज हामी दुःख, पीडा र अप्ठ्याराहरु पार गर्दै नेपाली क्रान्तिका लागि मेहनत र दुःख गरिरहेका छौं ।

धेरै पीडा सहँदै क्रान्तिको यात्रामा छौं । यस मानेमा सहयोद्धा, सहकर्मी कमरेडहरु यसरी सँगै हुन पाउँदा खुशी लागेको छ । दुःख, कष्ट र पीडाहरु पचाएर जनताको अधिकार, राष्ट्रको स्वाधीनताको पक्षमा उभिँदै क्रान्ति सम्पन्न गर्न देशभक्त राष्ट्रवादीहरु एकै ठाउँमा हुँदा निश्चय नै खुशीको क्षण हो । यसैबाट सुखीको थालनी भएको छ भन्ने कुरा अनुभूति भएको छ । आन्दोलन, क्रान्तिको आफ्नै नियम, प्रक्रिया हुन्छ । हामी यहाँ पुराना साथीहरु हिजोका दिनमा जहाँ जता रहेक तापनि आज यो क्रान्तिकारी बुभ्रविकरण अभियानमा सँगै भएका छौं । उभिएका छौं । यो पनि खुशीकै विषय हो । धु्रवीकरण अभियानमा सहभागी नेता कार्यकर्ता कमरेडहरु शोषित, पीडित जनता र सिंगै हाम्रो पार्टीको तर्फबाट तपाईहरुलाई अभिवादन र स्वागत गर्न चाहन्छौं ।
क्रान्तिकारीहरुको एकै ठाउँमा जुट्दा धेरै भावनाहरु मिसिएका छन् । मिसिनु पनि पर्छ । हामी नेपाली उस्तउस्तै जीवनबाट गुज्रिएर आएका मान्छेहरु हौं । विभिन्न समुदाय, वर्ग, क्षेत्रबाट कष्ट खेप्दै, दुःख पार गर्दै, खराब तत्वविरुद्ध लड्दै, भीड्दै यहाँसम्म आइपुगेका छौं । क्रान्तिका गर्न जुटिरहेका छौं । भावनाहरु पोखिएका छन् । धु्रवीकरणबाट आउनुभएका कमरेडहरुले जसरी भावना, पीडा र क्रान्तिकारी विचार राख्नुभयो, त्यसप्रतति मेरो र पार्टी केन्द्रको पूर्णरुपमा सम्मान छ । हामीसँग कयौं रमाइला र पीडा बोधका क्षणहरु छन् । सबै कमरेडहरुले सबै कुरा छाडेर क्रान्तिका गर्न क्रान्ति खोज्दै आएँ भन्नुभयो, त्यो खुशीको कुरा हो । हामीले गरिरहेका कामले क्रान्ति भनेको यही हो भन्ने पत्ता लाग्ने चाहिं गरिएछ भन्ने कुरा आज एकपटक पुष्टि भएको छ ।
क्रान्ति के हो ? भन्ने कुरा मान्छेमा गड्नु, बोध हुनु चानचुने विषय होइन । सबैको पहलले नै यो परिस्थिति बनेको हो । क्रान्ति खोज्ने र गर्ने जोकोहीलाई बिना भेदभाव क्रान्तिमा सहभागी र हामफाल्ने गराइन्छ । गर्दैनन् कि, हुँदैन कि भन्ने शंका गर्नुको अर्थ छैन । नेपाल र नेपाली जनताको भविष्यका लागि एउटै ठाउँमा रगत बगाउन तयार भएका छौ । जनताको अधिकारका लागि तलमाथि, दायाँबाँया, पक्षपात भन्ने हुन सक्दैन । गरिँदैन । क्रान्तिमा सबैलाई समेटेर लैजाने कुरामा दुई मत छैन ।
बुद्धिजीविहरु सहभागी नभएको क्रान्ति सफल हुन गाह्रो हुन्छ । क्रान्ति गरिब, मजदुर वा श्रमजीविहरुको मात्र हो भन्ने तर्क गलत छ । यो होइन, वैचारिक रुपमा ज्ञानको ज्योतिबाट प्रज्वलित गर्दै बौद्धिकताको हिसाबबाट सबलाई बोध गराएर, आफ्नो हो भन्ने बनाएर सम्पन्न गर्ने कुरा हो । माक्र्स मेधावी बुद्धिजीवि थिए । लेनिन, माओ सबै क्रान्तिकारीहरु उच्च कोटीका बुद्धिजीवि नै थिए । त्यसकाण प्रोफेसर, शिक्षक, विद्यार्थी, बुद्धिजीवि सबै नेपाली क्रान्तिमा हामफाल्न जरुरी छ । समयको हिसाबले कोही ढिला, कोही चाँडो सहभागी हाुलान्, तर क्रान्तिलाई सबै तह र तप्काबाट साथ दिनु ने महान हो । पहिले हामी जुटेर जनयुद्ध लडेकै हौं । लड्यौं । अपवादबाहेक सबै मोर्चा जित्यौं पनि । तर तत्कालीन
नेतृत्वको गद्दारीका कारण नेपाली क्रान्ति बीचमै रोकियो । क्रान्तिमा धोका पुग्यो । धोका खाएर अधुरो रहेको क्रान्ति सम्पन्न गर्न जुटेका छौं । अन्तिममा फेरि सँगसँगै जाने कुरामा एक मत भएका छौं ।
हेर्नुस्, देशलाई नबद्लेसम्म कुनेपनि नेपालीको भविष्य छैन । यहाँ जोखिम कमरेडले मार्मिक कुरा राख्नुभयो । उहाँकै कुरा गर्नुपर्दा जनयुद्ध लड्दै गर्दा उहाँको एउटा रमाइलो घटना भाथ्यो । सानै उमेर । भर्खर बाह्रतेह्र वर्षको विद्यार्थी हुनुहुन्थ्यो । युद्धकै बेला हामीसँगै बाटो हिँड्दै गर्दा जहिल्यै ‘कै गरी लड्न्यौ त कामरेड (कालिकोटे भाषा) ?’ अर्थात कसरी लड्ने हो त कमरेड भनेर सोध्नुहुन्थ्यो । त्यो भनेको क्रान्तिप्रतिको चिन्ता हो । त्योे चिन्ता अहिले पनि छ । धोका खाएको क्रान्तिलाई सफल कसरी बनाउने विषयमा चिन्तन अझ धेरै गर्नुपर्छ । उहाँको घरमा जनयुद्धका सार्थीहरु धेरै बस्यौं । खायौं । त्यही क्रममा जनुयुद्धमा यति धेरै मेहनत गरियो कि कुरा गरिसाध्य नै छैन । एकपटक जोखिम कमरेडसहितको हाम्रो टोली बाटो हिडिरहेका थियौं । उहाँले आफूले लगाउने सुरुवालको एउटा खुट्टामा सातु बाँधेर बोक्नुभएको रहेछ । बीच बाटोमा प्रहरीसँग भेट भइहाल्यो, लडाइँ परिहाल्यो । प्रहरीका घेरा तोडेर भीरबाट हामफालेर उहाँ उम्किनु भएछ । त्यसक्रममा साथ बोकेको सातु चाहिं छोडिएछ । पछि प्रहरीले त्यो पोका भेट्टाएर सदरमुकाम मान्मामा पुर्याएछन् । खोलेर हेर्दा भित्र सातु फेला परेछ । त्यसपछि त्यहाँका कमाण्डरले भन्यो रे, यो मान्छेलाई त मार्नु हुँदैन, त्यति दुःख गरेर लड्ने माओवादीसँग अब सकिन्न भन्दै ती कमाण्डरले सहानुभूति जनाएछन् । अब माओवादीसित लडेर पार लाग्दैन भन्ने परेछन् । त्यो अवस्था अहिले झन् बलियो बनेर आएको छ । सरकारका सुरक्षा फोर्सका कमाण्डरहरुलाई यो कुरा राम्ररी सम्झाउनु बुझाउनु पर्छ । मेहनतसाथ बुझाउन गर्नुपर्छ ।
मान्छेमा क्रान्तिप्रति दृढता अनिवार्य चाहिन्छ । त्यो दृढता हामीसँग छ ।
त्यो बेलाको माओवादी भनेका क्रान्तिप्रति प्रतिवद्ध, दुःख, पीडालाई कुल्चेर हिड्ने, जनतासँगै खाने, बस्ने, श्रम गर्ने, जहिल्यै सँगै हुन्थ्यौं । जो जतासुकै रहेपनि सम्झिनुपर्ने कमाण्डरहरु अहिले पनि छन् । फोन गर्छन् । क्रान्तिबारे सोध्छन् । तिमध्ये जोखिम पनि जनमुक्ति सेनाका एक सक्षम कमाण्डर हुन् । आज हामीसँगै भएका छौं । खुशी भएका छौं । जे गर्या हुन्छ, जे भन्या हुन्छ, त्यो चाहिन्छ मान्छेलाई । क्रान्तिको डोज पुग्ने गरी गर्नुपर्छ मान्छेलाई । पुगिरहेको छैन । केही मान्छेका गलत दृष्टिकोणका कारण क्रान्तिलाई बीचमै अल्मलाएर डोज पुर्याउन खोज्नेलाई रोक्ने काम भएको छ । बाबुराम भट्टराईलाई छाडेर थुप्रै साथीहरु क्रान्ति खोज्दै नेकपामा आइपुगेका छन् । बाबुरामसँग त लागियोे तर अर्कै अर्कै कुरा गर्न थालेपछि ठीक लागेन भनेर खुलेर क्रान्तिको पक्षमा उभिन आएका छन् । यो राम्रो भा’छ । नेताले अर्कैअर्कै कुरा गर्न थालेपछि कोही पनि सन्तुष्ट हुँदैनन् ।
बाबुरामले नेपाली क्रान्तिमा एउटा कन्फ्युजन पैदा गरिदिएका छन् । केके न गर्छु भन्दै विकस र समृद्धिको भ्रम छरे । त्यो भ्रम थियो भनेर हामीले शुरुदेखि नै भन्द आएको कुरा हो । केही दिनअघिमात्र सुनिल (देवेन्द्र पौडेल)हरु माओवादी केन्द्रतिर गएर बाबुरामसँग बस्दा त लालसलाम भन्न समेत बिर्सिएछु भने रे । लालसलाम नभन्नेहरुको पछि लागेपछि त्यस्तै हुन्छ । उसो भए उनीहरु फेरि के लालसलाम भन्नेहरुको पछि लागे त ? लागेनन् । अर्कै भन्नेहरुकै पछि लागे नि त । त्यो के हो भने वस्तुलाई बुझ्न र पकड्न नसक्दाको परिणाम हो यो । यस्तै हुन्छ । त्यसकारण कम्युनिस्ट मुभमेन्टलाई आत्मसात गरेर अगाडि बढ्नु नै सही हो । क्रान्तिकारीका लागि वस्तुवादी चिज भनेकै मालेमावाद हो ।
यहाँ थुप्रै साथीहरुले देश भ्रष्टचारी, कर्मचारी र नेता मिलेर सिध्याए, जनताको अधिकार खोसिए भनेका छन् । त्यो सत्य हो । यहाँ सरकार भनेको लुट्ने थलो हो भन्ने बनाइएको कुरा सत्य हो । केही साथीहरुले १० रुपैयाँ दिए पनि, एक माना चामल दिएपनि, एक छाक खान खुवाएपनि यही पार्टी (नेकपा)लाई खुवाउँछु र दिन्छु भने नि त । यो हो क्रान्ति गर्ने आधार । क्रान्तिका लागि जसले जे गर्न सकिन्छ त्यो गर्नुपर्छ । क्रान्ति त उठ्छ उठ्छ । हामी तयार भइसकेका छौं । कसैले रोकेर रोकिनेवाला छैन ।
यहाँ धेरै पैसा, सुविधाको कुरा छैन । चयन लिने विषय छैन । केवल मान्छेको दृष्टिकोणको कुरा हो । वस्तुलाई, क्रान्तिलाई बुझ्ने र लागू गराउन सहभागी हुने कुरा मुख्य हो । क्रान्तिलाई एकपटक साथ दिन्छु भनेर ध्रुविकरण अभियानमा जसरी आउनुभो, यो धेरै राम्रो कुरा हो । मान्छेले भन्ने गर्छन्, हामी लाग्यौं भने के पाउँछौं ? जनजाति, दलित, महिला, मधेसी, बाहुन, क्षेत्री लाग्यौं भने के पाउँछौं ? भन्ने प्रश्न गरिन्छ । त्यसको जवाफमा हामीले भन्ने एउटै कुरा भन्ने गरेका छौं कि क्रान्ति गर्न हामीलाई साथ दिनुभयो भने सत्ता पाउनुहुन्छ । धेरै कुरा त भन्न सकिँदैन । तर तपाईहरुले सत्ता चाहिं प्राप्त गर्नुहुन्छ । यो निश्चित छ । धेरै सपनाका कुरा गर्नुपनि हुँदैन । सपना भनेकै सत्ता हो ।
क्रान्तिपछिको सत्ताबाटै सबै कुरा प्राप्त हुन्छ । त्यो क्रान्तिको शुरुवात देशमा भइसकेको छ । क्रान्ति हुन्छ कि हुँदैन ? भन्नेहरु भ्रमबाट मुक्त हुनु जरुरी छ ।
अर्को कुरा, क्रान्तिबाट अलग बसेर चाहिं अहिलेसम्म तपाईले के पाउनु भा’छ त ? केही पनि पाउनु भएको छैन । अहिले तपाई पूँजीवादमा हुनुहुन्छ । पूँजीवादले हामीलाई ढाँट्ने, लुट्ने, छल्ने, भ्रष्टचार गर्ने, दुत्कार्ने, अनि सिध्याउने बाहेक केही पनि हुनेवाला छैन । त्यसकारण हामी सबैको विकल्प र समाधान भनेकै वैज्ञानिक समाजवाद हो । क्रान्तिबाट मात्र यो कुरा प्राप्त गर्न सकिन्छ भन्ने कुरामा प्रष्ट हुनु आवश्यक छ । अन्तअन्त भौतिएर, डुलेर काम छैन । वैज्ञानिक समाजवादले मात्र वर्गहरुको सीमा मेटाउँछ । विभेद र छुवाछुतको अन्त्य गराउँछ । राष्ट्रहरुको सीमा मेटाउँछ । मानव जातिलाई सामूहिक जीवन पद्धति र समाजवादी सभ्यतामा प्रवेश गराउँछ । अनि मात्र हरेक मानिसको जीवन समृद्ध, सुखी, खुशी र सुविधासम्पन्न हुन्छ । एकछिनको सेन्टिमेन्ट (भावनात्मक/भावोत्तेजना) पैदा गाएर मात्र केही हुँदैन । त्यसले सबैखाले जीवनलाई मुक्ति दिन सक्दैन ।
थाहा छ, गोरेबहादुर खपाङगीले बुटवलमा दुई घण्टा भाषण गरेपछि त्यहाँका आदिवासी जनजाति युवाहरु तरबार बोकेर सडकमा निस्केका थिए । त्यस्तै एकचोटी कुमार खड्काले भाषण गर्दा त्इहाँ बाहुन क्षेत्रीहरु शंक फुक्दै भाला–तरबार निकाल्दै सडकमा हिँडे । तर त्यो धेरैबेर टिक्न सकेन । केही छिनपछि नै सेलायो, भीड हराएर गयो । एकछिनका लागि मान्छेलाई भावोजनामा ल्याएर युवा जोशलाई सडकमा उतार्न सकिएला तर खोजेको परिणाम आउँदैन । अहिले पनि अल्लाह अकवर भन्दै मान्छेहरु लडेर-भीडेर मरिराखेका छन् । त्यसबाट पनि परिणाम आउँदैन ।
त्यस्तो बाटोबाट मुक्ति सम्भव छैन । त्यसको कुनै दृष्टिको छैन । लक्ष्य छैन । जीवन बदल्ने विचार छैन । खाली निराकार मात्र छ । त्यसपछि के हुन्छ भन्ने कुनै प्रमाण छैन । उत्पीडनबाट विद्रोह गर्नु सही होला तर त्यसले लिएको लक्ष्य, बोकेको विचार के हो ? भन्ने स्पष्ट छैन । मानव जीवन बदल्ने खाका छैन । त्यसकारण माओ, लेनिनले भन्नुभएको छ, मानवले गर्ने विद्रोहको उत्कृष्ट लक्ष्य भनेको वैज्ञानिक समाजवाद हो । वैज्ञानिक साम्यवाद हो । यो बिना कुनैपनि प्रणालीले मावन जातिलाई नयाँ जीवन दिन सक्दैन । यो नेपालबाटै नेपालीहरुले लिने लक्ष्य हो । अठोट हो । हामीले यो अठोट गरेका छौं ।
यो अठोट, बहस सबै क्षेत्रमा हुनु जरुरी छ । चलिराख्या पनि छ । सोना, प्रहरी, कर्मचारी, बुद्धिजीवि, किसान, मजदुर, शिक्षक, विद्यार्थी, प्रोफेसर, महिला, दलितलगायत हरेक वर्ग र समुदायमा बहस चलिराखेकै छ । हामीले तय गरेको एकीकृत जनक्रान्तिको परिकल्पना पनि त्यही हो । बहस सबैतिर एकपटक होस् । तर्कवितर्क होस् । क्रान्ति गर्ने ड्युटी (कर्तव्य) जनताको मात्र होइन, हामी सबैको हो । जसले समस्या र समाधान देखेको हुन्छ, उसले बढी मेहनत र दुःख गर्नुपर्छ । यो नै विज्ञानसम्मन छ । बहस जहाँबाट जताबाट चलेपनि, चलाइए पनि क्रान्तिको नेतृत्व क्रातिकारी कम्युनिस्ट पार्टीले गर्ने हो । सबैभन्दा उत्कृष्ट चेतना भएका मान्छेहरुले गर्ने हो । त्यो पार्टी हामीसँग छ । ती मान्छे हाम्रो पार्टीमा छन् । नेतृत्व सबैलाई साथमा लिएर गर्ने कुरा आउँछ । हाम्रा नजिकका मित्र भनेका किसान, मजदुर, देशभक्तहरु नै हुन् । परिवर्तनलाई आत्मसात गर्नेहरु सबै मित्र शक्ति हुन् ।
एकपटक लेनिनले रुसमा यदि हामीले जोडदार रुपमा मेहनत गरेर भन्यौं भने जारको सेनाले पनि क्रान्तिलाई साथ दिनसक्छ भनेका थिए । त्यो कुरालाई धेरैले पत्याएनन् । हाँसोमा उडाए । पछि अक्टोबर क्रान्तिको बेला जारको पाँच लाख सेना निष्क्रिय बसिदिए । दमनमा आएनन् । ती सेनालाई जारले लेनिनलाई सघाएको आरोप लगाए । लेनिनले आँटेका अक्टोबर क्रान्ति सफल भयो । र, जारकै निष्क्रिय सेना पछी लाल सेनाका कमाण्डर भए । नेपालमा यो कुरा हुनेवाला छ ।
त्यसकारण क्रान्ति हाम्रो मात्र मामला होइन । सेना, प्रहरी, कर्मचारी, शिक्षक, राष्ट्रवादी सबैलाई चाहिएको छ । हामीले पहल लिने र बोध गराउने कुरा मुख्य छ । उनीहरुकै परिवार, सन्तानको भविष्यकै लागि पनि क्रान्ति चाहिएको छ । जीवनको ग्यारेन्टीको पनि यो चाहिन्छ । उनीहरु अहिले पनि नयाँ पुस्ताको भविष्यको ग्यारेन्टी यो दलाल सत्ताले गर्छ भन्ने कुरामा ढुक्क छैनन् । नेपालका यो बहस तीव्रतामा भइरहेको छ ।
हिजोका दिनमा जनयुद्ध गाउँबाट छापामार युद्धबाट लड्यौं । जनयुद्धले धेरै मान्छेको चेतनास्तर धेरै माथि उठायो । देशमा शान्ति र समृद्धि ल्याउने हो, विकासको बाटो खोल्ने हो भने जनतालाई अधिकार सम्पन्न बनाएर लैजाने हो, राष्ट्रलाई स्वाधीन तुल्याउने हो भने नेपाली क्रान्तिलाई सम्पन्न गर्नैपर्छ । यो कुनै खाली आवेग वा भावनाको विषय होइन । साँचो विषय हो । शुरुशुरुमा उद्योगपति, व्यवसायीहरुले हाम्रो कुरा पत्याएका थिएनन् । तर अहिले बुझ्दै सँगै उभिन आइपुगेका छन् । आउने क्रम जारी छ । विदेशी दलाल पूँजीले हामीलाई निल्नै लाग्य भन्दै लौन क्रान्ति छिटो गर्नुपर्या भन्ना थालेका छन् । तपाईसँग भएको दुई चार अर्बले केही हुँदैन । विदेशीहरु यहाँका दलाल सत्ताको बुई चढेर खर्ब रुपैयाँ लिएर आइपुग्छन् । तपाईलाई दुई घण्टामै सिध्याइदिन्छन् । विदेशीको अनुकूलतामा लगानी गर्न छुट दिन्छन् दलाल शासकहरु । राष्ट्रियता, स्वाधीनता र राष्ट्रवादी उद्योगपतिहरुको हालत जेसुकै होस् मतलब राख्दैनन् ।
त्यसैले नेपालको अर्थतन्त्रमा दलाल पुँजीवाद प्रवेश गरिसकेको छ । यसबाट देशको राष्ट्रवादी उद्योगपतिहरुले परिवर्तनको पक्षमा साथ दिनुपर्छ । यो कुरा सेना, प्रहरी सबै सुरक्षा निकायले बुझनु जरुरी छ । विभिन्न समुदायलाई हामी भन्छौं जनताको पक्षमा उठेको क्रान्तिलाई साथ दिनुस् । सहभागी बन्नुस् । सबै मिलेर क्रान्ति सम्पन्न गर्ने हो । सिंगो समाजलाई बदल्ने हो । नयाँ पुस्ताको भविष्यको रक्षाको ग्यारेन्टी गर्ने हो । हामी तयार छौं । गुनासो र अालोचना गरेर मात्र बस्न भएन ।
जहाँसम्म केही कमरेडहरुले क्रान्ति त गर्ने तर नेतृत्वबाट फेरि धोका हुने हो कि, बिचमै अलपत्रमा परिने पो हो कि भन्ने चिन्ता, आशंका व्यक्त गरेका छन् । त्यो सही छ । विगतमा भएका घटनाले यो आशंका वा चिसो पस्नु स्वभाविक पनि हो । हामी केही दिनपहिले कालिकोट गएका थियौं । त्यहाँका जनतामा यो क्रान्तिप्रति विश्वास छाएको छ । एकजना दिदीले भन्नुभो, तल त हामी लडिहाल्छौं, माथि चाहिं मिलाउनु होला सर ।’ त्यसपछि हामीले उहाँहरुलाई भन्यौं, हामी धोका दिँदैनौं, बरु मर्न तयार हुन्छौं । उहाँहरु र युवाहरुलाई अहिले पनि भन्ने के हो भने कालिकोटमा एकीकृत जनक्रान्तिको पक्षमा रगत बगेको छ । धनराज बटाला र धनगढीमा सनराइज (पूर्वजनमुक्ति सेना) सहिद हुनभएको छ । उहाँहरुको रगत दुरुपयोग गर्नु पाइँदैन । कसैलाई छुट छैन । त्यसमा हाम्रो अठोट र प्रतिवद्धता छ, या त हाम्रो पनि बटाला र सनराइजकै रगतमा मिसिन्छ, या त नेपाललाई मुक्त गर्छौं । यो कुरा तपाईहरुसामू दृढतापूर्वक भनिराख्या छौं ।
हिजोका दिनमा प्रचण्डले जनयुद्धका सहिदहरुको रगत दुरुपयोग गरे । बेचेर पैसा खाए । उनी क्रान्तिबाटै बेपत्ता भागे । प्रचण्डले पाएको सुख, सुविधा हामीसँग अहिल्यै छ । के छैन भन्नुस् त । सुविधाका लागि फेरि अर्को धोका हुने कुरा कल्पनाबाहिरको विषय हो । हामीले प्रचण्डलाई बारम्बार भनिराखेका छौं, तपाई संसदवादी र दलाल पूँजीवादीहरुका अगाडि क्रान्ति बेच्न तयार हुनेभो, साम्राज्यवादीहरुसामू घुँडा टेक्न र शिर झुकाउन तयार हुनुभो । गलत गर्नुभो । चाहिँदो पैसा र सुविधा अहिले भर्खर हामीसँग छँदैछ । त्यसकारण प्रचण्ड जसरी पैसा र सुविधाका लागि क्रान्ति-क्रान्ति भन्दै हिड्नु पर्दैन । हिड्ने कुरा पनि आउँदैन । यति मात्र होइन, जनताले अाफ्नै सत्ता चलाउन थालेका छ्न् ।
अर्कोतिरबाट हेरौं, मान, प्रतिष्ठाको के कुरा । यहाँ मन्त्री, प्रधानमन्त्री, सांसद फालाफाल छ । यो कुरा यति सस्तो भयो कि बजारमा पाइने वस्तु सरह छ । पटकपटक मन्त्री बन्ने, सुविधान खाने, मोजमस्ती गर्ने, जनताको पसिनाबाट जम्मा भएको राष्ट्रको ढुकुटी लुट्ने अनि जनताको पक्षमा केही काम नगर्ने । यही त भा’छ यहाँ । अधिकार प्रयोग गर्ने ठाउँमा पुग्ने, भ्रष्टचार गर्ने, खुलेआम रुपमा जनतासँग घुस माग्ने, खाने, थुपारिएको पैसा लुकाउन परिवारलाई दिने काम गरिराख्याा छन् । प्रधानमन्त्रीको हालत पनि उस्तै छ । प्रधानमन्त्री बनेपछि जनतालाई निःशुल्क स्वास्थ्य, शिक्षा, संचार, सुविधा दिने होइन किन विदेशीलाई नदी बेच्ने, जमिन बेच्ने, वनजंगल–जडिबुटी बेच्ने, जनताको सम्पत्तिको चाबी विदेशीलाई सुम्पने, पार्टी र पार्टीका निश्चित नेता धनी बन्ने र विदेशमा लगेर पैसा राख्ने, त्यसो गर्नाका लागि मत संख्या पुर्याउन सांसद खरिदबिक्री गरिरहेका छन् । यो पनि राष्ट्रवादीले गर्ने काम हो र ? दलाल संसदीय व्यवस्थाको दोष हो यो । राष्ट्रलाई, जनतालाई बदनाम गर्ने शासन प्रणाली हो यो ।
त्यसकारण संसदवादी पार्टीका नतेताहरुलाई जनताले पहल लिएको क्रान्तिलाई दलाल सत्तासँग गरेर नदाँच्न चेतावनी दिन चहान्छौं । यसरी दाँच्ने कुरा क्रान्तिकारीलाई पच्दैन । हामीले सचेततापूर्वक क्रान्तिको बाटो रोजेका छौं । क्रान्तिको बाटो भनेको एकछिनका लागि कठिनको बाटो हुनसक्ला, तैपनि यो सजिलो र उज्यालो छ । भोलि क्रान्ति जुरुक्क उठ्दा भ्रष्टचारी, जनघाती र राष्ट्रघातीहरु, माफिया–दलालहरुलाई टेक्ने जमिन रहँदैन । यो साँचो कुरा हो । क्रान्ति उठेपछि के भ्रष्टचारी र राष्ट्रघातीहरुले चयनको जीवन पाउने सोचेका छन् ? पाउने छैनन् । जनताको आदेशको पालना गर्नुपर्छ । चयनपूर्ण निद्राको कल्पना गर्नु धेरै टाढाको कुरा हो । बद्नाम, दमन, शोषण, उत्पीडन कायम राखेर नेपाली समाज चल्न सक्दैन । चल्न पनि दिदैनौं ।
यसअघि प्रचण्डको दलाल शासन प्रणालीले ल्याएको कथित चुनाव खारेजी अभियानको लडाईमा धनरुप बटाला र सनराइज शहिद हुनुभएको छ । शासनविरुद्ध उहाँहरुले रगत बगाउनुभएको छ । यो सामान्य विषय होइन । हामीसँग एटा तीव्र गतिको क्रान्तिकारी स्पिरिट छ । खारेजी अभियानका क्रममा बम विस्फोटबाट सनराइजको र दोहोरो भीडन्तमा बटालाको रगत बगेको हो । विस्फोटलगत्तै पुगेका प्रहरी टोलीसँग महान सहिद सनराइजले म नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता हुँ, म आफैं बुझेर मनखुसीले पार्टीका लागेको हुँ, म शहिद हुने लक्ष्यका साथ हिँडेको मान्छे हुँ, यदि मरेछु भने कसैलाई दोष नलगाउने, दुःख नदिनु भनेर भनेका छन् । हामीसँग त्यो भाव र अठोट छ । सबैले यो भावलाई बोक्नुपर्छ ।
हामीले आफूले दुःख, मेहनत गर्नुपर्छ, तर अरुलाई धोका दिने काम कहिल्यै गर्नु हुँदैन । यो क्रान्तिको नियम हो । झुठा कुरा, आवश्वस गरेर जनतासँग ढाँटन मिल्दैन । यो अनुशासन हो । मेहनत गर्नुपर्छ तर बदनाम हुने काम कदापि गर्नुहुँदैन । पार्टीमा स्वार्थ, लुकाईछिपाइ, ढाँटछल चल्नेवाला छैन । देशलाई घाटा हुने, जनतालाई चोट पुग्ने, अप्ठ्यारामा पार्ने काम गर्ने छुट कसैलाई छैन । यो कुरा तलदेखि माथिसम्म लागू हुन्छ । गल्ती भएको खण्डमा आलोचना गर्ने, सुधार्ने र सुध्रिने कुरा हुन्छ । भाग्ने कुरा मानिदैन । निःसर्त रुपमा क्रान्तिमा सहभागी हुने कुरा मुख्य हो । सानातिना घटना, आलोचनाबाट तरंगित हुने, आत्तिने, हौसिने पनि गर्नुहुँदैन । लोभ–लालचमा फस्ने कुरा पनि हुँदैन । यस्तो बेला विभिन्न समूह, पक्षबाट धाकधम्की आउन सक्छ, त्रसित हुने कुरा आउँदैन ।
अर्को कुरा के छ भने। ध्रुविकरणमा हामी कति मान्छे छौं, कति जुट्यौं भन्ने ठूलो कुरा होइन, महत्वपूर्ण कुरा त हामी कस्तो प्रवृत्तिमा छौं ? कस्तो विचार र दृष्टिकोण बोकेर आएका छौं ? कस्तो अनुशासनमा छौं ? भन्ने हो । अरुअरुले भन्ने गरेका ध्रुविकरण भनेको विसर्जन यात्रा हो । माओवादी केन्द्र (माके)ले पनि ध्रुविकरण भनिरहेको छ । उसको यात्रा विसर्जन नै हो । जनतालाई लुट्ने, खाने, देशका सम्पदा बेच्ने, पानी, खानी बेच्नेहरुको ध्रुविकरण हो । यसको नेतृत्व नेपाली कांग्रेसपछि माकेले गरिरहेको छ । जनतालाई मार्नेहरुको गठजोड हो त्यो । यसले क्रान्तिलाई क्षति पुर्याउँछ । दलाल सत्तालाई झनै बलियो बनाउँछ । त्यसैले यो क्रान्तिकारीहरुको ध्रुविकरण त्यसलाई भत्काएर मिल्काइदिनुपर्छ । यो कुरा जनतामा गएर दोहोर्याई तेर्याई बुझाउनुपर्छ ।
हिजो एउटा पार्टीमा, आज एउटा पार्टीमा भोलि अर्कै पार्टी हुनेहरुको समाजमा काम छैन । त्यस्तालाई वास्ता गर्नुहुँदैन । चुनावको बेला त झनै पार्टी फेर्नेहरुको लहरै चल्छ । आज एउटा नेताको ढोका पुगेर टीका लगाउँछ, टिकट नपाएपछि भोलिपल्ट बिहानै झोला बोकेर अर्कै नेताको ढोका टीका थाप्न पुग्छन् । कहिले मधेसी नेताका ढोकामा त कहिले देउवा, प्रचण्ड, ओलीहरुको ढोकामा । यस्तो पनि कहीँ राजनीति हुन्छ । राजनीतिको नाममा बद्नाम र लज्जित तुल्याउने काम हो यो । विचार छैन, इज्जत छैन, नैतिकता छैन, केही छैन । सुन्दा पनि घिनलाग्दो । अहिले माकेभित्रका युवाहरुले भन्न थालेका छन्, अब चुनावबाट सम्भव छैन । यो कुरा हामीले उबेलै भनेका हौं । आफूलाई खाँटी युद्ध लडेर आएका बताउँने क्रान्तिकारीहरुले पनि पैसाका लागि भोट हाले । क्रान्ति गर्ने यो कुरा मिलेको छैन । उनीहरुनै अहिले सिद्धिने भयौं, टेक्ने ठाउँसम्म नरहने भो भनेर बर्बराउन शुरु गरेका छन् ।
यो चुनाव त पैसाले पैसाका लागि गर्ने चुनाव हो । जनताको अधिकारको लागि छँदैथिएन । हुनेपनि होइन । यति कुरा नबुझ्नेले क्रान्तिको कुरा गर्न सुहाउँदैन । यस्तो चुनाव सधैं बन्दुकले गराउँछ, जनताले होइन । पार्टीभित्रै रहेर पार्टी नेतृत्वविरुद्ध बोल्नुले माकेभित्र चरम अन्तरविरोध, असन्तुष्टि छ भन्ने हो । चुनावकै कुरा गरौं, त्यहाँभित्रका इमान्दारले टिकट पाएका छैनन् । चाटुकार, पैसावाल, दलाल, कमिसनखोर, भ्रष्टचारीले टिकट नेताको चाप्लुसीको भरमा टिकट पाए । इमान्दार नेता कार्यकर्ता खाल्डोमा परे । नेतालाई पैसा चाहियो कि सांसद, मन्त्री बेचिहाल्छ, कसैलाई थाहै हुँदैन । अनि बेचिएका र किनिएका मान्छेबाट देश र जनताको हित हुन्छ त ? हुँदैन । यस्तो स्थितिमा युवाहरुले बेलैमा सोच्नुपर्छ । संसदीय प्रणालीको बाटो चिनेर, त्यसलाई लात हानेर अलग बाटो रोजेका हौं । अहिले हामीसँग क्रान्तिको बाटो छ ।
देश यतिबेला संकटको ठूलो चपेटामा परेको छ । शेरबहादुर देउवा केही हप्तापहिले भारत गएर राष्ट्रको बेइज्जत गरे । स्वाधीनतालाई खतरामा राखेर फर्के । उनी मोदीलाई केसम्मन भनेर फर्के भने, नेपालको राजनीतिमा तपाई नै भन्नुस् के गर्नुपर्छ, म त्यो गर्छु । नेपालको हाइड्रो तपाईँ नै आएर उद्घाटन गर्नुस् भने । यो जस्तो लिच्चड र घृणित काम अरु केही हुन सक्ला ? देउवा पूँजीवादी र साम्राज्यवादीका नोकर हुन् । यी नोकरहरु सत्तामा रहेसम्म देशको स्वाधीनताको रक्षा सम्भव छैन । जनताले स्वाधीनतापूर्वक बाँच्नै पाउने छैनन् । यहाँ क्रान्तिको दायित्व भनेको दलाल–पूँजीवाद, भारतीय र अमेरिकी साम्राज्यवादलाई धुलोपीठो पारेर नेपाललाई स्वतन्त्र र स्वाधीन बनाउने मुख्य अभिभारा हो ।
भारतले भुटानको दोक्लाम विवादमा हस्तक्षेप गरेको छ । यहाँका कोही नेता बोल्दैनन् । दलाल सरकार विरोध गर्दैन । हस्तक्षेपको विरोध स्वतन्त्र र स्वाभिमानी नेपालीले खुलेर गर्नुपर्छ । हामीले गर्यौं । प्रतिवाद गर्नुपर्छ । दोक्लाम सीमा विवाद भुटानको समस्या हो । त्यहाँ विवाद के हो ? भन्ने बहस भुटानले गराउने हो । भुटान बनेर भारत त्यहाँ जाने र हस्तक्षेप गर्ने मिल्दैन । अर्काको देशको ठेक्का लिएर हिड्ने भारतीय शासक को हुन् ? त्यसकारण भोलिका दिनमा नेपालमा यो समस्या आउनेवाला छ । त्यो बेला स्वतन्त्र राष्ट्र बोल्ने कि नबोल्ने ? बोल्नुपर्छ । छिमेकीलाई दुःख दिने, जमिन खाइदिने, मिच्ने भातीय साम्राज्यवादको विरोध सबैले गर्नुपर्छ । अन्तर्राष्ट्रिय रुपमै गर्नुपर्छ । त्यसकारण नेपालको मामिलामा भारतीय शासक वर्गका नोकरहरु देउवा, प्रचण्डहरु नेपाली जनताविरुद्ध भारतीय साम्राज्यवादीको पक्षमा उभिन आउलान्, खबरदार ! देशमा नेकपा खडा छ । यहाँ राष्ट्रवादी जनता खडा छन् । तिम्रो षडयन्त्र माटो मिलाईदिनेछौं ।
भारतले नेपालको परराष्ट्र, अर्थ, सुरक्षा, कुटनीति हामी हेरिदिन्छौं भन्न थालेको छ । यो असम्भव कुरा हो । यहाँका दलाल चाटुकार शासकहरु दिल्लीमा गएर लम्पसार पर्ने, नाक रगडेर मालिकसामु झुक्ने गरिरहेका छन् । यो मान्य छैन । देशलाई लज्जित गर्ने काम यो पटक फेरि देउवाले गरेका छन् । शासकले स्वाधीनलाई भयंकर ठूलो खतरामा राखिदिएका छन् । प्रचण्ड, बाबुरामले गरेकै थिए । देउवाले दोहोर्याए । कोसीमा उच्च बाँध बनाउने सहमतिमा हस्ताक्षर गरेर फर्केका छन् । त्यो बाँध बनाउन कोशिस गरेर मात्र देखाऊ, क्रान्तिले तिमीलाई कहाँ पुर्याउँछ त्यतिबेला थाहा हुन्छ ।
नेपालका बिग हाउसका मिडियाहरु विदेशी दलाली पूँजीको प्रभावमा पर्दै गइरहेका छन् । त्यहाँभित्र बसेर लेख्ने पत्रकारहरुलाई मुक्त कलमले देश र जनताको एजेण्डा लेख्ने वातावरण मिलिरहेको छैन । उनीहरुलाई मुक्त गर्न क्रान्ति नै चाहिन्छ । प्रहरीको के कुरा गर्ने, आफनै हाकिमलाई भ्रष्टचारी सावित गराएर हतकडी लगाएर जेल हाल्छन् । आफैंले गरेको मूल्यांकनले आफैंलाई खान्छ । यतिसम्मन कि चौथो नम्बरको अधिकृतलाई आईजी बनाउँछन् । यो कसरी भयो ? भनेर पत्रकारले सोध्दा भाग्यले बनायो भन्ने जवाफ दिन्छन् । यस्तो अवस्थामा पुग्यो देश । अब ति कमाण्डर (आईजी)ले दिएको आदेश प्रहरी मान्नुपर्छ भन्ने छ ? उसको काम भनेको उसलाई पदमा पुर्याउनेहरुको आदेशमा जनतालाई गोली हान्नेबाहेक अरु केही काम हुँदैन ।
अदालतकै कुरा गरौं, मूल्यांकनमा पहिलो नम्बरको प्रहरी अधिकृतलाई अदालतले नै हुँदैन भनेर आदेश गर्छ । डार्फुर काण्डमा तीन-तीन आई जेलमा छन् । तर उनीको मन्त्री तत्कालीन गृहमन्त्री कृष्ण सिटौला बंगलामा मोजको बिताइरहन्छन् । मन्त्रीको स्वीकृतिबिना डार्फुर काण्ड हुन सक्छ ? सक्दैन । दस अर्बभन्दा बढी भ्रष्टचार गरेको अभियोगमा राजश्वका हाकिम पक्राउ पर्छन्, सर्वोच्च अदालतले एक पैसा नलिई छोडन आदेश दिन्छ । सायद शर्माले कि मलाई बचाउ, होइन भने सबैको पोल खोल्दिन्छु भने होलान्, त्यही अनुरुप राजनीति तहमा सहमति भयो, परिणाम त्यस्तै आयो । तत्कालीन अर्थमन्त्रीहरुलाई पक्रेर जेल हाल्नु पर्दैन ? यहाँ ठूलै नाटक भएको छ । सत्ताका सबै अंग दलालको हातमा परिसकेको प्रमाण हो यो । त्यसैले यो सत्ताबाट जनताले विकास र समृद्धिको आशा राख्नु बेकार छ । पैसाकै लागि काठमाडौंलगायतका शहरहरुमा व्यापारी, उद्योगपतिलाई गुण्डाहरुले थ्रेट दिइरहेका छन् । अनि सरकारमा बस्ने मान्छेहरु सुशासनको कुरा गर्ने ?
प्रतिभावान विद्यार्थीलाई केही माफियाले किनेर आन्दोलन ध्वस्त पार्ने गरिएको छ । त्यसबाट विद्यार्थी नेताहरु सतर्क हुनु जरुरी छ । युवाहरुलाई सत्ता र दलालले दुरुपयोग गर्ने खतरा बढेको छ । तपाईहरु उत्तिकै सतर्क हुनु जरुरी छ । देशभित्रै पाठ्यक्रममा राष्ट्रियताविरोधी पढाउँदा समेत सरकार चलाउने मान्छे चुप बस्छन् । चरम रुपमा शुल्क लिँदा चुप बस्छन् । यसविरुद्ध आन्दोलन गर्दा विद्यार्थी साथीहरुलाई जेल हाल्ने, झुठा मुद्दा लगाउने र विद्यार्थी–अभिभावकको मुद्दा कमजोर बनाइदिने काम हुँदै आएको छ । अब त्यो चल्दैन । त्यसकारण दलालहरुले उचाईमा पुगिसकेको संघर्षलाई माथिबाट खसालेर सिध्याइदिने गरिएको छ । मजदुरहरुको हकमा पनि त्यही हो । केही नेता मालिकसँग मिलेर सिंगो मजदुरको अधिकार खोस्ने काम गर्न पाइँदैन । सचेतता अपनाऔं ।
सुनेका छौं, हाम्रै पार्टीको नामबाट मान्छे अपहरण गरेर पैसा लगेको कुरा । त्यो गलत कार्य हो । त्यस्ता प्रवृत्तिलाई बेलैमा चिन्नु पर्छ । मेटाई दिनुपर्छ । क्रान्ति उठ्दै जाँदा राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब, धाक, धाम्की आउँछ, युवाहरु, नेताहरु डराउने कुरा आउँदैन । सेना, प्रहरी, गुप्तचर, सत्ता, राजदूतको दबाब, धम्की आउनसक्छ । त्रसित हुने होइन । दबाब, धम्कीसँग लत्रेका, झुकेका देखेका छौं । भोगेका छौं । यसो हुनुमा कि त छाला जोगाउन कि दृष्टिकोण नभएका अन्ध मान्छेहरु हुनुको कारणले भएको छ । हामीलाई कुनै किसिमका दबाब, धम्की स्वीकार्य छैन । हरेक दबाबलाई कैंचीले धागो काटेसरह काट्दै अगाडि बढेका मान्छेहरु हौं ।
पैसा, सहयोग चाहिन्छ, त्यो लिउँला, तर पैसाकै लागि क्रान्तिलाई धोका हुने, पछाडि फर्कने र पार्टी र जनतालाई बदनाम गर्ने काम गर्दैनौं । जनतालाई दुःख हुने, राष्ट्रलाई क्षति पुने गलत कार्य गरेको खण्डमा जनताकै माझ्मा लगेर दण्डित गरिनेछ । पैसा त पूँजीपतिहरुले जनतालाई लुट्न बनाएका साधन हुन् । माक्र्सले एकपटक भनेका छन् । एक दिन यस्तो दिन आउनेछ, जुन दिन संसारमा पैसा भन्ने चिज हुनेछैन । सबै मावन जाति सम्पन्न हुनेछन् । पैसाकै कारण धनी र गरिब हुनुपर्ने छैन । यो पूँजीवादी व्यवस्थाले ल्याएको विकृति हो । पैसालाई मिलाउन नसक्दा विश्वका थुप्रै समाजवादी सत्ता ढलेको इतिहास छ । पैसालाई मिलाउन सकेकै कारण रुसमा समाजवादी सत्ता ढल्यो । नेपालमा प्रचण्ड ढल्यो । उनले नेपाली क्रान्तिलाई पैसामा बेचेर खाइदिए । पैसाकै कारण जनमुक्ति सेनाको घेराबाट सरकारी सेनाको घेराभित्र छिर्न पुगे ।
बाबुराम त नेपाली कम्युनिस्ट आन्दोलनबाट बेपत्ता नै भए । मान्छे त जिउँदै भेटिएला तर जनताको राजनीतिमा उनी छैनन् । त्यस्तो यात्राको कुनै अर्थ छैन । बाबुराम नेपाली क्रान्तिबाट भाग्छन् भन्ने कुरा युद्धकै बेलामा रुकम, रोल्पामा देखेका कुरा हनु् । आखिर त्यही भयो । प्रचण्डको बाटो पनि त्यही हो । खोजेर नभेटिने हुन्छन् उनी पनि । हिजो जनमुक्ति सनोको कभरमा बस्ने प्रचण्ड आज सरकारी सेनाको घेराभित्र लुकेर हिड्ने भइसके । पैसाका लागि जीवन समर्पित गर्दा इतिहासले यस्तैमा पुर्याउँछ । हामीले परिकल्पना गरको नेपाली क्रान्ति धोकाबाट अलग छ । जनताले माया गर्ने, जनताकै संरक्षणमा हुर्कने, सबैलाई महसुस हुने क्रान्ति बनाउँछौं । जसलाई एकीकृत जनक्रान्ति भनेका छौं । यो सबै वर्ग, जाति, क्षेत्र, समूदाय अटाउने क्रान्ति हो, आन्दोलन हो ।
हामी माओवादी हौं । माक्र्सवाद, लेनिनवाद र माओवाद एकीकृति जनक्रान्तिको पथप्रदर्शक सिद्धान्त हो । बद्नामहरुको बीचमा अलग पहिचान र कम्युनिस्टहरुको सार्वभौमिकता महसुस हुनेगरी खडा हुन पार्टीको नाम पो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्यौं त । कम्युनिस्ट पार्टी नाम सार्वभौमिक हो । यसमा कसैलाई दुविधा रहनु हुँदैन । यो कुरा सेना, प्रहरी, कर्मचारीलाई भन्न चाहन्छौं । यो नेकपा जनताको पार्टी र आन्दोलन हो । सेनाका अफिसर, प्रहरीका कमाण्डहरुले यो कुरा बुझ्नै पर्छ । किनकि जनताको आन्दोलनमा सेना, प्रहरी र कर्मचारीले हात हाल्दा परिणाम उनीहरुलाई उत्युत्पादक भएको इतिहास छ । आज नेपालमा दलालहरुको शासन छ । जनताको बलमा उठेको आन्दोलनमाथि दलालको निर्देशनमा दमन र ज्यादाति मच्चाउन सुरक्षा निकाय उत्रियो भने परिणामले उसैलाई खाइदिन्छ । सेना असफल हुन्छ । प्रहरीकै पनि त्यही हुन्छ । जनताको पक्षमा क्रान्ति गर्ने र लड्ने त भनेकै छौं । बरु, दलाल शासन भत्काउन, च्यातच्युत पार्न जनतासँग मिलेर लडौं । ब्यारेकबाट बाहिर निस्कनुस् । प्रहरीले आन्दोलनकारीलाई रातदिन दुःख दिने मात्र सोच्नु हुँदैन ।
क्रान्ति रोल्पा र शैलुङको पहाडमा मात्र होइन, काठमाडौंका गल्लीहरुमा बसेर लड्नुपर्छ । मजदुरहरुले भन्नुपर्छ, फ्याक्ट्रीका मालिकलाई, म्यानेजरलाई, जनताको विद्राहलाई सहयोग गर्नुस् । विद्यार्थीहरुले पनि कलेज, स्कूल, विश्वविद्यलायहरुमा विद्रोहको लागि तयार हुनुस् भन्नु पर्छ । अध्ययनपछि श्रममा जाने तपाईहरु हुन् । त्यो बेला मालिकको घेरामा बसेर काम गर्ने कि श्रमसहितको स्वतन्त्र र सुखी जीवन बिताउने ? श्रमकै लागि भौतिरिने अवस्था क्रान्तिले मात्र अन्त्य गर्छ । त्यसैले रोज्ने बेला भइसक्यो । क्रान्तिले मात्र अभिभावक, विद्यार्थी, कर्मचारीलाई सुखी दिन्छ । नत्र तपाई सधैं मालिकको चौघेरा र दबाबमा दुई छाक टार्न जीवन बन्धकमा परिराख्नुहुन्छ । तपाईको सन्तानको भविष्य पनि त्यही हुन्छ । त्यसकारण विद्रोह गर्नुको विकल्प छैन ।
खेलाडीहरुको हक पनि यही हो । सम्पूर्ण खेल जीवनको वर्तमान र भविष्य ग्यारेन्टी गर्न अहिलेको दलाल संसदीय व्यवस्था फाल्नैपर्छ । नत्र उमेर ढल्कँदै जाँदा कुनामा बसेर रुनुपर्ने दिन कहिल्यै जानेवाला छैन । युवा उमेरलाई क्रान्तिमा लगाउनुपर्छ । परिवर्तनकारी विचारलाई पकडनुपर्छ । त्यो कुरा महिलाई पनि भन्नुपर्छ । उहाँहरुले यो क्रान्तिलाई साथ दिनै पर्छ । नत्र सिंगै जीवन पुरुष र घरभित्रको चौघेरामा सीमित हुन्छ । अहिले महिलालाई अधिकार दिएको कुरा गर्छन् । यसले धेरैमा भ्रम परेको देखिन्छ । अधिकारले दिएर पाउने चिज होइन, स्वतः पाउनु विषय हो । यो कुरा मेचीदेखि महाकालीसम्मले सुन्नुपर्छ । क्रान्तिको कुरा कसैले सुनेन् भनेन् के हुन्छ ? कसैले बुझेनन् भने के गर्ने ? यदि यसो भएको खण्डमा पनि हामी नेपालमा क्रान्ति गर्छौं । दलाल शासकसँग छिट्टै लडाई पर्नेवाला छ । परिहाल्यो भने पछि हट्छौं त ? त्यो होइन । के सेना प्रहरीले साथ दिएन भने क्रान्ति नगर्ने ? कर्मचारी, उद्योगपतिहरुले सहयोग नगर्दैमा क्रान्ति हुँदैन ? अँह, हात बाँधेर बस्दैनौं । क्रान्तिकै आफ्नै गतिमा छ । छिट्टै क्रान्ति छेडिनेछ । त्यो दृष्य प्रष्ट देखेरै आँट गरेका छौं । अगाडि बढ्नैका लागि जुटेका हौं ।
हाम्रै केही मान्छेलाई दलाल सत्ता चुनावलगायत विविध कारणबाट बलियो भएको लाग्न सक्छ । तर त्यो सत्य होइन । पछिल्लो चरणमा आइपुग्दा दलालहरुको सत्ता भूकम्पले बेस्सरी हल्लाएको थोत्रो घर जस्तो भएको छ । एक धक्का दिँदा गर्लामगुर्लुम्म ढल्छ । त्यसकारण मेहनत र सचेतताका साथ जनतालाई यो कुरा सुनाउनुपर्छ । बुझाउनुपर्छ । बोध गराउनुपर्छ । थोत्रो घरमा सेना, प्रहरी, कर्मचारीले पनि बस्नु हुँदैन । जीवन जोखिममा छ । त्यसलाई फालेर नयाँ बनाउनतिर सोच्नै पर्छ । नत्र भविष्य डुब्नेछ । नयाँ बनाउने जनताको अभियानलाई साथ दिनुस् । क्रान्तिविरुद्ध आउने तरिकाबाट सोच्नु हुँदैन ।
हामी लड्नै कस्सिएपछि दलालहरु लुकेर हिडेका छन् । कारवाही गर्न खोज्यो भेटिन्न यिनीहरु । क्रान्तिकारीहरुलाई जंगल पठाउने सपना देख्नेहरु आज शहर बजारमै देख्न पाइन्न । चार पाँच वटा घरमध्ये कुन दुलोमा बसेर क्रान्तिकारीहरुलाई हेरिरहेका छन् पत्ता लगाउनै गाह्रो परेको छ । कुन खोपीमा गएर सेतर बसेका छन् खोजेर ल्याउन कठिन भएको छ । नेकपासँग भेट्न पाए हुन्थ्यो । भेट गराइदिने मान्छे पाएनि हुन्थ्यो । भेट्न मात्र पाए गल्ती स्वीकारेर माफी पाइन्थ्यो कि भनेर बाटो हेरिरहेका छन् । सेना, प्रहरी, कर्मचारीको तलबबाट काटेर जम्मा भएको पैसामाथि भ्रष्टचार गर्नु, जनतले तिरेको करमा ब्रम्हलुट गर्नु अपराधी होइन ? जनताको पसिनाबाट जम्मा भएको पैसा लुटेर विदेशी बैंकमा लगेर थुपार्नेहरु राष्ट्रघाती र अपराधी होइनन् ? ति मान्छेहरु अपराधी हुन् । खोजीखोजी कारवाही गर्नुपर्छ । तिनलाई उन्मुक्ति दिनुहुँदैन । किनकि यहाँ सुरक्षा निकायको भर पर्दा धेरै भ्रष्टचारी र अपराधी जन्मिए ।
तस्कारीहरु खुलेआम तस्कर गर्छन् । राजनीतिले तस्करीलाई संरक्षण र मलजल पुर्यायो । ठूला तस्करीका सामान समात्यो कि त्यसको कनेक्सन नेता वा उद्योगपति, व्यापारीसँग जोडिएकै हुन्छ । तिनीहरुलाई सुरक्षा निकायले कारवाही गर्न सकेका छैनन् । कारवाहीको कानून आफैं बनाउने अनि दोषीलाई उन्मुक्ति दिने । यस्तो पनि राज्यसत्ता हुन्छ ? हुन सक्दैन । खर्भरै राजधानीमा ८८ किलो सुन समात्यो भन्ने सुनिएको छ । त्यो सुन चुनावी खर्च जुटाउन, भोट किन्न, लुट्न, दलालहरुलाई जिताएर सत्तामा पुगेर मोजमस्ती, मन्त्रीलाई दलाल फाइलको भारी बोकाएर स्वार्थ पूरा गर्ने योजनामा भएको प्रष्टै छ । कोही नेता बोल्दैनन् । तस्करीको विरोध गर्यो कि खाना नपाएर, भाग नपाएर जस्तो आरोप लगाएर बद्ना गर्छन् । त्यसकारण समाज तस्करको जालोमा पर्दासमेत सरकारमा बस्ने मान्छेहरु बोल्दैनन् । कारवाहीको कुरै नगरौं । अर्को कुरा, समातेको त्यो सुन कहाँ जान्छ ? जनतालाई थाहा दिँदैनन् । सुन समात्दा पनि सुराकीलाई कमिसन दिने रे । त्योजस्तो घटिया र खुलेआम भ्रष्टचार अरु के हुन सक्छ ? सुन्दा पनि लाज लाग्ने कुरा । सरकारको नून खानेहरुले देखाएर घुस खाने तरिका हो यो । एउटा दुलोबाट समात्यो अर्को दुलोमा छिराएर खाइहाल्ने दलालहरुलाई धुलोपीठो नबनाएसम्म सभ्य समाजको कल्पना गर्न सकिँदैन ।
फेरि चुनावको चर्चा सुनिन थालेको छ । यस्तो चुनाव गर्नु र नगर्नुको कुनै अर्थ छैन । यस्तै नौटंकी चुनाव जनयुद्धकालदेखि नै कति भोग्यौं, झेल्यौं कति । अब चुनाव जित्नेहरुले राजीनामा दिनुपर्छ । हामी प्रस्टसँग भन्छौं, जित्यो कि भोलिपल्टै राजीनामा । राजीनामा दिएनन् कि घर छाडेर हिडे हुन्छ । अब राजीनामा नदिनेहरुको बास डाँडामा हुन्छ । ब्यारेकमा सुत्न जानुपर्ला । फेरि पनि काठमाडौं र सदरमुकाममा लुकेर बस्नुपर्ला । बेलैमा बुद्धि पर्याउन आग्रह गर्छौं । त्यो निश्चित छ । क्रान्तिको नियममा सबै बस्नुपर्छ ।
यो दलाल सत्ताले गर्ने सबै चुनाव खारेज गर्छौं । टिक्न दिँदैनौं । भ्रष्ट सत्ता चल्न दिइन्न । दलालहरुको सत्ताको विरुद्ध लड्दा सुरक्षाकर्मीले गोली चलाउन हुँदैन । दलालहरुको निर्देशनमा जबर्जस्त गोली चलाउँदै क्रान्तिविरुद्ध आएभने हामीलाई साह्य हुँदैन । सुरक्षाकर्मीको जिम्मेवारीमा रहेका देशभक्त र राष्ट्रको हित चाहनेहरुले यो कुरा राम्ररी बुझ्नु पर्छ । यो क्रान्ति देशको भविष्यसँग जोडिएको छ । ख्यालख्यालको विषय होइन । मर्नु ठूलो कुरा होइन । अहिले पनि दैनिक ५-१० जना विभिन्न सवारी दुर्घटनाकै कारण नागरिकको ज्यान गइरहेकै छन् । नागिरककाे ज्यान लिने सरकारले गरिरहेको छ । सरकारका मान्छेहरु यसबारे चिन्ता छैन । उल्टै क्रान्तिकारी, परिवर्तनकारीलाई देखाएर हिंसाको त्रास फैलाइएको छ । लडाई के हो ? क्रान्ति के हो ? युद्ध के हो ? हामीलाई राम्रोसँग थाहा छ । बुझेरै क्रान्तिको बाटो रोजेका हौं । आवेग, सनक वा अन्य कारणले क्रान्तिको कुरा गरिरहेका छैनौं । हामीलाई के लागेको छ भने देश र जनतालाई पराधीन र अप्ठ्यारोमा पुर्याउने दलालहरुलाई एकपटक चिहानमा पुर्याएर खरानी नबनाएसम्म कसैको भविष्य सुरक्षित छैन । गरिएन भने योभन्दा भयानक खराब तत्व टाउकामा आएर बस्नेछन् । त्यो बेला गाह्रो हुन्छ । क्रान्ति ढिला भइसकेको हुनेछ । हरेक मरणको एकएक हिसाब दलाल सत्तासँग चुक्ता लिन्छौं । त्यो बेला ती दलाल, भ्रष्ट शासकहरु भागेर अन्त जालान्, देश छोड्लान्, तर क्रान्तिकारीले जहाँ गएपनि छोड्नेवाला छैन ।
क्रान्ति गर्ने कुरा पार्टी फेर्ने, नेता रोज्ने खेल होइन । आज प्रचण्डको टीका लगाउने, भोलिपल्ट बिहानै झोला बोकेर अर्कै नेता ढोकामा पुगेर टिका लगाउने । टिकट नपाउनेबित्तिकै पाइन्छ कि भन्दै अन्तै ढोकामा गएर टीका लगाइहाल्ने जो घृणित खेल चलाइएको छ, यसले राजनीतिलाई फोहोर थुप्रोमा पुर्याउने काम भइरहेको छ । राजनीतिप्रति वितृष्ण जगाउने काम गराइरहेको छ । यो रोक्नुपर्छ । एउटा पार्टी त्यागेर अर्को उस्तै पार्टीमा जाँदैमा मुक्ति मिल्दैन । राजनीति भनेको देश र नागरिकको जीवन पद्धति हो । जीवन प्रणालीकै उत्कृष्ट माध्यम हो । यो कुरा पो बुझाउनुपर्छ । नत्र नयाँ पुस्ताले त्यही सिक्ने, देशलाई सधैंका लागि परिधिनताको यात्रामा डोहोर्याउने खतरा छ । त्यसकारण रंगझैं पार्टी फेर्ने मान्छेको यहाँ कामै छैन । आवश्यक छैन । त्यस्तालाई क्रान्तिमा नआउन भन्नुपर्छ । क्रान्तिलाई बद्नाम गर्ने र फसाउने खतरा रहन्छ । पार लाग्दैन ।
त्यसो हो भने दलाल संसदीय व्यवस्थाको ठाउँमा उपयुक्त विधि के हो ? भन्ने प्रश्न उठ्छ । हामीले भन्ने के हो भने, दलाल संसदीय व्यवस्थालाई खरानी पारिसकेपछि त्यो खरानी जगमा उभ्याउने भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो । यसले मात्र मानव जीवनको सबैखाले समस्याबाट मुक्ति दिन्छ । यो उत्कृष्ट राजनीतिक प्रणाली हो । यसले तराई, पहाड वा हिमालाई एकले अर्काको विरुद्धमा बोल्दैन । द्वेषलाई मेटाउने काम गर्छ । अहिले मधेसका जनतालाई पहाडका विरुद्ध र पहाडका जनतालाई मधेसका विरुद्ध उभ्याउने षडयन्त्र भइरहेको छ । त्यो गलत गरिएको छ । मधेसभित्रका दलाल–सामन्त वर्गविरुद्ध लड्न क्रान्तिकारी विचार र पार्टी चाहिन्छ । त्यो हामीसँग छ । त्यो कुरा बुझाउनुपर्छ । एउटा जमिनदारको घर छाडेर अर्को जमिनदारको घरमा रैती बस्दैमा समस्याबाट मुक्त हुँदैन । मजदुर, महिला, दलित, क्षेत्रीबाहुन, जनजाति, मधेसी, पिछडिएका क्षेत्र, मुस्लिम सबैको मुक्ति वैज्ञानिक समाजवादबाट मात्र सम्भव छ । यसमा अलमलिने कुरै छैन ।
असोज २ को चुनावलाई तीव्र गतिमा खारेज गरिन्छ । अन्य जुनसुकै खाले चुनावलई खारेज गर्छौं । अस्वीकार्य छ ।
अक्टोवर क्रान्तिको दिवसमा काठमाडौंमा दसौं हजारौं जनताको बीचबाट नेपाली क्रान्तिको सन्देश विश्वलाई दिन्छौं । पार्टी स्थापना दिवस पनि उत्सवको रुपमा जनतासँगै मनाउर्छौंं । भ्रष्टहरुलाई कालोमोसो दलेर नाङ्गेझार पारेर डाँडा कटाइदिनुपर्छ । यसमा सबै कमरेडहरु सक्रियपूर्वक लाग्नुस् । वैज्ञानिक समाजवाद स्थापना गर्न दृढताका साथ अगाडि बढ्नुपर्छ । सोभियत संघको समाजवादी सत्ता किन ढल्यो ? सबैले अध्ययन गर्न जरुरी छ । सोभियत संघका तत्कालीन शासक ख्रुश्चेभ र आजका प्रचण्ड एउटै हुन् । ख्रुश्चेभले सन् १९५६ मा स्टालिनलाई गाली गर्दै सर्वहारा वगएको सत्ता चल्दैन भनेर पूँजीवादी भित्र्यायो । त्यसबाट सामूहिक जीवन र सम्पत्तिलाई संशोधनवादले सिध्याइदियो । पनि सन् १९९० मा गद्दार गोरवाचोभसम्म आइपुग्दा समाजलाई नै ध्वस्त बनायो । क्षतविक्षत पार्यो । गोरवाचोभ र नेपालका प्रचण्ड–बाबुराममा कुनै अन्तर छैन । यति कुरा नबुझ्ने मान्छेले क्रान्तिमा गतिलो गर्दैन ।
नेपालमा नेकपा र प्रचण्ड ठीक विपरीत ध्रुव हो । प्रचण्डको यात्रा दक्षिणतिरको डुब्ने यात्रा हो भने नेकपाको यात्रा नेपाली समाजलाई परिवर्तन र समृद्ध बनाउने क्रान्तिको यात्रा हो । यी दुई दिशाबीचमा आएर कसैले भ्रम छर्छ भने त्यसलाई प्रतिवाद गरेर सिध्याइदिनुपर्छ । ठाडै अस्वीकार गर्नुपर्छ । ए हो र ! भन्न थालियो भने त्यो मान्छेले डुबाउँछ । धोका दिन्छ । त्यसकारण ठोकेर नस्ट गरिदिनुपर्छ । पार्टी एकता प्रचण्डसँग हुँदैन । उनी क्रान्तिविरुद्धको यात्रामा लागिसकेका मान्छे हुन् । बरु किरण दाईहरुसँग यसबारे सोच्न सकिन्छ । त्यो पनि क्रान्ति गर्ने पक्षमा उभिने कुरालाई स्वीकारेर । अझै क्रान्ति हुन्छ ? कसरी हुन्छ ? भनेर आउनुभो भने एकताबारे सोच्न सकिँदैन । एकता त क्रान्तिलाई सम्पन्न गर्न उच्च मनोबलसाथ सम्पन्न गर्ने कुरामा हुन्छ । क्रान्ति हुन्छ कि हुँदैन ? भन्न शुरु गरियो भने त्यो बहस गर्न सकिँदैन । त्यो च्याप्टर बन्द भइसक्यो । हाम्रै कोही नेता कार्यकर्तालाई क्रान्ति हुन्छ कि हुन्न भन्ने अझै लाग्या भने हुन्न भन्ने पार्टी थुप्रै छन्, त्यतैतिर लागे हुन्छ । जनतामा भ्रम पर्ने कुरा गरेर नेकपामा बस्ने छुट कसैलाई छैन ।
थवाङमा सम्पन्न आठौं महाधिवेसनले एक, दुई, तीन, चार, पाँच गरी नेपालमा क्रान्ति यसरी हुन्छ भनेर ठोस गरिसकेको छ । क्रान्ति गर्न यस्तो पार्टी चाहिन्छ, यस्तो विचार चाहिन्छ, यस्तो संगठन चाहिन्छ, यस्तो सेना चाहिन्छ, यस्तो नीति चाहिन्छ, यस्तो नेतृत्व, कार्यकर्ता चाहिन्छ, विज्ञान र प्रविधिलाई यसरी जोडेर लैजानुपर्छ भन्नेलगायत सबै विषय थवाङबाटै टुंग्याइसकिएको छ । अस्पष्ट कहाँनेर छ ? कहीँपनि, केहीमा पनि छैन । क्रान्तिबाट पार्टी पछाडि फर्किने वाला छैन । कतिपयलाई पार्टी एकता गर्नै सकिन्न भने एजेण्डामा कार्यगत र मोर्चाबन्दीमा एकता गरेर पनि जान सकिन्छ । अर्घेल्याँई गर्न पाइँदैन । यहाँ त कुन नेता वा पार्टीलाई चित्ता बुझ्दैन भन्ने बेलै होइन । दलाल सत्ता परिवर्तनकारीलाई सिध्याउने तयारीकासाथ अगाडि आइसक्यो । अहिले त त्यसलाई क्रान्तिद्वारा ध्वस्त पारेर चिहानमा पुर्याउन पो लाग्ने बेला हो त । एकता गर्न वा मोर्चाबन्दी गर्न अथवा पार्टी प्रवेश गर्न आजै आउनुपर्छ भन्ने केही छैन । आज नभए भोलि आउँदा पनि हुन्छ । पर्सि आउँदानि हुन्छ । अझ पछि जित्नेजित्ने बेला आएपनि हुन्छ । तर क्रान्तिको पक्षमा उभिनु चाहिं पर्यो ।
यो कुरा हामीले अन्तर्राष्ट्रिय समुदायलाई पनि भन्दै आएका छौं । नेपाललाई स्वाधीन र स्वतन्त्र राष्ट्रको रुपमा कायम राखिराख्न र सबैखाले समस्याबाट मुक्त पार्न क्रान्तिकारी परिवर्तन गर्न चाहन्छौं । यो कुरा शान्ति प्रक्रियाकै बेला पनि जनयुद्धका नेतृत्व दलाल पूँजीवादतिर ढल्किँदै गएपछि संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई भनेका छौं । केही नेतालाई किनेका भरमा क्रान्ति सकिँदैन । रोकिँदैन । क्रान्ति फेरि उठ्छ र देशमा युद्ध हुन्छ भनेका छौं । त्यसकारण क्रान्ति गर्ने र हुने कुरा अहिले भर्खर उठाएको विषय थिएन । होइन पनि । यहाँ त दलाल शासकहरुले भ्रम छरेर समस्या पार्ने कोसिस भएको छ ।
विश्व परिस्थितिलाई पनि नजिकबाट हेरिरहेका छौं । हामीले सात वटा विषयमा बहस चलाएका छौं । कम्युनिस्ट पार्टीको दर्शन, यसको प्रयोग, संगठन, अर्थतन्त्र, सँस्कृति, राजनीति, कुटनीति, सैन्य प्रणालीहरुमा कहाँनेर त्रुटी हुन पुग्यो ? भनेर सुक्ष्म ढंगबाट अध्ययन र छलफल गराइरहेका छौं । अबको क्रान्ति कस्तो हुनुपर्छ ? कार्यदिशा कस्तो हुनुपर्छ ? नेतृत्व कस्तो चाहिन्छ ? भन्ने विषयमा बहस छेडिएको छ ।
आज नेपालमा दुई वटा दिशाहरु छन् । एउटा हो, यथास्थितिवादी, बिसर्जनवादी, जनविरोधी, आत्मसमपर्णवादी र प्रतिक्रियावादी जुन बाटोबाट दलाल संसदीय पूँजीवादी व्यवस्था हो, जसले अहिलेको सत्ता र व्यवस्थालाई स्वीकार्ने र आत्मसमर्पण गर्ने अनि त्यसैमा सिद्धिने दिशा । अर्को हो, यो सत्ता र व्यवस्थालाई खारेज गर्ने, जनतालाई अधिकार सम्पन्न बनाउने, देशलाई स्वाधीन र स्वतन्त्र कायम राख्ने, नागरिकलाई विकसित र समृद्ध बनाउन क्रान्ति सम्पन्न गरी नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने दिशा । यो बाटो हामी कम्युनिस्ट क्रान्तिकारीहरुले रोजेका छौं । नेपाली जनता सहभागी भइरहेका छन् ।
अर्को कुरा, क्रान्ति सँगै बुझौं, सँगै गरौं भनियो भने त्यो हुँदैन । क्रान्तिलाई चेतनाले बुझ्ने कुरा हो । जसले पहिला बुझ्छ उसले बढी मेहनत, दुःख गर्नुपर्छ । नेतृत्व पनि क्रान्तिकारी चेतनाले नै गर्नुपर्छ । उसैले क्रान्तिको ढोका खोल्नुपर्छ । अब पूँजीवाद सिद्धिन्छ भन्ने कुरा मार्क्सले पहिला बुझे, उनैले समाजवादी क्रान्तिको ढोका खोले । माक्र्सलाई क्रान्तिकै कारण धेरैवटा देशबाट निकाल गरे । यही कुरा लेनिनले बुझे उनैले रुसमा क्रान्ति सम्पन्न गरे । माओलाई किसानको छोरा भनेर हेपे, तर उनले क्रान्तिलाई पहिला बुझे चीनमा जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा हामीले क्रान्तिलाई बुझ्ने लागू गर्ने आँट गरेका छौं । त्यो सही छ । हामी पैसाका लागि नभई नेपालमा क्रान्ति सम्पन्न गर्नाका लागि कदम उठाएका छौं । क्रान्तिको झण्डा उठाएका छौं । क्रान्ति र जनतालाई धोका दिने छैनौं । आउनुस्, क्रान्ति सम्पन्न गरेर देश र जनतालाई सधैंका लागि स्वतन्त्र र स्वाधीन बनाऔं । विकास र सम्रिद्धिको ढोकाे खौलौं ।
प्रस्तुतिः सागर लामा
(भदौ २५ गते राजधानीमा नेकपा केन्द्रीय समितिद्वारा आयोजित ‘क्रान्तिकारी कम्युनिस्ट धु्रवीकरण अभियान’मा महासचिव विप्लवद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश, अनलाइनडबलीबाट ।)







